यूके राजपरिवार: तपाईँले जान्नुपर्ने कुरा यस्ता छन्

तस्बिर स्रोत, Reuters

ड्यूक अफ एडिन्बरा राजकुमार फिलिपको गत शुक्रवार ९९ वर्षको उमेरमा निधन भयो।

महारानी एलिजाबेथ द्वितीयासँग उनको ७३ वर्षअघि विवाह भएको थियो। ब्रिटेनको आधुनिक इतिहासमा राष्ट्रप्रमुखसँग विवाह गर्ने व्यक्तिमध्ये राजकुमार फिलिप अहिलेसम्म सबैभन्दा लामो वैवाहिक सम्बन्ध भएका व्यक्ति हुन्।

ब्रिटिश राजपरिवारमा को-को छन्?

सन् १९५२ मा आफ्ना पिता राजा जोर्ज छैटौँको निधन भएपछि यूकेमा महारानी एलिजाबेथ द्वितीया राष्ट्रप्रमुख छिन्।

ब्रिटिश राजपरिवारमा सबैभन्दा लामो समय ५९ वर्षदेखि महारानी एलिजाबेथ राजगद्दीमा छिन्। उनी कमनवेल्थकी प्रमुख पनि हुन्।

कमनवेल्थ ५४ वटा स्वतन्त्र देशहरूको स्वयंसेवी संस्था हो। ती सबैजसो देशहरू कुनै बेला ब्रिटिश शासनअन्तर्गत थिए।

चौरानब्बे वर्षीया महारानी र उनका पति राजकुमार फिलिपका चार सन्तान, आठ नातिनातिना र नौ पनातिपनातिना छन्।

तस्बिर स्रोत, PA Media

तस्बिरको क्याप्शन, राजकुमारी एलिजाबेथले सन् १९४७ मा राजकुमार फिलिपसँग विवाह गरेकी थिइन्

राजपरिवारका अन्य सदस्यहरू यसप्रकार छन् -

  • प्रिन्स अफ वेल्स राजकुमार चार्ल्स (७२): उनको विवाह डचिस अफ कोर्न्वल (कमिल) सँग भएको हो। उनी महारानीका जेठा सन्तान हुन् र राजगद्दीका उत्तराधिकारी हुन् ।
  • ड्यूक अफ केम्ब्रिज राजकुमार विलियमः उनको विवाह डचिस अफ केम्ब्रिज (क्याथरिन) सँग भएको हो। विलियम प्रिन्स अफ वेल्स र प्रिन्सेस अफ वेल्स डायनाका जेठा छोरा हुन् ।
  • ड्यूक अफ ससिक्स राजकुमार ह्यारीः उनी विलियमका भाइ हुन्। उनको विवाह डचिस अफ ससिक्स (मेगन) सँग भएको हो। गत वर्ष उनीहरूले आफूहरू वरिष्ठ शाही सदस्य नरहने बताएका थिए र अहिले उनीहरू लस एन्जलीसमा बस्छन्।

राजपरिवारको सदस्य कसरी भइन्छ?

राजपरिवारका सदस्यसँग विवाह गर्ने जो कोही उक्त परिवारको सदस्य हुन्छ। उनीहरूलाई विवाहपछि "रोयल" अर्थात् "शाही" उपाधि दिइन्छ।

उदाहरणका लागि, सन् १९८१ मा राजकुमार चार्ल्ससँग विवाह गरेपछि लेडी डायना स्पेन्सर प्रिन्सेस अफ वेल्स बनेकी थिइन्।

यद्यपि राजा वा रानी बन्न राजपरिवारमै जन्मिएको हुनुपर्छ।

राजगद्दीको उत्तराधिकारीको पहिलो वरीयतामा राजकुमार चार्ल्स छन्। उनका जेठा छोरा राजकुमार विलियम दोस्रोमा अनि विलियमका जेठा छोरा राजकुमार जोर्ज तेस्रो वरीयतामा छन्।

राजपरिवारका सदस्यको विवाहमा के हुन्छ?

