बरफको ढिस्कोले छेक्यो सगरमाथा चढ्ने बाटो, विकल्प के छन्

तस्बिर स्रोत, Reuters
- Author, अशोक दाहाल
- Role, बीबीसी न्यूज नेपाली
- पढ्ने समय: ५ मिनेट
सगरमाथा आरोहणको मार्गमा हिउँद याममा बनेको एउटा ठूलो बरफको ढिस्कोका कारण आरोहणका लागि प्रस्थान मार्ग बनाउने काममा ढिलाइ भएको अधिकारी र शेर्पाहरूले बताएका छन्।
सरकारले सगरमाथा प्रदूषण नियन्त्रण समिति 'एसपीसीसी'लाई दोस्रो शिविरसम्म र पर्वतारोहण सञ्चालक सङ्घलाई त्यसभन्दा माथिको बाटो बनाउने जिम्मा दिएको छ।
दोस्रो शिविरसम्म 'रोप फिक्सिङ' भनिने बाटो बनाउने जिम्मा पाएका 'आइसफल डाक्टर'हरू तीन साता अघि नै आधार शिविर पुगे पनि उनीहरूले निर्धारित समयभित्र पहिलो शिविरसम्म बाटो पुर्याउन नसकेको पर्यटन विभागले जनाएको छ।
हरेक वर्षको वसन्त यामको आरोहणका लागि नेपाली नयाँ वर्षसम्म आइसफल्स डाक्टरहरूले रोप फिक्सिङको काम सक्ने गरेका थिए। यसअघि वैशाख पहिलो सातासम्म तेस्रो शिविरसम्मको रोप फिक्सिङ सकिने गरेको पर्वतारोहण सञ्चालक सङ्घका अध्यक्ष डम्बर पराजुली बताउँछन्।
तर पहिलो शिविर नजिकै बनेको करिब १०० मिटर अग्लो 'सर्याक' अर्थात् बरफको ढिक्काका कारण यो वर्ष रोप फिक्सिङको काम रोकिएको शेर्पाहरूले बीबीसी न्यूज नेपालीसँग बताए।
आइसफल डाक्टर र आरोहीहरूको सुरक्षालाई ध्यानमा राखेर उक्त बरफ पग्लने बेलासम्म पर्खनुपर्ने बाध्यता रहेको पर्यटन विभागका महानिर्देशक लामिछानेले बताए।
"हाम्रो रोप फिक्सिङको काममा प्राविधिक कठिनाइले गर्दा ढिलो भइरहेको छ। एउटा हिउँको ढिक्का खस्न बाँकी छ। त्यो खसिसकेपछि मात्रै अघि बढाउन सकिन्छ भनेर बस्नुभएको छ ," आइसफल डाक्टरहरूले आफूलाई दिएको सूचनाबारे महानिर्देशक लामिछाने भन्छन्।
विकल्प के छन्

तस्बिर स्रोत, EPA-EFE/REX/Shutterstock
सगरमाथा आरोहणका लागि उच्च हिमाली वातावरणसँग घुलमिल हुन र अभ्यासका लागि ठूलो सङ्ख्यामा आरोहीहरू आधार शिविर पुगिसकेका छन्।
सरकारी स्तरबाट सगरमाथा आरोहणको नियमन तथा अनुगमन गर्दै आएको पर्यटन विभागका अनुसार उक्त बरफ आफैँ पग्लिएर भत्कने अपेक्षा पछिल्लो पटक अनुगमनमा पुगेका शेर्पाहरूले गरेका छन्।
लामो समय आइसफल्स डाक्टरको रूपमा काम गरेका आङ सार्की शेर्पाले मुनिपट्टिको भाग कमजोर भएका कारण बरफको ढिक्का पग्लने अपेक्षा आफूहरूले गरेको बताए।
"हामी अस्ति एप्रिलको १० मा त्यही ठाउँमा पुगेर आएको। लगभग त्यो १०० मिटर जति अग्लो छ। तल पग्लेको खाल्डा अनि माथि झर्न लागेको छ," सगरमाथा आधार शिविरबाट सोमवार उनले भने। उनका अनुसार त्यसयता पग्लिएर उक्त ढिक्का भासिने अवस्थामा रहेको उनीपछि गएका शेर्पाहरूले बताएका छन्।
उनका अनुसार पहिलो शिविरभन्दा ६०० मिटर तल रहेको त्यो ढिक्का नपग्लिएसम्म पर्खनुको विकल्प छैन। आरोहणका लागि उक्त ढिक्का भएको स्थान छलेर अर्को बाटो बनाउने ठाउँ आफूले नदेखेको रोप फिक्सिङका अनुभवी शेर्पाले बताए।
"कुनै विकल्प छैन। हामी चार दिन त्यो क्षेत्र डुलेर हेरेको पहाडबाट दायाँबायाँ जाने जति ठाउँ सबै हेर्यौँ," उनले टेलिफोनमा सुनाए।
कतिपय शेर्पा आरोहीले केही घुमाउरो बाटो बनाउन सकिने र भए पनि त्यो जोखिमपूर्ण हुनसक्ने उनीहरू बताउँछन्। उक्त बरफ पग्लिएर दुर्घटना निम्त्याउने जोखिम पनि कायमै रहेको बीबीसीले कुरा गरेका अनुभवी आरोही फूर्वा तेन्जिङ शेर्पाले बताए।
यसअघि आधार शिविरभन्दा केही तलबाट सुरु भएर क्याम्प वानमा गएर मिसिने वैकल्पिक मार्गबारे पनि अध्ययन भएका थिए। तर यो सिजनमै उक्त बाटो प्रयोगमा ल्याउन चुनौती रहेको शेर्पाहरूले बताएका छन्।
पर्वतारोहण सञ्चालक सङ्घका अध्यक्ष पराजुली पहिलो शिविरभन्दा तल रहेको हिउँको ढिक्का पार परेर जाने अर्को बाटो नभएको बताउँछन्।
"हाम्रो टोलीले सबै सामानहरू बेस क्याम्प पुर्याएर एप्रिल पहिलो सातापछि तयारी अवस्थामा छ। तर अहिले क्याम्प वानभन्दा माथि जाने कुरा पुल नभएको खोला तर्नु जस्तै हो," उनले भने।
यो पटक मे को अन्तिमसम्म सगरमाथा आरोहणका लागि मौसम अनुकूल हुने अपेक्षा गरिएको छ। अहिले अवरोध पुर्याइरहेको बरफको ढिस्को पग्लिएको अवस्थामा केही दिनभित्रै दोस्रो शिविरसम्म र त्यसको एक साताभित्रै चुचुरोसम्म रोप फिक्सिङको काम सकिने शेर्पाहरूले बताएका छन्।
कतिले चढ्दै छन् सगरमाथा

