युक्रेन युद्ध: लडाइँमा जान अस्वीकार गर्दै रुसी सैनिक
तस्बिर स्रोत, EPA
- Author, ओलेस्या गेरासिमेन्को र क्याट्रिना खिन्कुलोभा
- Role, बीबीसी विश्व सेवा
रुसी मानव अधिकार अभियानकर्मी र वकिलहरूका अनुसार केही रुसी सैनिकले युक्रेन युद्धमा अग्रपङ्क्तिमा रहेर लड्दाको भोगाइहरूका कारण पुनः मोर्चामा जान अस्वीकार गरिरहेका छन्।
बीबीसीले त्यस्तै एक सैनिकसँग कुरा गरेको छ।
"म युक्रेन फर्केर मार्न र मारिन चाहन्नँ," पाँच हप्ता युक्रेनमा लडाइँ गरेका सर्गेई (परिवर्तित नाम) भन्छन्।
हाल उनी रुसस्थित घरमा छन् र पुनः परिचालन हुनबाट जोगिन कानुनी सल्लाह खोजिरहेका छन्। सर्गेई त्यस्तो उपाय खोजिरहेको ठानिएका सयौँ रुसी सैनिकमध्ये एक हुन्।
सर्गेई युद्ध अनुभवबाट आफू आघातमा परेको सुनाउँछन्।
"मैले सोचेको थिएँ कि हामी संसारको सबैभन्दा उत्कृष्ट सेना हौँ," उनले भने।
तर आफूहरूलाई रातको समयमा हेर्न मद्दत पुर्याउने सामग्रीलगायत आधारभूत उपकरणहरू समेत नदिई परिचालन गर्न खोजिएको उनले सुनाए।
"हामी आँखा नदेख्ने बिरालोको बच्चा सरह थियौँ। मलाई हाम्रो सेनाले स्तब्ध तुल्यायो। हामीलाई आवश्यक स्रोतसाधन जुटाउन धेरै खर्च लाग्दैन। किन त्यसो गरिएन?"
सर्गेई सेनामा अनिवार्य सेवा अन्तर्गत भर्ती भएका थिए। १८-२७ वर्ष उमेर समूहका अधिकांश रुसी पुरुषहरूले एक वर्ष यस्तो सेवा पूरा गर्नु पर्छ।
तर सेनामा प्रवेश गरेको केही महिनापछि उनले तलब पाउने गरी दुई वर्षको व्यावसायिक सम्झौतामा हस्ताक्षर गरे।
ज्यानुअरीमा सर्गेईलाई सैन्य अभ्यासको निम्ति भन्दै युक्रेनको सीमा नजिक पठाइएको थियो।
त्यसको ठिक एक महिना पछि अर्थात् २४ फेब्रुअरीमा रुसले युक्रेनविरुद्ध आक्रमण सुरु गर्यो। त्यसपछि उनलाई सीमा काटेर जान निर्देशन दिइयो। लगत्तै उनको एकाइले नै आक्रमणको सामना गर्नुपर्यो।
आक्रमण भएको साँझ एउटा बाँझो खेतमा रहँदा उनीहरूलाई नेतृत्वकर्ताले भने: "सायद तिमीहरूले अहिलेसम्म ठम्याइ सक्यौ होला, यो कुनै मजाक होइन।"
सर्गेई आफू पूर्ण रूपमा स्तब्ध भएको सुनाउँछन्।
"त्यति सुन्दा मेरो दिमागमा 'के यो साँच्चै भइरहेको छ र मैले यो सबै भोगिरहेको छु?' भन्ने विचार आएको थियो।"
उनीहरू हिँड्दा वा कतै बास बस्दासमेत लगातार गोलाबारी भयो। उनी रहेको एकाइका ५० जनामध्ये १० जनाको मृत्यु भएको थियो र १० जना घाइते भएका थिए। उनका प्राय: सबै २५ वर्षभन्दा कम उमेरका थिए।
तस्बिर स्रोत, Getty Images
उनले केही अनुभवहीन रुसी सैनिकहरूको बारेमा सुने जसलाई "कसरी गोली हान्ने थाहा थिएन र तोपको कताबाट गोला छुट्छ भनेर छुट्टाउन सक्दैन थिए।"
