चीन अमेरिका सम्बन्धः चीनलाई लिएर अमेरिकाले गर्‍यो फिलिपिन्ससँग एउटा महत्त्वपूर्ण सम्झौता

    • Author, रूपर्ट विङफिल्ड हेस
    • Role, बीबीसी न्यूज, मनिला

संयुक्त राज्य अमेरिकाले साउथ चाइना सी र ताइवानवरपर चीनको गतिविधिलाई नजिकबाट सहजै निगरानी गर्नसक्ने थप चारवटा फिलिपिन्सका सैन्य शिविरमा पहुँच कायम गरेको छ।

यो सम्झौतासँगै वासिङ्टनले उत्तरमा दक्षिण कोरिया र जापान अनि दक्षिणमा अष्ट्रेलियासम्म विस्तार भएको भूगोलमा रहेको अमेरिकी गठबन्धनको खाली ठाउँलाई पूर्ति गरेको छ।

दुईवटा महत्त्वपूर्ण भूभागहरू ताइवान र साउथ चाइना सी जोडिएको फिलिपिन्स यसअघि उक्त सामरिक भूगोलमा अमेरिकालाई पहुँच दिने हिसाबले जोडिएको थिएन।

उक्त सम्झौताले ३ दशकअघि आफ्नो पूर्व उपनिवेशबाट अलग भएको अमेरिकालाई फेरि आंशिक रूपमा त्यहाँ फर्कने मौका दिएको छ। यसलाई महत्त्वका साथ हेरिएको छ।

अमेरिका-फिलिपिन्स सम्झौताको अर्थ

वासिङ्टन डिसीस्थित सेन्टर फर स्ट्रयाटिजिक एण्ड इन्टरन्याश्नल स्टडिजका दक्षिणपूर्वी एसिया कार्यक्रम निर्देशक ग्रेगोरी बी पोलिङ भन्छन्, "साउथ चाइना सीमा केही गर्नुपर्ने अवस्थामा फिलिपिन्समा पहुँच कायम गर्न अत्यावश्यक छ।

उनले थपे, "संयुक्त राज्य अमेरिकाले स्थायी अखडाहरू खोजेको छैन। त्यो स्थानको कुरा हो, शिविरको कुरा होइन।"

संयुक्त राज्य अमेरिकाले इन्हान्सड डिफेन्स कोअपरेशन एग्रिमेन्ट (इडीसीए) अन्तर्गत पाँचवटा ठाउँमा पहिल्यै पहुँच पाएको थियो। नयाँ थप र विस्तारित पहुँचले वासिङ्टनलाई फिलिपिन्समा मानवीय र जलवायुसँग सम्बन्धित विपद् अनि अरू संयुक्त चुनौतीहरूसँग जुध्न मद्दत गर्ने अमेरिकाले जनाएको छ।

'संयुक्त चुनौती'लाई उक्त क्षेत्रमा चीनको प्रभावलाई चुनौती दिन प्रयोग गरिने साङ्केतिक धारणाका रूपमा लिइएको छ।

उक्त विज्ञप्ति अमेरिकी रक्षा मन्त्री लोइड अस्टिनले फिलिपिन्सका राष्ट्रपति फर्डिनान्ड 'बोङबोङ' मार्कोस जुनिअरलाई मनिलामा बिहीवार भेटेपछि आएको हो।

अमेरिकाले नयाँ शिविरहरू कहाँ छन् भन्ने खुलाएका छैन तर फिलिपिन्सको उत्तरी कुनामा रहेको लुजोन टापुमा रहेको हुनसक्ने ठानिएको छ। सो ठाउँ चीनबाहेक ताइवान नजिकै रहेको सबैभन्दा ठूलो भूभाग हो।

चीनले उक्त सम्झौताको आलोचना गर्दै भनेको छ, "अमेरिकी कदमले क्षेत्रीय तनाव अभिवृद्धि गर्नेछ र त्यसले क्षेत्रीय शान्ति र स्थिरतालाई अवमूल्यन गर्नेछ।"

"संयुक्त राज्य अमेरिकाले आफ्नो प्रत्यक्ष स्वार्थ र अन्त्यमा कूल शून्य प्रतिफलको मनस्थिति राखेर यो क्षेत्रमा आफ्नो सैनिक उपस्थितिको प्रदर्शनलाई बढाइरहेको देखिन्छ," दूतावासले भनेको छ।

