वैद्य नेतृत्वको माओवादीद्वारा चुनाव 'विफल पार्ने' निर्णय

माओवादीको निर्णयले चुनाव प्रभावित हुनसक्ने चिन्ता बढेको छ
तस्बिरको क्याप्शन, माओवादीको निर्णयले चुनाव प्रभावित हुनसक्ने चिन्ता बढेको छ

मोहन वैद्य नेतृत्वको नेकपा माओवादीले मंसीर चार गतेको चुनाव बहिष्कार गर्ने र विफल गराउने निर्णय गरेको उक्त दलकी प्रवक्ताले जनाएकी छन्।

यसका लागि नेकपा माओवादीकै शब्दमा ‘पार्टी शक्ति, जनशक्ति र मोर्चा’ परिचालन गरिनेछन्।

चार दिनसम्म पोखरामा चलेको उक्त पार्टिको केन्द्रिय समिति बैठक सो निर्णय गर्दै मंगलवार सकिएको छ।

संविधानसभा निर्वाचनको मिति घोषणापछि पहिलो पटक भएको उक्त पार्टीको केन्द्रिय समितिको बैठकले चुनावमा भाग नलिने औपचारिक निर्णय गरेपछि सरकार र चुनाव समर्थित दलहरुलाई अप्ठ्यारो पर्ने देखिएको छ।

एकमत

चुनावमा भाग लिने वा नलिने भन्ने दुई पक्षबीच मत–मतान्तर नभई सबैले एकमतले चुनाव बहिष्कार गर्नुपर्ने धारणा राखेको पार्टीकी प्रवक्ता पम्फा भुसालले बताइन्।

उनले भनिन्,“यथास्थितमा यो चुनावमा भाग लिनुपर्छ भन्ने एउटा मत पनि व्यक्त भएन। चुनावलाई असफल पार्नुपर्छ भन्ने सुझाव र तरिका बैठकमा आए।”

आफ्नो नाम बताउन नचाहने केही माओवादी सदस्यले ११७ जनाले बोल्दा एकजनाले पनि चुनावको उपयोग गर्नुपर्ने पक्षमा राय व्यक्त नगरेको बताए।

बेवास्ता

प्रवक्ता भुसालले वार्ताका लागि आफ्ना न्यूनतम मागहरु समेत बेवास्ता भएपछि सम्पूर्ण शक्ति चुनावको सक्रिय बहिष्कारमा लगाउने निर्णय गरिएको बताइन् ।

उनले भनिन्,“जुन ढंगले विपक्षीलाई नसुन्ने अलोकतान्त्रिक तरिका अपनाइएको छ हामी त्यसको विरोधमा सम्पूर्ण शक्ति लगाएर चुनावको सक्रिय बहिष्कारमा जान्छौं।”

संवाद

बहिष्कारमा जाने निर्णय गरिएपनि वार्ता र संवादको ढोका भने पार्टीले खुलै राखेको प्रवक्ता भुसालले उल्लेख गरिन्।

उनले भनिन्,“वार्ताको ढोका भने खुला छ। बहिष्कारमा जान्छौ तर अग्रगामी निकासका लागि हामी वार्तामा बस्न तयार छौं।”

दोस्रो संविधानसभाको चुनाव जसरी पनि सफल बनाउन लागेका ठूला दलहरु र चुनाव असफल बनाउने रणनीतिमा लागेको नेकपा माओवादीबीचको टकरावका कारण शान्तिपूर्ण निर्वाचनको प्रयासमा वाधाव्यवधान आउने हो कि भन्ने आशंका बढेको छ।

संविधानसभा चुनावमा आफू सहभागी हुन वर्तमान गैरदलीय सरकारको राजीनामा, प्रमुख चार शक्तिबीच भएका २५ बुंदे वाधा अडकाऊ फुकाऊ लगायतका सहमति खारेजीको माग नेकपा माओवादीले गर्दै आएको छ।