ती व्यक्ति जो भारतकै महान् 'स्टेज क्वीन'मध्ये एक बने

चपल भादुरी

तस्बिर स्रोत, Debarshi Sarkar for Parama Calcutta

तस्बिरको क्याप्शन, चपल भादुरी 'रङ्गमञ्चकी रानी' मानिन्थे
    • Author, सुधा जी तिलक
  • पढ्ने समय: ६ मिनेट

बिसौँ शताब्दीको मध्यतिर पूर्वी भारतको बङ्गालमा रङ्गमञ्चका कहलिएका 'महिला स्टार'हरूमध्ये केही कलाकार वास्तवमा पुरुष थिए।

तीमध्ये चपल भादुरी अधिक चर्चित थिए। उनी चपल रानीका रूपमा चिनिन्थे। उनलाई 'जात्रा'को रानी मानिन्थ्यो र कुनै बेला उक्त घुम्ती रङ्गमञ्चले विशाल भिडलाई आफूतर्फ खिच्थ्यो।

पुरुष कलाकारहरूले महिलाको भूमिका निर्वाह गर्ने चलन त्यसबेला युरोपदेखि जापान र चीनसम्मका विश्व रङ्गमञ्चहरूमा प्रचलित थियो।

त्यो चलन बङ्गालमा जात्राका रूपमा फस्टायो। कमाइ त्यति नगरे पनि ग्रामीण क्षेत्रका खुलामञ्चमा हुने सङ्गीत र मिथकसहितका मेलो ड्रामाको पहुँच सिनेमाकै हाराहारी थियो। काव्य र भक्ति कथामा आधारित ती नाटक खुला मञ्चमा देखाइन्थे। चर्को आवाज, हाउभाउ र भेशभूषा तिनका विशेषता थिए।

नयाँ पुस्तक "चपल रानी: द लास्ट क्वीन अफ बङ्गाल"मा लेखक सन्दीप रोयले भादुरीको स्टारडमदेखि गुमनामसम्मको यात्रालाई पछ्याएका छन्। त्यस क्रममा उनले हराउँदै गएको त्यस्तो दुनियाँलाई दर्साएका छन् जहाँ लैङ्गिक पहिचान आफैँमा एक अभिनय थियो।

चपल भादुरी

तस्बिर स्रोत, Courtesy of Debojit Majumder and Sanjay Singha

तस्बिरको क्याप्शन, 'स्त्रीत्व सदैव मेरो एउटा अंश थियो,' भादुरी भन्छन्

त्यस्ता जात्रामा महिलाको भूमिका पुरुषहरूले निर्वाह गर्ने क्रम वर्षौँ चल्यो। तिनलाई "पुरुष रानी" भनिन्थ्यो।

तर यसको उत्कर्ष कालमै पनि यस विधालाई केही हदसम्म सामाजिक कलङ्कका रूपमा लिनेहरू पनि थिए।

उपनिवेशकालका बेला युरोपेली स्वादबाट प्रभावित कोलकाताको सहरी उच्च वर्गले जात्रालाई प्रायः 'गाउँले वा असंस्कृत' ठान्थ्यो। १९औँ शताब्दीमा एक एङ्ग्लो-इन्डिअन पत्रिकाले महिलाको भूमिका निर्वाह गर्ने पुरुषहरूको आवाजलाई अस्वाभाविक भन्दै स्यालको आवाजसँग तुलना गरेको थियो।

सन् १९५० को दशकमा भादुरी रङ्गमञ्च छिर्दै गर्दा उक्त संसार बदलिन थालिसकेको थियो। महिलाहरूले अभिनयमा भाग लिन थालिसकेका थिए। महिलाको अभिनय गर्ने पुरुषका लागि पनि ठाउँ साँघुरिँदै गइरहेको थियो।

तथापि भादुरीले विशेष पहिचान बनाए।

सन् १९३९ मा उत्तर कोलकातामा रङ्गमञ्च अभिनेत्री प्रभा देवीका सन्तानका रूपमा जन्मिएका भादुरी कलाकारहरूकै बीचमै हुर्किए। उनले १६ वर्षको उमेरमै अभिनय सुरु गरे। "मेरो हाउभाउ र स्वर केटीको जस्तो थियो," पछि उनी भन्दथे।

मञ्चमा भने उनी पूरै रूपान्तरित हुन्थे। उनले रानी, देवी र देहव्यापार गर्ने महिलाहरूका जस्ता भूमिका निपुणताका साथ निर्वाह गरे।

