पेले: १० नम्बर जर्सी लगाउने ब्रजिलका यी विश्वप्रसिद्ध फुटबल खेलाडीबारे कम सुनिएका १० तथ्य

तस्बिर स्रोत, Getty Images

    • Author, फर्नान्डो डुआर्टे
    • Role, बीबीसी विश्व सेवा

फुटबलका सम्राट उपनामले पनि परिचित महान् फुटबल खेलाडी पेलेको ८२ वर्षको उमेरमा निधन भएको छ।

गत अक्टोबर २३ मा उनले आफ्नो जन्मदिन मनाएका थिए।

उनलाई ठूलो आन्द्राको क्यान्सर भएको थियो। उनी मिर्गौला र प्रोस्टेटको समस्याबाट पनि पीडित थिए।

पेलेले सन् १९७७ मै खेल जीवनबाट सन्न्यास लिएका थिए। तर पनि अझै उनी विश्वका सर्वाधिक परिचित व्यक्तिमध्ये पर्छन्।

पेले तीनवटा विश्वकप जितेका कारण सबैभन्दा राम्ररी चिनिन्छन्। त्यस्तो अवसर पाउने उनीबाहेक अर्को खेलाडी छैन पनि।

क्लब र देशका लागि खेलेका १,३६३ वटा खेलमा १,२८१ गोल गर्ने उनको अर्को विश्व कीर्तिमान छ।

पेलेबारे तपाईँले थाहा नपाएको हुनसक्ने १० कथा

रेफ्रीले मैदान छाड्नुपरेको थियो

तस्बिर स्रोत, Courtesy of Santos FC

बोगोटामा जुन १८, १९६८ मा पेलेको क्लब सान्तोस एफसीले कोलम्बियन ओलम्पिक स्वाडसँग एउटा मैत्रीपूर्ण खेल खेलिरहेको थियो।

दर्शकहरूले भरिभराउ रङ्गशालामा रेफ्रीले फाउल र आफ्नो अपमान गरेको भन्दै पेलेलाई मैदान छाड्न भने। रेड कार्डको चलन सन् १९७० बाट मात्र सुरु भएको थियो।

रेफ्रीको उक्त निर्णयको विरोधमा सान्तोसका खेलाडीहरूले उनलाई घेरे। दर्शकहरूको भिडले पनि उक्त निर्णयको विरोध गर्‍यो।

सन् २०१० को एउटा अन्तर्वार्तामा ती रेफ्रीले त्यसपछि आफूलाई खेल छाड्न लगाई एक लाइन्सम्यानलाई सिट्ठी दिन भनिएको बताए।

पेलेलाई तत्कालै खेलमा भित्र्याइयो।

के पेलेले साँच्चै युद्ध रोकेका थिए?

तस्बिर स्रोत, Getty Images

तस्बिरको क्याप्शन, युद्ध भइरहेको नाइजिरियामा ४ फेब्रुअरी १९६९ मा हुँदा सान्तोसले स्थानीय टोलीलाई बेनिन सहरमा २-१ ले जितेको थियो

सन् १९६० को दशकमा पेलेको क्लब सान्तोस एफसी विश्वको निकै प्रसिद्ध फुटबल क्लबमध्ये गनिन्थ्यो।

संसारभरि उसले मैत्रीपूर्ण खेलहरू खेल्ने अवसर पाएको थियो।

तिनैमध्येको एउटा खेल युद्ध भइरहेको नाइजिरियामा फेब्रुअरी ४, १९६९ मा हुँदा सान्तोसले स्थानीय टोलीलाई बेनिन सहरमा २-१ ले जितेको थियो।

सान्तोस क्लबको इतिहासको विवरण राख्ने एक व्यक्तिका भनाइमा ब्रजिलको टोलीको सुरक्षा सुनिश्चित गर्न त्यहाँको गृहयुद्धमा पक्षबीच युद्धविराम घोषणा गरिएको थियो।

पेलेले यस कुरालाई आफ्नो दोस्रो आत्मवृत्तान्तमा उल्लेख गरेका छन्।

"त्यो कुरा पूरै साँचो हो होइन मलाई थाहा छैन तर नाइजिरियालीहरूले हामी त्यहाँ हुँदा कुनै धावा नबोल्ने सुनिश्चितता गरेका थिए। "

