पूर्वमन्त्री खड्का गिरफ्तार, जेन जी आन्दोलनको बेला 'बरामद नगदबारे अनुसन्धान हुने'

पढ्ने समय: २ मिनेट

नेपाल प्रहरीले नेपाली कांग्रेसका नेता एवं पूर्व ऊर्जामन्त्री दीपक खड्कालाई पक्राउ गरेको छ। आइतवार विहान पक्राउ परेका उनलाई साँझ काठमाण्डू जिल्ला अदालतले सात दिन हिरासतमा राखेर अनुसन्धान गर्ने अनुमति दिएको हो।

गृहमन्त्री सुधन गुरुङले सामाजिक सञ्जाल फेसबुकमा एउटा पोस्ट राख्दै पूर्वऊर्जामन्त्री खड्कालाई भदौ २४ गतेको आन्दोलनका क्रममा उनको निवासबाट बरामद भएको रकमको अनुसन्धानको सिलसिलामा नियन्त्रणमा लिइएको जनाएका छन्।

उनले हाल बूढानीलकण्ठ नगरपालिकामा बस्दै आएका खड्कालाई सीआईबीले दिएको जरुरी पक्राउ पुर्जी पनि आफ्नो पोस्टमा सेअर गरेका छन्।

उक्त पोस्टमा सम्पत्ति शुद्धीकरण सम्बन्धी कसुरको अनुसन्धानका लागि पक्राउ गर्नु परेको उल्लेख गरिएको छ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले सम्पत्ति शुद्धीकरण सम्बन्धी कसुरमा उनलाई गिरफ्तार गरेको जनाएको छ।

सीआईबीका प्रवक्ता शिवकुमार श्रेष्ठले बीबीसीसँग भने, "पक्राउ गरिएको छ। मलाई पनि सबै रिपोर्ट भइसकेको छैन। सम्पत्ति शुद्धीकरणमा पक्राउ गरिएको हो।"

प्रहरीले थप विवरण पछि मात्रै दिन सक्ने जनाएको छ।

जेन जी आन्दोलनबारे छानबिन गर्न गठित आयोगको सिफारिस अनुसार पूर्व प्रधानमन्त्री केपी ओली र पूर्व गृहमन्त्री रमेश लेखक शनिवार पक्राउ परेका थिए।

त्यसलाई प्रतिशोध साँधिएको कदमका रूपमा एमालेले संस्थागत रूपमा नै र कांग्रेसको पूर्ण बहादुर नेतृत्वको समूहले विरोध जनाइरहँदा बालेन शाहले पदभार ग्रहण गरेको तेस्रो दिनमा नै प्रहरीले यो गिरफ्तारी गरेको हो।

खड्काको पृष्ठभूमि

प्रधानमन्त्री केपी ओली नेतृत्वको सरकारमा ऊर्जा, जलस्रोत र सिँचाइमन्त्री रहेका दीपक खड्का जलस्रोत व्यवसायी पनि हुन्।

प्रतिनिधिसभा सचिवालयमा बुझाएको आफ्नो व्यक्तिगत विवरणमा 'पर्यटन र जलविद्युत्' लगायतका क्षेत्रमा वर्षौँ लामो अनुभव रहेको उल्लेख गरेका छन्।

खड्काको विभिन्न जलविद्युत परियोजनामा पनि लगानी रहेको छ। उनी चिनियाँ लगानी रहेको झन्डै २० अर्ब रुपैयाँ बराबरको लाङटाङ भोटेकोशी जलविद्युत् आयोजनाका प्रवर्द्धनकर्तामध्ये एक हुन्।

स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था 'इप्पान'को वेबसाइटका अनुसार मेन्छियाम जलविद्युत् प्राइभेट लिमिटेडअन्तर्गतका सङ्खुवासभामा माथिल्लो पिलुवा एक र दुई आयोजनामा उनको लगानी छ।

उनलाई ऊर्जमन्त्रीमा नियुक्त गरिँदा स्वार्थको द्वन्द्वबारे प्रश्न पनि उठेका थिए।

तर बीबीसीसँग कुरा गर्दै खड्काले भनेका थिए, "मलाई सहयोग गर्ने गरी मैले काम गरेँ भने तपाईँहरूले देखिहाल्नुहुन्छ। बरु यस्ता कुराले मुलुकलाई नै सहयोग पुग्छ। छिटोछरितो ढङ्गले कुरा बुझ्नेजान्ने हुन्छ। निस्वार्थ ढङ्गले मुलुकका प्रति उत्तरदायी भएर काम गर्ने मेरो लक्ष्य भएका हिसाबले अनुभवका हिसाबले अझ फलदायी हुन्छ भन्ने मेरो विश्वास छ।"

भदौमा भएको जेन जी आन्दोलनको समयमा उनको निवासमा पनि तोडफोड र आगजनी गरिएका थिए।

अघिल्लो प्रतिनिधिसभा निर्वाचनमा उनी सङ्खुवासभाबाट निर्वाचित भएका थिए।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।