अमेरिकी जलसेनाका प्रमुख 'तत्कालै लागु हुने गरी पदबाट हटे'

तस्बिर स्रोत, Reuters
अमेरिकी नेभी सेक्रेटरी जोन फेलन ट्रम्प प्रशासनबाट अलग भएको पेन्टागनले जनाएको छ।
उनको बहिर्गमनबारे कुनै कारण दिइएको छैन तर पेन्टागनका प्रवक्ताले सामाजिक सञ्जालमार्फत् त्यो तत्कालै लागु हुने जानकारी दिएका छन्।
जलसेनाका अन्डर सेक्रेटरी हङ काओले कार्यवाहक नेभी सेक्रेटरीको जिम्मेवारी सम्हाल्ने प्रवक्ता सीन पार्नेलले जनाए।
जलसेनामा नियुक्त हुनुअघि फेलनले सेनामा कहिल्यै पनि सेवा गरेका थिएनन् र उनी राष्ट्रपति ट्रम्पको चुनावी अभियानका प्रमुख चन्ददातामध्ये एक थिए।
हालैका महिनामा ट्रम्प प्रशासनमा सेनाको नेतृत्व गरिरहेका कैयौँ उच्च पदस्थ पदाधिकारीहरूले राजीनामा दिएका छन्।
पदबाट हट्नुको कारण के
फेलन हालैका महिनामा ट्रम्प प्रशासन छाड्ने सबैभन्दा वरिष्ठ सैन्य नेताहरूमध्ये एक हुन्। अमेरिका र इजरेलले इरानमाथि गरेको युद्ध चलिरहँदा र होर्मुज जलमार्गमाथि अवरोध भइरहँदा उनको बहिर्गमन भएको हो।
अमेरिकी रक्षा मन्त्रालयका प्रवक्ता पार्नेलले लेखेका छन्, "युद्धसम्बन्धी मन्त्री र उपमन्त्रीका तर्फबाट यो मन्त्रालय र अमेरिकी जलसेनालाई गरेको सेवाप्रति हामी सेक्रेटरी फेलनप्रति आभारी छौँ। हामी उहाँलाई भविष्यका प्रयासहरूका लागि शुभकामना दिन चाहन्छौँ।"
जलसेनाले बहिर्गमनबारे कुनै कारण खुलाएको छैन। तर केही हप्ताअघि अमेरिकी रक्षामन्त्री पीट हेगसेथले सेनाका चीफ अफ स्टाफ र्यान्डी जर्जलाई पदबाट हट्न निर्देशन दिएका थिए।
हालैका दिनमा दुई वरिष्ठ सैन्य अधिकारीहरूलाई पनि उनीहरूको पदबाट हटाइएको छ। रक्षामन्त्रीको जिम्मेवारी सम्हाले यता हेगसेथले नेभल अपरेशन्सका प्रमुख र वायु सेनाका उपप्रमुखसहित एक दर्जनभन्दा बढी उच्च अधिकारीहरूलाई बर्खास्त गरेका छन्।
अमेरिकामा नेभी सेक्रेटरीको भूमिका मुख्यगरी प्रशासनिक र नीति निर्धारणमा केन्द्रित हुन्छ। भर्ना, तालिम, बजेट, बन्दोबस्ती, निर्माण, जलसेनाका पानीजहाज र पूर्वाधारहरूको मर्मतजस्ता कार्यहरूको सुपरिवेक्षण पनि उनले गर्ने गर्छन्। नेभी सेक्रेटरीको हैसियत मन्त्रीसरह भए पनि उनीहरूले रक्षामन्त्रीको मातहतमा काम गर्नुपर्ने हुन्छ।
गएको वर्षको मार्च महिनामा फेलनले शपथग्रहण गरेका थिए। ट्रम्प अभियानका एक जना प्रमुख चन्दादाता रहेका उनलाई सन् २०२४ मा नै मनोनयन गरिएको थियो।
गएको महिनाको डिसेम्बरमा राष्ट्रपति ट्रम्पले आफ्नो नाम अङ्कित भारी अस्त्रले सुसज्जित 'ब्याटलशिप' निर्माण गरिने घोषणा गर्दा उनी राष्ट्रपतिसँगै मार आ लागोमा उपस्थित थिए। 'गोल्डेन फ्लिट' को पुनसंरचना नाम दिइएको उक्त अभियानप्रति उनले समर्थन गरेका थिए।
विज्ञ के भन्छन्?
अमेरिकी विदेश मन्त्रालयका एक जना पूर्वउपमन्त्री एन्ड्रु पिकले देशको व्यावसायिक र गैरसनिक पानीजहाजहरूको समूहलाई राष्ट्रपति ट्रम्पले विस्तार गर्न चाहेको बताउँछन्।
उनले भने, "त्यस क्षेत्रमा प्रगति नभएकोमा कसै न कसैले जिम्मा लिनै पर्ने हुन्थ्यो। मलाई लाग्छ, यो निर्णयको करिब ३० प्रतिशत कारण त्यही हो।"
त्यसबाहेक फेलनको ठाउँमा ल्याउन लागिएका व्यक्ति (ट्रम्प)को समर्थक समूहमाझ परिचित अनुहार हुन्। मलाई लाग्छ, आफूले बढी मन पराउने र विश्वास गर्ने व्यक्तिलाई ल्याउनलाई गरिएको यो सामान्य विस्थापन हो।"
काओ सन् २०२५ मा अन्डर सेक्रेटरी बनेका थिए र उनीसँग जल सेनामा २५ वर्ष काम गरेको अनुभव छ।
सन् २०२४ मा उनले अमेरिकी सिनेट सदस्य पदका लागि भर्जिनियामा चुनाव लडेका थिए तर उनी डेमोक्र्याटिक सिनेटर टिम केनबाट पराजित बन्न पुगे।
चुनावी अभियानका क्रममा उनले सेना भित्रको विविधता र समावेशितासम्बन्धी अवधारणाको आलोचना गरेका थिए।
जल सेनामा पछिल्लो नेतृत्व परिवर्तन इरानसँगको युद्धविराम माझ अमेरिकाले इरानी बन्दरगाहहरूमाथि नाकाबन्दी जारी राखिराख्ने बताइरहँदा भएको हो।
संसारको अधिकांश तेल आपूर्तिमा प्रयोग हुने विश्वको प्रमुख जलमार्ग स्ट्रेट अफ होर्मुजमा झडपहरू भइरहेका छन् र इरानले दुईवटा पानीजहाजहरू 'कब्जा'मा लिएको बताएको छ।
ह्वाइट हाउसकी प्रेस सचिव क्यारोलिन लेभिटले इरानी बन्दरगाहमाथिको जारी अमेरिकी नाकाबन्दीप्रति राष्ट्रपति ट्रम्प 'सन्तुष्ट' रहेको र उनले 'इरानको अवस्था कमजोर भएको बुझेको' बताएकी छन्।
तर बुधवार इरानका प्रमुख वार्ताकारले अमेरिका र इजरेलले गरेको गम्भीर युद्धविराम उल्लङ्घनका कारण होर्मुज जलमार्ग खुला गर्न 'सम्भव नभएको' बताएका थिए।
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।