राजपरिवारभित्र हुने विवाह प्रायशः पुरानो र एकदमै भव्य ठाउँमा हुन्छ। अनि वैवाहिक समारोहले पनि धेरैको ध्यानाकृष्ट गर्छ।

महारानी र राजकुमार फिलिपको विवाह सन् १९४७ मा वेस्टमिन्स्टर अबीमा भयो जुन सन् ९६० मा स्थापना भएको थियो। वेस्टमिन्स्टर अबी संसद् भवनसँग जोडिएको छ।

छ दशकभन्दा बढी समयपछि सन् २०११ मा ठूलो भिड अबीबाहिरको सडकमा भेला भयो। त्यतिबेला महारानीका नाति विलियमको क्याथरिन मिडल्टनसँगको विवाह हेर्न मानिसहरू भेला भएका थिए। उनीहरू ड्यूक एन्ड डचिस अफ केम्ब्रिज बने।

तस्बिरको क्याप्शन, वेस्टमिन्सटर अबीबाट बग्गीमा चढेर बकिङ्घम दरबार जाँदै ड्यूक एन्ड डचिस अफ केम्ब्रिज

राजपरिवारका अन्य सदस्यको विवाह विन्ड्सर कासलस्थित सेन्ट जोर्ज च्यापलमा भएको थियो जुन ९०० वर्षभन्दा पुरानो हो।

राजकुमार ह्यारी र मेगन मार्कलको सन् २०१८ मा पनि यही ठाउँमा विवाह भएको थियो।

राजपरिवारमा सन्तान जन्मिएपछि के हुन्छ?

राजपरिवारका धेरैजसो वरिष्ठ सदस्यहरू लन्डनस्थित सेन्ट मेरिज हस्पिटलमा जन्मिएका हुन्।

प्रिन्सेस डायनाले राजकुमार विलियम र राजकुमार ह्यारीलाई त्यही जन्माएकी थिइन्। डचिस अफ केम्ब्रिज क्याथरिनले पनि आफ्ना तीन सन्तान राजकुमार जोर्ज, राजकुमारी शार्लट र राजकुमार लुईलाई त्यहीँ जन्माएकी हुन्।

डायना र क्याथरिन दुवैले अस्पतालबाहिर आफ्ना पति र सन्तानहरूसँग फोटो खिचाएका थिए।

तस्बिर स्रोत, PA

तस्बिरको क्याप्शन, सन् १९८२ मा राजकुमार विलियमको जन्म भएको थियो

राजपरिवारले के गर्छ?

अहिले ब्रिटिश सरकारलाई "हर म्याजिस्टीज् गभर्न्मन्ट" भनिन्छ। तर महारानीसँग लगभग कुनै पनि राजनीतिक शक्ति हुँदैन।

सरकारमा आफ्नो उपस्थिति स्मरण गराउन महारानीले सातामा एकचोटि प्रधानमन्त्रीलाई भेट्छिन्, तर नीतिहरूको स्वीकृतिका लागि प्रधानमन्त्रीले महारानीको सहमति खोज्दैनन्।

महारानी र राजपरिवारका अन्य वरिष्ठ सदस्यले औपचारिक भेटघाटहरू आयोजना गर्छन्।

परिवारका सदस्यहरूले अन्य देशमा महारानीको प्रतिनिधित्व पनि गर्छन्। उदाहरणका लागि, गत वर्ष मार्चमा ड्यूक एन्ड डचिस अफ केम्ब्रिजले रिपब्लिक अफ आयरल्यान्डको औपचारिक भ्रमण गरेका थिए।

तस्बिर स्रोत, Julien Behal

तस्बिरको क्याप्शन, ड्यूक एन्ड डचिस अफ केम्ब्रिजले रिपब्लिक अफ आयरल्यान्डको भ्रमणका क्रममा त्यहाँका राष्ट्रपति माइकल डी हिगन्सलाई उनकै निवासमा भेटेका थिए