उत्तरी युक्रेन हुँदै यात्रा गरिरहेको गाडीको लस्करबाट आफ्नो समूह अलग्गिएको उनले सुनाए।
त्योभन्दा चार दिनअघि उनीहरूले पार गर्न लागेको एक पुल ध्वस्त भएको थियो। घटनामा परी उनीहरूभन्दा अगाडि रहेका सेनाहरूको मृत्यु भयो।
जलिरहेको गाडीभित्र फसेका साथीहरूलाई त्यहीँ छोडेर हिँड्नु परेको घटनाले आफूमा पारेको आघातका बारे पनि सर्गेई बोले।
"त्यस गाडीमा ग्रिनेड प्रहार गरिएको थियो वा अरू केही मैले बुझिनँ। प्रहारपछि सेनाहरू सवार गाडीमा आगलागी भयो। हामीले यात्रा जारी राख्यौँ र त्यस क्रममा गोलाबारी गर्यौँ। मैले पछाडि फर्केर हेरिनँ।"
तस्बिर स्रोत, Getty Images
आफ्नो एकाइ युक्रेनको ग्रामीण भेग हुँदै अघि बढे पनि त्यहाँ रणनीतिको अभाव स्पष्ट देखिएको उनले बताए। उनका अनुसार त्यहाँ थप सहयोग आइपुगेन र ठूलो सहर कब्जा गर्नका लागि सेनासँग आवश्यक स्रोत र साधन थिएनन्।
"हामी हेलिकप्टरबिना परेडमाजस्तै लामबद्ध भएर हिँड्यौँ।"
आफ्नो कमान्डरले छिट्टै युक्रेनी गढ र प्रमुख सहरहरू नियन्त्रणमा लिने र युक्रेनले सहजै आत्मसमर्पण गर्ने ठानेको उनको विश्वास छ।
"हामी राति केही बेर मात्र बास बसेर हतारमा अगाडि बढ्यौँ। त्यो बेला कसैले पछाडिबाट आएर हामीलाई प्रहार गरेको भए पनि कुनै सुरक्षा थिएन।"
"यदि हामी बिस्तारै अघि बढेको भए र सडकमा जोखिमको जाँच गरेको भए धेरै नोक्सानीबाट बच्न सकिन्थ्यो।"
उपकरणको अभावको बारेमा सर्गेईले गरेको गुनासोहरू रुसी सैनिकहरू र उनीहरूका परिवारहरू बीचको भनिएको फोन संवादमा पनि सुनिएको छ।
ती संवादलाई युक्रेनको सेनाले अनलाइनमा राखेको छ।
एप्रिलको सुरुवातमा सर्गेईलाई फेरि सीमामा रहेको रुसी शिविरमा पठाइयो।
उत्तरी युक्रेनबाट सेना फिर्ता गरिएको थियो र पूर्वमा आक्रमणको लागि पुनः सङ्गठित भएको देखिन्थ्यो।
सोही महिना पुनः युक्रेन फर्कने आदेश दिइयो तर उनले कमान्डरसँग आफू त्यहाँ जान तयार नभएको बताएका थिए।
तस्बिर स्रोत, EPA
"उनले युक्रेन जाने वा नजाने मेरो रोजाइको विषय भएको बताए। उनीहरूले हामीलाई निरुत्साहित गर्ने प्रयास गरेनन्," सर्गेइले बीबीसीलाई भने।
तर आफूले कानुनी सल्लाह लिने निर्णय गरेकोबारे आफ्नो एकाइले जनाउने सम्भावित प्रतिक्रियाबारे चिन्तित सुनिए।
एक वकिलले सर्गेई र उनका दुई सहकर्मीहरूलाई आफूसँग भएको हतियारहरू फिर्ता गर्न र आफ्नो एकाइको मुख्यालयमा गई आफू "नैतिक र मनोवैज्ञानिक रूपमा थाकेको" जनाउँदै निवेदन पेस गर्न सुझाव दिएका छन्।
सर्गेईलाई एकाइमा फर्कनु पर्ने बताइएको थियो।
जानकारी नदिई एकाइ छोड्नुलाई भागेको रूपमा व्याख्या गरिने र दुई वर्ष कैद हुनसक्ने भनिएको थियो।
