केन्याको अवैध बजारमा बालबालिकाको व्यापार

तस्बिरको क्याप्शन, रेबेकाको छोरालाई राति थुतेर लगियो। उनी अझै पनि आफ्नो छोरो फर्काउने आशामा छिन्
    • Author, पिटर मुरिमी, जोएल गन्टर र टम वाट्सन
    • Role, अफ्रिका आई

रेबेकाको छोरो १० वर्षको भइसकेको छ। उनीसँग नरहेको उनको छोरा उनी बसोबास गर्ने नैरोबीमा नै पनि हुनसक्छ वा अन्यत्र कतै।

उनलाई थाहा छ कि छोरो मारिइसकेको पनि हुनसक्छ। रेबेकाले आफ्नो पहिलो सन्तान लरेन्स जोजायलाई अन्तिमपटक एक वर्षको हुँदा देखेको थिइन।

त्यसबेला उनी मात्र १६ वर्षकी थिइन्। यो मार्च २०११ को कुरा हो।

रेबेका १५ वर्षकी हुँदा उनकी आमाले विद्यालयको शुल्क तिर्न सकिनन्। उनले पढाइ छाड्नुपर्‍यो।

गरिबीले सडकमा पुगेकी उनले एउटा बूढो मानिस भेटिन्। त्यसले उनीसँग बिहे गर्ने वाचा गर्‍यो तर गर्भवती बनाएर छाडेर हिँड्यो।

अर्को वर्ष लरेन्स जोजाय जन्मियो। रेबेकाले उसलाई एक वर्षसम्म पालनपोषण गरिन्।

छोरो गुमाउँदा...

लरेन्स एक वर्ष र केही महिनाको मात्र भएको थियो। एकरात निद्राले उनका आँखा बन्द भए, लरेन्स त्यसै रात हरायो।

भावुक बन्दै उनी भन्छिन्, "मसँग अन्य सन्तान भए पनि उ मेरो पहिलो बच्चा थियो। उसैले मलाई आमा बनाएको हो। मैले कियाम्बु र क्ययोलेका सबै बालबालिका केन्द्रहरूमा खोजे तर मैले कहिल्यै उसलाई भेट्न सकिन।"

रेबेका अहिले पनि नैरोबीको सोही सडकमा बस्छिन्। उनका हाल आठ, छ र चार वर्षका तीन छोरीहरू छन्।

तस्बिरको क्याप्शन, रेबेका र उनकी कान्छी छोरी। उनी भन्छिन्: 'हामी सतर्क हुनुपर्छ नत्र धनी मानिसले हाम्रो सन्तार चोर्छन्'

उनकी सबैभन्दा सानी छोरीलाई पनि एकपटक त्यस क्षेत्रमा घुमिरहेको एउटा मानिसले समातिसकेको थियो।

करिब एक वर्षकी उनकी छोरीले पेय पदार्थ किनिदिन आग्रह गरेको उसले दाबी गरेको थियो।

उनले उक्त मानिसलाई पछ्याइन्। त्यो मानिस एउटा कारमा चढ्यो जहाँ एउटी महिला उसलाई पर्खिरहेकी थिइन्। अर्को दिन पनि त्यो व्यक्ति फेरि त्यस क्षेत्रमा आएको थियो।

समान कथा

रेबेका बसोबास गर्ने सडक वरपरका साथसाथै घरबारविहीन नैरोबीवासीमाझ यस्ता कथा थाहा पाउन तपाईँले धेरै मेहनत गर्नुपर्दैन।

एस्थरको तीन वर्षे छोरो अगस्ट २०१८ देखि बेपत्ता छ। उनी भन्छिन्, "मैले मेरो छोरा हराएदेखि शान्तिको सास फेर्न पाएकी छैन। मैले उसलाई मोम्बासासम्म खोजेँ।"

क्यारोलको दुई वर्षे छोरालाई आधा रातमा तानेर लगिएको पाँच वर्ष भयो। उनी भन्छिन्, "म उसलाई धेरै माया गर्छु। यदि उनीहरूले मेरो छोरा मात्र फिर्ता गरिदिए उनीहरूलाई म माफ गर्थेँ।"

