इरानले खसालेको विमानका चालकदलका सदस्य सकुशल भेटिएको ट्रम्पको भनाइ

पढ्ने समय: ५ मिनेट

इरानले शुक्रवार खसालिदिएको अमेरिकी एफ-१५ लडाकु विमानका हराइरहेका चालकदलका एक जना सदस्य सकुशल भेटिएको अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले बताएका छन्।

विमानका पाइलटको अमेरिकी फौजबाट उद्धार भए पनि त्यसमा सवार रहेका अस्त्र प्रणाली सम्बन्धी एक अधिकारी शुक्रवारबाट हराइरहेका थिए।

ट्रम्पले सुरक्षित र सकुशल अवस्थामा उनको उद्धार गरिएको बताएका छन्।

उनको खोजीका लागि अमेरिका र इरान दुवै पक्ष जुटेका थिए।

इरानी सेनाले उनलाई भेट्टाउनेलाई पुरस्कार दिने घोषणा गरेको थियो।

सामाजिक सञ्जालमा फैलिएका भिडिओहरूमा इरानका सयौँ मानिसहरू पहाडी इलाकामा खोजीका लागि जाँदै गरेको देखिएको छ।

इरानी अधिकारीहरूले उक्त युद्धक विमानलाई आफ्नो हवाई प्रतिरक्षा प्रणालीले खसालिदिएको बताएका थिए।

अमेरिकाले यसबारे कुनै औपचारिक प्रतिक्रिया जनाएको छैन।

विमान कहाँ र कहिले खसालियो?

इरानको सरकारी सञ्चारमाध्यमहरूले सबैभन्दा पहिले शुक्रवार आफ्नो फौजले देशको दक्षिणी क्षेत्रमा अमेरिकी विमान खसालेको दाबी गरेका थिए।

अमेरिकी सेनाको खोज र उद्धार मिशनले जेटका चालकलाई फेला पार्न सफल भयो।

त्यस सवार दोस्रो व्यक्ति अस्त्र प्रणाली अधिकारी थिए।

शुक्रवारबाट हराइरहेका उनी आइतवार फेला गरेका हुन्।

उद्धार अभियानमा संलग्नमध्येको एउटा ए-१० वारथग विमान पनि पर्शिअन गल्फमा आक्रमणमा परेको थियो।

तर लगत्तै त्यसका पाइलट विमानबाट सुरक्षा उपकरणको सहायतामा अलग भएर उत्रिएका थिए।

एफ–१५ई विमान खसालिएपछि उद्धार गरिएका पाइलटलाई बोकेको हेलिकप्टरमा पनि कम शक्तिशाली हतियारबाट प्रहार भएको थियो।

जसकारण विमानमा सवार चालक दलका सदस्यहरू घाइते भएका थिए।

अमेरिकी सञ्चारमाध्यमका अनुसार त्यो हेलिकप्टर सुरक्षित रूपमा अवतरण भएको थियो।

इरानको इस्लामिक रेभलूशनरी गार्ड्स कोर (आईआरजीसी)ले देशको पहाडी भूभागमा बस्ने घुमन्ते आदिबासीहरूले अमेरिकी उद्धार अभियानमा खटिएका दुईवटा ब्ल्याक हक हेलिकप्टरलाई गोली हानेको बताएको छ।

बीबीसी भेरिफाइले शुक्रवारको एक भिडिओको आधिकारिकता पुष्टि गरेको छ।

यो भिडिओमा तीनजना हतियारधारी व्यक्तिले कम्तीमा दुईवटा ब्ल्याक हक हेलिकप्टरलाई ताकेर गोली चलाएको देखिन्छ।

इरानको राज्य सम्बद्ध समाचार संस्था आइआरएनएका अनुसार इरानको शीर्ष संयुक्त सैन्य कमान्डले दुवै अमेरिकी युद्धक विमान खसालेको श्रेय इरानको नयाँ हवाई सुरक्षा प्रणालीलाई दिएको छ।

एफ–१५ विमान खसालिएको भनिएको स्थान कहाँ हो भन्ने आधिकारिक रूपमा अझै पुष्टि भएको छैन।

तर इरानको सरकारी सञ्चार माध्यमले दुईवटा सम्भावित प्रान्तहरू उल्लेख गरेको छ। जसमा कोगिलूय र बोयर-अहमद वा खुजेस्तानमध्ये एक रहेको बताइएको छ।

कोगिलूय र बोयर-अहमद इरानको दक्षिण-पश्चिमी क्षेत्रमा रहेको पहाडी प्रान्त हो। यहाँ फिरन्ते प्रजाति सहित सात लाख भन्दा धेरै मानिसहरूको बसोबास छ।

यस क्षेत्रका फिरन्ते प्रजातिका मानिसहरू आफ्ना जनावरको बथान र बस्ने ठाउँलाई जङ्गली जनावर र चोरीबाट जोगाउन राइफल बोक्ने गर्छन्।

खुजेस्तान प्रान्त चाहिँ तेल र अन्य धेरै उद्योगहरूको केन्द्र हो। अरब, फारसी, लोर्स र अन्य विविध जातीय समूहको मिश्रित बसोबास रहको यो प्रान्तमा ४७ लाख मानिसहरूको बसोबास छ।

विमानको उद्देश्य के थियो?

