सिन्धु घाटी : प्राचीन सभ्यता जसको बारेमा हामीलाई थोरैमात्रै थाहा छ

तस्बिर स्रोत, DEA / A Dagli Orti via Getty Images
- Author, डेजी स्टिफन्स
- Role, बीबीसी विश्व सेवा
- पढ्ने समय: ६ मिनेट
बहुतल्ले इँटाका घरहरू, उस्तै सडक र फ्लस हुने शौचालयसहितको उन्नत ढल निकासको प्रणाली। सुने सुने जस्तो लाग्यो?
सुन्दा आधुनिक सहरजस्तो लाग्न सक्छ, तर खासमा यो हजारौँ वर्षअघिको प्राचीन सिन्धु घाटी सभ्यताका सहरी केन्द्रहरूको बयान हो।
यो सभ्यता निकै उन्नत थियो र प्राचीन इजिप्ट र मेसोपोटामियासँगै अस्तित्वमा थियो भन्ने विश्वास गरिन्छ - तर पनि हामीलाई यसबारे तुलनात्मक रूपमा धेरै कम मात्रै थाहा छ।
यो एउटा रहस्यका रूपमा रहेको छ र त्यसको कारण, विज्ञहरूका अनुसार, आंशिक रूपमा त्यस समयका अझै पूरा पढ्न नसकिएको लिपि हो।
उनीहरू को हुन्?
सिन्धु घाटी सभ्यताको सबैभन्दा विकसित चरण भनेको ईसा पूर्व २६०० देखि १९०० सम्म रहेको मानिन्छ। यद्यपि यसको विकास भने त्योभन्दा पनि पहिले करिब ईसा पूर्व ४००० तिरबाट सुरु भएको डाक्टर संगारलिङ्गम रमेश बताउँछन्। उनी युनिभर्सिटी अफ लन्डन र युनिभर्सिटी कलेज लन्डनका लेक्चर हुन्।
यो सभ्यता अहिलेको पाकिस्तान र भारतमा पर्ने सिन्धु नदी वरिपरि केन्द्रित थियो। यो सभ्यतामा गाउँमा बस्ने कृषि गर्ने समुदायदेखि १४०० नगर र सहरहरू थिए जसमा सबैभन्दा ठूला सहरमा हरप्पा र मोहेन्जो-दारो थिए।

तस्बिर स्रोत, BBC/Getty Images
यो प्राचीन इजिप्ट र प्राचीन मेसोपोटामियाभन्दा ठूलो थियो जसमा करिब १० लाख मानिसहरू ८० हजार बस्तीहरूमा रहेको हुनसक्ने डाक्टर रमेशले बताए।
१। उन्नत सहरी योजना
रमेशका अनुसार सिन्धु घाटी इँटाबाट घर निर्माण गर्ने पहिलो सभ्यतामध्ये एक थियो।
"सहरहरू सीधा सडकहरूसहित समकोणमा योजनाबद्ध रूपमा बनाइएका थिए," उनले भने।
"त्यहाँ इनारहरू पनि थिए, घरहरूमा शौचालय थिए... रोमनहरूको भन्दा २००० वर्षअगाडि नै ढल निकास प्रणाली थियो।"
यो ढल प्रणाली र स्नान गृहहरूको उत्खननले उक्त सभ्यतामा रोगबारे पनि चेतना थियो र "सफाइलाई महत्त्व दिइएको थियो" भन्ने देखिने रमेश बताउँछन्।

तस्बिर स्रोत, DEA / W Buss via Getty Images
सहरी क्षेत्रहरूको घनत्वले आपूर्ति शृङ्खला व्यवस्थापनलाई सम्भव बनायो जसले व्यापारलाई अझ सहज बनायो।
"उनीहरूले प्राचीन मेसोपोटामियासँग विशेष गरी काठ, बाला, तामा, सुन र कपासका लुगासहितका सामग्रीहरू व्यापार गर्थे," रमेशले भने।
२। संयुक्त शासन
रमेशले सहरी क्षेत्रको सङ्गठनले अरू कुरा पनि झल्काउने बताए।
"त्यहाँ राम्रोसँग काम गर्ने नागरिक प्रशासन थियो भन्ने यो प्रमाण हो… जसले सहर र बस्तीहरूको पूर्वाधारहरूलाई व्यवस्थित गर्थ्यो," उनले भने।
"उनीहरूको शासन प्रणाली थप परिष्कृत, केन्द्रितकृत भन्दा पनि संयुक्त थियो र दरबार वा कुलीन वर्गको नेतृत्वमा रहेको देखाउने कुनै प्रमाण छैन।"
उनले अन्य समाजभन्दा यी कुराहरूले सिन्धु उपत्यकालाई अलग बनाएको देखिने बताए।

