कोरोनाभाइरस: हङ्‌कङमा पानीजहाजमा फसेका सयौँ मानिस परीक्षणपछि बाहिर निस्किए

तस्बिर स्रोत, EPA

हङ्‌कङमा चार दिनसम्म एउटा पानीजहाजमा फसेका सयौँ मानिसहरूलाई कोरोनाभाइरसको परीक्षणपछि त्यहाँबाट बाहिर निस्किन अनुमति दिइएको छ।

अघिल्लो यात्राका क्रममा केही कर्मचारीहरूमार्फत् भाइरस उक्त पानीजहाजमा फैलिएको हुन सक्ने आशङ्कामाझ वर्ल्ड ड्रीम क्रूजका झन्डै ३,६०० सय यात्रु र चालकदललाई निगरानीमा राखिएको थियो।

जापानमा अर्को पानीजहाजमा कोरोनाभाइरसबाट दर्जनौँ मानिस सङ्क्रमित भएको पुष्टि भएपछि निगरानीमा राखिएको छ।

चीनमा देखा परेको उक्त भाइरसको प्रकोपका कारण अहिलेसम्म ९०० जनाभन्दा बढी मानिसको मृत्यु भइसकेको छ।

सङ्ख्या बढ्दै

यो सङ्ख्या यसअघि फैलिएको श्वासप्रश्वास प्रणालीमै आक्रमण सार्सका कारण मृत्यु भएका मानिसहरूको भन्दा बढी हो।

सन् २००३ मा सार्सका कारण दुई दर्जनभन्दा बढी देशमा गरी ७७४ जनाको ज्यान गएको थियो।

तस्बिर स्रोत, Getty Images

तस्बिरको क्याप्शन, कोरोनाभाइरसले मानिसको फोक्सोमा आक्रमण गर्ने चिकित्सकहरू बताउँछन्

क्षेत्रीय स्वास्थ्य अधिकारीहरूका अनुसार कोरोनाभाइरसको प्रकोप सुरु भएको चीनको हुबे प्रान्तमा मात्रै कम्तीमा ७८० जनाको ज्यान गइसकेको छ।

त्यस्तै सङ्क्रमित हुने व्यक्तिको ४०,००० नाघेको छ।

प्रतिबन्ध कायमै

कोरोनाभाइरसको सङ्क्रमणको खतराका कारण चिनियाँ नयाँ वर्षदेखि नै बिदामा बसेका मानिसहरू बिस्तारै काममा फर्किने तयारी गर्दैछन्।

यद्यपि ठूलो सङ्ख्यामा कम्पनी र व्यापारहरू बन्द नै रहनेछन् र धेरै मानिसले घरबाटै काम गर्ने ठानिएको छ।

राजधानी बेइजिङलाई घेर्ने हुबे प्रान्तमा कम्तीमा मार्च १ तारिखसम्म विद्यालयहरू बन्द रहने सरकारी सञ्चारमाध्यमले जनाएका छन्।

हुबे प्रान्तका धेरै ठाउँ अझै पनि बन्द नै छन्।

भिडिओ क्याप्शन सुरु हुँदैछ, मास्कको माग बढ्दो, तर भाइरसबाट जोगिन कति प्रभावकारी