अमेरिका 'दुईदेखि तीन साताभित्र' इरान युद्धबाट 'बाहिरिने'

तस्बिर स्रोत, Reuters
अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले अबको दुईदेखि तीन सातामा अमेरिका इरान युद्धबाट बाहिरिने बताएका छन्।
इरानी सत्ताले वर्षौँसम्म पनि परमाणुअस्त्र बनाउन नसक्ने सुनिश्चित भएपछि आफूहरू बाहिरिने ट्रम्पले जनाएका हुन्।
राष्ट्रपतिको कार्यालय ओभल अफिसमा संवाददाताहरूसँग कुरा गर्दै ट्रम्पले इरानले "सम्झौताका लागि हारगुहार गरिरहेको" दाबी गरे। तर अमेरिकी कार्यतालिकानुसार अब त्यो असान्दर्भिक भइसकेको उनको भनाइ छ।
यसअघि इरानी राष्ट्रपति मसूद पेजेश्कियानले युद्ध अन्त्यका लागि तेहरानसँग "आवश्यक इच्छाशक्ति रहेको" बताएका थिए। तर त्यसका लागि आफ्ना शत्रुराष्ट्रहरूले युद्ध फेरि नचर्किने सुनिश्चित गर्नुपर्ने उनको भनाइ थियो।
ट्रम्पले अमेरिकी समयानुसार बुधवार राति राष्ट्रका नाममा गर्ने सम्बोधनमा इरान युद्धबारे महत्त्वपूर्ण जानकारी गराउने ह्वाइट हाउसकी प्रेस सेक्रेटरी क्यारोलिन लेभिटले बताएकी छन्।
यसैबीच अमेरिकी विदेशमन्त्री मार्को रुबिओले युद्ध अन्य गर्ने विषयमा अमेरिकाले इरानसँग सन्देशहरू आदानप्रदान गरिरहेको बताएका छन्।
"वार्ता चलिरहेको छ," फक्स न्यूजसँगको अन्तर्वार्तामा उनले भनेका छन्। "कुनै बिन्दुमा प्रत्यक्ष वार्ताको सम्भावना पनि छ। हामी त्यसका लागि सधैँ तयार छौँ।"
तर राष्ट्रपति ट्रम्पले "झुटो वार्ता गरेर समय खर्चिन नचाहेको" उनले बताए। आफूले समय तोकेर भन्न नचाहेको तर "अन्तिम बिन्दु देखा परिसकेको" उनले बताएका छन्।
चीन र पाकिस्तानको पाँचबुँदे प्रस्ताव

तस्बिर स्रोत, Reuters
इरान युद्ध अन्त्यको मध्यस्थताका लागि अग्रसर देखिएका चीन र पाकिस्तानले तत्काल युद्धविराम र स्ट्रेट अफ होर्मुज फेरि खोल्नेसहितका पाँचबुँदे योजना अघि सारेका छन्।
युद्ध अन्त्यका लागि आफ्नो देशले गरिरहेको पहलमा सहयोग माग्न पाकिस्तानका विदेशमन्त्री बेइजिङ पुगेपछि यो मस्यौदा तयार गरिएको हो।
चिनियाँ विदेश मन्त्रालयले "शान्तिको पैरवीका लागि दुई देशले नयाँ प्रयासहरू गरिरहेको" बताएको छ।
इरान युद्धबारे हालसम्म चीन मौन थियो। बेइजिङसँग तेलको ठूलो भण्डारण छ र अन्य एशियाली देशहरूको तुलनामा चीनमा तत्काल अभावको सम्भावना छैन। तर युद्ध लम्बिँदै जाँदा चीनको औद्योगिक क्षेत्रमा असर पर्न सक्ने चिन्ता व्यक्त भएको थियो।
आफ्ना उत्पादन निर्यात र आर्थिक वृद्धिदरका लागि चीनलाई स्थिर वैश्विक अर्थतन्त्र आवश्यक पर्छ। युद्धको एक महिनासम्म पेट्रोलको मूल्य बढ्ने क्रम जारी रहँदा मध्यस्थताका लागि चीन अघि सरेको हो।
यसअघि पनि मध्यपूर्वमा शान्तिस्थापनामा भूमिका निभाउने प्रयास गरेको चीनले सीमित मात्रै सफलता हासिल गरेको थियो।
सन् २०२३ मा साउदी अरब र इरानबीच सम्झौता गराउन भूमिका खेलेको चीन दुई देशबीच कूटनीतिक सम्बन्ध पुनर्स्थापित गर्न सफल भएको थियो।
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।



























