इरान युद्धमा पाकिस्तानी मध्यस्थताका लागि ट्रम्प कसरी तयार भए

    • Author, क्यारोलिन डेभिस
    • Role, पाकिस्तान संवाददाता
  • पढ्ने समय: ६ मिनेट

अहिलेको द्वन्द्वमा मध्यस्थको भूमिकाको प्रयासमा पाकिस्तान लागेको देख्दा धेरै जना अचम्भीत भएका छन्। तर यसमा अचम्म मानिराख्नुपर्दैन।

पाकिस्तानी सैन्य निकायहरूका प्रमुख तथा फील्ड मार्शल असिम मुनिरको संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पसँग विशेष सम्बन्ध छ। मुनिर आफूलाई "मन पर्ने" फील्ड मार्शल भएको भन्दै ट्रम्प प्रशंसा गर्छन्। उनले पहिला मुनिरले इरान "अरूले भन्दा निकै राम्ररी" बुझेको टिप्पणी पनि गरेका थिए।

इरान र पाकिस्तान झन्डै ९०० किलोमिटर लामो सीमा भएका छिमेकी मात्र नभई सांस्कृतिक र धार्मिक सम्बन्ध जोडिएका राष्ट्रहरू पनि हुन्। दुवैले आफूहरूबीच "भ्रातृत्वपूर्ण" सम्बन्ध रहेको बताउँदै आएका छन्।

पाकिस्तानमा अमेरिकी वायुसेनाको शिविर छैन।

पहिलापहिला मध्यस्थता गर्दै आएका खाडीका अरू राष्ट्रहरू यो द्वन्द्वमा कुनै न कुनै रूपमा तानिएका छन्। तर पाकिस्तान अहिलेसम्म अलग छ।

मुख्य कुरा त पाकिस्तान यो मामिलामा प्रवेश गर्न इच्छुक देखिएको छ। अमेरिका र इरानबीच शान्ति हुँदा त्यो धेरै कोणबाट पाकिस्तानको हितमा हुने छ।

यद्यपि आफैँ अफगानिस्तान र भारतसँग द्वन्द्वमा अल्झिएको देशले कसरी आफूलाई 'शान्तिदूत'का रूपमा उभ्याउन सक्छ भन्ने प्रश्न यथावत् छ।

पाकिस्तानले अहिले पनि अफगानिस्तानमा बम आक्रमण जारी राखेको छ भने गत वर्ष परमाणुयुद्ध हुन सक्ने त्रास उत्पन्न गराउने गरी भारत र पाकिस्तानबीच तनाव चुलिएको थियो।

अहिलेसम्म पाकिस्तानले इरान र अमेरिकाबीच सन्तुलन कायम गरेको छ। उसले दुवै पक्षबीच सन्देश आदानप्रदान गर्ने, द्वन्द्वका विषयमा चासो भएका अन्य मुस्लिम राष्ट्रका विदेशमन्त्रीहरूलाई बोलाएर वार्ता गर्ने र टेलिफोनमार्फत् कूटनीतिक वार्ता गर्ने काम गरेको छ।

तर सन्तुलन कायम गर्ने काम जोखिममुक्त भने छैन।

पाकिस्तानले के गुमाउन सक्छ

पाकिस्तान आयातित तेलमा निकै निर्भर रहन्छ। अधिकांश तेल होर्मुज जलमार्ग हुँदै भित्रिन्छ।

"यो द्वन्द्वमा मध्यपूर्व क्षेत्रबाहिर रहेका देशहरूमध्ये पाकिस्तानको स्वार्थ र जोखिम सबैभन्दा बढी जोडिएको छ भन्ने मेरो तर्क छ," अट्लान्टिक काउन्सिलमा दक्षिण एशियासम्बन्धी वरिष्ठ फेलो माइक कूगल्मनले बीबीसीसँग भने।

"उसलाई तनाव मत्थर पार्ने प्रयासमा सक्दो योगदान गर्नुपर्ने ठूलो बाध्यता छ।"

पाकिस्तान सरकारले मार्च महिनाको आरम्भमा पेट्रोल र डीजलको मूल्य झन्डै २० प्रतिशतले बढाएको छ भने इन्धन खपत घटाउन सातामा चार दिन मात्रै काम गर्ने उपाय पनि अवलम्बन गरिसकेको छ।

"युद्ध लम्बियो भने पाकिस्तानमा आर्थिक बोझ निकै बढ्ने छ," राजनीतिशास्त्रका प्राध्यापक फर्हान सिद्दिकी भन्छन्। उनी कराचीस्थित इन्स्टिट्यूट अफ बिज्निस एड्मिनिस्ट्रेशनसँग आबद्ध छन्।

