तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
चट्याङ मास्टर कृष्णमुरारि गौतम: चोटिलो व्यङ्ग्यबाट ज्येष्ठ नागरिकको सेवा र अधिकारको पहलकदमी
- Author, स्वेच्छा राउत
- Role, बीबीसी न्यूज नेपाली
सन् २०१९ को अक्टोबर १, विश्व ज्येष्ठ नागरिक दिवस। संयुक्त राष्ट्रसङ्घको न्यूयोर्कको समारोहमा कृष्णमुरारि गौतमले सम्बोधन गरे।
हास्यव्यङ्ग्यको क्षेत्रमा 'चट्याङ मास्टर'को नामले चर्चित उनले वृद्धवृद्धालाई सबल बनाउने अभियान सुरु गरेको एक दशक भयो। जीवनको उत्तरार्धमा पुगेकाहरूलाई सुरक्षित राख्न र सक्रिय नाउन गरेको कार्यकै कारण राष्ट्रसङ्घमा सम्बोधन गर्ने मौका पाएको गौतम बताउँछन्।
गौतम का अनुसार एजिङ नेपाल नामक संस्थामार्फत् वृद्धवृद्धाको हक, अधिकार र सेवासुविधामा पहुँच पुर्याउने उद्देश्य राखिएको छ। उनले सन् २०२० को 'युनेस्को अन्तर्राष्ट्रिय शिक्षा पुरस्कार' हात पारेका थिए।
उमेरले ६८ पुगे पनि आफू जिम्मेवारीबाट पन्छिन तयार नभएको उनको भनाइ छ। किनकि उनलाई बुढ्यौलीसँग समस्या होइन, बुढ्यौलीसँगै आउने निष्क्रियता समस्या लाग्छ।
"अब त आफूलाई पनि बुढेसकाल महसुस हुन थालेको छ। जाँगर पहिलेजस्तो बाँकी छैन, स-साना कुरा बिर्सन थालेको छु, कहिले काहीँ त बोल्न चाहेको शब्द नै सम्झन सक्दिनँ," गौतमले भने।
"थकाइ मार्ने बेला अझै भएको छैन।"
बुवाले चिनाएको बुढेसकाल
गौतमका बुवा नारायणप्रसादले ससाना कुराहरू बिर्सन थाले। केही महिनाको अन्तरालमै उनको स्वास्थ्य अवस्था बिग्रँदै गयो।
आफ्ना ७५ वर्षीय बुवाले पाँच वर्षीय बालकजस्तै व्यवहार गर्न थालेको गौतम सुनाउँछन्।
"के गर्न हुन्छ र के हुँदैन भन्ने समेत होस बाँकी रहेन। हामीलाई चिन्नु परको कुरा। आफ्नै बुवालाई बच्चाजस्तो स्थितिमा देख्दा गाह्रो हुन्थ्यो। हामीलाई हुर्काएका बुवा र हाम्रो भूमिका फेरियो। हामीले उहाँलाई हुर्कँदै गरेको बच्चालाई सरह स्याहार्नु पर्यो," उनले भने।
उनको बुवालाई अल्जाइमर्स भएको रहेछ। चिकित्सकहरूले उक्त समस्याको उपचार नहुने बताए। त्यसैले गौतम औषधिको खोजीमा लागेनन् बरु अल्जाइमर्स भएकालाई कसरी स्याहार्ने, उनीहरूसँग कसरी बोल्ने र कस्तो व्यवहार गर्ने विषयमा पढ्न थाले।
आफ्नो परिवारमा परेपछि मात्र थाहा भएको अल्जाइमर्मबारे लेख लेखे। रेडिओमा कार्यक्रम बनाए।
"अरूलाई पनि यसबारे थाहा होस् र परिवारमा कसैलाई अल्जाइमर्स भए पहिचान गर्न सहज होस् भन्ने चाहन्थेँ।"
८४ वर्षको उमेरमा गौतमका बुवाको निधन भयो। बुवाले शय्यामा पल्टिएर गरेको सङ्घर्षले आफूलाई बुढेसकालको एउटा मात्र आयाम चिनाएको उनको कथन छ।
बुवाको मृत्युपछि उनले बुढापाका र उनीहरूको गतिविधिलाई नजिकबाट नियाल्न थाले।
जिज्ञासाले जगाएको अभियान
घरबाट आफन्तको घरमा पुग्ने आँट गरेर निस्किएकी बुढी आमाले किन बाटो बिराउँछिन्?
