९१ वर्षको उमेरमा आफू समलिङ्गी भएको स्वीकार्ने पादरी

तस्बिर स्रोत, www.comingoutoftheblackcountry.com

तस्बिरको क्याप्शन, स्ट्यान्ली अन्डर्हिलले ९१ वर्षको उमेरसम्म आफ्नो यौनिकता लुकाए

"म जन्मिँदै समलैङ्गिक थिएँ। तर मैले त्यो स्वीकार्न सकिनँ। जीवनको अधिकांश समय मैले म त्यस्तो नभएको भए हुन्थ्यो भन्ने सोचेँ," रेभरेन्ड स्ट्यान्ली अन्डर्हिलले भने।

सानो उमेरमै उनले आफू अरूभन्दा भिन्न भएको अनुभूति गरे। तर कसैलाई भन्न सकेनन्।

"मैले मेरो भाइलाई पनि सन् २०१८ मा किताब लेख्नुअघि आफू समलैङ्गिक भएको बताउन सकेको थिइनँ," उनले बीबीसी आउटलुककी एमिली वेबलाई भने। त्यतिखेर उनी ९१ वर्षका थिए र उनका भाइ उनीभन्दा दुई वर्ष कान्छा थिए।

"भाइले धेरै केही भनेनन्," अन्डर्हिलले बताए। "मैले उनलाई र परिवारलाई पहिले नै बताएको भए हुन्थ्यो। तर मलाई उनीहरूले के भन्ठान्लान् भन्ने डर थियो।"

'ईश्वरको आँखामा घृणित'

तस्बिर स्रोत, Stanley Underhill

तस्बिरको क्याप्शन, अन्डर्हिल (दायाँबाट दोस्रो) भन्छन् उनको यौनिकताबारे उनका बुवाआमा तथा भाइलाई थाहा थिएन

"म यस्तो समाजमा हुर्किएँ जहाँ गरिबी, पूर्वाग्रह तथा वर्ग विभाजन थियो," आफ्नो आत्मसंस्मरणमा उनी दु:खपूर्ण शैलीमा लेख्छन्।

वयस्क हुँदासम्म उनले आफू समलैङ्गिक भएको सङ्केत कतै दिएनन्।

उनको जन्म हुनुभन्दा केवल नौ वर्ष पहिले सन् १९१८ मा इङ्ग्ल्यान्डमा महिलाले भोट हाल्ने अधिकार पाएका थिए। तर समलैङ्गिकतालाई अवैध मानिन्थ्यो। धेरैले यसलाई 'ईश्वरको आँखा घृणित' मान्थे।

परिणामस्वरूप अन्य समलिङ्गीले जस्तै अन्डर्हिलले पनि आफ्नो यौनिकता लुकाए।

"मैले जानीजानी यो विषय लुकाएँ - आफैँसँग, अरूसँग र ईश्वरसँग।"

यौनिकताको सङ्घर्ष

सानोमा अन्डर्हिल लज्जालु थिए। उनका आमाबुवा परम्परागत मान्यताका थिए। त्यसैले यौनिकताबारे कुरा गर्नु निकै कठीन थियो।

तस्बिर स्रोत, www.comingoutoftheblackcountry.com

तस्बिरको क्याप्शन, अन्डर्हिल लज्जालु स्वभावका थिए

"मलाई आफू को हुँ भन्नेबारे पनि थाहा थिएन। आफूलाई हुने अनुभूतिबारे म वर्णन गर्न सक्दिनथेँ। अरू कसैले पनि बताइदिएनन्। अनि समलैङ्गिकता भन्ने शब्द त हाम्रो शब्दकोशमै थिएन।"

उनका बुवा बिजुलीको सामान बनाउने एउटा कारखानामा काम गर्थे। ज्याला कम थियो। परिवारमा आधारभूत आवश्यकताभन्दा अर्थोक उपलब्ध थिएन।

अन्डर्हिल भन्छन् उनको बुवासँगको अन्तर्क्रिया केवल उनका केही निर्देशन र गालीमा सीमित हुने गर्थे।

"मलाई लाग्छ उनी मलाई घृणा गर्थे। किन भनेर बताउन चाहिँ सक्दैनथे।"

आमासँगको सम्बन्ध पनि अस्वाभाविक थियो। आमा भन्ने गर्थिन्, "कहाँबाट आउँछन् यस्ता विचार?"