तस्बिर स्रोत, Reuters
रुसका मानवअधिकार सम्बन्धी वकिल एलेक्सी ताबालोभका अनुसार सेनाका कमान्डरहरूले अनुबन्धित सैनिकहरूलाई आफ्नो एकाइमा बस्न धम्क्याउने प्रयास गर्छन्।
तर रुसी सैन्य कानुनमा सेनाहरूलाई कुनै एकाइमा बस्न अस्वीकार गर्न पनि अनुमति दिने प्रावधानहरू समावेश भएको उनले बताए।
मानवअधिकारकर्मी कार्यकर्ता सर्गेइ क्रिभेन्कोले सेनामा फर्किन नमान्नेहरू माथि कस्तो कारबाही हुन्छ भन्ने कुरा आफूलाई थाहा नभएको बताए।
यसको मतलब फर्कन अस्वीकार गर्नेहरूविरुद्ध कारबाही नभएको भने होइन।
तस्बिर स्रोत, Reuters
उत्तरी रुसका एक कमान्डरले युक्रेनमा फर्कन अस्वीकार गरेका आफ्नो मातहतका सेनाविरुद्ध फौजदारी मुद्दा लगाउन आग्रह गरे।
बीबीसीले हेरेको एक दस्ताबेजका अनुसार सरकारी वकिलले त्यस मुद्दालाई अगाडि बढाएनन्। नोक्सानीको मूल्याङ्कन नगरी त्यस्तो कार्य अघि बढाउनु "हतारको कार्य" हुने ती वकिलले बताएका थिए।
भविष्यमा यस्ता अभियोगहरू देखा पर्दैनन् भन्ने कुरा निश्चित छैन।
गोप्य अन्तर्वार्ता र खुला स्रोत सामग्रीमार्फत युक्रेनमा खटेका रुसी सेनाको अनुभवहरूको अनुसन्धान गर्ने कन्फ्लिक्ट इन्टेलिजेन्स समूहका सम्पादक रुस्लान लेभिएभका अनुसार सर्गेई जस्ता सैनिकहरू अग्रपङ्क्तिमा फर्कन नचाहनु असामान्य होइन।
लेभिएभका अनुसार उनको समूहले गरेको आकलनमा युद्धको प्रारम्भिक चरणमा लड्न युक्रेन पठाइएका रुसी सैनिकहरूको ठूलो सङ्ख्या पुनः त्यहाँ फर्कन मानेनन्।
तस्बिर स्रोत, Reuters
स्वतन्त्र रुसी सञ्चारमाध्यमहरूले पनि एप्रिलको सुरुदेखि युक्रेनमा रुसी सैनिकहरू तैनाथ हुन अस्वीकार गरेको थुप्रै घटनाहरूबारे विवरण सार्वजनिक गर्दै आएका छन्।
बीबीसीसँग कुरा गरेका धेरै वकिल र मानवअधिकारकर्मीले उनीहरूले युक्रेन फर्कनबाट जोगिन खोज्ने सेनाहरूलाई नियमित रूपमा सल्लाह दिइरहेका थिए।
अन्तरर्वार्ता दिएका प्रत्येकले त्यस्ता दर्जनौँ सैनिकहरूलाई सल्लाह दिएका छन्।
सर्गेई पुनः युद्ध मैदानको अग्रपङ्क्तिमा फर्कन चाहँदैनन्।
यद्यपि उनी कुनै पनि अप्रत्याशित परिणामहरूबाट बच्न आफ्नो सैन्य सेवा पूरा गर्न चाहन्छन्।
तर लड्न अस्वीकार गरेको उनको पत्र स्वीकृत भएको खण्डमा उनले पूरा गर्न बाँकी सेवा अवधिमा युक्रेन फिर्ता पठाइन्छ वा पठाइँदैन भन्ने टुङ्गो छैन।
"यहाँ युद्ध जारी छ। यसको अन्त्य हुने छाँट देखिँदैन," उनले बीबीसीसँग भने।
"अनिवार्य सैन्य सेवाका लागि मैले बिताउन बाँकी अवधिमा जे पनि हुनसक्छ। जस्तोसुकै खराब परिस्थितिको सामना गर्नु पर्ने हुनसक्छ। "
मुख्य समाचार
अनि यो पनि
धेरै रुचाइएको
सामग्री उपलब्ध छैन