आफैँ अस्पताल धाएर कुन औषधि कतिखेर खाने ठम्याउन सक्ने टाठो वृद्ध मान्छेले आफै विरुद्ध भइरहेको मानसिक र शारीरिक दुर्व्यवहार किन थाहा पाउँदैन?
वृद्धाश्रममा बसेर सन्तानको बाटो हेरिरहेकाहरूले किन माग्न सकेनन् होला आफ्नै घरमा आफू बस्ने अधिकार?
यस्ता तमाम प्रश्नले गौतमलाई पिरोल्यो। जबाफको खोजीसँगै कृषि विकास र अर्थशास्त्रको क्षेत्रमा काम गरिरहेका उनको बाटो मोडियो। उनले नेपालमा वृद्धवृद्धाको स्थितिबारे अनुसन्धानको योजना बनाए।
"प्रस्ताव लिएर विभिन्न मन्त्रालय र सरकारी कार्यालय धाएँ। जवाफ सधैँ उही - बजेट छैन," उनले सम्झिएँ।
व्यक्तिगत तवरले चार वर्षको अवधिमा प्रमुख दैनिक पत्रिकाहरूमा छापिएका खबरको आधारमा वृद्धवृद्धाविरुद्ध हुने दुर्व्यवहार र उनीहरूको स्थितिबारे विश्लेषण गरे। नतिजा र समस्या समाधानको उपायको सङ्केतसहित पुस्तक प्रकाशनको प्रस्ताव लिएर फेरि एक पटक मन्त्रालय पुगे।
"धेरै पटक धाएपछि र आफ्नो उद्देश्यबारे पटक-पटक बुझाएपछि मात्र मानव अधिकार आयोग पुस्तक छाप्न तयार भयो," गौतमले सुनाए। सन् २०१० मा उनको पुस्तक छापियो।
त्यसपछि उनले वृद्धवृद्धाले भोगिरहेका समस्या पहिल्याउने र ती समस्या समाधानका लागि पहल गर्ने थप योजनाहरू बनाए।
"काम गर्न त खर्च चाहिन्छ। बूढाबूढीको हकहितको लागि काम गर्छु, मलाई सहयोग गर्नुहोस् भन्दा कसैले नपत्याउने रहेछन् त्यसैले संस्था स्थापना गरेरै काम अघि बढाए," उनले प्रस्ट्याए।
"[उमेर ढल्केका मानिसका] देखिने समस्या कति छन् कति, नदेखिने झन् कति होलान्? तथ्याङ्क र भोगाइका आधारमा खोज्न आवश्यक थियो। अनुसन्धानका लागि हामीले नै स्नातकोत्तरका विद्यार्थीहरूलाई छात्रवृत्ति दिएर प्रेरित गर्यौँ," उनले सुनाए।
हरेक वर्ष तीन जनालाई ५०,००० रुपैयाँ बराबरको लेखनवृत्ति दिएपछि वृद्धवृद्धाका विषयमा शोधपत्र तयार हुन थाले। ती शोधपत्रहरूले वृद्धवृद्धाको सामाजिक स्थिति, शारीरिक र मानसिक स्वास्थ्य, हरेक वर्ष फेला पर्ने वृद्धवृद्धाको बेवारिसे शव, वृद्धावस्थामा गरिबी, वृद्धावस्था मैत्री नभएका भौतिक संरचनालगायत पाटोहरूबारे प्रस्ट पारेको गौतम बताउँछन्।
हालसम्म छात्रवृत्ति पाएकामध्ये २१ शोधपत्र प्रकाशित छन्।
बुढ्यौली निष्क्रिय वा पीडादायी नै हुन्छ भन्ने मान्यता भत्काउनु आफ्नो लक्ष्य रहेको गौतम बताउँछन्।
त्यस्तै वृद्धवृद्धाको दिगो सामाजिक सुरक्षा प्रणाली निर्माण गर्न चाहन्छन्। "जहाँ उमेरले पाको भएकाहरूको पनि अधिकार सुनिश्चित होस्, जीवनशैली स्वस्थ रहोस्," उनले भने।
उनको संस्थाले सन् २०१६ देखि 'ज्येष्ठ नागरिक आधारभूत शिक्षा कार्यक्रम' सञ्चालन गरिरहेको छ। कार्यक्रम अन्तर्गत ६० वर्ष माथिका १८० जना वृद्धहरूले कखरा सिकेको गौतम दाबी गर्छन्।