अमेरिका र फिलिपिन्सको त्यो विगत

हालैका दिनहरूमा संयुक्त राज्य अमेरिकाले ठूलो सङ्ख्यामा सैनिकहरू राख्ने शिविरहरूभन्दा आवश्यक परेको खण्डमा 'हल्का र लचिलो' बन्दोबस्ती र निगरानी कार्य सहितका सैन्य अभियान सञ्चालन गर्न सकिने स्थानहरूमा पहुँच खोजीरहेको छ।

अर्को शब्दमा भन्नुपर्दा पछिल्लो सम्झौता सन् १९८० को दशकको पुनरावृत्ति होइन् जुनबेला फिलिपिन्समा १५ हजार अमेरिकी फौजहरू बस्ने गरेका थिए। त्यसबेला क्लार्क फिल्ड र नजिकैको सुबेक बेमा एशियाकै दुईवटा ठूला अमेरिकी फौजी अखडाहरू थिए।

तर सन् १९९१ पछि अवस्था फेरियो। त्यसबेला फिलिपिन्सले भर्खरै तानाशाह फर्डिनान्ड मार्कोसलाई सत्ताच्युत गरेको थियो। पुराना औपनिवेशिक शासकहरूलाई बिदा गरिएकाले लोकतन्त्र र स्वतन्त्रता बलियो बन्ने अपेक्षा व्यक्त भइरहेका थिए।

भियतनाम युद्ध वर्षौँअघि नै सकिएको, शीतयुद्ध समाप्त हुँदै गएको र चीन त्यसबेला सैन्य हिसाबले कमजोर नै अवस्थामा रहेको थियो। त्यही भएर सन् १९९२ मा अधिकांश अमेरिकीहरू घर फर्किए।

ती घटनाक्रमको ३० वर्षपछि अहिले अर्का मार्कोस फिलिपिन्सको मालाकान्यान दरबारमा पुनः फर्किएका छन्।

चीनको अतिक्रमणसँग जुझ्ने उपायको खोजी

सबैभन्दा महत्त्वपूर्ण तथ्य चीन अहिले कमजोर सैनिक शक्ति होइन र उसले फिलिपिन्सलाई मूल ढोकाबाट चुनौती दिइरहेको छ।

बेइजिङले साउथ चाइना सीको मानचित्रलाई पुनः कोर्दै गर्दा मनिलाले अवलोकन गरिरहेको छ। भयभीत अवस्थामा रहेको ऊसँग हस्तक्षेप गर्ने सामर्थ्य पनि कमजोर छ।

सन् २०१४ यता चीनले १० वटा कृत्रिम तटीय शिविरहरू निर्माण गरेको छ। फिलिपिन्सको विशेष आर्थिक क्षेत्रको बीचमा पर्ने मिसचिफ रिफमा पनि उसले एउटा त्यस्तो टापु बनाएको छ।

त्यसअघिसम्म मनिला र बेइजिङबीच सम्बन्धमा खासै समस्या नरहेको युनिभर्सिटी अफ फिलिपिन्सका राजनीतिशास्त्रका प्राध्यापक हर्मन क्राफ्ट बताउँछन्।

"हाम्रो सामु साउथ चाइना सी मा बाँचौँ र बाँच्न दिऊँ भन्ने परिस्थिति छ। तर सन् २०१२ मा उनीहरूले स्काबरो सेल कब्जा गर्ने प्रयास गरे। त्यसपछि सन् २०१४ मा उनीहरूले टापु निर्माण गर्न लागिरहे। चिनियाँ भूमि अतिक्रमणले सम्बन्धलाई बदलिदियो।"

"चीनको खतरासँग जुझ्ने हाम्रो क्षमता एकदमै सीमित रहेको छ," अमेरिकाका लागि पूर्व फिलिपिनी राजदूत खोसे खुइसिया जुनिअर भन्छन्।

उनले चीनले साउथ चाइना सीका नयाँ शविरहरूलाई सैन्यकृत नगर्ने आफ्ना प्रतिवद्धता पटक पटक तोडेको पनि बताए।

उनले भने, "चिनियाँहरूले ती चरित्रहरू थप गरेका छन् जसले गर्दा हाम्रो थप भूगोलमा जोखिम बढेको छ। संयुक्त राज्य अमेरिकासँगमात्रै उनीहरूलाई रोक्न सक्ने सामर्थ्य छ। फिलिपिन्स एक्लैले केही गर्न सक्दैन।"

तर यसपालि हजारौँ अमेरिकी नौसैनिक वा हवाई फौजहरू पुन: फिलिपिन्समा तैनाथ हुनेछैनन्।

