तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
के तीन पूर्वप्रधानमन्त्रीविरुद्ध सम्पत्ति शुद्धीकरणमा अनुसन्धान भइरहेको हो?
तीन पूर्वप्रधानमन्त्रीहरू केपी शर्मा ओली, शेरबहादुर देउवा र पुष्पकमल दाहाल 'प्रचण्ड'विरुद्ध सम्पत्ति शुद्धीकरणको कसुरमा अनुसन्धान थालिएको विभिन्न सञ्चारमाध्यमहरूले जनाएका छन्।
प्रमुख अनलाइन सञ्चारमाध्यमहरूले विभिन्न स्रोतहरूलाई उद्धृत गर्दै त्यस्तो समाचार प्रकाशित गरेका छन्।
सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले त्यसको निम्ति नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) लाई सहयोगको निम्ति पत्र पठाएको ती समाचारहरूमा जनाइएको छ।
पूर्वऊर्जामन्त्री तथा नेपाली कांग्रेसका नेता दीपक खड्का पक्राउ परेपछि त्यस्ता समाचारहरू आइरहेका छन्।
नेता खड्कालाई सीआईबीले पक्राउ गरेको हो।
सीआईबी प्रमुख केसीलाई 'जानकारी छैन'
गृहमन्त्री सुधन गुरुङले फेसबुकमार्फत् खड्कालाई दिइएको पक्राउ पुर्जी सार्वजनिक गरेका छन्।
त्यसमा 'तपाईँलाई सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरको अनुसन्धानको सिलसिलामा तत्काल पक्राउ गर्नुपरेकोले' उक्त पक्राउ पुर्जी जारी गरिएको उल्लेख छ।
सीआईबी प्रमुख रहेका प्रहरी अतिरिक्त महानिरीक्षक मनोजकुमार केसीले सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले सहयोग मागेअनुसार सीआईबीले उनलाई पक्राउ गरेको जानकारी दिए।
"सम्पत्ति शुद्धीकरण विभागले सहयोग मागेकाले हामीले सहयोग गरेका हौँ," उनले बीबीसीसँग भने।
तीन पूर्वप्रधानमन्त्रीहरूविरुद्ध अनुसन्धान गर्न पनि विभागले सीआईबीलाई पत्र पठाएको समाचारहरूमा जनाइएको छ।
त्यसमा उक्त पत्रपछि ती नेताहरूको सम्पत्ति र आम्दानीको स्रोतलगायतका विषयमा अनुसन्धान अघि बढाइएको उल्लेख गरिएको छ।
तर सीआईबी प्रमुख केसीले भने, "मलाई अरूले पनि सोध्नुभएको थियो, तीन पूर्वप्रधानमन्त्रीहरूबारेको पत्रका सम्बन्धमा मलाई जानकारी छैन।"
'छानबिन पहिल्यैदेखि'
जेन जी आन्दोलनका क्रममा तीन पूर्वप्रधानमन्त्रीको निवासमा आगजनी गरिएको थियो।
त्यस क्रममा देउवा र प्रचण्ड निवासमा पैसा जलेको भन्ने दाबीसहितका भिडिओ र तस्बिरहरू प्रकाशमा आएका थिए।
त्यसलगत्तै अनुसन्धान थालिएको विवरणहरू आए पनि औपचारिक रूपमा कसैले पुष्टि गरेका थिएनन्।
विभागका निर्देशक तथा सूचना अधिकारी जितेन्द्र अधिकारीले पैसा जलेको विषयमा कसैको नाम नलिएरै भने, "त्यो अल्लि अगाडिदेखि नै छानबिनको सिलसिलामा थियो।"
किनकि उनका अनुसार कुनै पनि उजुरी वा सूचनाका आधारमा विभागले छानबिन गर्छ र त्यो अनुसन्धानको प्रारम्भिक चरण हुन्छ।
समाचारहरूमा थप अनुसन्धान गर्नुपर्ने देखिएपछि विभागले सीआईबीको सहयोग मागेको उल्लेख छ। तर विभागका निर्देशक अधिकारीले भने, "(सीआईबीलाई) पत्र लेख्ने वा अरू कुरा अनुसन्धानको सिलसिलामा हुने कुरा हो, त्यो अनुसन्धान अधिकृत वा टीमले गर्ने कुरा हो, मलाई पत्र लेखेको कुरा थाहा छैन।"
उनले त्यस प्रक्रियाबारे आफूहरूलाई जानकारी नहुने पनि बताए।
सीआईबीका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक शिवकुमार श्रेष्ठले पनि 'आफ्नो जानकारीमा नभएको' जबाफ दिए।
कतिपय अधिकारीहरूले बीबीसीसँगको अनौपचारिक कुराकानीमा 'अहिलेको संवेदनशील र परिवर्तित परिस्थितिमा परिणामअघि जानकारी दिनु जोखिमपूर्ण हुने' अवस्था रहेको सुनाए।
"उच्च अधिकारी वा नेताहरूविरुद्ध हल्ला चलाएर अनुसन्धान गर्ने विषय पनि होइन," एक अधिकारीले भने, "यस्तो तरल अवस्थामा भएनभएका दुवै थरी कुरा बाहिर आउने सम्भावना हुन्छ। अहिलेको खबर पनि त्यही सन्दर्भमा हेर्नुपर्ने हुन्छ।"
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।