कोरोना भाइरस: 'म सुँघ्न सक्दिन तर मलाई कोभिड-१९ छैन'

तस्बिर स्रोत, Yazmin Salazar

तस्बिरको क्याप्शन, यज्मिन सालाजारका लागि प्राय: उनका पतिले गन्धबारे बताउने गर्छन्

कुनै कुरा सुँघ्न नसक्ने मान्छेलाई पानी पर्दाको वासना कस्तो छ भनेर कसरी बताउनु हुन्छ? अथवा भित्तामा रङ्ग लगाउँदा निस्केको गन्ध वा फुलको सुवास?

यज्मिन सालाजारका लागि प्राय: उनका पतिले यस्ता गन्धबारे बताउने गर्छन्।

"उनी मेरो नाक हुन्," उनी भन्छिन्, "उनले मलाई भन्छन् कि पौडिएर बाहिर आउँदा सूर्यको प्रकाश छालामा पर्दा जस्तो महसुस जस्तै कुनै बास्ना हुन्छ।"

अमेरिकाको एरिजोनास्थित फोनिक्स सहरमा बस्ने यी ३८ वर्षीया व्यक्तिमा सुँघ्ने शक्ति छैन।

उनको अवस्थालाई 'एनोस्मिया' भनिन्छ। विश्वभरि कोभिड-१९ लागेका सयौँ हजार मानिसहरूले एउटा लक्षणका रूपमा सुँघ्न नसक्ने महसुस गरिरहेका कारण यो चर्चामा छ।

तर यज्मिनका लागि यो जन्मजात कुरा हो।

तस्बिर स्रोत, Yazmin Salazar

तस्बिरको क्याप्शन, यज्मिनलाई कक्षा दुईमा पुगेपछि उनको यो अवस्थाबारे थाहा भएको थियो

कति मानिसहरू यसबाट पीडित छन्?

'एनोस्मिया'ले तपाईँको जीवनको गुणस्तरलाई प्रभावित पार्नसक्छ।

"जसले सुँघ्ने शक्ति गुमाउँछन् उनीहरू डिप्रेसनको सिकार हुने खतरा बढी हुन्छ," यूकेस्थित एब्सेन्टकी कार्यकारी निर्देशक सारा ओक्लेले भनिन्। उक्त संस्थाले 'एनोस्मिया'बारे जनचेतना जगाउने काम गर्छ।

हालसम्म सम्भवत: विश्व जनसङ्ख्याको करिब पाँच प्रतिशतमा सुँघ्ने समस्या रहेको ठानिन्छ।

"एनोस्मियाको आम कारणहरूमा रुघाखोकी र पिनासजस्ता सङ्क्रमणहरू रहेका छन्," सारा भन्छिन्।

"अन्य कारणहरूमा टाउकोमा आघात, टाउको र घाँटीको क्यान्सरको रेडिएसन उपचार, औषधिको दुरुपयोग, धूमपान, पार्किन्सन र अल्जाइमर्सजस्ता रोगहरू रहेका छन्।"

यो उमेर बढेसँगै विकास हुने अवस्था पनि हो।

"सम्भवत: तपाईँको उमेरसँगै सुँघ्ने शक्तिमा ह्रास पनि आउँछ भन्ने कुरा कम थाहा पाइएको विषय हो," उनी भन्छिन्।

"७५ वर्षमाथिका करिब ३० प्रतिशत मानिसहरू एनोस्मियाग्रस्त हुन्छन् भन्ने विश्वास गरिन्छ।"

तस्बिर स्रोत, Yazmin Salazar

तस्बिरको क्याप्शन, यज्मिनलाई कक्षा दुईमा पुगेपछि उनको यो अवस्थाबारे थाहा भएको थियो

'मलाई सुँघ्न सिक्छु जस्तो लाग्थ्यो'