एफ–१५ई आकाशबाट जमिन र आकाशबाट आकाशमै हुने दुवै किसिमका मिशनका लागि तयार गरिएको लडाकु विमान हो।

इरानी ड्रोन र क्रुज क्षेप्यास्त्र खसाल्न यी विमानहरू रक्षात्मक भूमिकामा संलग्न भएको हुन सक्ने ठानिएको छ।

यसले आकाशबाट जमिनमा लेजर र जीपीएसका आधारमा निर्देशित भएर सटीक लक्ष्यमा गोला तथा बमहरू प्रहार गर्न सक्छ।

यो विमानमा चालक दलका दुईजना सदस्य रहन्छन्। अघिल्लो सिटमा पाइलट पछाडिको सिटमा एक अस्त्र प्रणाली अधिकारी बस्छन्।

"विज्जो" भनिने अस्त्र अधिकारीले लक्ष्य निर्धारण र आक्रमणका लागि हतियार उचित तरिकाले मिलाइएको सुनिश्चित गर्ने काम गर्छन्।

चालक दलमा दुईजना भएका कारण यसमा कामको बोझ पनि बाँडिन्छ र जोखिमबाट विमानलाई भागाउनु पर्ने अवस्थामा पाइलटलाई सहज हुन्छ।

अमेरिकी विमान कुन अस्त्रले खसाल्यो भन्नेबारेमा हामीलाई थाहा हुन सकेको छैन।

यदि त्यो इरानी पक्षबाट खसालिएको हो भने जमिनबाट आकाशमा प्रहार गरिने क्षेप्यास्त्रबाट खसालिएको हुनसक्छ।

उद्धार कसरी गरिन्छ?

खसालिएको विमानका चालकदलका सदस्यको उद्धार निकै जटिल र समयका हिसाबले पनि संवेदनशील काम हो।

कम्ब्याट सर्च एन्ड रेस्क्यू (सीएसएआर) भनिने यो काम अमेरिकी सेना र उसका सहयोगीहरूले गर्छन्।

वायु सेनाको सीएसएआर एकाइमा उच्च तालिमप्राप्त र विशेषज्ञता हासिल गरेका सैनिकहरू हुन्छन्।

"यो मैले थाहा पाएको सबैभन्दा खतरनाक सैन्य मिशन हो," मध्यपूर्वका लागि अमेरिकी कूटनीतिज्ञ रहेका सैन्य रणनीतिकार जेम्स जेफ्रीले बीबीसीसँग भने।

"एअर फोर्सका यी विशेष अपरेसनमा खटाइने व्यक्तिहरू डेल्टा फोर्स र नेभी सील टीम सिक्स बराबर तालिमप्राप्त हुन्छन्। त्यसका अतिरिक्त उनीहरूसँग उपचार गर्ने क्षमता पनि हुन्छ," जेफ्री भन्छन्, "उनीहरूले पाइलट फेला पार्ने मौका बाँकी रहँदासम्म पनि हार मान्दैनन्।"

सीएसएआर मिशनहरू प्राय: हेलिकप्टरमा परिचालित हुन्छन्। यी हेलिकप्टरहरू विपक्षीको क्षेत्रमा कम उचाइमा उडान गर्छन् अनि आक्रमण र गस्तीका लागि सैन्य विमानहरू पनि सँगै हुन्छन्।

एक पूर्व प्यारारेस्क्यू कमान्डरले इरानमा गरिएको भनिएकोजस्तो उद्धार अभियानमा कम्तीमा २४ जम्परहरूले ब्ल्याक हक हेलिकप्टर मार्फत् खोजी गर्ने सीबीएस न्यूजसँग बताएका छन्।

उनीहरू आवश्यक परेको अवस्थामा विमानबाट हामफाल्न तयार रहन्छन्। हामफालेर जमिनमा पुगेपछि उनीहरूको प्राथमिकता चालकदलका सदस्यलाई खोजेर सम्पर्क गर्नु हुन्छ।

जेटको चालक दलका सदस्यहरूलाई पनि यस्तो अवस्थाका लागि उच्च तालिम दिइएको हुन्छ।

"उनीहरूको पनि पहिलो प्राथमिकता जीवित रहने र समाउनबाट जोगिने हुन्छ," थिङक ट्याङ्क डिफेन्स प्रायोरिटीज्‌की सैन्य विश्लेषण निर्देशक जेनिफर काभानागले बीबीसीसँग भनिन्।

"उनीहरूलाई आफू शारीरिक रूपमा सक्षम रहेको र हलचल गर्ने गरि घाइते नभएको आभास हुने गरि तालिम दिइएको हुन्छ। अनि उनीहरूलाई सकेसम्म छिटो उत्रिएको इलाकाबाट टाढा जाने प्रयास गर्न र लुक्न सिकाइएको हुन्छ।"

उनीहरूलाई अभाव र असहज अवस्थामा बाँच्ने प्रविधिहरूमा पनि प्रशिक्षित गरिएको हुन्छ।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।