कोरोना भाइरस खोप: ईयूले आपूर्ति नियन्त्रण गर्ने
तस्बिर स्रोत, Getty Images
कोरोनाभाइरस खोप माग अनुसार उपलब्ध गराउन नसकेको भन्ने विवाद बढिरहेका बेला युरोपेली सङ्घले युरोपमा बनेको कोरोनाभाइरस खोप निर्यातमा प्रतिबन्ध लगाउने निर्णय गरेको पुष्टि गरेको छ।
ईयू राष्ट्रहरूसँग गरेको सम्झौता अनुरूप काम नभएमा अन्य मुलुकमा निर्यात गर्न प्रतिबन्ध लगाउन सक्ने अधिकार युरोपेली सङ्घसँग रहेको छ।
सङ्घले भनेको छ, "हाम्रा नागरिकको सुरक्षा र संरक्षण हाम्रो प्राथमिकता हो । अहिलेको चुनौतीले हामीलाई अरू विकल्प दिएन।"
यो प्रतिबन्धले यूके, अमेरिका, क्यानडा र अस्ट्रेलियासहित १०० मुलुकहरू प्रभावित हुनेछन्। तर गरिब मुलुकहरूसहित केही भने प्रतिबन्धमा परेका छैनन्।
ईयूले अहिलेको नियन्त्रण अस्थायी रहेको भन्दै स्थायी निर्यात प्रतिबन्ध नलगाएको बताएको छ।
तर विश्व स्वास्थ्य सङ्गठनसहित अन्यले ईयूको यो कदमको आलोचना गर्दै त्यसको असर संसारभर पर्ने बताएका छन्।
अहिलेयस्तो किन भइरहेको छ?
तस्बिर स्रोत, EPA
वितरणको विषयलाई लिएर ईयू खोप उत्पादक एस्ट्राजेनेकासँग सार्वजनिक रूपमै विवादमा होमिएको अनि खोप वितरणको सुस्त गतिका कारण सङ्घ माथि बढ्दो दबावबीच यस्तो समाचार आएको हो।
शुक्रवार युरोपेली आयोगले एस्ट्राजेनेकाले आफूहरुसँगको सम्झौतामा आधारित रहेर खोप वितरण गर्न नसकेको भन्ने भनाइलाई बल पुर्याउन उक्त कम्पनीसँगको गोप्य सम्झौता नै सार्वजनिक गरिदिएको थियो।
नयाँ नियम अनुसार खोप उत्पादकहरूले ईयू भन्दा बाहिर खोप वितरण गर्नका लागि ऊसँग अनुमति लिनुपर्नेछ।
२७ सदस्य राष्ट्र भएको सङ्घले त्यस्ता आवेदनको परीक्षण गर्न पाउने छ। फाइजरले बेल्जियममा उत्पादन गरिरहेको खोप यूकेमा निर्यात भइरहेको छ।
सम्झौता अनुरूप मार्च महिनासम्ममा उपलब्ध गराउनुपर्ने खोप आपूर्ति गर्न नसकेको भन्दै ईयू फाइजरसँग पनि विवादमा छ।
फाइजरले भने बेल्जियमस्थित आफ्नो उत्पादन केन्द्रमा भइरहेको विस्तारको कार्यका कारण त्यस्तो भएको जनाएको छ।
कसका लागि प्रतिबन्ध छैन?
ईयूले ९२ थरीलाई निर्यात प्रतिबन्ध लगाएको छैन।
तीमध्ये कोभ्याक्सका लागि खोप दान, गरिब मुलुकका लागि विश्वव्यापी खोप सहयोग योजना, स्वीट्जरल्यान्ड, पश्चिमी बाल्कन मुलुकहरू, नर्वे र उत्तर अफ्रिका रहेका छन्।
त्यसैगरी अन्य भूमध्यसागरीय मुलुकहरू लेबनन र इजरेल पनि प्रतिबन्धमा परेका छैनन्।
निर्यात प्रतिबन्धबारे ईयूकी स्वास्थ्य आयुक्त स्टेला किरियाकिअसले प्रेस सम्मेलनमा ईयूका सबै नागरिकको खोपमा पहुँच निश्चित गर्ने बताइन्। उनले त्यसका लागि सबैले आ आफ्नो भूमिका निर्वाह गर्नुपर्ने बताइन्।
उनले भनिन्, "यो अवधारणा विश्वास, पारदर्शिता र जिम्मेवारीमा आधारित छ।"
"प्रतिबद्धता पूरा गरिनुपर्छ र सम्झौताहरू बाध्यकारी हुन्छन्। खोप किन्न गरिएका अग्रिम सम्झौताहरूको सम्मान गरिनुपर्छ।"
"ईयूबाट खोपहरू निर्यात भइरहेको छ कि छैन भन्ने थाहा पाउने प्रणाली आज हामीले विकास गरेका छौँ। ईयूसँग आफ्ना सदस्य राष्ट्रबाट हुने खोप निर्यातलाई अनुमति दिने अधिकार छ।"
ईयूमा खोपको राजनीति
युरोप संवाददाता ग्याभिन लीको विश्लेषण
यो साताको शुरूमा ईयूले प्रतिबन्धको प्रस्ताव आउन लागेको सङ्केत गरेको थियो। अधिकारीहरूले त्यसलाई "सूचना प्रणाली" भनेका थिए।
त्यो अहिले निर्यात नियन्त्रण नीतिमा परिणत भएको छ।
त्यो आंशिक रूपमा जर्मनीले ईयूका मुलुकमा बन्ने खोप अन्यत्र निर्यात गर्नेबारे ईयू सरकारले निर्णय गर्न पाउनुपर्ने भन्ने अडान राखेका कारण पनि यस्तो अवस्था आएको हो। त्यसैगरी बेल्जियममा रहेको कारखानामा कम उत्पादन भएकाले पनि माग बमोजिमको खोप उपलब्ध गराउन नसकेको भन्ने एस्ट्राजेनेकाका प्रमुखले 'अस्पष्ट तर्क' प्रस्तुत गरेकाले पनि यस्तो निर्णय गर्नुपरेको ईयूका अधिकारीहरूले मलाई बताएका छन्।
निर्यात नियन्त्रणको नयाँ प्रणालीले ब्रिटिश खोप वितरणलाई प्रभावित पार्न सक्छ। फाइजरले अहिले बेल्जियममा बनेको खोप यूकेका लागि पठाउने गरेको छ। भविष्यमा फाइजरले खोप यूके पठाउन फाराम भर्नुपर्ने र निर्यात अनुमति पाएको या नपाएको थाहा पाउन ४८ घण्टासम्म कुर्नुपर्ने हुनसक्छ। निर्यात गर्न दिने कि नदिने भन्ने निर्णय ईयूसँग गरिएको सम्झौतालाई असर पर्ने या नपर्ने भन्नेमा आधारित हुनेछ।
- के हो? वास्तवमा के हो कोरोनाभाइरस
- कसरी जोगिने? सङ्क्रमण हुनबाट कसरी जोगिने
- के हुन्छ? सङ्क्रमण भएपछि शरीरमा यस्तो हुन्छ
- भिडिओ: नधोइएका फोहोर हातमा कीटाणु कसरी फैलिन्छन्
- भिडिओ: फोन यसरी सफा गर्नुपर्छ
- के जान्नै पर्छ? कोरोनाभाइरसबारे तपाईँलाई थाहा हुनुपर्ने प्रमुख कुरा
मुख्य समाचार
अनि यो पनि
धेरै रुचाइएको
सामग्री उपलब्ध छैन