"नाम लेख्न जानेँ भन्दै दङ्ग पर्दै आउँछन्। पत्रिका पढेको सुनाउँछन्। पहिले बाटो बिराउनेहरू अहिले गाडीमा रुट नम्बर पढ्न सकेको बताउँछन्। मलाई धेरै खुसी दिने कारणहरू यस्तै साना र खुद्रा कुरा छन्," गौतमले भने।
यही कार्यक्रमका लागि २० हजार अमेरिकी डलर बराबरको 'युनेस्को अन्तर्राष्ट्रिय शिक्षा पुरस्कार २०२०' पाएका हुन्।
बुवा बिरामी भएपछि कोरेको एउटा अभियानको खाकाले मूर्त रूप लियो। यसबीचमा उनी सरकारी निकायदेखि अन्तर्राष्ट्रिय सङ्घ संस्थाहरू समक्ष पुगे। अभियानमा साथ र सहयोगको याचना गरे। आफ्नो पृष्ठभूमि र पेसाभन्दा फरक क्षेत्रमा एक दशकभन्दा बढी बिताए। वृद्धवृद्धाहरूलाई बुढ्यौलीका लागि तयार पारे।
तर दुई वर्षअघि भने यस्तो परिस्थिति आयो, जसका लागि उनी स्वयं तयार थिएनन्।
क्यान्सरविरुद्ध लडाइँ
अघिल्लो दिन गराएको परीक्षणको नतिजा बोकेर चिकित्सकको ढोका अगाडि पालो कुर्दै गर्दा 'क्यान्सरस ग्रोथ' लेखेको वाक्यले आफ्नो ध्यान खिचेको उनी सुनाउँछन्।
चिकित्सकले त्यसैलाई पुष्टि गरे। गौतमको प्रोस्टेट ग्रन्थिमा क्यान्सर भएको रहेछ, चौथो चरणको। समयमा परीक्षण र उपचार नभएकै कारण क्यान्सर शरीरको अन्य भागमा समेत फैलिइसकेको चिकित्सकले सुनाए।
"मच्चिरहेको पिङमा माथि पुगेर तल खस्दाजस्तै सिरिङ्ग भयो," त्यो क्षण सम्झिँदै गौतमले भने।
"क्यान्सर शरीरको कुन-कुन भागमा फैलियो पत्ता लगाउन गाह्रो हुन्छ, पत्ता लागे पनि काटेर फाल्न सकिँदैन भन्दा त लाग्यो मृत्यु मेरै अगाडि उभिएको छ।"
दुई वर्षअघि छिनछिनमै पिसाबले च्याप्ने समस्याले सताएको थियो उनलाई। आफूलाई अप्ठेरो भएको सुनाउँदा सुरुमा सबैले भने - 'बुढ्यौलीले हो।'
बुढ्यौली त उनलाई पनि महसुस हुन थालेको थियो तर क्यान्सर कल्पना बाहिरको कुरा थियो।
"ठूलो झट्का लागेको थियो। तर मैले हिम्मत हार्नु भनेको आफूसँगै थुप्रै बुढापाकालाई हराउनु थियो। म त उनीहरूलाई बुढ्यौलीसँग जुध्न सिकाउन लागि परेको मान्छे पो त," गौतमले भने।
अहिले बालक, किशोर, युवा र वयस्क सबै उमेरका मानिसको भविष्य बुढ्यौली हो। ढिलो वा चाँडोको कुरा हो, तर बुढ्यौली अकाट्य छ। यही सत्य आत्मसात् गरेर उनी आफ्नो ढल्कँदै गरेको उमेर र खस्कँदै गरेको स्वास्थ्यलाई थुमथुम्याउँदै वृद्धवृद्धाहरूलाई सहज अवस्था तयार पार्न लागिपरेका छन्।
"म स्वभावले भावुक र नरम देखिउँला तर मैले वृद्धवृद्धाहरूको लागि लिएको अठोटप्रति सदैव दृढ र चट्टानी छु। कुनै दिन त म पनि काम गर्न नसक्ने हुन्छु। तर जबसम्म सक्छु, तबसम्म गरिरहन्छु," उनले भने।
क्यान्सरका कारण कामको गति केही धिमा अवश्य भयो। तर केही समयको औषधोपचारपछि उनी उस्तै तागत र मिजासका साथ पुनः काममा फर्किए। भजन शिरोमणि भक्तराज आचार्यले गाएको जस्तै भयो - "अल्झेँ कहीँ त के भो? बाटो भूलेको छैन!"
कृष्णमुरारी गौतम भन्छन्,"पहिला ओरालोमा गुडिरहेको ठेलागाडीजस्तै थिएँ। अहिले त्यही ठेलागाडी उकालो लाग्दै छ। अलि बढी जोड लगाउनु पर्छ तर भारी ओसार्न छाड्दिनँ।"