नैरोबीमा फस्टाउँदो अवैध बजारमा बालबालिका उपलब्ध गराउन कमजोर आमाहरूलाई सिकार बनाइँदैछ।

तस्बिरको क्याप्शन, इम्माले सडकबाट बालबालिका चोर्ने महिलाहरू पत्ता लगाउन सहयोग गरिन्

करिब एक वर्ष लामो अनुसन्धानबाट अफ्रिका आईले त्यस्तो बजारमा घरबारविहीन आमाहरूबाट बालबालिका खोसेर उच्च नाफाका साथ महँगोमा बिक्री गर्ने गरेको प्रमाणहरू पत्ता लगाएको छ।

हामीले सडकहरूमा रहेका क्लिनिकहरूमा बालबालिकाको अवैध तस्करी हुने गरेको र बिक्रीका लागि सरकारी अस्पतालबाट बच्चाहरू चोरिने गरेको पत्ता लगाएका छौँ।

हामीले बालक किन्यौँ

हामीले सरकारी अधिकारीको संलग्नतालाई प्रमाणित गर्न अस्पताल अधिकारीसँग एक बेवारिसे बालकलाई किन्यौँ।

उनले हामीलाई बेच्नुअघि उक्त दुई साताको शिशुलाई वैधानिक कागजात बनाएर आफ्नो नियन्त्रणमा ल्याएका थिए।

बच्चा चोरहरूमा अवसरवादीदेखि सङ्गठिन अपराधीहरू समेत रहेका छन्। यी दुवैले साथसाथै काम गर्ने गर्छन्।

कमजोर अवसरवादीहरूमा अनिताजस्ता महिलाहरू पर्छन्। दुर्व्यसनी अनिता आफैँ सडकमा बस्छिन् र पैसाका लागि रेबेकाजस्ता महिलाका बच्चालाई चोरेर बेच्ने काम गर्छन्।

तस्बिरको क्याप्शन, म्यारी अवुमाले बच्चाको बिक्रीका लागि मोलमोलाइ गरिन्

उनीहरूको तारोमा तीन वर्ष मुनिका शिशु भएका आमाहरू पर्छन्।

अफ्रिका आईले अनिताकी एकजना नाम खुलाउन नचाहने साथीमार्फत् उनको बारेमा पत्ता लगाएको हो।

ती साथीका अनुसार अनिताले फरक-फरक विधि अपनाएर बच्चा चोर्ने गर्छिन्।

हामीले सम्भावित खरिदकर्ताको भेष बनाएर अनितासँग नैरोबीको एउटा पबमा भेटघाट गर्‍यौँ।

उनले आफूलाई आफ्नो 'बोस'ले धेरै बच्चाहरू चोर्न दबाव दिइरहेको र हालै उनले गरेको चोरीबारे हामीलाई बताइन्।

तस्बिर स्रोत, Getty

संलग्नहरू

अनिताका अनुसार एकजना स्थानीय व्यापारी उनको बोस हुन्। उनका अनुसार ती व्यापारीले अनिताजस्तै चोरहरूबाट बच्चा किनेर ठूलो नाफासहित बच्चा बिक्री गर्ने गर्छन्।

अनिताले भनिन्, "खरिदकर्तामा केही महिला हुन्छन् जसले बच्चा जन्माउन सक्दैनन्। उनीहरू पाल्नका लागि बच्चा खोज्छन्। कतिले चाहिँ बली दिनका लागि पनि बच्चालाई प्रयोग गर्छन्।"

अनिताकी साथीले हामीलाई पहिले नै भनेको कुराले एउटा कालो सच्चाइको सङ्केत गर्‍यो। अनितका अनुसार केहीले परम्परागत अनुष्ठानका लागि पनि बच्चा किन्ने गर्छन्।

वास्तवमा अनिताले एकपटक बिक्री गरिसकेपछि ती बच्चाको भविष्यबारे थोरै मात्र जानकारी पाउँछिन्।