विभिन्न कल्याणकारी कामका लागि धेरैजसो राजपरिवारका सदस्यहरू संरक्षक छन्।

अनि केहीले आफैँ खोलेका छन्। जस्तै, युवाहरूका लागि 'ड्यूक अफ एन्डिबराज् अवार्ड' खोलिएको छ।

उनीहरूको सुरक्षाबलसँग निकट सम्बन्ध छ। राजकुमार विलियम वायुसेनामा र ह्यारी स्थलसेनामा थिए।

तस्बिर स्रोत, PA Media

तस्बिरको क्याप्शन, अफगानिस्तानमा राजकुमार ह्यारी

के राजपरिवारका सदस्यले सधैँभरि औपचारिक कर्तव्य निर्वाह गर्नुपर्छ?

पर्दैन। गत वर्ष राजकुमार ह्यारी र मेगनले आर्थिक रूपमा आत्मनिर्भर हुन राजपरिवारको वरिष्ठ सदस्य नरहने घोषणा गरेका थिए।

तस्बिर स्रोत, Reuters

तस्बिरको क्याप्शन, ड्यूक एन्ड डचिस अफ ससिक्स अहिले आफ्नो छोरासँग अमेरिकामा बस्छन्

ड्यूक अफ योर्क राजकुमार एन्ड्रूले सन् २०१९ मा आफ्नो राजकीय भूमिका परित्याग गरेका थिए।

यौन अपराधी जेफरी एप्स्टीनसँग आफ्नो मित्रताबारे बीबीसीसँग अन्तर्वार्ता दिएपछि एन्ड्रू राजकीय जिम्मेदारीबाट बाहिरिएका थिए।

राजपरिवारले आफ्नो खर्चका लागि पैसा कहाँबाट पाउँछ?

प्रत्येक वर्ष यूके सरकारले "सभ्रिन ग्रान्ट" भनेर महारानीलाई एकमुष्ट भुक्तानी दिन्छ।

यो रकम दुई वर्षअघि राजस्वबाट उठेको क्राउन इस्टेटको २५ प्रतिशतमा आधारित हुन्छ। क्राउन इस्टेट एउटा स्वतन्त्र व्यापारिक सम्पत्ति हो।

सन् २०२०-२१ का लागि सभ्रिन ग्रान्ट झन्डै नौ करोड पाउन्ड रहेको छ। उक्त ग्रान्टले राजपरिवारका सदस्यहरू बस्ने ठाउँहरूको व्यवस्थापन र विभिन्न औपचारिक गतिविधिमा सघाउँछ।

राजकुमार चार्ल्सले व्यापारिक संस्था डची अफ कोर्न्वलबाट आम्दानी गर्छन्। सम्पत्ति र आर्थिक लगानीसम्बन्धी काम गर्ने उक्त बृहत् संस्थाले गत वर्ष दुई करोड २३ लाख पाउन्ड जम्मा गरेको थियो।

राजपरिवारका सदस्यहरू कहाँ बस्छन्?

तस्बिर स्रोत, PA Media

तस्बिरको क्याप्शन, राजपरिवारका सदस्यहरूले सन् २०१९ मा बकिङ्घम दरबारबाट महारानीको औपचारिक जन्मदिन मनाउँदा

महारानीको लन्डनको औपचारिक निवास बकिङ्घम दरबार हो।

प्रायः उनी सप्ताहान्त र ईस्टरका बेला एक महिना बार्कशरस्थित विन्ड्सर कासलमा बस्छिन्। यद्यपि कोरोनाभाइरसको महामारीका बेला उनले पूरै समय विन्ड्सर कासलमै व्यतीत गरिन्। राजकुमार फिलिपको निधन पनि त्यहीँ भएको हो।

राजकुमार चार्ल्स र डचिस अफ कोर्न्वल लन्डनमा भएका बेला क्लेरन्स हाउसमा बस्छन् जुन बकिङ्घम प्यालेसबाट आधा माइलजति पर छ।

राजकुमार विलियम र डचिस अफ केम्ब्रिज क्याथरिन पनि नजिकै रहेको केन्सिङ्टन प्यालेसमा बस्छन्।