फोन चलाएर नथाक्ने बालबालिकालाई त्यसो गर्न रोक्ने पाँच उपाय थाहा पाउनुहोस्

    • Author, इमर मोरोऊ
    • Role, वाणिज्य संवाददाता
  • पढ्ने समय: ५ मिनेट

यदि तपाईँ अभिभावक हुनुहुन्छ भने मेटा र गुगलले जानाजान लत लगाउने किसिमका सामाजिक सञ्जाल निर्माण गरेका कारण एक युवतीको मानसिक स्वास्थ्यमा चोट पुगेको भन्ने एउटा अमेरिकी अदालतको निर्णयले तपाईँलाई सही ठहराएको भन्ने तपाईँले महसुस गरेको हुन सक्छ।

केली नामक ती युवतीका वकिलहरूले इन्स्टाग्रामको अन्त्यहीन रूपमा पेज 'लोड' गराउने सामर्थ्य राख्ने इन्टरफेस 'इन्फिनिट स्क्रोल' जस्ता फिचरहरू लत लगाउने किसिमको भएको तर्क गरेका थिए।

अदालतको निर्णय सामाजिक सञ्जाल कम्पनीहरूका लागि 'निर्णायक क्षण' भएको भन्दै प्रशंसा गरिएको छ। तर आफ्ना साना सन्तानहरूले स्क्रीनमा बिताउने समय घटाउने प्रयास गरिरहेका अभिभावकहरूलाई यसको खासै व्यावहारिक महत्त्व छैन।

हामीले सन्तान हुर्काउने मामिलाका केही विज्ञहरूलाई आफ्ना बालबालिकालाई फोनबाट छोटो समयकै लागि भए पनि कसरी पर राख्ने भन्ने सुझावहरू मागेका छौँ।

१. सानोबाट सुरु गर्नुहोस् र यथार्थपरक बन्नुहोस्

आफ्ना छोराछोरीलाई ट्याब्लेट वा स्मार्टफोन दिइसकेका धेरै बुवाआमाले त्यस्ता उपकरण सन्तानलाई दिन बन्द गर्नुअघि सोचविचार गर्नु उपयुक्त हुन्छ। तर पूर्ण रूपमा बन्द गर्नु सबैभन्दा उपयुक्त विकल्प नहुने बालमनोविद् डाक्टर जेन गिल्मर बताउँछिन्।

उनले भनिन्, "बानी फेर्नु सधैँ अप्ठेरो हुन्छ।" उनले स्क्रीन टाइमको विषयलाई लिएर वादविवाद चलिरहेको बेलाभन्दा पनि तटस्थ किसिमको समयमा परिवर्तन थालिनुपर्ने सुझाव दिइन्। "शान्त मस्तिष्कले उपयुक्त ढङ्गले सञ्चार गर्छ।"

त्यसका लागि पहिलो कदम त्यस्ता उपकरणहरू राख्नका लागि घरभित्र निश्चित ठाउँहरू तोक्नु हुन सक्छ, जस्तो - कुनै विशेष दराज।

"चार्जरहरूका लागि एउटा मात्रै ठाउँ तोक्नुहोस् ता कि फोनहरू बन्द हुँदा उनीहरूलाई चार्जमा राखियोस् र कुरा त्यत्तिमै सकियोस्।"

२. सहकार्य गर्नुहोस्

कडा नियमहरूले बाँधिनुभन्दा पनि बढी उमेर भएका बालबालिका र किशोरकिशोरीहरूलाई स्क्रीन टाइमसँग सम्बन्धित छलफलको हिस्सा बनाउनुपर्ने धारणा बालमनोविद् डाक्टर मरीहन बेकरको छ।

उनले सामाजिक सञ्जालबारे साथीहरूको दबावले पनि किशोरकिशोरीहरूलाई सहमत गराउन मद्दत पुर्‍याउन सक्ने भन्दै उनले थपिन्, "म बुझ्छु कि यो ठाउँ तिमीहरूको साथीहरूसँग जोडिनका लागि हो। तिमीलाई यसको प्रयोग गर्न दिइएन भने त्यसबाट पर्ने सामाजिक दबाव पनि म वास्तवमै बुझ्न सक्छु। त्यही भएर हामीले कसरी हाम्रो र तिम्रो समय तयार गर्न सक्छौँ जसले गर्दा तिमी जुनसुकै बेला पनि फोनमा नहुने सुनिश्चित होस् भनेर कुराकानी गर्नुपर्छ।"

अभिभावकत्वसम्बन्धी प्रशिक्षक ओलिभिआ एड्वार्ड्सले स्क्रीन प्रयोग घटाउन आफ्नो सन्तान वा किशोरकिशोरीसँग सुरुमा मजबुत सम्बन्ध निर्माण गरिनुपर्नेमा जोड दिइन्।

"हामीले हाम्रो सन्तानसँग मजबुत सम्बन्ध निर्माण गर्नुपर्छ किनभने त्यसले हामीलाई सहकार्य र सामूहिक भावनातर्फ डोर्‍याउने छ।"

त्यसका लागि आफ्ना बालबालिकाले अनलाइन माध्यममा खपत गर्ने सामग्रीहरूमा साँच्चिकै चासो लिनुपर्ने उनको भनाइ छ।

