सामसङ: विश्वकै सर्वाधिक पैतृक सम्पत्ति कर कसरी तिर्ने

तस्बिर स्रोत, Getty Images

तस्बिरको क्याप्शन, ली क्यून-हीले परिवारका लागि विशाल सम्पत्ति र ठूलो टाउको दुखाइ छोडेको बताइन्छ

यस्तो कल्पना गर्नुहोस्: तपाईँको नाममा संसारकै सबैभन्दा ठूलोमध्येको एक पैतृक सम्पत्ति आयो। के गर्नुहुन्छ? मन खोलेर खर्च? घर किन्नुहुन्छ कि गरगहना? कि महँगा कार? वा विलासी बिदा मनाउनुहुन्छ?

पख्नुहोस्, यदि तपाईँ गत अक्टोबरमा निधन भएका दक्षिण कोरियाको सबैभन्दा धनी व्यक्ति ली कून-हीको सम्पत्तिको मालिक बन्न लाग्नु भएको छ भने तपाईँले पहिलो सोच्ने कुरा पैतृक सम्पत्ति कर हुनेछ।

त्यस्तो नियम अन्तरगत तपाईँले झण्डै १० अर्ब अमेरिकी डलर कर तिर्नुपर्ने हुन्छ जुन इतिहासकै सबैभन्दा ठूलो करमध्येको एक हो।

फोर्ब्स पत्रिकाको अनुसार सामसङका पूर्व अध्यक्षको कूल सम्पत्ति १७ अर्ब ३० करोड डलर थियो।

उनका उत्तराधिकारीहरूले यसको आधाभन्दा बढी कर स्वरूप सरकारलाई बुझाउनु पर्थ्यो र त्यसका लागि उनीहरूसँग छ महिनाको मात्रै समय थियो।

उनीहरूले कसरी पैतृक सम्पत्ति हात पारे त?

दान दातव्य

तस्बिर स्रोत, Getty Images

पैतृक सम्पत्ति कर घटाउने पहिलो कदम भनेको करयोग्य वस्तुहरू सकेसम्म कम गर्ने हो।

लीको परिवारको लागि यो धेरै गाह्रो भएन किनभने उनीहरूसँग एकदमै महँगा कलाकृतिहरूको ठूलो सङ्ग्रह थियो जुन उनीहरूले दानमा दिए।

लीको सङ्ग्रहमा रहेका प्राचीन वस्तु र कलाकृतिहरू 'न्याश्नल म्युजियम अफ कोरिया' र अन्य सांस्कृतिक संस्थाहरूलाई दान दिइयो।

पाब्लो पिकासोजस्ता प्रसिद्ध कलाकारहरूको कला समावेश सो सङ्ग्रहमा २३,००० वस्तुहरू भएको बताइन्छ।

त्यति मात्रै होइन, लीको परिवारले दशौँ लाख डलर बाल क्यान्सर उपचार, सङ्क्रामक रोग अस्पताल र खोप अनुसन्धानका लागि दान दिने बताएको छ।

यसबाट पैतृक सम्पत्तिको रूपमा उनीहरूकहाँ आउने सम्पत्तिको मात्रा कम हुन जान्छ जसले गर्दा कर पनि कम हुने र परोपकारी परिवारको रूपमा उनीहरूको नाम पनि हुनेछ।

किस्तामा कर

तस्बिर स्रोत, Getty Images

दक्षिण कोरियामा पैतृक सम्पत्ति कर ५० प्रतिशत छ जुन जापानपछि विश्वमै सबैभन्दा बढी हो।  

फोर्ब्सका अनुसार जति कर लीको परिवारले तिर्न लागेको छ त्यति सम्पत्ति त विश्वका २०० व्यक्ति वा परिवारसँग मात्रै छ।

"सबै कर तिर्नु हाम्रो नागरिक कर्तव्य र जिम्मेवारी हो," लीको परिवारले एक विज्ञप्तिमा बताएको छ।

तर उनीहरूले त्यो सबै कर एकै पटक तिर्ने छैनन्।

ली परिवारले सो कर पाँच वर्ष लगाएर छ किस्तामा तिर्ने बताएको छ। जसको पहिलो किस्ता यसै महिना तिरिने छ।

ली परिवारका अनुसार दक्षिण कोरियामा गत वर्षभरि तिरिएका सम्पत्ति करभन्दा धेरै कर तिर्नका लागि त्यति समय चाहिन्छ।

यसको अर्थ उनीहरूले सामसङको धेरे शेअर बेच्नु पर्दैन र कम्पनीलाई परिवारमै राख्न सक्छन्।

सरसापट

तस्बिर स्रोत, Getty Images

लगानीकर्ताहरूले यो अवस्थालाई नियालिरहेका छन् किनभने ली परिवारको सामसङमा भएको शेअरमा तलमाथि हुनु भनेको कम्पनीको स्वामित्वमै ठूलो परिवर्तन हुन सक्नु हो। 

कोरियाली अर्थतन्त्रमा पारिवारिक स्वामित्वमा रहेका सामसङ जस्ता कम्पनीहरूको ठूलो हिस्सा छ। यस्ता कम्पनीमा बाहिरिया व्यक्तिहरूले प्रवेश पाउने सम्भावना कमै हुन्छ। 

तर लीको मृत्युले त्यस्तो अवसर अन्य लगानीकर्तालाई खोल्न सक्छ।

ली परिवारले आफ्नो शेअर बचाउनका लागि आवश्यक ऋण खोजेको बताइन्छ।