नेपाली फिर्ता गर्न यूएई र साउदी अरबबाट विशेष उडान, केही शव पनि ल्याइने

तस्बिर स्रोत, STRINGER/EPA/Shutterstock
- Author, गनी अन्सारी
- Role, बीबीसी न्यूज नेपाली
- पढ्ने समय: ४ मिनेट
इरान युद्ध सुरु भएपछि राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमले दुबई र दमामका लागि शुक्रवारबाट विशेष उडान गर्न लागिएको जनाएको छ।
खाडी क्षेत्रमा फेब्रुअरी २८ देखि तनाव चुलिएपछि नियमित उडानहरू स्थगित गर्दै आएको निगमले यूएई र साउदी अरबका एक-एक स्थानका विशेष उडान गर्न लागेको हो।
निगमकी प्रवक्ता अर्चना खड्काका अनुसार पहिलो विमान काठमाण्डूबाट शुक्रवार राति ११ः१५ बजे दुबईका लागि प्रस्थान गर्ने छ। उक्त विमान दुबईबाट शनिवार बिहान स्थानीय समयानुसार ४ः१० बजे काठमाण्डूका लागि उड्ने उनले बताइन्।
त्यसै गरी निगमले आइतवार बिहान ८ः३० बजे काठमाण्डूबाट साउदी अरबको दमामका निम्ति उडान सञ्चालन गर्ने तय भएको छ। सोही दिन स्थानीय समयानुसार दिउँसो १२ः२० बजे निगमको विमान दमामबाट काठमाण्डूका लागि प्रस्थान गर्ने छ।
खाडीमा विकसित घटनाक्रमका कारण विभिन्न देशमा ठूलो सङ्ख्यामा नेपालीहरू स्वदेश फिर्ता हुन नपाएको विवरणहरू आएका छन्। निगमले एउटा सूचना प्रकाशित गर्दै यात्रुहरूको सहजताका लागि विशेष उडान गर्न लागिएको जनाएको छ।
यात्रु र शवहरू पनि ल्याइँदै

परराष्ट्र मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल क्षेत्रीले परराष्ट्रमन्त्री खनालको पहल तथा सक्रियतामा विशेष उडान गराउन लागिएको बीबीसीलाई बताए।
"नियमित उडान नभएको र अन्य वायुसेवा प्रदायकले समेत उडान नगरेको बेला नेपाल एअरलाइन्सलाई अनुरोध गरेर विशेष उडान गराउने दिशामा हामी सफल भएका छौँ," बीबीसी न्यूज नेपालीसँग उनले भने।
"तत्कालका लागि दुईवटा [आउजाउ गरी चार] विशेष उडान गराउन लागिएको हो," प्रवक्ता पौडेल क्षेत्रीले भने।
ती विशेष उडानमार्फत् कति नेपालीहरू स्वदेश फर्कन लागेका हुन् भन्नेबारे परराष्ट्रका अधिकारीहरूले खुलाएका छैनन्।
"उताबाट आउन थुप्रै नेपालीले सम्पर्क गर्नुभएको छ। केही नेपालीहरूका शव पनि ल्याउने व्यवस्था मिलाइएको छ। तर ती मृत्युहरू जारी द्वन्द्वसँग सम्बन्धित होइनन्," प्रवक्ता पौडेल क्षेत्रीले भने।
नेपाल वायुसेवा निगमका अधिकारीहरूले पनि ती उडानहरूबाट कति यात्रुहरू आउने भन्नेबारे केही खुलाएका छैनन्।
"हाम्रो विमानको पूर्ण क्षमतानुसार नै यात्रुहरू हुनुहुने छ," निगमकी प्रवक्ता अर्चना खड्काले बीबीसी न्यूज नेपालीसँग भनिन्।
खाडी मुलुकहरूमा एउटा निश्चित समयपछि शवहरू राख्न कठिन र धेरै महँगो हुने भएर पनि केही शवहरू नेपाल पठाउन लागिएको नेपाली कूटनीतिक नियोग अधिकारीहरूले बताएका छन्।
"अहिलेको विषम परिस्थितिमा शवहरू राखिराख्न शवगृह पाउन गाह्रो छ र धेरै महँगो पनि पर्न जान्छ," एक अधिकारीले बीबीसी न्यूज नेपालीसँग भने।
नयाँ सरकार गठन भइसकेपछि शवहरू नेपाल ल्याउनका लागि मृतकका आफन्तहरूले पनि दबाव दिँदै आएका बुझिएको छ।
"बाह्र वटाभन्दा बढी शव दुबईबाट र केही दमामबाट ल्याउने कुरा छ," ती अधिकारीले जानकारी दिए।
निगमका अधिकारी के भन्छन्?

तस्बिर स्रोत, RSS
निगमले जारी गरेको एउटा सूचनानुसार पश्चिम एशियामा जारी तनाव तथा विमानस्थलहरू बन्द रहेका कारण एप्रिल ७ तारिखसम्म दोहा, दुबई र दमामका लागि निगमका उडानहरू रद्द भएका छन्।
पश्चिम एशियामा विकसित घटनाक्रमहरूलाई निरन्तर नियालिरहेको भन्दै निगमले उडानहरूबारे जारी गरिने अद्यावधिक सूचना हेर्दै गर्न यात्रुहरूलाई अनुरोध समेत गरेको छ।
दुई दिनअघि कुवेत एअरवेजको यात्रुवाहक विमान भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको थियो।
विमानमा २९१ यात्रु र नौ जनाका शव थिए। स्वदेश फिर्ता गरिएका मृतकहरूको मृत्युहरू सम्बन्ध खाडी देशमा जारी द्वन्द्वसँग सम्बन्धित नभएको परराष्ट्र मन्त्रालयले स्पष्ट पारेको छ।
परराष्ट्र मन्त्रालयको अनुरोधमा आफूहरूले विशेष उडान गर्न लागेको निगमकी प्रवक्ता खड्काले पनि पुष्टि गरिन्।
"आज [शुक्रवार] दुबई जान्छ र भोलि फर्किन्छ। एप्रिल ५ तारिखमा चाहिँ दमाम गएर सोही दिन नेपाल फर्किन्छ," उनले भनिन्।
दमाममा फेब्रुअरी २८ यता नेपाल वायुसेवा निगमको यो पहिलो उडान हुने उनले बताइन्। दुबईमा चाहिँ त्यसयता चार वटा उडान गरिसकेको खड्काले जनाइन्।
"सम्भव भएसम्म अरू पनि गर्न सक्छौँ। सुरक्षालाई पनि हामीले हेर्नुपर्यो। पहिलो प्राथमिकता सुरक्षा नै भयो नि त," उनले अगाडि थपिन्।
इजरेल र अमेरिकाले इरानमाथि हमला गरेपश्चात् तेहरानले खाडी देशहरूमा रहेका अमेरिकी स्वामित्वका सैन्यलगायत संरचनामा आक्रमण गर्दै आएको छ।
त्यसयता नियमित अन्तर्राष्ट्रिय उडानहरू प्रभावित भएका छन् भने आक्कलझुक्कल हुने गरेका उडानको भाडा निकै महँगो हुने गरेको सेवाग्राहीले बताएका छन्।
"हवाई भाडादर दोबर/तेबरसम्म हुँदा नेपाल फर्कन चाहने कतिपय नेपाली फर्कन सकेका छैनन्," दुबईमा कार्यरत एक नेपालीले गत साता बीबीसीसँग भनेका थिए।
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।





