पेले र बीटल्सको कथा

तस्बिर स्रोत, Getty Images

तस्बिरको क्याप्शन, पेले अङ्ग्रेजीको कक्षा लिन गएको एउटा भाषासम्बन्धी स्कूलमा द बीटल ब्यान्डका जोन लेननले जापानी भाषा सिकिरहेका थिए

सन् १९७५ मा पेले न्यूयोर्क कस्मसका तर्फबाट अमेरिकाको पहिलो व्यावसायिक फुटबल लीग खेल्न न्यूयोर्क पुगे।

उनी अङ्ग्रेजीको कक्षा लिन गएको एउटा भाषा पाठशालामा द बीटल ब्यान्डका जोन लेननले जापानी भाषा सिकिरहेका थिए।

उनको भनाइअनुसार लेनन र बीटल्सका अन्य सदस्य सन् १९६६ मा इङ्ल्यान्डमा खेलिएको विश्वकपका बेला ब्रजिली टोलीलाई होटलमा भेट्न आउन खोजेका थिए।

पेलेले आफ्नो पुस्तकमा लेखेअनुसार जसलाई पुरातनवादी ब्रजिली फुटबल सङ्घका निर्देशकहरूले रोकेका थिए।

कहिल्यै युरोपेली क्लबबाट खेलेनन्

तस्बिर स्रोत, Getty Images

तस्बिरको क्याप्शन, सान्तोस एफसी क्लबले रेआल मड्रिड र एसी मिलानजस्ता क्लबका प्रस्ताव लत्याइदिन्थ्यो

उनका आलोचकहरू पेलेले कहिल्यै युरोपेली फुटबल नखेलेर आफ्नो जीवन सहज बनाएको ठान्छन्।

अन्य ब्रजिली खेलाडीलाई झैँ पेलेलाई आफ्नो महत्त्वपूर्ण समयमा विदेशमा गएर खेल्न रोकिएको थियो।

सान्तोस एफसी क्लबले रेआल मड्रिड र एसी मिलानजस्ता क्लबका प्रस्ताव लत्याइदिन्थ्यो।

त्यतिखेर आफू खेल्ने ठाउँमा खेलाडीको खासै चल्दैनथ्यो र पेलेलाई ब्रजिलमै राख्न त्यहाँको सरकारको उच्च तहबाट दबाव पनि थियो।

सन् १९६१ मा त्यहाँका राष्ट्रपतिले पेलेलाई 'राष्ट्रिय सम्पत्ति' भन्दै 'निर्यात गर्न नसकिने' बताएका थिए।

५० वर्षको उमेरमा बल्ल कप्तान

तस्बिर स्रोत, Getty Images

सधै क्लब र देशको लागि क्याप्टेन बन्न अस्वीकार गर्ने पेलेले आफ्नो खेलजीवनमा केवल एक पटक त्यो भूमिका निर्वाह गरेका छन्।

त्यतिबेला उनी ५० वर्षका थिए।

त्यो सन् १९९० मा आफ्नो राष्ट्रिय टोलीको जिम्मेवारीबाट सन्न्यास लिएको १९ वर्षपछि थियो।

आफ्नो ५०औँ जन्मदिनका अवसरमा मिलानमा ब्रजिलविरुद्ध बाँकी विश्वले खेलेको मैत्रीपूर्ण उक्त खेलमा पेलेले ४५ मिनेट खेलेका थिए।

पेलेको 'अपहरण'

तस्बिर स्रोत, Getty Images

तस्बिरको क्याप्शन, पेलेको ४३ मिनेटको गोलपछि दर्शकहरू अनियन्त्रित भएका थिए

सान्तोस एफसीका खेलाडीहरू ट्रिनिडाड एन्ड टोबागोमा सन् १९७२ को सेप्टेम्बर ५ मा खेल्दा त्यति सन्तुष्ट थिएनन्।

त्यहाँ आन्दोलन भएको र सडकमा ट्याङ्क देखिएको कुरा खेलाडीहरूले सञ्चारमाध्यमहरूलाई पछि बताएका थिए।

उनीहरू सक्दो छिटो खेल खेलेर विमानमा फर्किन सहमत भएका थिए।

तर पेलेको ४३ मिनेटको गोलपछि दर्शकहरू अनियन्त्रित भए। मैदामै गएर काँधमा पेलेलाई बोकेर सडकमा विजय जुलुस निकाले।

