तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
२ अर्ब पाउन्डको क्रिप्टोकरेन्सी जफत भएकी महिलाले अपराध गरेको ठहर
- Author, लिज ज्याक्सन र पीए मिडिया
- Role, बीबीसी न्यूज
यूकेको एउटा अदालतले दुई अर्ब पाउन्डभन्दा बढी मूल्यको बिटकोइन फेला परेपछि एक महिलालाई सम्पत्ति शुद्धीकरणको मुद्दामा दोषी ठहर गरेको छ। ती महिला पहिला टेकअवे रेस्टुराँमा काम गर्थिन्।
उत्तरी लन्डनको हेन्डन निवासी ४२ वर्षीया जियान वेनलाई क्रिप्टोकरेन्सी प्रयोग गरेर करोडौँ पाउन्ड पर्ने घर तथा गहनाजस्ता सम्पत्तिमा किनेको आरोप लगाइएको छ।
साउथवार्क क्राउन कोर्टले सोमवार उनलाई सम्पत्ति शुद्धीकरणको मामिलामा संलग्न भएको आफ्नो निर्णय सुनाएको हो।
लन्डन प्रहरीले उनीबाट बरामद भएको क्रिप्टोकरेन्सी यूकेमा सम्पत्ति शुद्धीकरणको मुद्दामा फेला परेको सबैभन्दा ठूलो परिमाण हो।
उनी उक्त आपराधिक गतिविधिमा संलग्न हुँदा लीड्सस्थित एउटा चिनियाँ रेस्टुराँको माथिल्लो तलास्थित फ्ल्याटमा बस्ने गर्थिन्।
जीवनशैलीमा परिवर्तन
त्यसपछि उनको जीवनशैली एकाएक परिवर्तन आएको देखिन थाल्यो।
उनले सन् २०१७ मा उत्तरी लन्डनमा छकोठे घर भाडामा लिइन्। त्यसका लागि प्रत्येक महिना १७,००० पाउन्ड तिर्नुपर्थ्यो।
क्राउन प्रोसिक्यूशन सर्भिस (सीपीएस) का अनुसार उनी गहना व्यापार गर्ने एउटा अन्तर्राष्ट्रिय संस्थामा काम गर्ने बताउँथिन्। उनले आफ्नो छोरालाई निजी विद्यालयमा अध्ययन गराउन यूके ल्याएकी थिइन्।
त्यसै वर्ष वेनले लन्डनमा महँगा घरहरू किन्न खोजेकी थिइन्। यद्यपि सम्पत्ति शुद्धीकरणसम्बन्धी नियम पालन गरेको देखाउने पर्याप्त प्रमाण उनीसँग थिएन।
त्यस बेला बिटकोइन माइनिङबाट लाखौँ पाउन्ड कमाएको उनको दाबीलाई सम्बन्धित निकायहरूले विश्वास गरेनन्।
पछि उनी विदेश गइन् र जुरिचमा हजारौँ पाउन्डका गहना किनिन् भने सन् २०१९ मा दुबईमा पनि सम्पत्ति जोडिन्।
उनले गरेका अवैध कार्यमा अर्का एक व्यक्ति पनि संलग्न भएको ठानिएको छ। तर ती व्यक्ति फरार छन्।
व्यापक अनुसन्धान
यो मामिलामाआफूले व्यापक अनुसन्धान गरेको लन्डन प्रहरीले जनाएको छ।
उसका अनुसार त्यस क्रममा कैयौँ स्थानमा छापा मारिएको अनि ४८ वटा विद्युतीय उपकरणहरूको विश्लेषण गरिएको थियो।
त्यस्तै हजारौँ डिजिटल फाइलहरूको पनि विश्लेषण गरिएको थियो। तीमध्ये कतिपय चिनियाँ भाषामा थिए र तिनलाई अङ्ग्रेजीमा अनुवाद गर्नुपरेको थियो।
उक्त अनुसन्धानलाई 'शिअर स्केल' नामकरण गरिएको थियो।
"अन्तर्राष्ट्रिय अपराधीहरूले कसरी अवैध कार्य गर्ने उद्देश्य पूर्तिका लागि लागि क्रिप्टोकरन्सी उपयोग गर्न खोज्छन् भन्ने यसले देखाउँछ," उक्त अनुसन्धानको नेतृत्व गरेका गुप्तचर अधिकारी ज्यासन प्रिन्सले भने।
"यो फैसला र पाँच वर्षको लामो अनुसन्धानले मुद्दा जतिसुकै जटिल भए पनि अवैध कोष उपयोग गर्न खोज्ने अपराधीहरूलाई पक्राउ गर्न हामी कुनै कसर बाँकी राख्दैनौँ भन्ने देखाउँछ," उनले भने।
सजाय तोक्न बाँकी
सीपीएसले उच्च अदालतबाट वेनसँग फेला परेको बिटकोइनलाई निष्क्रिय पार्ने आदेश पनि पाएको छ।
सुरुमा उक्त बिटकोइनको मूल्य लगभग दुई अर्ब पाउन्ड बराबर भएको अनुमान गरिएको थियो।
तर क्रिप्टोकरेन्सीको मूल्य बढेपछि त्यसको कुल मूल्य झन्डै तीन अर्ब ४० करोड पाउन्ड पुग्यो।
सीपीएसका प्रमुख सरकारी वकिल एन्ड्रू पेन्हेलले बिटकोइन र अन्य क्रिप्टोकरेन्सीहरू "गलत काम गरेर आपराधिक गतिविधिबाट फाइदा लिनका लागि सङ्गठित अपराधीहरूले सम्पत्ति लुकाउन र स्थानान्तरण गर्न बढ्दो रूपमा प्रयोग गरिरहेको" बताए।
उनका अनुसार यो मुद्दाले "त्यस्ता गलत कार्य र अपराधबाट भएको अवैध आयको मात्रा" देखाउँछ।
वेनलाई दोषी ठहर गरेको भए पनि उनलाई दिने सजायबारे मे १० मा अदालत निर्णय सुनाउने छ।
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।