द्वन्द्व अझ चर्किए त्यसले निम्त्याउन सक्ने परिणामप्रति पनि ठूलो त्रास छ।

गत वर्ष सेप्टेम्बरमा पाकिस्तानले साउदी अरबसँग एउटा प्रतिरक्षा सहमति गरेको थियो। त्यसमा दुईमध्ये "कुनै एउटा देशमाथि हुने आक्रमणलाई दुवैमाथिको आक्रमण मानिने छ" उल्लेख छ।

यदि पाकिस्तान अहिलेको युद्धमा सहभागी भयो र उक्त सहमति कार्यान्वयन गर्नुपर्ने भयो भने पाकिस्तानले के गर्ला भन्ने प्रश्न पनि उठेको छ।

"हाम्रा लागि समस्या के हो भने यदि हामीलाई साउदी अरबको पक्षमा युद्धमा उभिन आग्रह गरियो भने पश्चिममा रहेको हाम्रो पूरै सीमा निकै असुरक्षित हुन्छ," सिद्दिकी भन्छन्।

पाकिस्तान अहिले अफगानिस्तानसँग "पूर्णस्तरको युद्ध" मा छ। उसले अफगान तालिबानमाथि आफ्नो सीमाभित्र आतङ्ककारी समूहहरूलाई आश्रय दिएको आरोप लगाउँदै आएको छ। यद्यपि तालिबान सरकारले उक्त आरोप अस्वीकार गर्दै आएको छ।

आफू फसेका द्वन्द्वहरू समाधान गर्न कूटनीतिक उपाय नरोजेर 'विरोधाभासपूर्ण' व्यवहार गरेको विषयमा प्रश्न उठ्दा पाकिस्तानले आफूले वर्षौँसम्म वार्ताको प्रयास गरेको तर त्यसबाट आवश्यक सुरक्षा प्राप्त हुन नसकेको तर्क गर्ने गरेको छ।

सिद्दिकीका अनुसार पाकिस्तान यो युद्धमा तानियो भने त्यसबाट लडाइँको अर्को मोर्चा खुल्ने चिन्ता मात्र नभई "आन्तरिक प्रतिष्ठा" मा घात हुने डर पनि बढ्ने छ।

अमेरिकी र इजरेली हवाई आक्रमणपछि इरानका सर्वोच्च नेताको मृत्यु भएपछि पाकिस्तानमा विरोधप्रदर्शन भएको थियो। त्यस क्रममा कराचीस्थित अमेरिकी कूटनीतिक नियोगमा धावा बोल्न खोज्ने केही व्यक्तिको सुरक्षा कारबाहीमा परी ज्यान पनि गएको थियो।

"पाकिस्तानमा सर्वसाधारण मानिसको इरानप्रति ठूलो सहानुभूति छ," अमेरिका, यूके र संयुक्त राष्ट्रसङ्घमा पाकिस्तानकी पूर्व राजदूत मलीहा लोधी भन्छिन्।

"पाकिस्तानका निर्णयकर्ताहरू त्यसबारे निकै संवेदनशील छन् भन्नेमा म विश्वस्त छु।"

पाकिस्तानले के पाउन सक्छ

अनि पाकिस्तानको अन्तर्राष्ट्रिय छविको विषय आउँछ।

"अन्तर्राष्ट्रिय मञ्चमा उसको प्रभाव छैन भनेर गरिने आलोचनाप्रति पाकिस्तान निकै संवेदनशील छ," कूगल्मन भन्छन्। "अहिले पाकिस्तानले आफूलाई जुन भूमिकामा उभ्याएको छ त्यसको मुख्य कारण यो मात्रै हो जस्तो त मलाई लाग्दैन, तर केही सम्बन्ध भने छ।"

" यो ठूलो जोखिम भएको कूटनीति हो, त्यसमा कुनै शङ्का छैन," लोधी भन्छिन्, "ठूलो जोखिम पनि छ, ठूलो प्रतिफल पनि आउन सक्छ।"

"सफलता हात पर्‍यो भने यसले पाकिस्तानलाई पक्कै पनि विश्वव्यापी कूटनीतिमा उच्च स्थानमा पुर्‍याउँछ।"

पाकिस्तान सफल भएन भने नि?

