तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
जापान समुद्री आँधीः शक्तिशाली टाइफून नान्मादोलका कारण बाढी र पहिरोको प्रकोप
जापानमा उद्धारकर्ताहरूले शक्तिशाली समुद्री आँधीका कारण थप बाढी र पहिरो आउन सक्ने चेतावनी दिएका छन्।
टाइफून नान्मादोल नाम दिइएको उक्त समुद्री आँधी जापानको दक्षिणी टापु क्युशुमा आइतवार बिहान बज्रिएपछि तीव्र गतिमा अघि बढिरहेको छ।
उक्त समुद्री आँधीका कारण अहिलेसम्म क्युशुमा कम्तीमा चार जनाको मृत्यु भएको छ भने १०० जनाभन्दा बढी मानिस घाइते भएका छन्।
यसअघि टाइफून नान्मादोलको प्रकोपबाट जोगिन ९० लाख मानिसलाई सुरक्षित स्थानमा जान भनिएको थियो। अझै एक लाख चालिस हजार घरमा विद्युत् आपूर्ति छैन।
आगामी २४ घण्टामा ४०० मिलिमिटर पानी पर्ने पूर्वानुमान गरिएको छ।
सरकारी प्रसारक एनएचकेका अनुसार बाढीमा एउटा कार डुबेपछि एक जनाको र पहिरोमा पुरिएर अर्का व्यक्तिको मृत्यु भएको थियो।
यातायात अवरुद्ध
उक्त शक्तिशाली समुद्री आँधीका कारण २३४ किलोमिटर प्रतिघण्टाको वेगमा हावाहुरी चलेको छ। हावाहुरीका कारण घरहरूमा क्षति पुगेको छ र यातायात अवरुद्ध भएको छ।
यो समुद्री आँधीलाई चौथो वा पाँचौ वर्गको हरिकन जत्तिकै शक्तिशाली मानिएको छ।
राजधानी टोक्योमा पनि ठूलो वर्षा भएको छ। बाढीका कारण टोजाई अन्डरग्राउन्ड लाइन बन्द भएको छ।
बुलेट रेल सेवा, फेरी र सयौँ उडानहरू रद्द भएका छन्। पसल र व्यवसायहरू पनि खुल्न सकेका छैनन्। टोक्योमा खिचिएको भिडिओमा भवनहरूका छाना उडेको र बिलबोर्डहरू भत्किएको देख्न सकिन्छ।
समुद्री आँधीका कारण देशमा सङ्कट निम्तिएपछि प्रधानमन्त्री फोमिओ किशिदाले आफ्नो विदेश भ्रमण पर सारेका छन्।
उनी संयुक्त राष्ट्रसङ्घमा सम्बोधन गर्न न्यूयोर्क जाने तय भएको थियो।
फेरि समुद्रमा फर्किने
उक्त आँधी पूर्वतिर जाने र जापानको मुख्य टापु होन्शु हुँदै बुधवार पुनः समुद्रमा छिर्ने पूर्वानुमान गरिएको छ।
वैज्ञानिकहरूले ला निना नामक प्राकृतिक घटनाका कारण यो वर्ष समुद्री आँधी सक्रिय हुने आकलन गरेका छन्।
जलवायु परिवर्तनका कारण प्रशान्त महासागर र क्यारिबीअन सागरको सतह तातो हुँदा समुद्री आँधीको सङ्ख्या र शक्तिमा प्रभाव पर्ने बताइन्छ।