इरानसँग वार्ता नटुङ्गिएसम्म युद्धविराम अवधि थपिने ट्रम्पको घोषणा

डोनल्ड ट्रम्प

तस्बिर स्रोत, Reuters

पढ्ने समय: ३ मिनेट

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले अमेरिका र इरानबीचको वार्ता नसकिँदासम्म दुई देशबीच जारी युद्धविरामको अवधि थपिने बताएका छन्।

तेहरानका अधिकारीहरूले एक रूपमा तयार गरेको प्रस्ताव पेस नगरेसम्म इरानमाथिको सामुद्रिक नाकाबन्दी पनि जारी रहने ट्रम्पले बताएका छन्।

अमेरिका–इरानबीचको दुई साता लामो युद्धविरामको अवधि बुधवारबाट समाप्त हुन लाग्दा दुई देशबीच हुने भनिएको दोस्रो चरणको वार्ताबारे अन्योल देखिएको छ।

वार्ताका लागि मङ्गलवार नै इस्लामाबाद जाने ठानिएका अमेरिकी उपराष्ट्रपति जेडी भान्स वाशिङ्टनमै रहेको विवरण आएका थिए। ह्वाइट हाउसले पत्रकारहरूसँग भान्स अब पाकिस्तान नजाने बताएको छ।

ह्वाइट हाउसका अधिकारीहरूले बीबीसीको अमेरिकी साझेदार सीबीएससँग अब हुने प्रत्यक्ष वार्ताबारे ह्वाइट हाउसले जानकारी गराउने बताएका छन्।

इरानले पनि अमेरिकासँग हुने सम्भावित वार्ताका लागि आफ्नो देशको टोली पठाउनेबारे निर्णय नगरेको विदेश मन्त्रालयका एक प्रवक्ताले बीबीसीसँग बताएका थिए।

युद्धविराम लम्ब्याउने निर्णयको राष्ट्रसङ्घद्वारा स्वागत

संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनिओ गुटेरसले इरानसँग युद्धविराम लम्ब्याउने राष्ट्रपति ट्रम्पको घोषणाको स्वागत गरेको उनको कार्यालयका प्रवक्ताले बताएका छन्।

महासचिव गुटेरसको कार्यालयले सबै पक्षलाई युद्धविराम उल्लङ्घन नगरी रचनात्मक वार्तामा सहभागी हुन आग्रह गरेको छ।

उनका प्रवक्ताका अनुसार गुटेरसले वार्ता सहज बनाउन पाकिस्तानले खेलेको भूमिकाको समर्थन गर्दै द्वन्द्वको दीर्घकालीन समाधानका लागि वातावरण बन्ने आशा व्यक्त गरेका छन्।

युद्धविराम लम्ब्याउने घोषणा अघिसम्म अमेरिकाले तेहरानमाथि आफ्नो आर्थिक दबाब कायमै राख्ने प्रयास गरेको छ।

तेहरान

तस्बिर स्रोत, Reuters

इरानसम्बद्ध १४ व्यक्ति र संस्थामाथि अमेरिकी प्रतिबन्ध

वाशिङ्टनबाट संवाददाताहरूलाई सोमबार अपराह्न पठाइएको एक विज्ञप्तिमा अमेरिकी अर्थ मन्त्रालय अन्तर्गतको विदेशी सम्पत्ति नियन्त्रण कार्यालयले इरान, टर्की र संयुक्त अरब एमिरेट्सबाट कारोबार गर्ने १४ व्यक्ति, संस्था र विमानमाथि प्रतिबन्ध लगाइएको जनाएको छ।

ती व्यक्ति र संस्थाहरू इरान सरकारको तर्फबाट हतियार वा हतियारका पाटपूर्जा खरिद तथा ढुवानीमा संलग्न भएको अमेरिकी आरोप छ।

अमेरिका–इरान युद्धविरामका सर्तहरू के-के छन्

होर्मुज स्ट्रेट

तस्बिर स्रोत, Reuters

यसअघि अमेरिका र इरानबीच युद्धविराम सम्झौता हुँदा होर्मुज स्ट्रेट खोल्ने सर्त गरिएको बताइए पनि उक्त जलमार्ग बन्द छ।

राष्ट्रपति ट्रम्पका अनुसार तेहरान होर्मुज खोल्ने सर्तमा सहमत भएको थियो। खाडी क्षेत्रबाट तेल ढुवानीको प्रमुख जलमार्ग होर्मुज स्ट्रेटबाट दुई साता जहाजहरू आवतजावत गर्न दिने र त्यसको समन्वय आफ्नो सेनाले गर्ने सहमति भएको इरानले जनाएको थियो।

शान्ति वार्ताका लागि पाकिस्तान पुगेका अमेरिकी उपराष्ट्रपति जेडी भान्स इरानी अधिकारीहरूसँग घण्टौँको छलफलमा पनि कुनै सम्झौता नजुटेपछि वाशिङ्टन फर्किएका थिए।

वार्ता असफल भएपछि अमेरिकाले इरानमाथि सामुद्रिक नाकाबन्दी सुरु गर्‍यो। अमेरिकाले इरानमाथि आर्थिक दबाव बढाउने उद्देश्यले प्रतिबन्ध पनि थप गर्दै लगेको छ।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।