उनी आफ्नो बोसलाई ५०,००० सिलिङमा (३५० पाउन्ड) बालिका र ८०,००० सिलिङमा (५५० पाउन्ड) बालक बिक्री गर्छिन्।

यो नैरोबीको अवैध बजारमा चोरीलगत्तै पहिलो क्रेताका लागि बिक्री गरिने औसत मूल्य हो।

तस्बिरको क्याप्शन, अनिताले चोरेको बालिकाको मोल ८०,००० केन्याली सिलिङ राखिन्

यो भेटलगत्तै अनिताले हामीलाई भेट्ने प्रस्ताव राखिन्। उनले पाँच महिनाकी बालिका साथमा लिएर आएकी थिइन्।

आमाको मन जितेर ती बालिकालाई चोरेको बताएकी उनले ५०,००० सिलिङमा बालिका किन्ने खरिदकर्ताहरू रहेको बताइन्।

उनीसम्म हामीलाई पुर्‍याउने साथीले ८०,००० सिलिङ दिने ग्राहक रहेको बताएर भोलिपल्ट साँझ समय मिलाएको थियो।

हामीले प्रहरीलाई खबर गरेर अनितालाई पक्राउ गरी बालिकालाई बचाउने प्रयास गर्‍यौँ तर अनिता देखा परिनन्।

ती बालिका बिक्री भइन्। केही दिनपछि मात्र उनकी साथीले अनिताको खबर पाइन्।

उनका अनुसार अनिताले महँगो मूल्यमा ती बालिकाको बिक्री गरिन् र नैरोबीको एउटा सुकुम्बासी बस्तीमा टिनको छानो भएको दुईकोठे घर बनाउन उक्त रकम खर्चिने बताइन्।

तस्बिर स्रोत, TONY KARUMBA

तस्बिरको क्याप्शन, नैरोबीका गरीब बस्तीहरूमा अवैध क्लिनिकहरू रहेका छन्

न तथ्याङ्क न विवरण

केन्यामा बाल तस्करीको यकिन तथ्याङ्क पाइँदैन। न सरकारी प्रतिवेदन छन् न त राष्ट्रिय सर्वेक्षण नै छ।

हराएका बालबालिका खोज्ने निकायहरू पनि स्रोतसाधन र जनशक्ति अभावमा रहेका छन्।

मिसिङ चाइल्ड केन्या नामक गैर सरकारी संस्थाले भने चार वर्षदेखि हराएका बालबालिकाबारे काम गरिरहेको छ।

उक्त संस्थाका अनुसार बालबालिका तस्करी केन्यामा कम चर्चा भएको तर ठूलो समस्या हो।

कति घटनाहरू रिपोर्ट नै नहुने गरेको उक्त संस्थाकी सञ्चालिका बताउँछिन्।

तस्बिरको क्याप्शन, फ्रेड लेपारनले मामा लुसी अस्पतालबाट बच्चा चोर्न तीन लाख केन्याली सिलिङ पैसा लिए

अफ्रिकी विवाहमा महिलामा बाँझोपन देखियो भने त्यसलाई निकै नराम्रोसँग हेरिने भएकाले पनि यो अवैध बजार फस्टाएको उनको तर्क छ।

अफ्रिका आईको अनुसन्धानले बालबालिका तस्करीको अपराधमा कतिपय ठूला सरकारी अस्पतालहरूको संलग्नता पनि रहेको देखाएको छ।

तर हामीले अनुसन्धानमा खरिदकर्ता बनेर भेटेका अधिकारीहरूले पछि बीबीसीले प्रतिक्रिया लिँन खोज्दा उनीहरूले प्रतिक्रिया दिएनन्।

सडकका क्लिनिकले पनि त्यसबारे जवाफ फर्काएको छैन। अनितालाई उनको धारणा राख्न खोजी गर्दा उनी पनि उपलब्ध भइनन्।

नैरोबीमा चलेको अवैध बालबालिका तस्करीले आफ्ना बालबालिका चोरिएका आमाहरू भने उनीहरूको बेपत्ता अवस्थाबारे दोधारमा बाँचिरहेका छन्।