सलमान रुस्दी: न्यूयोर्कमा छुरा प्रहार गरिएका लेखक भेन्टिलेटरमा 'बोल्न नसक्ने अवस्थामा'

पढ्ने समय: ३ मिनेट

चर्चित लेखक सलमान रुस्दीमाथि अमेरिकाको न्यूयोर्कमा शुक्रवार आयोजित एक कार्यक्रममा छुरा प्रहार भएपछि उनको अवस्था गम्भीर छ।

रुस्दीको अहिले भेन्टिलेटरमा राखेर उपचार भइरहेको छ।

हमलाका कारण उनको कलेजोमा गम्भीर असर परेको छ भने उनले एउटा आँखा समेत गुमाउनसक्ने बताइएको छ।

उनलाई एक साहित्यिक कार्यक्रममा भाग लिइरहेको अवस्थामा एक व्यक्तिले मञ्चमा उक्लिएर चक्कुले प्रहार गरेका थिए।

अहिले उनी भेन्टिलेटरमा रहेको र बोल्न नसक्ने अवस्थामा रहेको उनका प्रतिनिधि एन्ड्रिउ वाइलीले एक विज्ञप्तिमा जनाएका छन्।

उनीमाथिको हमलालाई लिएर विश्वभरिबाट प्रतिक्रिया आएको छ भने अमेरिकाका लगभग सबैजसो सञ्चारमाध्यममा उक्त खबरले प्राथमिकता पाएको छ।

सन् १९८८ मा द सेटनिक भर्सेस पुस्तक लेखेयता रुस्दीले इस्लामिक अतिवादीहरूबाट हत्याको धम्की खेपिरहेका छन्।

प्रहरीले न्यूजर्सीका हादी मतर नाम गरेका २४ वर्षीय सन्दिग्ध व्यक्तिलाई पक्राउ गरेको छ।

ती सन्दिग्ध व्यक्तिले रुस्दी र उनीसँग प्रश्न सोधिरहेका व्यक्तिलाई पश्चिमी न्यूयोर्कस्थित शटोक्वा इन्स्टिच्यूशनमा हमला गरेको प्रहरीले जनाएको छ।

"सलमानले एउटा आँखा गुमाउन सक्ने देखिन्छ; उनको हातका नशाहरूमा नराम्ररी असर पुगेको छ र उनको कलेजोमा छुरा रोपिएको कारण त्यसले काम गरिरहेको छैन," उनका एजेन्ट वायलीले भनेका छन्।

प्रहरीले अझै हमलाको उद्देश्य र अभियोगहरू पुष्टि गरेको छैन।

प्रहरीले हमला भएको केन्द्रमा पाएका विद्युतीय उपकरण र झोलाबारे अनुसन्धान गर्न छापा मार्ने आदेशका लागि प्रक्रिया थालेको छ।

रुस्दीलाई घाँटी र पेटमा छुरा प्रहार गरिएको अधिकारीहरूले बताएका छन्।

उनलाई हेलिकोप्टरमा अस्पताल लगिएको थियो।

भारतमा जन्मिएका उपन्यासकार रुस्दी सन् १९८१ को मिडनाइट्स चिल्ड्रेन पुस्तकबाट चर्चामा आएका थिए जुन पुस्तक यूकेमा मात्र दश लाखभन्दा धेरै सङ्ख्यामा विक्री भएको थियो।

तर उनको चौथो पुस्तक सन् १९८८ मा छापिएको द सेटनिक भर्सेसले उनलाई झण्डै दश वर्ष लुकेर बस्न बाध्य पार्‍यो।

हमलाकारी को हुन्?

पेट र गर्धनमा चक्कु प्रहार गरेका रुस्दीलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

प्रहरीका अनुसार हमलाकारी न्यू जर्सीका हादी मतरको उमेर २४ वर्षको छ।

बीबीसीका धर्म मामिला सम्पादक अलीम मकबुलको विश्लेषण

द सेटनिक भर्सेस छापिएपछि ३० वर्षभन्दा बढी समयदेखि सलमान रुस्दीले ज्यान मार्ने धम्की बेहोर्दै आएका छन्।

रुस्दीले आफ्नो उपन्यासको मुख्य विषयवस्तु आप्रवासी अनुभव केलाउनु रहेको बताउँछन्।

तर केही मुश्लिमहरू पुस्तकमा पैगम्बर मोहम्मदबारे लेखिएका अंशबाट र कुरानमाथिका टिप्पणीबाट आहत भएका थिए।

