केन्यामा तीन दिने राष्ट्रिय शोक

केन्यामा नैरोबीस्थित एउटा व्यापारिक केन्द्रमा इस्लामवादी उग्रवादीहरुद्वारा गरिएको हमलामा मारिएकाहरुको स्मृतिमा तीन दिने राष्ट्रिय शोक मनाईंदै छ।
अधिकारीहरुले सतसठ्ठी जनाको ज्यान गएको बताएका छन्, तर दर्जनौं अन्यको स्थिति अझै अज्ञात छ।
ती हमलाको जिम्मेवारी लिएको उग्रवादी समूह अल शबाबले ती हमलामा एकसय सैंतीस जनाको ज्यान गएको जनाएको छ, तर त्यसको पुष्टि भैसकेको छैन।
उक्त व्यापारिक परिसरका भत्किएका तीन तलामा चेपिएको हुनसक्ने ठानिएका शवहरु निकाल्ने काममा अमेरिकी, इजरायली तथा ब्रिटिश विशेषज्ञहरुले केन्याली फरेन्सिक विशेषज्ञहरुलाई सघाइरहेका छन्।
हमला
गत शनिबार राजधानी नैरोबीको एउटा चर्चित किनमेल केन्द्रमा गरिएको हमलाको चोटबाट केन्या अझै उम्कन सकेको छैन।
देशवासीका नाममा टेलिभिजनबाट सन्देश दिँदै राष्ट्रपति उहुरु केन्याटाले तीन दिनसम्म राष्ट्रिय शोक मनाइने घोषणा गरे।
उनले भने, “हामीले व्यहोर्नुपरेको क्षति अकल्पनीय छ। यी हमलामा ज्यान गुमाएकाहरुको सम्मान र संझनामा मैले तीन दिनसम्म राष्ट्रिय शोक मनाउने घोषणा गरेको छु, जुन अवधिमा देशभरि नै राष्ट्रिय झण्डा आधा झुकाइने छ।“
राष्ट्रपति केन्याटाले आफुहरुले हमलाकारीहरुलाई लज्जित र पराजीत गरेको बताए।
उनले सो अवधिमा देखाएको संयम, धैर्य र ऐक्यवद्धताकालागि सबै देशवासीलाई धन्यवाद पनि दिए।
वेस्टगेट व्यापारिक केन्द्रमा सफाइको काम जारी रहँदा थप शवहरु फेला पर्ने आशँका गरिएको छ।
विष्फोट र आगलागी पछि उक्त व्यापारिक केन्द्रका तीन तला भत्किएका थिए।
भग्नावशेष
कैयौ हमलाकारीहरुको शव पनि भग्नावशेषमा चेपिएको हुनसक्ने ठानिएको छ।
मारिनेहरुमध्ये ६ जना ब्रिटिशसहित कम्तीमा अठार जना विदेशी नागरिक भएको बताइएको छ।
झण्डै एकसय पचहत्तर जना घाइते भएका थिए।
सोमालियास्थित इस्लामवादी उग्रवादी समूह अल शबाबले दुई वर्षअघि केन्याले आफुविरुद्ध गरेको सैन्य कारवाहीको बदला लिन उक्त हमला गरेको जनाएको छ।
अल कायदासंग संबद्ध ठानिने उक्त समूहले यदि केन्याले सोमालियाबाट आफ्ना सैन्य फिर्ता नलगेमा नैरौबीमै हमला गर्ने चेतावनी दिँदै आएको थियो।
सोमालियाका सरकारी सैन्यलाई सघाइ रहेका अफ्रिकी संघको सैन्य टोलीको अँगको रुपमा दक्षिणी सोमालियामा झण्डै चार हजार केन्याली सैन्यहरु तैनाथ गरिएका छन्।
अल शबाब विद्रोही समूहसँग झण्डै पाँचहजार लडाकुहरु रहेको ठानिन्छ।
यसैबीच सोमालियाकालागि राष्ट्रसंघका विशेष प्रतिनिधि निकोलास केले अल शबाब लडाकुहरुसंग जु्ध्न सोमालियामा अफ्रिकी संघका सैनिकहरुको संख्या बढाउन आह्वान गरेका छन्।





