उनलाई उद्धार गर्न असहज रूपमा केही मिनेट समय लाग्यो।

सल्भेस्टर स्टिलोनको ख्याति खोसिदिए

तस्बिर स्रोत, Getty Images

तस्बिरको क्याप्शन, 'इस्केप टू भिक्ट्री'ले दोस्रो विश्वयुद्ध ताकाको नाजी-११ र बन्दीहरूको टोलीबीचको खेलको एउटा काल्पनिक कथा देखाउँछ

जब फिल्म इस्केप टू भिक्ट्रीको छायाङ्कन सन् १९८० मा सुरु भयो सल्भेस्टर स्टलोन फिल्म उद्योगका चर्चित भइसकेका थिए।

इस्केप टू भिक्ट्रीले दोस्रो विश्वयुद्ध ताकाको नाजी-११ र बन्दीहरूको टोलिबीचको खेलको एउटा काल्पनिक कथा देखाउँछ।

पेले त्यसमा अन्य विश्वकप जितेका खेलाडीहरूसहित थिए।

एउटा दृश्यमा पेलेले आग्रह गरेको पहिलो पटकमै एक्रोबेटिक बाइसाइकल किक निसाना नचुक्नेगरी हानेका थिए।

"सुरुको पटकथामा स्टलोन अग्रपङ्क्तिमा र म गोलरक्षको भूमिकामा थियौँ," पेलेले भने।

"तर उनले जीवनभरि एउटा बल राम्ररी किक हान्न सकेनन्।"

पेले राम्रै गोलरक्षक

तस्बिर स्रोत, Getty Images

तस्बिरको क्याप्शन, इस्केप टू भिक्ट्रीमा पेलेले गोलकीपरको अभिनय गरेका थिए

इस्केप टू भिक्ट्रीमा गोलकीपरको अभिनय गरेका पेले वास्तवमै राम्रा गोलरक्षक थिए।

एउटा खेलामा एक खेलाडी मात्र फेर्ने पाउने अवस्थामा उनले क्लब र राष्ट्रिय टोलीका लागि गोलरक्षको उत्तरदायित्त्व पनि वहन गरेका छन्।

सान्तोस फुटबलक क्लबका लागि उनी चार चोटि गोलरक्षक बने। त्यसमध्ये सन् १९६४ मा आयोजित ब्रजिलियन क्लबको सेमिफाइनल खेल पनि थियो।

उक्त खेलमा उनको टोली विजयी भयो। पेलेले कुनै गोल खाएनन्।

एउटा मात्र पेले छैनन्

तस्बिर स्रोत, Getty Images

उनका प्रसंशकहरू 'देअर इज वन्ली वन पेले!' गीत गाउँदा निकै रमाउँछन्।

तर गीतमा भनिए झैँ वास्विकतामा एक जना मात्र पेले छन् भन्ने होइन।

अफ्रिकाका एक निकै चर्चित फुटबल खेलाडी अवेदी अयु अवेदीले पेलेको रूपमा घाना र कैयौँ युरोपेली क्लबमा खेले।

इङ्ग्ल्यान्डमा केप भर्डीका डिफेन्डर पेड्रो मोन्टिरो, जो सन् २००६ मा साउथम्टन गए, उनी समेत बाल्यकालको बोलाउने नाम पेलेकै रूपमा चर्चित भए।

राष्ट्रपति बन्न चाहन्थे

तस्बिर स्रोत, Getty Images

तस्बिरको क्याप्शन, पेले सन् १९९५ देखि सन् १९९८ सम्म ब्रजिलका खेलकुदमन्त्री थिए

सन् १९९० मा पेलेले अन्तर्राष्ट्रिय सञ्चारमाध्यमलाई देशको सन् १९९४ को चुनावमा राष्ट्रपतिमा लड्ने कुरा आफूले रुचाइरहेको बताएका थिए।

त्यो अवसर कहिल्यै आएन।

तर उनी राजनीतिमा प्रवेश गरेर सन् १९९५ देखि सन् १९९८ सम्म ब्रजिलको खेलकुदमन्त्री बने।

यो पनि हेर्नुहोस्

भिडिओ क्याप्शन सुरु हुँदैछ, पेलेः सम्झनामा 'फुटबलका सम्राट'