तस्बिर स्रोत, Leemage/Corbis via Getty Images
३। तुलनात्मक रूपमा समान र शान्तिपूर्ण
सिन्धु घाटीमा केही सामाजिक तहहरू थिए भन्ने प्रमाण छ तर त्यो समयका अन्य समाजहरूमा जस्तो स्पष्ट छैन।
"सामाजिक स्तरहरू इजिप्ट र मेसोपोटामियामा सजिलै पत्ता लगाउन सकिन्छ… सिन्धुमा घरको आकारमा भिन्नता छ तर सामान्यतया त्यति धेरै छैन," रमेशले भने।
पुरातत्त्वविद्हरूले केही कङ्कालहरूमा चोटपटकका चिन्ह पत्ता लगाएका छन् तर केहीले उनीहरू अन्य समाजहरूमा भन्दा बढी शान्ति मन पराउँथे भन्ने विश्वास गर्छन्।
"यहाँ युद्धले छोडेका निसानाहरू त्यति स्पष्ट छैन, हतियारले भरिएका कुलीन वर्गका सन्दर्भहरू तुलनात्मक रूपमा कम छन्, र त्यहाँबाट प्राप्त केही कङ्कालका नमुनाहरूमा प्राचीन नियर इस्टका क्षेत्रहरूमा फेला परेका कङ्कालहरूको दाँजोमा खप्परमा चोटहरू कम देखिन्छ," रमेशले भने।

तस्बिर स्रोत, AFP via Getty Images
तर त्यसको अर्थ उनीहरू हिंसात्मक छैनन् भन्ने होइन भनेर उनी स्वीकार गर्छन्। र सायद प्रमाणहरूको कमीले पनि त्यस्तो परिणाम देखिएको हुनसक्छ।
"यदि कुनै समाजले स्मारक वा लिपिमार्फत युद्धका कुरा देखाउँदैन भने वा ती सामग्रीहरू रहँदैनन् भने पछि आउने अनुसन्धानकर्ताहरूले हिंसा भएको भए पनि द्वन्द्वको 'सङ्केत' कम देख्न सक्छन्," उनले भने।
बाँकी रहस्य
तर सिन्धु घाटी सभ्यताबारे हामीलाई अझै पनि धेरै थाहा छैन।
त्यसको आंशिक कारण त्यहाँ पर्याप्त पुरातात्विक उत्खनन कार्य नभएकाले त्यस्तो भएको रमेश बताउँछन्।
"त्यो सभ्यता फैलिएर अफगानिस्तानसम्म छ, र त्यहाँको अवस्थाका कारण अहिले धेरै उत्खनन हुन सक्दैन," उनले भने।
यो सायद उनीहरूले निर्माणका लागि प्रयोग गरेका सामान र तरिकाका कारण पनि हुनसक्छ।
"इजिप्ट र मेसोपोटामियाले लामो समय टिक्ने ढुङ्गा प्रयोग गरेका थिए… सिन्धुले भने धेरैजसो माटोको इँटा र पोलेर बनाइएका इँटा प्रयोग गरेका थिए," उनले भने।
"ठूला ढुङ्गाका मन्दिर, दरबार र शाही समाधिहरू बिना… सिन्धु राज्यको पुनर्निर्माण गर्न कठिन हुन्छ।"
तर अर्को कारण पनि छ: प्राचीन मेसोपोटामियाको प्रारम्भिक लेखन प्रणालीमध्ये एक क्युनीफोर्म लिपिको विपरीत हामीले अझै सिन्धु उपत्यकाको लिपि बुझ्न सकेका छैनौँ।

