तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
सिरिया: हारपछि विद्रोहीहरू पूर्वी गूटा छोड्दै
सिरियामा सरकारसँग गरिएको सुरक्षित स्थानान्तरणको सम्झौतापछि विद्रोहीहरू सपरिवार पूर्वी गूटा क्षेत्रबाट बाहिर जान थालेका छन्।
राज्यद्वारा सञ्चालित सञ्चारमाध्यमका अनुसार हालसम्म ७२ विद्रोही र ४५२ गैरसैनिकहरूले हरास्ता नगर छोडेका छन्।
अहरर अल-शाम समूहका झन्डै १५०० लडाकुहरू र छ हजार गैरसैनिकहरूलाई हरास्ताबाट विद्रोहीको नियन्त्रणमा रहेको उत्तरी इडलिब प्रान्तमा सारिने छ।
एक महिनाअघि विद्रोहीनियन्त्रित पूर्वी गूटामा सरकारी फौजले सघन रूपमा आक्रमण गर्न थालेपछि त्यहाँ बस्ने मानिसहरूलाई अन्यत्र लैजान गरिएको यो पहिलो सहमति हो।
एउटा निगरानी समूहका अनुसार हवाई र अन्य आक्रमणमा परेर १,५०० गैरसैनिक मारिएका र कम्तीमा ५० हजार अरू घेराबन्दी भएको क्षेत्र छोडेर पैदलै बाहिर गएका छन्।
रुसको मध्यस्थतामा भएको उक्त सम्झौताको कार्यान्वयन बिहीवार बिहान कैदी साटासाट गरिएपछि भएको थियो।
विद्रोहीको नियन्त्रणमा रहेका १३ जनालाई मुक्त गरिएको सरकारी टीभीले जनाएको छ।
तीमध्ये एक जना सैनिकले टीभीसँगको अन्तर्वार्तामा आफ्नो मुक्तिका लागि ईश्वर र सेनालाई धन्यवाद दिएका थिए।
सिरियाको आधिकारिक समाचार एजेन्सी 'साना'का अनुसार बस चढेर कुल ५२४ व्यक्तिले सरकारनियन्त्रित हरास्ता छोडेका छन्।