के देउवा अब नेपाल फर्किएलान्: 'सबै खाले चुनौती बेहोर्न तयार'

तस्बिर स्रोत, NurPhoto via Getty Images
नेपाली कांग्रेसका पूर्वसभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवासँग निकट मानिने नेता प्रकाशशरण महतलाई देउवा कहिले फर्किने हुन् भन्नेबारे सूचना छैन।
उनका अनुसार पछिल्लो पटक मतगणनाका क्रममा देउवासँग उनको सम्पर्क भएको थियो।
तर आफूलाई देउवाको सचिवालयमा रहने गरेका भानु देउवाले एक डेढ हप्तामा फर्किने जानकारी गराएको नेता महतले बताए।
चुनाव हुनु एक हप्ताअघि फागुन १३ गते देउवा उपचारको निम्ति भनेर सिङ्गापुर गएका थिए।
नयाँ सरकार बनेसँगै विभिन्न प्रकरणहरूको छानबिन चलिरहेको र त्यसमा देउवा पनि तानिन सक्ने भन्दै कतिपयले उनी नफर्किने हुन् कि भन्ने आकलन गरिरहेका छन्।
"त्यस्तो त मलाई लाग्दैन," महतको बुझाइ छ, "नेपालका विभिन्न जिम्मेवारीमा त्यत्रो लामो समय रहेको व्यक्तित्व कहीँ कसैले केही गर्छ भनेर त्यसबाट पन्छिने/भाग्ने सोचमा हुनुहोला भन्ने लाग्दैन।"
दक्षिन एशियाली छिमेकी मुलुकहरू लगायत विश्वभर नै आफ्ना देशमा उत्पन्न विषम परिस्थितिका कारण सत्ताबाट पाखा लाग्न पुग्ने वरिष्ठ नेताहरू वा सरकार प्रमुखहरू वा विपक्षी नेताहरू देशमा हुन सक्ने सम्भावित कारबाही छल्न निर्वासनमा जाने गरेको इतिहास छ।
देउवा 'कानुनी झमेला बेहोर्न तयार'
महत जस्तै कांग्रेस महामन्त्री गुरुराज घिमिरेलाई पनि देउवा फर्किनेबारे कुनै जानकारी छैन।
मिडियाबाट नै जानकारी पाइरहेको उनले सुनाए।
जेन जी आन्दोलनमा घाइते भएका आफ्नो पार्टीका वयोवृद्ध पूर्वसभापति देउवाबारे पार्टीले किन कुनै चासो र सरोकार राखेको देखिएको छैन?
"जाँदै आउँदै गरिरहनुहुन्छ, फेरि आउनु होला, कति चाँडै आउनु होला भनेर हामी त पर्खिरहेका छौँ," महामन्त्री घिमिरेले देउवा नफर्किने कल्पना पनि गरेका छैनन्, "यत्रो सङ्घर्ष गरेको व्यक्ति हो, उहाँले काम गरेको पार्टी नेपाली कांग्रेस हो, उहाँको देश नेपाल हो। उहाँ नफर्किनु होला भन्ने त लाग्दैन।"
सम्पत्ति शुद्धीकरण लगायतका प्रकरणहरूमा देउवा र उनको परिवारका सदस्य तानिन सक्ने अनौपचारिक विवरणहरू आइरहेका छन्। देउवा निकटस्थहरू त्यसलाई 'मिडिया ट्रायल' ठान्छन्।
देउवा प्रधानमन्त्री छँदा उनका प्रेस सल्लाहकार रहेका गोविन्द परियार देउवा केही दिनमा फर्किने बताउँछन्। देउवाविरुद्ध कुनै किसिमको मुद्दा मामिला चल्न सक्ने कुनै आधार नभएको बताउँदै उनले सम्भावित कानुनी झमेला सामना गर्न देउवा तयार रहेको सुनाए।
"कुनै कानुनी झमेला आइपर्यो भने त्यसबाट पन्छिने भन्ने कुरा छैन," उनले भने, "उहाँले पञ्चायत कालदेखि जेलनेल अनेक तनाव बेहोरिसक्नु भएको छ, उहाँ सबै (चुनौती) सामना गर्न तयार हुनुहुन्छ। यद्यपि उहाँको त्यस्तो (मुद्दा बेहोर्नुपर्ने आधार) खासै केही छैन।"
पत्नी र छोरा पनि फर्किन्छन्?

