कोरोना भाइरस भारतः कश्मीरमा सङ्क्रमण बढिरहेको भन्दै अमरनाथ यात्रा स्थगित

तस्बिर स्रोत, Getty Images

तस्बिरको क्याप्शन, पोहोर पनि अमरनाथ यात्रा स्थगित भएको थियो

कोरोनाभाइरस महामारीको कारण देखाउँदै भारत-प्रशासित कश्मीरमा हिन्दू धर्मावलम्बीहरूले गर्ने अमरनाथ यात्रा यो वर्ष नहुने भएको छ।

सङ्क्रमित व्यक्तिको सङ्ख्या बढिरहेकाले उक्त तीर्थस्थलमा वर्षैपिच्छे आयोजित हुने धार्मिक यात्रा नहुने अधिकारीहरूले बताएका हुन्।

दुई महिना चल्ने अमरनाथा यात्रामा प्रत्येक वर्ष लाखौँ हिन्दूहरू सहभागी हुन्थे।

जश्मू तथा कश्मीरमा जुलाई ३१ सम्म सबै धार्मिक स्थलहरू बन्द छन्।

जश्मू तथा कश्मीर क्षेत्रमा मङ्गलवार ६०८ जनामा सङ्क्रमण पुष्टि भएको र अहिलेसम्म सङ्क्रमितहरूको कुल सङ्ख्या १५,००० नाघेको बताइन्छ।

हिमाली क्षेत्रमा चुनढुङ्गाको एउटा गुफामा प्राकृतिक रूपमा बनेको आकृतिलाई शिवलिङ्ग मानेर पूजा गरिन्छ।

अमरनाथ मन्दिर सञ्चालक समितिले एउटा विज्ञप्तिमा तीर्थयात्रा लागि साधन र स्रोत उपलब्ध गराउँदा उक्त क्षेत्रको स्वास्थ्य प्रणाली प्रभावित हुने उल्लेख गरेको छ।

"यसबाट यात्रीहरूमा पनि कोभिड-१९ सर्ने अनावश्यक जोखिम बढ्छ।"

तस्बिर स्रोत, Getty Images

तस्बिरको क्याप्शन, फाइल तस्बिर

तर गुफामा हुने धार्मिक अनुष्ठानको टेलिभिजनबाट प्रत्यक्ष प्रसारण हुने बताइएको छ।

गत वर्ष पनि अमरनाथ यात्रा स्थगित गरिएको थियो।

भारत सरकारले कश्मीरको संविधानप्रदत्त मान्यता खारेज गरिदिएपछि गत वर्ष पनि सुरक्षाका कारण अमरनाथ यात्रा हुन सकेको थिएन।

भारत र पाकिस्तानबीच कश्मीरको स्वामित्वको विषयमा लामो समयदेखि विवाद छ।

उक्त क्षेत्रमा सन् १९८९ देखि सशस्त्र द्वन्द्व हुँदै आएको छ।

सन् २०१७ मा लडाकुहरूले आक्रमण गर्दा छ महिलासहित सात तीर्थयात्रीको मृत्यु भएको थियो।