त्यसबाट हुने क्षति त्यति ठूलो नहुने लोधीको धारणा छ।

"त्यसो भयो भने पनि पाकिस्तानले निष्ठापूर्वक प्रयास गरेको ठानिने छ। सफलता हात परेन भने त्यो पाकिस्तानसँग दक्षता नभएको कारणले नभई एक अत्यन्तै सनकी र पूर्ण रूपमा अविश्वसनीय व्यक्तिका कारण हुने छ," लोधी भन्छिन्।

तर वार्ताबारे भएका चर्चापछि पनि द्वन्द्वमा सहभागी दुई पक्षले यदि पुनः युद्ध चर्काए भने त्यसबाट केही दुष्प्रभाव पर्न सक्ने कूगल्मानको अनुमान छ।

"पाकिस्तानले अपरिपक्व भएको आरोप खेप्नुपर्ने हुन सक्छ," उनी भन्छन्, "दुवै पक्षले लडाइँ चर्काउने तयारीका लागि रणनीतिक विश्राम लिन खोज्दा पाकिस्तानलाई मध्यस्थता गर्न भनेर ल्याइयो भनेर।"

'असामान्य कूटनीति'

पछि के हुन्छ भन्ने स्पष्ट छैन। तर पाकिस्तानले ट्रम्पसँगको सम्बन्धबाट लाभ लिन खोजेको स्पष्ट छ।

लोधी गत वर्ष भारत र पाकिस्तानबीच तनाव चुलिँदा त्यसलाई मत्थर पार्न सघाएकाले पाकिस्तानले ट्रम्पलाई नोबेल शान्ति पुरस्कारका लागि मनोनयन गरेको र अफगानिस्तानबाट अमेरिकी सैनिकहरू फिर्ता गर्ने क्रममा काबुल विमानस्थलमा बम आक्रमण गरेको भनिएका सन्दिग्ध व्यक्ति पाकिस्तानमा पक्राउ परेको र अमेरिकालाई हस्तान्तरण गरिएको प्रसङ्ग स्मरण गराउँछिन्।

"पाकिस्तानले सुरुमै ट्रम्पलाई दुई पटक सघायो, जुन उनका लागि निकै महत्वपूर्ण थिए। त्यसबाट सम्बन्ध अघि बढ्यो र अहिलेको यो नयाँ निकटता विकसित भयो," लोधी भन्छिन्।

"पाकिस्तान भारतभन्दा विपरीत असामान्य कूटनीतिक भूमिका निर्वाह गर्न इच्छुक देखिन्छ," कूगल्मन भन्छन्।

"पाकिस्तानका वरिष्ठ नेताहरूले असामान्य तरिकाले राष्ट्रपति [ट्रम्प] लाई खुसी पारे। त्यसबाट वाशिङ्टनमा उनीहरूलाई सहयोग पुगेको छ र ट्रम्प प्रशासनको दृष्टिमा पाकिस्तान एउटा आकर्षक सहजकर्ता र मध्यस्थका रूपमा देखा परेको छ।"

तर पाकिस्तान अमेरिकासँगको सम्बन्धमा मात्र निर्भर छैन।

"पाकिस्तानले क्षेत्रीय कूटनीतिमा 'हेजिङ' (अर्थात् सुरक्षात्मक कूटनीति) सबैभन्दा उत्कृष्ट उपाय हो भन्ने महसुस गरेको छ," सिद्दिकी भन्छन्। "अहिले हामी यस्तो विश्वमा छौँ जहाँ राज्यहरू विशेष गरी मध्यम शक्तिसम्पन्न राष्ट्रहरू विभिन्न पक्षसँग सम्बन्ध राख्ने 'बहुसंलग्नता'को नीतिमा बढी सहज देखिन्छन्।"

"पाकिस्तानलाई इजरेल वा अमेरिका पक्षधर नठानिने भएकाले ऊ इरानसँग कुराकानी गर्न उपयुक्त स्थितिमा हुन सक्छ भन्ने मलाई लाग्छ।"

अहिले कूटनीतिक छलफलहरू जारी छन्।

पाकिस्तानका विदेशमन्त्री इशाक डार चिनियाँ समकक्षी वाङ यीको निम्तोमा मङ्गलवार चीनको भ्रमणमा छन्।

तर पाकिस्तानले अझै ठूलाठूला प्रश्नहरू खेप्नुपर्ने छ। शान्ति सहमति सुनिश्चित गर्न त्यति सजिलो छैन।

"हामी यसबारे स्पष्ट होऔँ - अमेरिकी र इरानीहरूबीच ठूलो अविश्वास छ र दुवै पक्षका ठूलाठूला मागहरू हेर्दा सहमति हुने सम्भावना निकै न्यून छ," कूगल्मन भन्छन।

"अहिलेका योजनाहरू सफल भएनन् भने पाकिस्तानले सर्वाधिक कठिन योजनाबारे सोच्नुपर्ने हुन्छ जस्तो मलाई लाग्छ।"

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।