तस्बिर स्रोत, Reuters
मध्यपूर्वको द्वन्द्वका कारण प्रभावित भएको अन्तर्राष्ट्रिय आवागमन र महँगी बढेको भए पनि सगरमाथा आरोहणका लागि आउने अन्तर्राष्ट्रिय आरोहीको सङ्ख्या उल्लेख्य रहेको आरोहण आयोजक कम्पनीहरूको दाबी छ।
पर्यटन विभागका अनुसार हालसम्म ३६७ जनाले आरोहणको अनुमति लिइसकेका छन्। आरोहण अनुमति अन्तिम समयसम्म पनि जारी गरिने हुँदा यो सङ्ख्या अझै उल्लेख्य रूपमा बढ्ने विश्वास अधिकारीहरूको छ।
रोचक पक्ष के छ भने हालसम्म आरोहणको अनुमति लिने सबैभन्दा धेरै चिनियाँ नागरिकहरू छन्। यसअघि चिनियाँ नागरिकहरू अमेरिकी र भारतीयहरू भन्दा कम आरोहणमा आउने गरेका थिए।
विभागका अनुसार यो पटक अनुमति लिनेमा दोस्रो ठूलो सङ्ख्या अमेरिकीहरूको छ भने त्यसपछि भारत, यूके, जापान, रुस सहितका देशका नागरिक छन्।
चीनबाट अनुमति जारी नहुँदा नेपालमा दबाव

तस्बिर स्रोत, Reuters
आरोहण आयोजकहरूका अनुसार यो वर्ष चीनले विदेशी नागरिकहरूका लागि आफ्नो क्षेत्रबाट आरोहण अनुमति जारी गरेको छैन।
नेपालबाट भन्दा सहज बाटो हुँदै सगरमाथा शिखरमा पुग्ने तिब्बतबाट अनुमति नपाउँदा धेरै आरोहीहरू यो वर्ष नेपाली बाटोबाट आरोहणमा आउने अपेक्षा गरिएको छ।
"चीनबाट अनुमति खोले पनि नेपालतर्फबाट भएको आरोहणको अन्तर्राष्ट्रिय स्तरमा राम्रो मान्यता हुने भएका कारण नेपालबाटै धेरैले आरोहण गर्छन्," पर्वतारोहण सञ्चालक संघका अध्यक्ष पराजुली भन्छन्। गत वर्ष नेपालबाट गाइड सहित ७०० जना भन्दा धेरैले आरोहण गर्दा चीनबाट १०० को हाराहारी सङ्ख्यामा मात्रै आरोहण भएको विवरण आएका थिए।
यसअघि सन् २०१९ मा सगरमाथामा आरोहीहरू लाममा बस्नुपरेको तस्बिर सार्वजनिक भएपछि पर्यटन विभागले नेपालतर्फबाट जारी हुने अनुमतिपत्रमा कडाइ गर्दै आएको छ।
यो पटकबाट पर्यटन विभागले सगरमाथा आरोहणको शुल्क पनि बढाएको छ। वसन्त ऋतुमा सगरमाथमा आरोहण गर्ने विदेशी नागरिकले सरकारलाई तिर्नु पर्ने रोयल्टी यो पटकबाट ११ हजार अमेरिकी डलरबाट १५ हजार डलर पुगेको छ। नेपाली नागरिकले तिर्नु पर्ने रोयल्टी पनि ७५ हजार रुपैयाँबाट बढाएर १ लाख ५० हजार रुपैयाँ पुर्याइएको छ।
रोयल्टी बढे पनि आरोहीको सङ्ख्या नघटेको पर्वतारोहण सञ्चालक संघका अध्यक्ष पराजुली बताउँछन्।
"उडानहरू प्रभावित भएका कारण केही कम भएको हो कि जस्तो देखिन्छ तर पदयात्रामा जस्तो ठूलो असर पर्वतारोहणमा चाहिँ देखिएको छैन," पराजुलीले भने।
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।



