यज्मिनलाई कक्षा दुईमा पुगेपछि यो अवस्थाबारे थाहा भएको थियो।

त्यसबेला कक्षाकोठामा भएको एउटा खेल उनले जितेकी थिइन् र त्यसक्रममा बास्नादार स्टिकरहरू पुरस्कार पाएकी थिइन्।

कोट्याउँदा धेरैखाले वासनाहरू आउने ती स्टिकरहरू बालबालिकामाझ निकै लोकप्रिय थिए।

उनले ती स्टिकरहरू नाकको नजिकै लगिन्। त्यसबेला उनका साथीहरू उत्साहित भएर उनलाई हेरिरहेका थिए।

"कुन बास्ना आयो?" एकजनाले सोधे।

तर उनले कुनै पनि बास्ना थाहा पाइनन्। त्यसपछि उनका कक्षाका साथीहरूले खासै चासो देखाएनन्।

त्यसबेला उनलाई के लाग्यो भने सुँघ्नु भनेको सिक्ने कुरा हो र उनले सिक्नै बाँकी छ।

"त्यसपछि मैले मेरा कक्षाका साथीहरू र मेरा परिवारका सदस्यहरूको नक्कल गरेर होमा हो मिलाउन थाले," उनी भन्छिन्।

"यदि केही गन्ध आइरहेको छ र त्यसबारे कसैले गुनासो गर्दैछ वा केही सुवास आएको छ र त्यसबारे राम्रो भनिएको छ भने म पनि हो भन्दिन्थेँ।"

त्यो कार्यलाई उनले कक्षा सातसम्म निरन्तरता दिइन् र एकदिन उनले आफूले सुँघ्न नसक्ने कुरा आमालाई बताइन्।

उनी भन्छिन्, "आमा छक्क परिन् र तत्कालै मलाई चिकित्सकहाँ लिएर गइन्। चिकित्सकले जस्तो जीवनशैली छ त्यसैलाई निरन्तरता दिन सुझाव दिए तर केही सावधानी अपनाउन पनि भने।"

तस्बिर स्रोत, Rakesh Kamal

तस्बिरको क्याप्शन, राकेश कमल दक्षिणी भारतको हैदराबाद सहरमा बस्छन्। उनमा पनि जन्मजात रूपमा हुने एनोस्मिया छ

"हाम्रो त्यो वार्तालापमा एनोस्मिया भन्ने शब्द सुनिएन।"

उनले वर्षौँसम्म चार इन्द्रियका भरमा जीवनलाई आत्मसात गरिन्।

उनी आफूले सुगन्ध प्रयोग गर्नुपर्छ वा बाँकी रहेको खाना कस्तो अवस्थामा छ भन्ने थाहा पाउन आफ्ना नजिकका मानिसको भर पर्न थालिन्।

'मैले वर्षौँसम्म ढाँटेँ'

राकेश कमल दक्षिणी भारतको हैदराबाद सहरमा बस्छन्। उनमा पनि जन्मजात रूपमा हुने एनोस्मिया छ। उनले कहिल्यै पनि सुँघ्न सकेनन्।

उनलाई लाग्छ यस्तो अवस्था आउनुमा वंशाणुगत कारण पनि हुनसक्छ।

तस्बिर स्रोत, Mel Yu Vanti

तस्बिरको क्याप्शन, कतिपयका लागि चाहिँ सुँघ्ने शक्तिमा ह्रास आउनु एउटा क्रमिक प्रक्रिया हो, टोरन्टो निवासी जोश्ना महाराजलाई त्यस्तै भएको छ

उनका हकमा त्यो देखिएको बताउँदै उनी भन्छन्, "मेरा हजुरबाले पनि त्यस्तै अनुभव गर्थे तर उनले कहिल्यै पनि त्यसबारे कसैलाई बताएनन्।"

राकेशले आफ्नो घरमा ग्यास र आगलागी थाहा पाउने मेसिन जडान गरेका छन् र खाना पकाएका बेला उनी त्यसलाई छाडेर कतै जाँदैनन्।

