चीन कोइलाखानी दुर्घटनाः विषालु ग्यास चुहिँदा कम्तीमा १८ मजदुरको मृत्यु

तस्बिर स्रोत, Getty Images

तस्बिरको क्याप्शन, विषालु ग्यास चुहिएपछि खानीभित्र फसेका कामदारलाई उद्धार गर्न प्रयास गरिँदै

दक्षिणपश्चिम चीनस्थित एउटा कोइलाखानीमा विषालु ग्यास चुहिँदा १८ जनाको मृत्यु भएको विवरण सरकारी टेलिभिजनले दिएको छ।

शुक्रवार चुङ्चिङस्थित उक्त खानीमा कार्बन मनक्साइड चुहिएको थियो।

सीसीटीभीका अनुसार खानीमा काम गर्ने पाँच जना अझै हराइरहेका छन् भने एक जनालाई जीवितै उद्धार गरिएको छ।

उक्त घटनाको अधिकारीहरूले छानबिन सुरु गरिसकेका छन्।

सुरक्षासम्बन्धी नियम पालना नगरिने भएकाले चीनका खानीमा प्रायः दुर्घटनाहरू भइरहन्छन्।

सीसीटीभीका अनुसार डियाशुइडोङ खानीमा कामदारहरूले भूमिगत उपकरण फुकाल्न लाग्दै गर्दा ग्यास चुहिएको थियो।

उक्त खानी दुई महिनादेखि बन्द थियो।

तस्बिर स्रोत, Getty Images

तस्बिरको क्याप्शन, उद्धारका लागि तयार अवस्थामा स्वास्थ्यकर्मीहरूको टोली

गत सेप्टेम्बर महिनामा चुङ्चिङस्थित अर्को खानीमा आगो लाग्दा १६ जनाको मृत्यु भएको थियो।

गत वर्ष डिसेम्बरमा ग्वेजो प्रान्तस्थित अर्को कोइलाखानीमा विस्फोटनहुँदा १४ जनाको मृत्यु भएको थियो।

तस्बिर स्रोत, Getty Images

तस्बिरको क्याप्शन, चीनमा विश्वमा सबैभन्दा धेरै कोइला उत्पादन तथा खपत हुन्छ