महाकालीमा हामफालेर देश भित्रिएका इन्द्रसिंह खत्री: ‘भोकले छट्पटिएपछि अर्थोक सोचिनँ’

सरकारले कोरोनाभाइरसको सङ्क्रमण रोकथाम गर्न भन्दै नेपाल प्रवेशमा रोक लगाएसँगै रोजगारीका लागि भारतमा बस्दै आएका सैयौँ नेपालीहरू विभिन्न सीमावर्ती क्षेत्रमा जम्मा भएका छन्।
सीमानाकामा रोकिएका उनीहरूले आफ्नो देश प्रवेश गर्न पाउनु पर्ने भन्दै हारगुहार गरिरहेको विवरणहरू सार्वजनिक भइरहेका छन्।
तमाम प्रयासका बाबजुद आफूहरूले नेपाल प्रवेश पाउने अवस्था नदेखेपछि केहीले त दुई देशको सीमा महाकाली नदी आफैँ तरेका छन्।
तिनैमध्ये एक हुन् बैतडीको डिलासैनी गाउँपालिकाका इन्द्रसिंह खत्री।
भारतको धार्चुलाबाट नेपालको दार्चुला पुग्दा जाँघेमात्रै लगाएका उनलाई प्रहरीले नियन्त्रणमा लिएको तस्बिरले देशैभर चर्चा पाएको छ।
बुधवार साँझ बैतडीस्थित आफ्नो गाउँ पुगेका खत्रीसँग बीबीसी न्यूज नेपालीका नेत्र केसीले कुरा गरेका थिए।
पढौँ उनको कहानी उनकै शब्दमा:
किन ज्यान जोखिममा हाले इन्द्रसिंहले?
भारतमा मालिकले दिएको खर्च पनि सिद्धियो। खान पाइएन।
त्यही भएर अब घरतिर जानु पाइन्छ कि भनेर आएको हो। तर पुलिसले रोक्यो।

एक रुपैयाँपनि साथमा थिएन। भोकले छटपटियौँ।
नदीमा हाम फाल्न डर लागेन?
सानातिना नदी पहिले पनि तरेको बानी थियो।
तर के गर्ने भोकले आत्तियौँ।
हाम फाल्ने योजना कसको?
त्यहाँ हामी डेढ-दुई सयजना थियौँ। हामीले मिलेर योजना बनाएका थियौँ।
तर नदी तर्ने बेलामा हामी तीनजना मात्रै भयौँ। अरू अन्यत्रै गए।
हामी सबै जाने भनेका थिए तर मलाई अगाडि लगाए। अरू आएनन्।
के गरे प्रहरीले?

मलाई केही पनि गरेनन्। मसँग केही पनि थिएन।
भएका पुराना लुगाफाटा उता छाडेरै हाम फालेको थिएँ।
एकजना प्रहरीले प्यान्ट दिए अर्कोले ज्याकेट अनि अर्कोले जुत्ता दिए।
चाउचाउ र खानेकुरा खान दिए। किन यसरी नमानेर यता आएको भनेर सोधे। हल्काफुल्का सम्झाए।
अब क्वारन्टीनमा बसेको हो?
त्यो क्वारन्टीनमा बस्ने आज्ञा मानेर आएको हुँ।
घरका अरूसँग पनि नभेट्नु, क्वारन्टीन तोकेको स्थानमा बस्नु भनेका छन्।
म त्यसै गर्छु। चौध दिनपछि घरभित्र जान्छु।


- के हो? वास्तवमा के हो कोरोनाभाइरस
- कसरी जोगिने? सङ्क्रमण हुनबाट कसरी जोगिने
- के गर्ने, के नगर्ने? मानसिक स्वास्थ्यको ख्याल कसरी राख्ने
- के हुन्छ? सङ्क्रमण भएपछि शरीरमा यस्तो हुन्छ
- कतिचोटि? के दोहोर्याएर सङ्क्रमण हुन सक्छ
- भिडिओ: नधोइएका फोहोर हातमा कीटाणु कसरी फैलिन्छन्
- भिडिओ: हात यसरी धुनुपर्छ
- भिडिओ: फोन यसरी सफा गर्नुपर्छ





