त्यसमाथि स्कूलमा पनि उनलाई सताइन्थ्यो।

पुरुषप्रति आकर्षण

पौडी सिक्ने बेला उनले थाहा पाए कि उनी पुरुषको शरीरप्रति आकर्षित हुन्छन्। आफ्नो आत्मकथा 'कमिङ आउट अफ द ब्ल्याक कन्ट्री' मा उनी लेख्छन्, "पौडी पोखरीमा डुबुल्की मार्दा उनको शरीर (पौडी प्रशिक्षक) देख्दा निक्कै मज्जा आयो।"

तस्बिर स्रोत, Stanley Underhill

तस्बिरको क्याप्शन, अन्डर्हिलको सम्बन्ध आफ्नी आमासँग पनि राम्रो थिएन

अठार वर्षको उमेरमा अनिवार्य सैन्य सेवाको क्रममा उनले जलसेनामा नर्सको रूपमा प्रवेश गरे।

द्वितीय विश्व युद्धपश्चात् उनलाई एचएमएस क्वीनमा खटाइयो। उक्त पानीजहाजमा अमेरिकी सैनिकसँग बिहे गरेका दुलहीहरू थिए।

अमेरिकातर्फको उक्त यात्रामा एक महिला यात्रु लडिन् र खुट्टामा चोट लाग्यो। उपचारको लागि अन्डर्हिललाई बोलाइयो। तर धेरै रगत देखेर उनी आफैँ बेहोस भए।

उनलाई रेखदेख गर्न एलेक्स नामक पुरुषलाई डाकियो।

प्रेममा पर्दा

"जब मैले आफ्नो आँखा खोलेँ मैले उनलाई (एलेक्स) मलाई हेरिरहेको देखेँ। उनी केही भन्दै थिए। तर मैले केही सुनिनँ। हाम्रा आँखा जुधे र म उनको प्रेममा परेँ।"

तस्बिर स्रोत, Stanley Underhill

तस्बिरको क्याप्शन, जलसेनामा कार्यरत हुँदा अन्डर्हिलले आफ्नो पहिलो प्रेमी भेट्टाए

सन् १९४८ मा उनले जलसेना छाडे र एलेक्सका बुवाकहाँ अवैतनिक लेखा सहायकको काम गर्न थाले।

"एलेक्ससँगको सम्बन्ध गजबको थियो। त्यो अवैध वा अप्राकृतिक थियो भन्ने मलाई लागेन।"

'खराब सम्बन्ध'

तर अन्डर्हिलले एलेक्ससँगै बस्न इच्छा राख्दा उनले त्यो अस्वीकार्य हुन्छ भन्ने बुझे।

एलेक्सका बुवाले उनलाई काम छाडेर अन्यत्र जान भने, र एलेक्स पनि अलि परिवर्तित भए।

"हामी दुवैले धर्मग्रन्थ पढ्न थाल्यौँ। मसँगको सम्बन्ध खराब रहेछ भन्ने निष्कर्षमा पहिले एलेक्स पुगे।"

अन्डर्हिलसँग अन्तरङ्ग सम्बन्ध हुँदाहुँदै एलेक्सले एक महिलासँग पनि सम्बन्ध राखे। सन् १९५२ मा एलेक्सले ती महिलासँग बिहे गरे।

डिप्रे

"त्यो अत्यन्त पीडादायी थियो, केवल अस्वीकार मात्र थिएन। म अन्योलमा परेँ।"

तस्बिर स्रोत, Justin Creedy Smith

तस्बिरको क्याप्शन, आफ्नो जीवनमा पहिलो पटक सहज अनुभव गर्न थालेको अन्डर्हिलले बताए

एलेक्सले उनलाई समलिङ्गीलाई परिवर्तन गराउने उपचार गर्न सल्लाह दिए।

"उनले एउटा नोभेम्बर महिनाको बिहान केही साथीलाई भेला गरेर मलाई उनको हात समाएर प्रार्थना गर्न लगाए। उनी उत्साहित थिए," अन्डर्हिलले भने।

"उनले जीजसलाई पुकारे र मभित्रको दुष्टात्मालाई बाहिर निकालेर समलैङ्गिकताबाट मुक्ति दिलाउन आग्रह गरे।"

परिणाम खराब रह्यो। "त्यसले मलाई थप नराम्रो अनुभव गरायो। म चिकित्सककहाँ गएँ र भनेँ, 'म यो संसारको लागि ठिक छैन। मलाई लैजानुहोस्'।"