उनका पोसाकहरू ध्यानपूर्वक र कहिलेकाहीँ तत्कालै पनि बनाइन्थे। वक्षलाई आकार दिन सुरुमा उनी कपडाका टुक्राटाक्री प्रयोग गर्थे। पछि उनले स्पन्ज प्रयोग गर्न थाले।

महिला बन्ने प्रक्रियामा उनले विभिन्न क्रिमहरूको प्रयोग गर्नुका साथै मसिना कुराहरूलाई पनि गम्भीरताका साथ ध्यान दिन्थे।

"स्त्रीत्व सधैँ मेरो एउटा अंश थियो," भादुरीले भने।

चपल भादुरी

तस्बिर स्रोत, Courtesy of Debojit Majumder and Sanjay Singha

तस्बिरको क्याप्शन, एउटा डक्युमन्टरी फिल्मका निम्ति पुन: उक्त भूमिकामा प्रस्तुत हुँदै भादुरी

उनका प्रस्तुतिहरू हासात्मक वा व्यङ्ग्यात्मक मात्रै थिएनन्, न कुनै किसिमका नक्कल थिए। ती गहिरो अनुभूतिमा डुबेर प्रस्तुत गरिन्थे।

क्वेर सङ्केतका पात्रहरू प्रायः हाँसोका विषय बनाइने रङ्गमञ्चको त्यस्तो माहोलमा भादुरीको कामले फरक महत्त्व बोकेको थियो।

रोय लेख्छन्, "समलैङ्गिक वा क्वेर पात्रहरूलाई प्रायः उपहासको रूपमा प्रस्तुत गरिने भारतीय अभिनय कलाको क्षेत्रमा चपल महिलामा रूपान्तर भए र आफ्नो भूमिका इमानदारी र साहसका साथ निर्वाह गरे।"

रङ्गमञ्चबाहिर भादुरीको जीवन अझ जटिल थियो।

त्यति बेलाको मध्यम वर्गीय बङ्गाली समाजको जटिलताका कारण उनी खुला रूपमा समलिङ्गी भनेर चिनिएनन्, तथापि प्रशंसाको भने कमी भएन। उनलाई प्रशंसक र प्रेमीहरूबाट स्नेहपूर्ण पत्रहरू र प्रेमका प्रस्तावहरू आइरहन्थे।

भादुरी छनोटमा सावधान थिए र त्यसमा गर्व पनि गर्थे। तैपनि उनले जोड दिएर भने, "म प्रेमका निम्ति माफी माग्दिनँ।"

उनको एउटा लामो सम्बन्ध तीन दशकभन्दा बढी समयसम्म चल्यो, भलै उनका पार्टनरले विवाह गरे र जायजन्म पनि भयो।

चलप भादुरी

तस्बिर स्रोत, Debarshi Sarkar for Parama Calcutta

तस्बिरको क्याप्शन, भादुरीले रङ्गमञ्चमा थरिथरीका भूमिका निर्वाह गरेका छन्

भादुरी पिँधमा रहे। उनको उपस्थिति त थियो तर त्यसले पूर्ण मान्यता पाएन र अन्ततः उनी एक घरेलु सहायक झैँ भए।

उनको करिअर उँधो लाग्नुमा कुनै घटना विशेषको नभई परिवर्तनका विभिन्न शृङ्खलाहरूको भूमिका छ।

महिलाहरू मञ्चमा बढी देखिन थालेपछि दर्शकहरूले पुरुष कलाकारहरूलाई महिला पात्रका रूपमा नकार्न थाले। कुनै बेला जात्रालाई टिकाएर राखेको परम्परा बिस्तारै भत्किन थाल्यो।

सन् १९६० को दशकको अन्त्य र १९७० को दशकको सुरुवातमा "जात्राका जुँगाधारी रानीहरू" बाहिर निकालिए, रोय लेख्छन्।

भादुरीले उक्त अस्वीकृतिको अनुभव प्रत्यक्ष रूपमा गरे। एउटा प्रस्तुतिका क्रममा वृद्ध महिला पात्रको भूमिका गरिरहँदा उनलाई माटोको गिलासले हान्दै दर्शकहरूले मञ्चबाट धपाए। दर्शकहरू महिला कलाकारहरूको उपस्थितिप्रति अभ्यस्त भएका थिए र उनको [भादुरीको] उपस्थितिले असहज महसुस गर्दै थिए।

भादुरीका धेरै समकालीनहरू गरिबीमा फस्न पुगे। जात्राका कलाकारमध्ये एकजना सिलाइ गर्ने काममा लागे। अर्काले ठेलामा चिया र बदाम बेच्न थाले। केहीले शारीरिक श्रममा हात हाले। एकजनाले आत्महत्या गरे। तिनका कथाहरू अधिकांश लेखिएनन्।

