हामी तेस्रो विश्वयुद्धतर्फ उन्मुख छौँ कि डर बढेको मात्र हो?
तस्बिर स्रोत, Getty Images
- Author, अमेन खवाजा
- Role, ग्लोबल जर्नलिजम टीम
- Author, द ग्लोबल स्टोरी पडकास्ट
- Role, बीबीसी विश्व सेवा
- पढ्ने समय: ६ मिनेट
इरानमा अमेरिका-इजरेलले थालेको युद्ध एक महिनाभन्दा बढी लम्बिइरहँदा कतै मध्यपूर्वमा जारी यो द्वन्द्वले अझै ठूलो रूप लिने त होइन भन्ने चिन्ताहरू बढेका छन्।
युद्धले केवल इरानमा मात्रै नभई संयुक्त अरब एमिरेट्स, इराक, बाहरेन, कुवेत, साउदी अरेबिया, ओमान, अजरबैजान, अधिनस्थ वेस्ट ब्याङ्क, साइप्रस, सिरिया, कतार र लेबननसहितका एक दर्जनभन्दा बढी देशलाई पनि असर पारेको छ।
धेरै मानिसहरू कतै यो विद्यमान द्वन्द्व क्षेत्रीय स्तरमा मात्रै नरही विश्वभरि नै हुने त होइन भनेर गमिरहेका छन्।
युद्ध कति बेला विश्व युद्ध बन्छ?
"मानिसहरू सोच्छन् कि युद्ध एकदमै विचार गरेर योजना गरिएको हुन्छ र उनीहरूलाई आफूले के गरिरहेको हो भन्ने ठ्याक्कै थाहा हुन्छ," यूकेस्थित अक्सफर्ड विश्वविद्यालयमा अन्तर्राष्ट्रिय इतिहासकी अवकाशप्राप्त प्राध्यापक मार्गरेट मक्मिलनले भनिन्। उनले बीबीसीको ग्लोबल स्टोरी पडकास्टसँग बोल्दै त्यसो भनेकी हुन्।
"खासमा, यदि तपाईँले विगतका युद्धहरू हेर्नुभयो भने… पहिलो विश्वयुद्ध… यसलाई अन्ततः भड्काउने मुख्य कारणहरूमध्ये धेरैजसो दुर्घटना र आफ्ना विपक्षीहरूको गलत मूल्याङ्कन गरिनु थियो," मक्मिलनले व्याख्या गरिन्। "यसलाई कहिलेकाहीँ स्कुलको एउटा कुनामा हुने खालको झगडाजस्तो सोच्नुहोस्।"
अस्ट्रिया-हंगेरीका सम्राट् फ्रान्ज योजेफका भतिजा फ्रान्ज फेर्डिनन्डको हत्यापछिका शृङ्खलाबद्ध घटनाले सन् १९१४ मा भएको पहिलो विश्वयुद्ध निम्ताएको मक्मिलन सम्झाउँछिन्।
केही साताभित्रै गठबन्धनहरूको समूहले युरोपलाई द्वन्द्वमा तान्यो: अस्ट्रिया-हंगेरीले सर्बियाविरुद्ध कदम चाले, जर्मनीले अस्ट्रियालाई समर्थन गर्यो, रुस सर्बियाको समर्थनमा परिचालित भयो, फ्रान्सले रुसलाई समर्थन गर्यो, र ब्रिटेन सम्मान र रणनीति दुवैको नाममा युद्धमा प्रवेश गर्यो।
त्यसपछि जे भयो त्यसले विश्वव्यापी रूपमा प्रलय निम्त्याएको उनी बताउँछिन्।
तस्बिर स्रोत, Stringer/Getty Images
किङ्स कलेज लन्डनस्थित अन्तर्राष्ट्रिय इतिहासका प्राध्यापक जो माइओलो विश्वयुद्धलाई सबै ठूला शक्तिहरू संलग्न पूर्ण रूपको युद्ध भनेर व्याख्या गर्छन्।
"पहिलो विश्वयुद्धमा, युरोपेली साम्राज्यवादी शक्ति थिए। दोस्रो विश्वयुद्धमा अमेरिका, जापान र चीन थिए," उनले बीबीसीसँग भने।
अहिले मध्यपूर्वमा जारी तनावलाई धेरै मानिसले धेरै हदसम्म क्षेत्रीय भनी व्याख्या गर्छन्। तर तनाव व्यापक रूपमा बढ्ने अवस्थाहरू छन्?
