नजिकिँदै ट्रम्पको 'होर्मुज अल्टिमेटम', देखिएन इरानको सहमतिको सङ्केत
तस्बिर स्रोत, Getty Images
- Author, एन्थनी जर्चर
- Role, उत्तर अमेरिका संवाददाता
- पढ्ने समय: ३ मिनेट
अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले पाँच सातादेखि जारी इरान विरुद्धको अमेरिकी-इजरेली युद्धका क्रममा पटकपटक समयसीमाहरू तोके, मागहरू प्रस्तुत गरे र धम्कीहरू दिए। तर विरलै ती यति स्पष्ट थिए।
इरान विरुद्धको नयाँ चरणको हमला विनाशकारी हुने छ। त्यो मङ्गलवार वाशिङ्टन डीसीको समय अनुसार २०:०० बजे (बुधवारको ००:०० जीएमटी) सुरु हुने छ। चार घण्टाभित्र उक्त राष्ट्रको हरेक पुल र पावर प्लान्ट "ध्वस्त" हुनेछन्।
"निकै थोरै कुरा मात्र सीमाभन्दा बाहिर छ," ट्रम्पले सोमवार भने।
उनका अनुसार यस्तो नियतिबाट बच्न इरानले "उनलाई स्वीकार्य हुने" सम्झौता गर्नुपर्छ र त्यो सम्झौतामा होर्मुज स्ट्रेट हुँदै "तेलको निर्वाध ओसारपसार" हुने कुरा पनि समावेश भएको हुनुपर्छ।
अन्तिम घडीहरू बितिरहँदा इरान ट्रम्पको समयसीमामा सहमत हुन तयार छ भन्ने कुराको सङ्केत कमै देखिएको छ। उनीहरूले अस्थायी युद्धविराम अस्वीकार गरेका छन् र आफ्ना मागहरूको सूची जारी गरेका छन्। ती मागहरूलाई एक अमेरिकी अधिकारीले "अतिवादी" भनेका छन्।
यसले अमेरिकी राष्ट्रपतिलाई अप्ठेरोमा पारेको छ। कुनै सम्झौता नभएमा ट्रम्पले तीन सातामा चौथोपटक आफ्नो समयसीमा बढाउन सक्छन्।
तर यति विस्तृत धम्कीहरू, कडा शब्दहरू र गम्भीर चेतावनीपछि पछाडि हट्नुले युद्ध जारी रहेको अवस्थामा उनको विश्वसनीयतामा असर पार्न सक्छ।
गत सप्ताहान्त इरान छिरेर दुईवटा वायुसेनालाई उद्धार गरेको अमेरिकाले आफ्नो सैन्य र रणनीतिक सामर्थ्यअनुसार स्पष्टसँग कुराकानी नगरिरहेको निष्कर्ष इरान र बाँकी विश्वले निकाल्न सक्छ।
त्रासदी टरे पनि उक्त विजयी उद्धारले इरानमा अमेरिकी सेनाले अझै पनि सामना गरिरहेको जोखिमलाई दर्शायो। [यसबाट] राष्ट्रपति ट्रम्प अमेरिकी सैन्य शक्तिको पनि सीमा छ भन्ने बुझिरहेका हुन सक्छन्।
"हामी तिनीहरूमाथि बम वर्षाएर पूर्ण स्तब्ध पार्न सक्छौँ," उनले भने, "तर स्ट्रेट बन्द गर्न केवल एउटा आतङ्कवादी पर्याप्त छ।"
अर्को विकल्प भनेको ट्रम्पले आफूले दिएका धम्कीहरू पूरा गर्नु हो। सोमवार धेरै अवसरमा उनले भनेअनुसार उक्त बाटो उनको चाहना थिएन।
इरानी जनता त्यहाँ चलिरहेको अमेरिकी सैन्य कारबाही सहन तयार रहेका र आफ्ना शहरहरूमा खसेका बमहरूलाई स्वागत गरेका बताइरहँदा ट्रम्पले अहिले भएको क्षतिको भविष्यमा पुनर्निमाण गर्नु पर्ने र अमेरिकाले अन्तत: त्यसमा सघाउन सक्ने पनि बताए।
"के म तिनीहरूको पूर्वाधार नष्ट गर्न चाहन्छु? होइन," उनले भने, "अहिल्यै, यदि हामी आज नै छाड्यौँ भने पनि उनीहरूलाई देशको पुनर्निर्माण गर्न २० वर्ष लाग्ने छ।"
आफ्नो बमबारीको धम्की पूरा भए पुनर्निर्माणमा शताब्दी लाग्ने पनि उनले थपे।
यद्यपि यो अन्तिम घडीमा पनि ट्रम्प कुरा मिल्ने आशामा छन्।
"अर्कातर्फ हामीसँग एक सक्रिय र इच्छुक सहभागी छ," उनले भने, "तिनीहरू सम्झौतामा पुग्न चाहन्छन्। म त्योभन्दा बढी भन्न सक्दिनँ।"
स्थितिको संवेदनशीलताको तुलनामा ट्रम्पको अस्पष्टता उल्लेखनीय छ। उनीसँग एउटा योजना छ, "हरेक कुरा सोचविचार गरेका छौँ" भनिरहेका छन्, तर त्यसलाई खुलाएका छैनन्।
यो बाहिर देखिएभन्दा भित्रभित्रै वार्ता धेरै अघि बढेको सङ्केत पनि हुन सक्छ अथवा गलत तरिकाले छक्याइएको वा त्यसो [वार्ता सफल] होस् कामनाको मिश्रण पनि हुन सक्छ।
"उनीहरूसँग भोलिसम्मको समय छ," ट्रम्पले भने, "हामी हेर्ने छौँ, के हुन्छ। उनीहरू इमानदारीसँग कुरा गरिरहेका छन् भन्ने मेरो ठम्याइ छ। सायद हामी पत्ता लगाउँछौँ।"
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।
मुख्य समाचार
अनि यो पनि
धेरै रुचाइएको
सामग्री उपलब्ध छैन