तस्बिर स्रोत, DEA / G Nimatallah via Getty Images
सिन्धु घाटी क्षेत्रका ढुङ्गाहरूमा अक्षरहरू कुँदिएका फेला परेका छन् र यो लिपि "सबैभन्दा धेरै बुझिने प्रयास गरिएको तर नसकिएको लिपि हो," मुम्बईस्थित टाटा इन्स्टिच्युट अफ फन्डामेन्टल रिसर्चकी डाक्टर निशा यादवले ठट्टा गर्दै भनिन्।
"प्रत्येक १० दिन वा त्यस्तैमा मलाई इमेल आउँछ र त्यसमा भनिएको हुन्छ: 'मैले सिन्धु लिपि बुझ्न सकेँ," उनले भनिन्।
तर कुनै पनि व्याख्याले अहिलेसम्म वैज्ञानिक सहमति पाएको छैन।
यादवले लिपि बुझ्न कठिन हुनुको कारण त्यो छोटो भएको र त्यसमा पाँचदेखि १४ वटा मात्रै चिन्ह हुने गरेकोले हो भन्ने बताइन्। उनले अहिलेसम्म 'रोजेटा स्टोन' प्रकारको सामग्री फेला नपरेको बताइन्। 'रोजेटा स्टोन' भनेर विश्व प्रसिद्ध प्राचिन शिलापत्रमा इजिप्टको हाइरोग्लिफिक, इजिप्टकै डेमोटिक र क्लासिकल ग्रीकका तीन लिपिहरूमा सन्देश लेखिएको छ जसले हाइरोग्लिफ बुझ्न अत्यन्तै महत्त्वपूर्ण भूमिका खेलेको थियो।
तर उनकै अनुसन्धानमा उनले कम्प्युटर मोडलिङको प्रयोग गरेर चिन्हहरूमा ढाँचा खोजेकी छन्। त्यहाँ उनले वाक्य संरचना नियन्त्रित गर्ने नियमहरू र लिपिमा "अन्तर्निहित तर्क" को प्रमाण फेला पारेकी छन्।
"यदि हामीले पढ्न सक्यौँ भने... त्यो ढोकाहरू खोल्ने एउटा साँचोजस्तै हुन्थ्यो," उनले भने।
"र प्रत्येक ढोकाबाट ज्ञानको बाढी आउने थियो, जसले सभ्यताका विभिन्न पक्षहरूबारे अत्यन्तै महत्त्वपूर्ण कुरा बताउने थियो।"
यादवका अनुसार यो लिपिले सभ्यताको विश्वास र विश्व दृष्टि सम्बन्धी सङ्केत दिन सक्छ, साथै उनीहरूको व्यापार र ढुङ्गामा खोपिएका अक्षरहरूको भूमिकाबारे थप प्रकाश पार्न सक्छ।

तस्बिर स्रोत, Angelo Hornak/Corbis via Getty Images
उनीहरूलाई के भयो?
सिन्धु उपत्यका सभ्यताको पतनको मुख्य सिद्धान्तहरूमध्ये एक वातावरणीय परिवर्तन हो।
"ईसा पूर्व १९०० मा ती स्थलहरू त्यागेर अन्यत्र जान थालिएको थियो र पुरातत्त्वविद्हरू तथा जलवायु परिवर्तन विशेषज्ञहरूले यसलाई पानी पर्ने मौसममा आएको परिवर्तनसँग जोडेका छन्," रमेशले भने।
मोहेन्जो-दारोको उत्खननले पनि मानिसहरूले बाढीको असरबाट जोगिने प्रयास गरेको प्रमाण फेला पारेको छ।
रमेशको विचारमा यसलाई बुझ्न आधुनिक समाजका लागि पनि महत्त्वपूर्ण हुनसक्छ किनभने यदि अहिले हिमनदीहरू छिटो पग्लिएका हुन् भने इतिहास आफैँ दोहोरिन सक्छ।
"उनीहरूसँग वास्तवमा प्रकृतिमा के हुँदै थियो भनेर पत्ता लगाउने प्रविधि थिएन," उनले भने।
"तर हामीसँग त्यो प्रविधि र क्षमता छ र त्यसलाई विवेकपूर्ण ढङ्गले प्रयोग गरेर हाम्रो सभ्यता दिगो बनाउने सुनिश्चित गर्न सक्छौँ।"
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।




