गत फेब्रुअरीमा लिइएको अन्तर्वार्तामा युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले आफूले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले तेस्रो विश्वयुद्ध थालिसकेको ठानेको बताएका थिए। उनले मस्कोलाई पछाडि हट्न दिने एउटै उत्तर भनेको आक्रामक सैन्य र आर्थिक दबाव रहेको बताएका थिए।
"मलाई लाग्छ पुटिनले सुरु गरिसकेका छन्। प्रश्न भनेको कति भूभाग उनले जफत गर्न सक्छन् र उनलाई कसरी रोक्ने भन्ने हो... रुसले विश्वमा फरक तरिकाको जीवन लाद्न खोज्दै छ जुन मानिसहरूले आफ्ना लागि रोजेको भन्दा फरक छ," उनले भने।
तस्बिर स्रोत, AFP via Getty Images
त्यसो भए अहिले तेस्रो विश्वयुद्ध हुने खतरा कति छ?
"मलाई लाग्छ अहिले त्यसलाई चर्काउने सम्भावना इरानको, वा यमनमा भएका हुथीजस्ता इरानका साझेदारको छ," मक्मिलनले भनिन्।
मक्मिलनका अनुसार इरानका सम्भावित कदममा - जहाज मार्गहरूलाई लक्षित गर्ने वा स्ट्रेट अफ होर्मुज बन्द गर्ने जस्ता छन् - जसको विश्वव्यापी असर हुन सक्छ। त्यसले ऊर्जा आपूर्तिमा अवरोध पुर्याउँछ र प्रमुख शक्तिहरूलाई यसमा तान्छ।
अमेरिकी संलग्नताले पनि जोखिम बढाएको छ; प्रत्यक्ष संलग्न नभएका अन्य देशहरू पनि आर्थिक र रणनीतिक रूपमा प्रभावित हुने उनी बताउँछिन्।
अर्को पनि खतरा रहेको बताउँदै उनले एउटा क्षेत्रको द्वन्द्वले अन्यत्र पनि त्यस्तो अवस्था निम्त्याउन सक्ने बताइन्।
उदाहरणका लागि पश्चिमा देशहरू त्यता अलमलिँदा चीनले ताइवानमा आफ्नो कदम चाल्ने अवसरका रूपमा लिन सक्छ। वा विश्वको ध्यान अन्तै हुँदा रुसले आफ्ना कारबाहीहरू युक्रेनमा तीव्र बनाउन सक्छ।
"यो क्षेत्रबाहेकका स्थानमा पनि द्वन्द्व फैलिन सक्ने सम्भावना सधैँ रहन्छ, आंशिक रूपमा किनभने द्वन्द्वका बेला अन्यत्र क्षेत्रकाहरूले अवसरको रूपमा लिन्छन्, किनकि उनीहरूले चाहेको गर्न रोक्नेहरू अन्यत्रै व्यस्त भएका हुन्छन्," मक्मिलनले भनिन्।
प्राध्यापक माइओलोले द्वन्द्व मध्यपूर्व क्षेत्रमै, र साउदी अरेबिया संलग्न गल्फ कोअपरेशन काउन्सिल देशहरूमा रहने ठान्छन्। तर उनी चीन र रुस युद्धमा तानिने देख्दैनन्।
"विश्वमा केही हुन्छ र चीनले ताइवानमा आक्रमण गर्छ भन्ने केवल… पूर्ण रूपमा बकवास हो।
"तर यदि हामी विश्वयुद्ध, तेस्रो विश्वयुद्धको कुरा गरिरहेका छौँ भने चीन वा रुस प्रत्यक्ष रूपमा संलग्न हुन्छन् भन्ने मलाई लाग्दैन। र प्रस्ट रूपमा युरोपमा त झन् कम छ।"
उनलाई चीनको अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पसँगको कूटनीतिक योजना अरू नै भएको जस्तो लाग्छ: "जब तपाईँको प्रतिद्वन्द्वी एउटा ठूलो रणनीतिक गल्ती गर्दै छन् भने, त्यसै गर्न र त्यसलाई जारी राख्न दिनुपर्छ," उनले भने।
तेलको भाउ तलमाथि हुनुले असर पर्दापर्दै पनि कूटनीतिक भूमिका निर्वाह नगर्नु चीनको स्वार्थ हो?
