'पोहोरकै भाउमा' केरा बेच्छन् किसान, तर बजारमा किन चर्कियो मूल्य

- Author, ईश्वर जोशी
- Role, नारायणगढ
- पढ्ने समय: ३ मिनेट
उपभोक्ताले चर्को मूल्यमा केरा किन्नुपरेको खबर सार्वजनिक भए पनि किसानहरूले आफूले विगतका वर्षहरूमा बेचेकै मूल्यमा केरा बजारमा पठाउने गरेको बताएका छन्।
चितवनका केरा किसान घननाथ महतोले बीबीसीसँग भने, "जीनाइन (G9) जातको केरा ५ देखि ६ रुपैयाँ प्रतिकोसा र मालभोग केरा ७ रुपैयाँमा प्रतिकोसा बिक्री गर्दै आएका छौँ।"
यो सीजनमा केराको माग बढी हुन्छ तर किसानहरूले केराको बढी मूल्य लिएर बिक्री नगरेको उनले बताए।
आफूले बिक्री गरेकोभन्दा धेरै मूल्यमा उपोभोक्ताहरुले किनेर खानुपरेको सुन्दा आफूलाई अचम्म लागेको महतोले बताए।
"कसले पैसा बढी लिएको छ त्यसको अनुगमन र कारबाही सरकारले गरोस्," महतो भन्छन्।
किसान र उपभोक्ताका बीच को-को छन्?

चितवनका व्यावसायिक केरा किसान लक्ष्मण सुवेदीले पनि जीनाइन केरा दर्जनको ६० र मालभोग केरा ८५ रुपैयाँ दर्जनमा नै बिक्री गर्दै आएको बताए।
उनले भने, "पोहोर पनि त्यही मूल्यमा केरा बिक्री भएको थियो अहिले पनि त्यही मूल्यमा केरा बिक्री हुँदै आएको छ।"
केही सीमित व्यापारीले मूल्य वृद्धि गराएको उनको आरोप छ।
अहिले व्यवसायीहरूले भारतबाट केरा ल्याउन नपाएको अवस्थाले गर्दा व्यवसायीहरूले कृत्रिम मूल्यवृध्दि गरेर केराको मूल्य बढाएको सुवेदीको बुझाइ छ।
किसानहरूले काठमाण्डू, पोखरा, बुटवल र चितवनका थोक व्यवसायीलाई केरा बिक्री गर्ने र थोक विक्रेताले खुद्रा व्यवसायीलाई बिक्री गर्ने हुँदै तीन तह पार गरेपछि केरा सर्वसाधारण उपभोक्ता कहाँ आइपुग्ने गरेको छ।
केरामा पानमा रोगको भेरिअन्ट ट्रपिकल रेस४ अर्थात् टीआर४ को जोखिमका कारण सरकारले भारतबाट केरा ल्याउन रोकेको बताइएको छ।
त्यो रोग केरामा लागे छिटोछिटो फैलने र पूरै बगान सखाप हुने बताइएको छ।

असार साउनपछि केराको भाउ ओरालो लाग्छ
किसानबाट सस्तोमा ल्याएर उपभोक्ताले चर्को मूल्यमा केरा किन्नुपर्ने अवस्था आउनु बजारमा बिचौलियाको अत्यधिक हस्तक्षेप भएको स्पष्ट हुने नेपाल केरा उत्पादक महासङ्घ तदर्थ समितिका अध्यक्ष विष्णुहरि पन्त बताउँछन्।
काठमाण्डूका थोक व्यवसायी हरि मैनालीले नेपाली केरा किसानबाट ल्याएको मूल्यमा भाडा जोडेर १३० देखि १४० रुपैयाँमा बिक्री गर्दै आएको बताए।
"भारतबाट चोरी निकासी गरेर कसले ल्याएर कहाँबाट बिक्री गरेको छ त्यो पत्ता लगाउन सकिएको छैन," मैनालीले बताए।
चितवन नारायणगढका फलफूल व्यवसायी विनोदप्रसाद गुप्ताले मालभोग केरा १५० र अर्को केरा १८० देखि २०० रुपैयाँ दर्जनमा बिक्री गर्दै आएको बताए।
उनले मालभोग केरा नेपालकै भएको र अर्कोथरी केरा भारतको भएको बताए।
तर नेपाल केरा उत्पादक महासङ्घ तदर्थ समितिका अध्यक्ष विष्णुहरि पन्तले नेपालकै केरालाई भारतबाट आएको भनेर थोक व्यवसायीहरूले किसानबाट किनेकोभन्दा उच्च मूल्यमा बिक्री गर्ने गरेको बताए।
कति उत्पादन हुन्छ?

केरा व्यवसायीका अनुसार नेपालमा १५,५०० हेक्टरमा केरा रोपिँदै आएको छ भने ७,६३३ किसानले केराखेतीमा सहभागी छन्।
नेपाललाई वार्षिक नौ लाख मेट्रिक टन केरा आवश्यक रहेकोमा स्वदेशमा सात लाख मेट्रिक टन उत्पादन हुन्छ।
थप दुई लाख मेट्रिक टन आयत गर्नुपर्ने अवस्था रहेको तथ्याङ्कले देखाउँछ।
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।

























