अमेरिका निर्वाचन मतगणना परिणामः जोर्जिआ पनि जो बाइडनको पोल्टामा, के ट्रम्पले नयाँ सरकारको सङ्केत दिएका हुन्?

तस्बिर स्रोत, Getty Images

अमेरिकामा राष्ट्रपति-निर्वाचित जो बाइडनले जोर्जिआ राज्य पनि जितेको बीबीसीले प्रक्षेपण गरेको छ।

सन् १९९२ पछि उक्त राज्यमा जित्ने उनी पहिलो डेमोक्र्याटिक उम्मेदवार हुन्।

जोर्जिआमा हातैले गनेर फेरि मतगणना गरिएको थियो। यो मतपरिणामले बाइडनको विजय फराकिलो भएको छ।

इलेक्टरल कलेज भनिने अमेरिकी निर्वाचन प्रणालीमा अब उनको पक्षमा ३०६ मत पुगेको छ।

ट्रम्पको अवस्था के छ?

पदासीन राष्ट्रपति डोनल्ड ट्रम्पले नोर्थ क्यारलाइनामा जित्ने प्रक्षेपण गरिएको छ।

त्यसो हुँदा उनको २३२ मत पुग्नेछ।

आफ्नो पराजय स्वीकार गर्न नमानेका ट्रम्पले पहिलो पटक ज्यानुअरीमा नयाँ सरकार आउन सक्ने सङ्केत दिएका छन्।

कोरोनाभाइरस कार्यदलले ह्वाइट हाउस परिसरमा गरेको एउटा प्रेस ब्रीफिङमा बोल्दै उनले भने, "यो प्रशासन लकडाउनमा जानेछैन।"

"आशा गरौँ....भविष्यमा जे हुन्छ। कसलाई के थाहा कुन सरकार हुन्छ। समयले नै बताउला," उनले भने।

तर उनले बाइडनको नाम लिएनन्। उनले संवाददाताहरूबाट प्रश्न पनि लिएनन्।

कुनै प्रमाण नदेखाई उनले निर्वाचनमा धाँधली भएको आरोप लगाउने गरेका छन्।

ट्रम्पलाई आफ्नो पराजय स्वीकार्न र सत्ता हस्तान्तरण गर्न तयार हुन दबाव बढिरहेको छ।

कस्तो सफलता?

बाइडनले प्राप्त गरेको इलेक्टरल मत सन् २०१६ मा ट्रम्पले हिलरी क्लिन्टनलाई पराजित गर्दा हात पारेको मत बराबर भएको छ।

त्यतिबेला ट्रम्पको विजयलाई 'ल्यान्डस्लाइड' अर्थात् ठूलो जित भनिएको थियो।

तस्बिर स्रोत, Getty Images

तस्बिरको क्याप्शन, यो मतपरिणामले बाइडनको विजय फराकिलो भएको छ

झिनो मतान्तर भएकाले जोर्जिआमा हातबाटै गरिएको पुनर्गणना चलिरहनेछ।

तर बाइडनको टोलीले परिणाम नफेरिने दाबी गरेको छ।

ट्रम्पले विभिन्न राज्यमा निर्वाचन प्रक्रियाविरुद्ध मुद्दा हालेका छन्।

तर एरिजोनामा बाइडनको अग्रता विशाल भएकाले ट्रम्प पक्षले एउटा मुद्दा फिर्ता लिएको छ।

बाइडन पक्षको माग के छ?

जो बाइडनको विजय आधिकारिक रूपमा घोषणा हुन बाँकी नै छ।

तर सत्ता हस्तान्तरणको सङ्क्रमणकालका लागि गठित उनको टोलीलाई कुनै आर्थिक सहयोग र सरकारी निकायमा पहुँच दिइएको छैन।

भिडिओ क्याप्शन सुरु हुँदैछ, अमेरिकीमा प्रथम महिला हुन लागेकी जिल बाइडन को हुन्?

ट्रम्प प्रशासनले सुरक्षा निकायका वर्गीकृत ब्रीफिङमा उक्त टोलीलाई सहभागी हुन नदिइँदा नयाँ प्रशासनलाई राजकाजमा समस्या पर्न सक्ने जो बाडइनकी प्रवक्ता जे पास्कीले बताइन्।

कोरोनाभाइरस महामारीको प्रभावलाई देखाउँदै उनले भनिन्- "वर्तमान सङ्कटको सामना गर्न ताजा सूचना आवश्यक पर्छ।"

"हाम्रो टोली र हाम्रा विज्ञहरूले त्यस्तो पहुँच पाउनु आवश्यक छ।"

राष्ट्रिय सुरक्षाबारे किन चासो?

यसअघि डेढ सय जनाभन्दा बढी भूतपूर्व राष्ट्रिय सुरक्षा अधिकारीहरूले सङ्क्रमणकाल अस्वीकार गर्दा "राष्ट्रिय सुरक्षामा गम्भीर खतरा" पर्ने चेतावनी दिएका थिए।

तस्बिर स्रोत, Getty Images

तस्बिरको क्याप्शन, सन् १९९२ पछि जोर्जिआ राज्यमा जित्ने बाइडन पहिलो डेमोक्र्याटिक उम्मेदवार हुन्

सत्ता हस्तान्तरण प्रक्रियामा मुख्य भूमिका भएको निकायलाई एउटा पत्र पठाउँदै उनीहरूको समूहले जो बाइडन र कमला ह्यारिस आधिकारिक रूपमा स्वीकार्न र उनीहरूलाई राष्ट्रिय सुरक्षाका गम्भीर विषयबारे जानकारी पाउने अवस्था सिर्जना गर्न आग्रह गरेको थियो।

रिपब्लिकन पार्टीका केही नेताहरूले पनि राष्ट्रपति-निर्वाचित बाइडनलाइ दैनिक रूपमा गुप्तचरी सूचना दिनुपर्ने मागलाई समर्थन गरेका छन्।

के ट्रम्पले अडान फेरेका हुन्?

ट्रम्पले मतपरिणामप्रति प्रश्न उठाउन छोडेका छैनन्।

शुक्रवार उनले ट्विटरमा त्यसबारे फेरि लेखे। तर धाँधली भएको आरोप पुष्टि गर्न उनले पुनः कुनै प्रमाण प्रस्तुत गरेनन्।

उनले शनिवार आफ्ना समर्थकहरूले आयोजना गर्न लागेको एउटा र्‍यालीमा आफू सहभागी हुनसक्ने सङ्केत दिएका छन्।

तस्बिर स्रोत, EPA

तस्बिरको क्याप्शन, ट्रम्पले मतपरिणामप्रति प्रश्न उठाउन छोडेका छैनन्

निर्वाचन अधिकारीहरूले अमेरिकाको निर्वाचन "अमेरिकी इतिहासमै सबैभन्दा सुरक्षित" भएको बताएपछि ट्रम्पको सामाजिक सञ्जालबाट उनको टिप्पणी सार्वजनिक भएको हो।

मतदान सफ्टवेअरले २८ वटा राज्यमा आफूलाई परेको लाखौँ मत मेटिदिएको दाबी ट्रम्पले गरेपछि त्यसको खण्डन गर्न निर्वाचन परिषद् बोलेको हो।

ह्वाइट हाउसकी एक प्रवक्ताले ट्रम्प दोस्रो कार्यकालका लागि पनि राष्ट्रपति हुने विश्वासमा भएको फक्स न्यूजलाई बताएकी छन्।