शनिवार र आइतवारगरी हप्तामा दुई दिन बिदा दिने सरकारको निर्णय

तस्बिर स्रोत, PM Secretariat
सरकारले शनिवार र आइतवार गरी सातामा दुई दिन सरकारी बिदा दिने निर्णय गरेको छ।
आइतवार बसेको मन्त्रिपरिषद् बैठकले सरकारी कार्यालय र शैक्षिक संस्थामा साताको दुई दिन बिदा दिने निर्णय गरेको सरकारका प्रवक्ता तथा शिक्षामन्त्री सस्मित पोखरेल जानकारी दिए।
सरकारले शैक्षिक संस्था बाहेकका सरकारी कार्यालयको कार्यालय समय ९ देखि ५ बजेसम्म कायम गर्ने भएको छ।
इरानमा जारी युद्धका कारण इन्धनको आपूर्ति प्रभावित हुँदा कैयौँ देशहरूले इन्धन खपत कम गर्न हप्तामा थप दिन बिदा दिने सहितका उपायहरू गरिरहेका छन्।
"पेट्रोलियम आपूर्तिमा उत्पन्न असहजताका कारण चैत २३ गतेबाट लागु हुनेगरी सरकारी कार्यालय र शैक्षिक संस्थाहरूमा शनिवार र आइतवार बिदा दिने" निर्णयबारे पोखरेलले भने।
सरकारले डिजेल र पेट्रोलबाट सञ्चालन हुने सवारी साधनलाई विद्युतीय साधनमा परिवर्तन गर्नका लागि आवश्यक कानुनी व्यवस्था मिलाउने निर्णय पनि गरेको छ।
दुई पटक परीक्षण भएको अभ्यास

कैयौँ देशहरूमा हप्तामा दुई दिन साप्ताहिक बिदा दिने प्रचलन छ।
हप्तामा दुई दिन बिदा हुँदा इन्धनको खपत कम हुने अपेक्षा अधिकारीहरूले गरेका छन्।
नेपाल आयल नियमले पनि सरकारलाई हप्तामा दुई दिन सार्वजनिक बिदा दिन सिफारिस गरिएको बताएको थियो। आयोगका प्रवक्ता मनोज ठाकुरले आगामी साताबाट सरकारी कार्यालय र शैक्षिक संस्थामा हप्तामा दुई दिन बिदा दिन सुरु भएपछि इन्धनको खपतमा आउने कमी मूल्याङ्कन हुने बताए।
"अहिले नै इन्धनको खपतमा कति बचत हुन्छ भन्न सकिने अवस्था छैन। अब दुई दिन बिदा सुरु भएपछि हामी हेर्छौँ," उनले भने।
नेपालमा यसअघि पनि सरकारले दुई पटक सातामा दुई दिन बिदा दिने अभ्यास गरेको थियो। तर दुवै पटक पछि निर्णय परिवर्तन गरेर शनिवार एक दिन मात्रै बिदा दिन थालियो।
यसअघि शेरबहादुर देउवा नेतृत्वको सरकारले परीक्षणका रूपमा दुई दिन साप्ताहिक बिदा दिने निर्णय गरेको थियो।
२०७९ जेठ १ गतेदेखि लागु हुने गरी बिहान ९:३० बजेदेखि साँझ ५:३० बजेसम्म कार्यालय समय कायम गर्ने र शनिवार र आइतवार सातामा दुई दिन बिदा दिने निर्णय भएको थियो।
तर एक महिनापछि असार १ गतेबाट आइतवारको बिदा खारेज गरेर सातामा ६ दिन नै कार्यालय खोल्ने निर्णय गरियो।
अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्य वृद्धि र नेपालको विदेशी मुद्रा सञ्चितिमा आएको गिरावटपछि हप्तामा दुई दिन बिदा दिने निर्णयमा सरकार पुगेको थियो।
त्यसअघि तत्कालीन प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईको कार्यकालमा विसं २०५६ साउन १ गतेबाट नेपालमा हप्तामा दुई दिन सार्वजनिक बिदाको अभ्यास सुरु गरिएको थियो।
दुई वर्षसम्म प्रचलनमा रहेको दुई दिने साप्ताहिक सरकारी बिदा दिने प्रचलन त्यसपछि प्रधानमन्त्री बनेका शेरबहादुर देउवाले विसं २०५९ सालमा हटाएका थिए।
भूतपूर्व मुख्यसचिव तीर्थमान शाक्यले यसअघि बीबीसीसँग कुरा गर्दै हप्तामा दुई दिन बिदा हुँदा सरकारी कार्यालयबाट जनतालाई दिइने सेवा प्रभावित भएको गुनासो आउने गरेको बताएका थिए।
दुर्गम जिल्लाहरूमा टाढाबाट सदरमुकाम पुगेका सेवाग्राहीहरूले हप्तामा दुई दिन बिदा हुँदा शुक्रवार काम नसकिए थप दुई दिन बास बस्नुपर्ने बाध्यता हुने गरेको गुनासो त्यस बेला हुने गरेको थियो।
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।





