तस्बिर स्रोत, arzuranadeuba.com.np
देउवा उपचारका लागि गएकै बेला पत्नी आरजु पनि गएकी थिइन्। पहिल्यै देश बाहिर रहेका छोरा बुहारी पनि त्यहाँ पुगेको खबरहरू छापिने गरेका छन्।
देउवा पत्नी तथा पूर्वमन्त्री आरजु र छोराको नाम पनि विभिन्न प्रकरणहरूमा जोड्ने गरेको पाइन्छ।
त्यसैले देउवा फर्किए पनि परिवारका सबै सदस्य फर्किएलान् भन्नेमा पनि कतिपयले आशङ्का गरेको पाइन्छ।
परियारले 'मैले बुझेसम्म सबै फर्किनुहुन्छ' भन्ने जबाफ दिए।
राजनीतिक परिवारको सदस्य भए पनि गैर कानुनी काममा संलग्न भएको मुद्दा बेहोर्ने जोखिम लिन तयार भएर सबै फर्किएलान्?
प्रतिप्रश्नमा परियारको जबाफ थियो, "सबैको मैले भन्न सक्दिनँ, देउवाले पञ्चायतकालदेखि राजाको प्रत्यक्ष शासनकालसम्म धेरै हन्डर खाइसक्नु भएको छ, उहाँ एउटा प्रजातान्त्रिक विचारधारा बोक्ने नेता र सबै नेताहरूको पनि अभिभावकीय नेता हो, त्यस कारण उहाँ पन्छिने होइन, फर्किनुहुन्छ।"
कहाँ के गर्दै छन् देउवा?
परियारले नै देउवा परिवार सिङ्गापुरबाट हङ्कङ गएको सूचना केही दिनअघि जारी गरेका थिए।
सिङ्गापुरमा नियमित उपचार सकिएपछि थप स्वास्थ्य उपचार र पारिवारिक कार्यक्रममा सहभागी हुन देउवा परिवार हङ्कङ गएको सूचनामा उल्लेख थियो।
परियारले देउवा अझै पनि हङ्कङमै रहेको बताए। "सिङ्गापुरका डाक्टरहरूको सिफारिसमै उहाँ अहिले हङ्कङमा थप उपचार गराइरहनु भएको छ," उनले भने, "सानो शल्यक्रिया गर्नुपर्ने छ, त्यो सकेर उहाँ नेपाल फर्किनुहुन्छ।"
उनले कति समयमा वा कहिले फर्किने भन्नेबारे बताउन नसक्ने जबाफ दिए।
आफूले बुझेसम्म लामो समय नलाग्ने उनको भनाइ छ।
जेन जी आन्दोलनका क्रममा देउवा दम्पतीमाथि रगताम्मे हुने गरी कुटपिट हुनुका साथै घर आगजनी गरिएको थियो।
उक्त घर भत्काउन थालिए पनि अहिले रोकिएको छ। प्रहरीले अनुसन्धानको निम्ति भन्दै भत्काउन रोक लगाएको विवरण आए पनि आफूलाई त्यसबारे जानकारी नभएको परियारले बताए।
केही सञ्चारमाध्यममा उक्त घर बिक्री भइसकेको समाचार पनि प्रकाशित गरेका थिए।
देउवाको सचिवालयले त्यसको खण्डन गरिसकेको छ। पत्रकार परियारले पनि भने, "बिक्री भएको पनि होइन र बिक्रीमा पनि छैन।"
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।






