उनले भने, "हामीले एउटा झण्डै ठूलो खतरामा पर्ने खालको घटना भोगेका छौँ। त्यसबेला मेरो श्रीमती सुतिरहेकी थिइन्। मैले भान्साबाट आएको जलिरहेको गन्ध थाहा पाइनँ।"

"जब धुँवा फैलियो तब मात्र मैले थाहा पाएँ।"

यज्मिनजस्तै उनले पनि वर्षौँसम्म आफ्नो सुँघ्न नसक्ने कुरालाई लुकाएर राखेका थिए।

"यसबारे मैले कुरा गरेको पहिलो व्यक्ति भनेको मेरी पत्नी हुन्। त्यसबेला म २१ वर्षको थिएँ," उनले भने।

"त्यसअघिका वर्षहरूमा मैले मेरा अभिभावक, साथीहरू र म आफैँलाई पनि ढाँटेँ किनकि मलाई लाग्थ्यो अरूले विश्वास गर्ने छैनन्।"

तर जब पछिल्लो महामारीपछि एनोस्मियाबारे चर्चा हुन थाल्यो राकेशले यसबारे जनचेनता जगाउन सार्वजनिक रूपमा यसबारे कुरा गर्न थालेका हुन्।

अत्यासलाग्दो

कतिपयका लागि चाहिँ सुँघ्ने शक्तिमा ह्रास आउनु एउटा क्रमिक प्रक्रिया हो। टोरन्टो निवासी जोश्ना महाराजलाई त्यस्तै भएको छ।

उनका हकमा कडाखाले पिनासले त्यस्तो अवस्था निम्त्यायो।

त्यसले गर्दा क्यान्सर ननिम्त्याउने गरी नाकभित्र मासु पलायो जसले गर्दा उनको घ्राणशक्तिमा ह्रास आयो।

सुरुमा उनले भान्सामा खानेकुराहरू डढाउथिन्। लगत्तै उनले सेकुवा रेस्टुरेन्टहरूमा जाँदा समेत मासुको गन्ध थाहा पाइनन्।

"यो मलाई निकै अत्यासपूर्ण लाग्यो," उनी भन्छिन्।

तस्बिर स्रोत, Yazmin Salazar

तस्बिरको क्याप्शन, यज्मिनले सन् २०१६ देखि "द गर्ल हु क्यान्ट स्मेल" नामको एउटा ब्लग चलाउँछिन्। त्यसमा उनले आफ्ना अनुभवहरू सङ्कलन गरेकी छन्

इन्स्टाग्राम पोस्टमार्फत यो वर्षको सुरुमा उनले आफ्नो उक्त समस्या सार्वजनिक गरिन्।

त्यसमा उनले आफ्नो नाक र दिमागबीचको मार्गलाई मर्मत गर्न "गन्ध थाहा पाउने तालिम" गर्ने घोषणा पनि गरिन्।

के यो निको हुन्छ?

अध्ययनहरूले के देखाएका छन् भने यस्ता अभ्यासले यो अवस्थाबाट पूर्णरूपमा मुक्त नगर्ने भए पनि केही सुधार भने हुनसक्छ।

यज्मिनले सन् २०१६ देखि "द गर्ल हु क्यान्ट स्मेल" नामको एउटा ब्लग चलाउँछिन्। त्यसमा उनले आफ्ना अनुभवहरू सङ्कलन गरेकी छन्।

उनी आफ्ना लज्जास्पद् अवस्थाहरूलाई हँसिलो पाराले प्रस्तुत गर्छिन् र एनोस्मियालाई व्यवस्थापन गर्ने सुझाव समेट्छिन्।

एनोस्मियाबारे जनचेतना बढाउन अहिले एउटा अवसर हुनसक्ने उनको ठम्याइ छ।