माइओलो यसलाई कम मूल्य चुकाउनु परेको बताउँछन्: "रणनीतिक स्वार्थको ठूलो तहमा अमेरिका मध्यपूर्वमा व्यस्त हुनु चीनको तेलको स्रोत भन्दा धेरै रोचक हो।"
नेताहरूको भूमिका
तस्बिर स्रोत, Getty Images
इतिहासले युद्ध गर्व, सम्मानको भावना वा विपक्षीको डरका कारण उत्पन्न भएको प्राय: देखिने गरेको मक्मिलन बताउँछिन्।
उनी कुनै नेताले घटनाहरूको मार्गलाई आकार दिन सक्ने पनि इतिहासले देखाएको औँल्याउँछिन्।
"फ्रान्सका प्रधानमन्त्री, [जोर्ज] केमोसोँ पहिलो विश्वयुद्धमा युद्ध गर्नभन्दा शान्ति कायम गर्न कठिन भएको बताउँछन्।"
मक्मिलनका अनुसार, यदि मानिसहरूले धेरै त्याग गरेका छन् वा गुमाएका छन् भने नेताहरूले "युद्ध जित्न जारी राख्नुपर्ने" निर्णय गर्छन् भन्ने तर्क धेरैजसो गरिन्छ।
उनले नेताका लागि गर्वको विषय एउटा कारण हुनसक्ने उनी बताउँछिन्। पुटिनको उदाहरण दिँदै उनी भन्छिन्: "युक्रेनलाई आक्रमण गर्ने स्पष्ट गल्ती उनले गरिरहेका छन्।"
उनका अनुसार चार वर्षअघि पूर्ण स्तरको आक्रमण थाले लगत्तै पुटिनले आफ्नो उद्देश्य युक्रेनमा "सैन्यकरण अन्त्य गर्ने र नाजीवाद उन्मूलन गर्ने" रहेको बताएका थिए, तर अझै पनि युक्रेनमा आफ्नो सैन्य उद्देश्य पूरा नभएको रुसले जनाएको छ।
यूकेको रक्षा मन्त्रालयले रुसले १२ लाख ५० हजार जनाको मृत्यु भएको अनुमान गरेको छ, यो सङ्ख्या वास्तविक सङ्ख्याभन्दा अझ कम ठानिन्छ। यूकेको उक्त मन्त्रालयका अनुसार यो सङ्ख्या भनेको दोस्रो विश्वयुद्धका बेला अमेरिकामा मृत्यु भएका मानिसको सङ्ख्याभन्दा धेरै हो।
जुन नेताले आफ्नो विफलता स्वीकार गर्न अस्वीकार गर्छन् वा युद्ध लम्बिन दिन्छन् त्यसले द्वन्द्व गहिरिने मक्मिलनले बताइन्।
उनले विगतमा एडोल्फ हिटलर जस्ता व्यक्तिले सिद्धान्त, गर्व र छलका कारण हार टार्नै नसक्ने भए पनि लडाइँ जारी राखेको बताइन्।
त्यस्ता निर्णयहरूले सीमित द्वन्द्वलाई विस्तार गर्न र विनाशकारी युद्धमा परिवर्तन गर्न सक्छ।
तनाव कम गर्ने उपायहरू
तस्बिर स्रोत, AFP via Getty Images
युद्ध कम गर्न कूटनीति असाध्यै महत्त्वपूर्ण हुने मक्मिलन बताउँछिन्: "तपाईँले अर्को पक्षबारे थाहा पाउनुपर्छ… र तपाईँ उनीहरूसँग सम्पर्कमै रहनुपर्छ।"
उनले शीतयुद्धको पछिल्ला चरणमा नेटोको संलग्नताका कारण सञ्चारमा सबै पक्षबाट सुधार आएको व्याख्या गरिन्।
"थुप्रै उदाहरण छन् जहाँ मानिसले यो अनौठो हुँदै छ भन्दै पर्खिन भनेका छन्। उनीहरूले यो एकदमै अस्थिर हुँदै गएको र ताप कम गर्नुपर्ने आवश्यकता भएको बुझे।"
प्राध्यापक माइओलो सहमति जनाउँदै भन्छन्: "तेलअबिब, वाशिङ्टन र तेहरानले उनीहरूले जे हासिल गर्न सकिन्थ्यो त्यो सीमामा पुगेका छन् भन्ने महसुस गर्नुपर्छ ।"
उनले थप युद्धले सबै पक्षलाई "चाहेको परिणाम" नदिने बताए।
"प्रतिबन्ध हटाउनेबारे कुनै किसिमका व्यवस्थापन, केही सुरक्षा व्यवस्था, र विश्व राजनीतिमा इरानको स्थितिबारे केही बुझाइ आवश्यक हुन्छ।"
माइओलोले मध्यस्थताबाट मात्रै युद्धमा संलग्न शक्तिहरूलाई युद्ध विराममा ल्याउने र त्यसले थप दीर्घकालीन व्यवस्थापनमा परिवर्तन गर्ने बताए।
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।
मुख्य समाचार
अनि यो पनि
धेरै रुचाइएको
सामग्री उपलब्ध छैन