द सेटनिक भर्सेस लेखको जन्ममुलुक भारतमै सबभन्दा पहिले प्रतिबन्धित भएको थियो। त्यसपछि अरू मुलुकहरूले प्रतिबन्ध लगाएका थिए।

इरानका आयातोल्लाह रुहाल्लाह खामेनेईले उनको कुख्यात फतवा जारी गरेका थिए।

फतवामा उक्त पुस्तक प्रकाशित गर्ने काममा संलग्न सबैको हत्या गर्न भनिएको थियो र हत्यामा संलग्न हुने सबैलाई पुरस्कृत गर्ने भनिएको थियो।

फतवा कहिले पनि औपचारिक रूपमा फिर्ता लिइएन।

व्यापक विरोध भएको देखेपछि अचम्भित भएका सलमान रुस्दीले मुश्लिमहरूसँग क्षमा मागे र लुकेर बस्न थाले।

'मिडनाइट्स चिल्ड्रेन' भारतबारे थियो भने रुस्दीको तेस्रो उपन्यास सन् १९८३ मा प्रकाशित 'शेम' चाहिँ मुस्किलले लुकिरहेको पाकिस्तानबारे थियो। 

चार वर्ष पछि रुस्दीले 'द ज्यागुअर स्माइल' लेखे जुन निकारागुआको यात्रा विवरण थियो। 

हमलाकारीले आक्रमण किन गरे भन्ने कुरा अनुसन्धानका लागि एफबीआईको पनि मद्दत लिन लागिएको प्रहरीले जनाएको छ।

सन्दिग्ध हमलाकारी हादी मतार एक्लै आएको पनि बताइएको छ।

सन्दिग्ध हादी मतार दौडँदै मञ्चतर्फ गएको र सलमान रुस्दीको घाँटी र पेटमा कम्तीमा एक एक पटक चक्कु प्रहार गरेको बताइएको छ।

नाइट उपाधि र विवाद

रुस्दीलाई ब्रिटिश महारानीले सन् २००७ मा नाइट उपाधि दिएका बेला पाकिस्तान र इरानमा विरोध प्रदर्शन भएको थियो र महारानीको सम्मानले "आत्मघाती आक्रमण हुन योग्य" भनेका थिए।

रुस्दी सहभागी हुने कैयौँ कार्यक्रमहरू कैयौँले बहिस्कार गर्थे र खतराको जोखिममा पर्थे तर उनले निरन्तर रूपमा लेखिरहेका छन्।

उनको अर्को उपन्यास 'भिक्ट्री' सिटी सन् २०२३ को फेब्रुअरीमा प्रकाशित हुने तय भएको छ।

रुस्दीलाई आक्रमण भएपछि कसले के भने?

यूकेका प्रधानमन्त्री बोरिस जोन्सनले ट्वीटमा भनेका छन्: "हामीले जहिले पनि बचाउ गर्न पछि पर्न नहुने अभिव्यक्ति स्वतन्त्रताको अभ्यास गरिरहेका बेला सर सलमान रुस्दीमाथि आक्रमण भएको देख्दा गहिरो झट्का लागेको छ।"

फ्रेञ्च राष्ट्रपति एमानुअल म्याक्रोँले लेखेका छन्, "स्वतन्त्रताका पक्षधर र प्रगतिवादी रुस्दीमाथि क्रूर र घृणावादीले आक्रमण" गरेका छन्।

लेखक तथा ग्राफिक उपन्यास सर्जक नील गेइम्यानले आफ्ना मित्र तथा लेखक रुस्दीमाथि भएको आक्रमणबाट आफू "स्तब्ध र आक्रोशित" भएको बताएका छन्।

पेङ्गुइन र्‍यान्डम हाउसमा रुस्दीका प्रकाशकहरूले एक विज्ञप्ति जारी गर्दै "हामी यो हिंसात्मक आक्रमणको विरोध गर्छौँ र यो दुखको घडीमा हामी उनका परिवारजनसँगै छौँ" भनेका छन्।

लेखाइकै कारण बाङ्लादेश छोडी भारतमा उनीजस्तै लुकेर बस्न बाध्य अर्की लेखक तस्लिम नसरिनले रुस्दीमाथिको आक्रमणपछि आफूलाई पनि सुरक्षाको त्रास पैदा भएको लेखेकी छन्।