भादुरीले पनि जीवन चलाउन पुस्तकालयमा सरसफाइ गर्ने र धुलो टकटक्याउने काम गरे। एक पटक त उनले सडकमै शीतला देवी (सङ्क्रामक रोगबाट जोगाउने हिन्दु देवी) को भूमिका पनि निर्वाह गरे। उक्त लोक सांस्कृतिक अभ्यासमा आशीर्वाद दिएबापत कलाकारलाई खानेकुरा वा सुका मोहर दिइन्छ।

चपल भादुरी

तस्बिर स्रोत, Naveen Kishore

तस्बिरको क्याप्शन, भादुरीको जीवन फिल्ममा दस्तावेजीकरण भइसकेको छ भने अहिले पुस्तकमा आएको छ

अघिल्लो दशकमा उनी केही समयका लागि फेरि देखा परे। बङ्गाली फिल्म निर्देशक कौशिक गाङ्गुलीले आफ्ना फिल्महरूमा भादुरीलाई भूमिका दिएका थिए।

त्यसअघि सन् १९९९ मा कोलकातास्थित एक प्रकाशन गृह र थिएटरका सञ्चालक नवीन किशोरले भादुरीको जीवनलाई फिल्म र प्रदर्शनीमा अभिलिखित गरेका थिए। ती माध्यमहरूमार्फत् भादुरीलाई भेटेको नयाँ पुस्ताले उनलाई फरक दृष्टिले हेर्न थाल्यो।

केहीका लागि उनी ज्येष्ठ 'क्वेर' बने, त्यस्तो व्यक्ति जसको जीवन सरल परिभाषामा समेट्न सकिँदैन।

रोय लेख्छन्, "भारतमा एलजीबीटीक्यू प्लस आन्दोलन नयाँ थियो र समलैङ्कगिक इतिहासको भोकले ग्रस्त, लाग्थ्यो उसले भादुरीलाई एउटा मार्ग दर्शकको रूपमा छानिसकेको थियो।"

यद्यपि भादुरीले स्वयमलाई लेबलहरूबाट परै राखे। उनी "तेस्रो लिङ्गी" जस्ता शब्दावलीबाट परिचित भएनन्। रोयका अनुसार रङ्गमञ्चबाहिर उनी अन्य बङ्गाली पुरुषले झैँ कुर्ता-पाइजामा लगाउँथे।

यसले उनको जीवनको व्याख्यालाई झन् कठिन बनाउँछ।

"उनी एक क्वेरको रूपमा अस्तित्वमा थिए," रोय टिप्पणी गर्छन्।

अहिले विश्वभर लिङ्ग र पहिचानसम्बन्धी चर्चाले निकै स्थान पाइरहेका बेला भादुरीको कहानीले फरक दृष्टिकोण प्रस्तुत गर्छ।

यसले अभिनयकला क्षेत्रको त्यस्तो इतिहास देखाउँछ जहाँ लिङ्ग लचिलो विषय थियो भलै सधैँ नामले चिनाइएको नहोस्।

भादुरी

तस्बिर स्रोत, Debarshi Sarkar for Parama Calcutta

तस्बिरको क्याप्शन, ८७ वर्षका भादुरी हाल वृद्धाश्रममा बस्छन्

भादुरी अचेल एउटा वृद्धाश्रममा बस्छन्। त्यो उनी जन्मेहुर्केको घरनजिकै छ। यद्यपि त्यो घरमा उनको स्वागत हुँदैन।

उनी पुराना सम्झना बोकेर स्वास्थ्यसम्बन्धी समस्याहरूसँग जुधिरहेका छन्।

किन कोही कलाकार सम्झिइन्छन् र कोही बिर्सिइन्छन्? किन कुनै कला सङ्ग्रहित हुन्छन् र कुनै भने तिनलाई निर्वाह गर्नेहरूसँगै हराउन पुग्छन्?

भादुरीको जीवनलाई दस्ताबेजकृत गरेर रोयले यिनको उत्तर दिने वा कम्तीमा ती प्रश्नको सामना गर्ने कोसिस गरेका छन्।

भादुरीले छ दशकभन्दा धेरै समय अभिनयको क्षेत्रमा बिताए। जुनै मापदण्डले हेरे पनि उनी एक स्टार थिए। तर पनि वर्षौँसम्म त्यो संस्कृतिको पिँधमा जीवन बिताए जसलाई आकार दिन उनले मद्दत गरेका थिए।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।