अझै पनि त्यहाँ अमेरिकी फौजहरूले गरेका हिंसा र दुर्व्यवहार एउटा संवेदनशील विषय रहँदै आएको छ।

अमेरिकी बाबुहरू स्वदेश फर्किँदा त्यो बेला लगभग १५,००० बालबालिका फिलिपिनी आमाहरूको साथमा रहेको ठानिन्छ।

"हाम्रो सम्बन्धमा असमानताको एउटा लामो इतिहास रहेको छ," एउटा वामपन्थी समूह न्यू प्याट्रिओटिक एलायन्सका महासचिव रेनेटो रेइस भन्छन्। "त्यसको सामाजिक मूल्य फिलिपिन्सले चुकाउनुपर्‍यो। बलात्कार, बाल दुर्व्यवहार र घातक फोहोरहरूको इतिहास रचिएको छ।"

सम्झौताको पक्ष र विपक्षमा कस्ता तर्क

फिलिपिन्समा अमेरिकाको फिर्तीलाई देशका वामपन्थी समूहहरूले आलोचना गरेका छन्।

विगतमा जस्तो फौजहरू उपस्थित नहुने भएपनि वासिङ्टनले अहिले कैयौँ नयाँ ठाउँहरूमा पहुँच मागेको छ। ती मध्ये कतिपय साउथ चाइना सी र अरू ताइवानतर्फ रहेका बताइन्छ।

पोलिङका अनुसार उक्त निर्णयको उद्देश्य चीनद्वारा साउथ चाइना सी मा हुनसक्ने थप अतिक्रमण रोक्नु र ताइवान वरपर चिनियाँ सेनाको गतिविधिको निगरानी गर्नु हो।

"यो गठबन्धनमा सामेल नभई चिनियाँलाई पछि धकेल्ने अरू उपाय फिलिपिन्ससँग छैन। उसले भारतबाट ब्राह्मोस क्षेप्यास्त्र खरिद गर्दैछ। संयुक्त राज्य अमेरिकाले टमाहक क्रुज क्षेप्यास्त्र परिचालन गर्न चाहनेछ। मिलेर उनीहरूले चिनियाँ जहाजहरूलाई रोक्नसक्नेछन्।"

ताइवानमा सम्भावित द्वन्द्वलाई लिएर चिन्ताहरू बढीरहँदा फिलिपिन्सले अमेरिकी फौजी कारबाही वा शरणार्थीहरूको उद्धारका लागि पछाडीबाट एउटा प्रवेशद्वार उपलब्ध गराउनसक्ने उनले बताए।

उनी भन्छन्, "मानिसहरूले बिर्सिरहेका छन् कि डेढदेखि दुई लाख फिलिपिनोहरू हाल ताइवानमा बसिरहेका छन्।"

प्राध्यापक क्राफ्टका अनुसार मनिला अमेरिकी गठबन्धनको पूर्णकालीन सदस्य बन्ने वा चीनको उदयलाई चुनौती दिने ध्याउन्नमा छैन।

उनले भने, "फिलिपिन्सले अस्ट्रेलिया वा जापानले जस्तो गरी साउथ चाइना सी वा इस्ट चाइना सी मा प्रत्यक्ष रूपमा चिनियाँ स्वार्थहरूलाई चुनौती दिएको छैन। राष्ट्रपति मार्कोस अमेरिकासँग राम्रो सम्बन्ध चाहन्छन्। तर उनी आर्थिक लाभका लागि चीनसँग पनि राम्रो सम्बन्ध कायम राख्न चाहन्छन्।"

बेइजिङले पनि वासिङ्टन र मनिलाबीच भएका शिविरहरू सम्बन्धी नयाँ सम्झौताकै कारण आफ्नो छिमेकीसँगको सम्बन्धमा अवरोध निम्त्याउन नचाहेको सङ्केत दिएको छ।

अमेरिकी रक्षा मन्त्री मनिलामा रहँदा चीनको सरकारी स्वामित्वको ग्लोबल टाइम्सले अमेरिकाले 'फिलिपिन्सलाई पासो थापेको' र 'चीनसँगको टकराबको अग्रमोर्चामा फिलिपिन्सलाई धकेल्न खोजेको' अरोप लगाएको थियो।

चीनलाई अमेरिका जत्तिकै पुँजीवादी साम्राज्यवादी शक्ति मानेका रेइसले भने, "हामी फेरि बिचमा परेका छौँ"

"फिलिपिन्समा अहिले पनि उपनिवेशकालीन सोच कायम छ। उसले अमेरिकालाई अहिले पनि आफ्नो ठूलो दाईका रूपमा हेर्छ।"