हप्तामा दुई दिन बिदा: पहिले शेरबहादुर देउवाले हटाए, अहिले उनैले फेरि सुरु गरे

प्रधानमन्त्री कार्यालय

सरकारले अर्को महिनाबाट सातामा दुई दिन शनिवार र आइतवार बिदा दिने निर्णय गरेको छ।

हप्तामा दुई दिन सार्वजनिक बिदाको अभ्यास यसअघि पनि नेपालमा प्रचलनमा थियो।

वर्तमान प्रधानमन्त्री शेरबहादुर देउवाले आफू दोस्रो पटक प्रधानमन्त्री हुँदा २०५९ सालबाट यो प्रचलन हटाएका थिए।

बुधवारको मन्त्रिपरिषद् बैठकले हाललाई परीक्षणका रूपमा दुई दिन बिदा दिने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधि मन्त्री समेत रहेका सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए।

"हाललाई परीक्षणको रूपमा २०७९ जेठ १ गतेदेखि लागु हुने गरी बिहान ९:३० बजेदेखि साँझ ५:३० बजेसम्म कार्यालय समय कायम गर्ने एवम् शनिवार र आइतवार सातामा दुई दिन बिदा दिने [निर्णय भयो]" सञ्चारमन्त्री कार्कीले भने।

अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्य वृद्धि र नेपालको विदेशी मुद्रा सञ्चितिमा आएको गिरावटपछि दुई दिन बिदाको प्रस्ताव गरिएको थियो।

दुई दिन बिदा दिँदा इन्धनको खपत कम हुने अपेक्षा अधिकारीहरूले गरेका छन्।

यसअघि दुई वर्षमै उल्टाइएको थियो

यसअघि देउवा नै प्रधानमन्त्री भएको समयमा हप्तामा दुई दिन बिदा दिने निर्णय उल्टाएका थिए।

तत्कालीन प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईको कार्यकालमा विसं २०५६ साउन १ गतेबाट नेपालमा दुई दिन सार्वजनिक बिदाको अभ्यास सुरु गरिएको थियो।

"त्यस बेला पनि अहिलेजस्तै पेट्रोलको भाउ बढेको थियो। बिजुली पनि बचाउनुपर्ने अवस्था थियो," तत्कालीन मुख्यसचिव तीर्थमान शाक्यले बीबीसी न्यूज नेपालीसँग भने।

"तर त्यसको दुई महिनामै मन्त्रीहरू चाहिँ यो निर्णय हटाइदिनुपर्‍यो भनेर आउनुभयो।"

मन्त्रीका निवासमा कार्यकर्ताहरूको भिड लागेपछि कार्यालय समय हप्तामा छ दिन नै कायम राख्न उनीहरूले आफूलाई दबाव दिएको शाक्यले बताए।

"म मुख्यसचिव हुँदासम्म यो कायम राख्नुपर्छ भनेर अडान लिएँ। तर म २०५८ चैतमा सेवानिवृत्त भएँ, वैशाखबाटै यो निर्णय उल्टिइहाल्यो।"

किन हटाइएको थियो?

सञ्चारमन्त्री

तस्बिर स्रोत, RSS

भूतपूर्व मुख्यसचिव शाक्यका अनुसार दुई दिन बिदा हुँदा सरकारी कार्यालयबाट जनतालाई दिइने सेवा प्रभावित भएको गुनासो आउने गरेको थियो।

"शुक्रवार पनि छिटै घर जाने। शनिवार र आइतवार बिदा भइहाल्यो। सोमवार पनि कर्मचारी ढिलो आइपुग्ने गर्न थाले भन्ने गुनासो थियो," शाक्य सम्झन्छन्।

दुर्गम जिल्लाहरूमा टाढाबाट सदरमुकाम पुगेका सेवाग्राहीहरूले दुई दिन बिदा हुँदा शुक्रवार काम नसकिए थप दुई दिन बास बस्नुपर्ने बाध्यता हुने गरेको गुनासो त्यस बेला हुने गरेको थियो।

फाइदा के छन्?

भूतपूर्व मुख्यसचिव विमल कोइराला दुई दिन सार्वजनिक बिदाका धेरै सकारात्मक पक्षहरू पनि रहेको बताउँछन्।

"हप्तामा दुई दिने बिदा दिने अन्तर्राष्ट्रिय प्रचलन नै हो। यसो गर्दा सरकारी कार्यालयहरूमा तेल र बिजुलीको बचत हुन्छ," कोइरालाले भने।

"अर्को पक्ष भनेको कर्मचारीहरूको काम र जीवनबीच सन्तुलन पनि हुन्छ।"

गोक्यो ताल

तस्बिर स्रोत, Pradeep Bashyal/BBC

"कर्मचारीहरूले काम गर्दैनन्" भन्ने आरोप आउन नदिन कार्यालयहरूले उनीहरूको कामको अभिलेख राख्ने र त्यस आधारमा मूल्याङ्कन गर्ने प्रणालीको विकास गर्नुपर्ने कोइरालाको धारणा छ।

हालै संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले गठन गरेको एउटा अध्ययन समितिले सरकारी र निजी क्षेत्रले साताको दुई दिन बिदा दिए करिब ७० देखि ८० लाख मानिसहरूले बिदा पाउने र त्यसको करिब १० प्रतिशत मानिस मात्रै एक दिन घुमफिरका लागि निस्कने अवस्था आयो भने करिब सातदेखि आठ लाख मानिस घर बाहिर निस्कने आकलन गरेको थियो।

पर्यटन मन्त्रालयका सहसचिव कमलप्रसाद भट्टराईले सरकारी र सार्वजनिक कार्यालयहरूमा हप्तामा पाँच दिन कार्यालय जाँदा कार्यालयका सवारी साधन, इन्धन, बिजुली र पानी जस्ता वस्तुको खपत उल्लेख्य रूपमा कटौती गर्न सकिने देखिएको बीबीसी न्यूज नेपालीसँग बताएका थिए।

"एक दिन कार्यालय कम गर्यो भने त्यस्तो खर्च १६ देखि २० प्रतिशतसम्म घटाउन सकिने रहेछ," उनले भनेका थिए।

"त्यो भनेको वर्षमा करिब १.५ अर्ब रुपैयाँभन्दा बढी बचाउन सकिने अवस्था देखियो।"

बिदा र आर्थिक विकास वा उत्पादकत्वको सम्बन्ध कस्तो छ भनेर हेर्दा छ दिन लगाएर गरिने काम पाँच दिनमा गर्दा झन् कार्यकुशलता देखिने पाइएको भट्टराईको जिकिर छ।