३. सिकाइ अवसरका रूपमा प्रयोग

धेरै अभिभावकहरूले सामाजिक सञ्जालमा तीव्र रूपमा परिवर्तन भइरहेका चलन र प्रवृत्तिलाई पछ्याउन आफूहरूले सङ्घर्ष गरिरहेको महसुस गर्छन्। तर त्यसमा बालबालिका र वयस्क दुवैका लागि स्क्रीनमा बिताइने समयबारे खुला छलफल गर्ने अवसर छ।

ओलीभिआ भन्छिन्, "तपाईँले यस्तो भन्न सक्नुहुन्छ : "कसरी सामाजिक सञ्जालले काम गर्छ, तिमीहरूलाई थाहा छ? मानिसहरूलाई एप हेर्ने बनाउन उनीहरूले के गर्छन् जस्तो तिमीहरूलाई लाग्छ? मानिसहरूले जति समय बिताउँछन्, उनीहरूले त्यत्ति नै धेरै पैसा कमाउँछन् भन्ने तिमीहरूलाई थाहा छ?"

जेनले त्यसो गरेको खण्डमा अभिभावकहरूले बालबालिकालाई डिजिटल माध्यमबारे "साक्षर" बनाउन सक्ने बताइन्।

"त्यहाँ केही सामग्री हुन सक्छन्, जसलाई तपाईँहरू हेर्न सक्नुहुने छ र भन्न सक्नुहुने छ, "ल, के तिमीलाई लाग्छ, यो साँचो हो? यो ठिक हो कि होइन तिमिले कसरी पत्ता लगाउँछौँ?"

४. असल आचरणको नमुना

बालबालिकाहरूले आफ्ना बुवाआमाको नक्कल गर्छन् भन्ने कुरा स्पष्ट नै छ। त्यही भएर उनीहरूमा स्क्रीनसम्बन्धी राम्रो बानी विकास गर्न तपाईँ आफैँले पनि केही आत्मचिन्तन थाल्नु जरुरी हुन सक्छ।

मरीहान यसमा हल्का तथा रमाइलो बाटो अपनाउन सुझाव दिन्छिन्। "यदि हामीले बच्चाहरूसँग आफैँलाई केही आत्मालोचित गर्दै कुरा गर्‍यौँ भने पनि हुन्छ, "हामी सबै यसमा दोषी छौँ र (फोनसँगको) सम्बन्धमा जति राम्रो हुनुपर्ने, म त्यति हुन सकेको छैन।"

फोन र ट्याब्लेट सबै उमेर समूहका मानिसहरूको मनोरञ्जनको स्रोत बनेको छ तर जेन वयस्क र बालबालिकाले अलिकति निरस परिस्थिति पनि स्वीकार गर्नुपर्ने बताउँछिन्।

"स्क्रीनमा हुँदा हामी बाहिरी विश्वलाई ध्यान दिइरहन्छौँ तर जब हामी आफ्नो भित्री संसारमा जान्छौँ, हामी एक किसिमले मध्यको दूरीलाई गहिरो गरी नियाल्छौँ, यसले हामीलाई विगतमा फर्कन र भविष्यको कल्पना गर्न सघाउँछ, यसले सिर्जनात्मकता बढाउँछ।"

"त्यही भएर जब बालबालिकाहरूले विरोध जनाइरहेका हुन्छन्, तपाईँले केही पनि गर्न सक्नुहुन्न। उनीहरूले आफ्ना लागि ठाउँ खोजिरहेका हुन्छन् र त्यो ठिक छ। र वास्तवमै, त्यो सकारात्मक चिज हो।"

५. नआत्तिनुहोस्

बच्चा हुर्काउनु कहिल्यै पनि सजिलो थिएन तर सबैतिर स्क्रीन भएको सयमा हामी सबै यसले हामीलाई कसरी प्रभावित पार्छ, त्यो सिकिरहेका छौँ। यसले चिन्ता पनि उत्पन्न गराउँछ।

डाक्टर टनी स्याम्प्सन यूनिभर्सिटी अफ एसिक्सकी डिजिटल सञ्चारसम्बन्धी रीडर हुन्। उनी अभिभावकहरू नैतिक भयको पासोमा पर्न नहुने बताउँछन्।

"सुर्ता गर्ने अभिभावकहरू प्रचलित सञ्चार आतङ्कमा पर्ने प्रवृत्ति देखिन्छ र सबै किशोरहरूको मस्तिष्क सामाजिक सञ्जालको लत लाग्ने गरी बनेको ठान्ने प्रवृत्ति हुन्छ," उनले भने।

तर बालबालिका र किशोरहरूसँग 'न्यूरोप्लास्टिसिटी भन्ने' क्षमता हुन्छ र उनीहरूको मस्तिष्क वयस्कको भन्दा परिस्थितिलाई आत्मसात् गर्ने र पुन: सम्हालिन सक्षम हुने गर्छ।

"सामाजिक सञ्जालले कसरी ध्यान बिगार्छ भन्नेबारे हामी धेरै अध्ययन गर्ने गर्छौँ," उनले भने। "तर सामाजिक सञ्जालले ध्यान घटाउने वा नष्ट गर्ने काम गर्दैन। त्यसले ध्यान कब्जा गर्छ र व्यावसायिक कन्टेन्टतर्फ ध्यान मोड्ने गर्छ।"

"सकारात्मक प्रविधिको प्रयोगले सिर्जनात्मक, अन्वेषण र सिकाइका लागि न्यूरोप्लास्टिसिटीलाई बढाउन मद्दत गर्छ।"

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।