उनी बेलाबेला डिप्रेशनको सिकार भए र आत्महत्याबारे सोच्न थाले।

एक्लै

आफ्नो स्वाभाविक झुकाव परित्याग गर्न अन्डर्हिलले निकै प्रयास गरे। केही समयका लागि उनले बाटोमा देखिने पुरुषहरूलाई समेत हेर्न छाडिदिए।

आफ्नौ यौनिकता परिवर्तन गर्न निकै प्रयास गरे। ईश्वरलाई पुकारे, तर केही भएन।

"अन्त्यमा एक जनाबाहेक मेरा सबै मित्रहरूले मलाई त्यागिदिए। म समलैङ्गिक हो भन्ने हल्ला चल्यो।"

उनले घर बेचे र छोटो समयका लागि आमासँग बस्न गए।

अपराध हैन

अन्डर्हिलको अधिकांश जीवनकालमा यूके तथा ब्रिटिश साम्राज्यमा समलैङ्गिकताविरुद्धको घृणा संस्थागत थियो।

सन् १९६७ मा मात्र इङ्ग्ल्यान्ड र वेल्समा समलैङ्गिकता अपराध हैन भनेर स्वीकारियो। अहिले पनि विश्वका ६८ देशमा समलैङ्गिक यौनसम्बन्धलाई कुनै प्रकारको अपराध मानिन्छ। तीमध्ये आधा त विगतका ब्रिटिश उपनिवेश हुन्।

विख्यात गणितज्ञ एलन टुरिङ पनि यो पूर्वाग्रहको सिकार भएका थिए। उनले नाजी जर्मनीको गुप्त कोड तोडेर दोस्रो विश्वयुद्धको नतिजा नै बदलिदिएका थिए।

तस्बिर स्रोत, Getty Images

तस्बिरको क्याप्शन, आफ्नो जीवनभरि एलन टुरिङ पूर्वाग्रहको सिकार भए

सन् १९५२ मा पुरुषसँगको सम्बन्धलाई लिएर उनीमाथि अभद्रताको अभियोग लाग्यो। जेल पर्नबाट जोगिन उनले हर्मोनल उपचार स्वीकारे।

तर दुई वर्षभित्रै उनको ज्यान गयो। उनले आत्महत्या गरेको शङ्का गरिएको थियो।

अन्डर्हिलले पनि टेस्टस्टरोन हर्मोन लिएका थिए।

तर त्यसले केवल यौनिक निराशा बढाएको उनी बताउँछन्।

बेइज्जती

पछि उनी लन्डन गए। त्यहाँ उनले कैयौँ समलिङ्गी व्यक्ति भेटे। तर कसैसँग पनि निकट सम्बन्ध बन्न सकेन।

तस्बिर स्रोत, Stanley Underhill

तस्बिरको क्याप्शन, अन्डर्हिल २९ वर्षको उमेरमा लन्डन जाँदा उनको कैयौँ समलिङ्गी पुरुषसँग भेट भयो

"मैले प्रेम अनुभव गरेको छु र केही अन्तरङ्ग पुरुष सम्बन्ध राखेको छु। तर यस्तो वातावरणमा ती सम्बन्धले फक्रिने मौका पाएनन्," उनी भन्छन्।

उनी एक लेखा कम्पनीमा साझेदारका रूपमा उदाए। तर फेरि उनको यौनिकता एउटा मुद्दा बन्न पुग्यो।

"उनीहरूले मेरो अनेक किसिमले बेइज्जत गरे। त्यसैले मैले त्यो काम पनि छाडिदिएँ र लामो समयदेखि चाहेको पादरी बन्न रुचाएँ।"

पादरी

समलैङ्गिकताको स्वीकार्यताको विरोधमा जनमत बनाउन चर्चले खेलेको महत्त्वपूर्ण भूमिकाको सन्दर्भमा उनको छनोट अलि अचम्म लाग्ने खालको हुन सक्छ।

धर्मग्रन्थहरूको गलत व्याख्यालाई अन्डर्हिल समस्याको जरो मान्छन्। सानोमा उनी चर्च जान्थे र जीजसलाई मान्थे।

"गोस्पलहरूमा जीजसलाई जसरी कमजोरको साथ दिने व्यक्तिका रूपमा देखाइन्छ त्यसले मलाई आकर्षित गरेको थियो," उनी पुस्तकमा लेख्छन्।

"मैले गोप्य रूपमा उनलाई मेरो मित्र बन्न र मलाई दिशानिर्देश गर्न आग्रह गरेँ।"

पचास वर्षको उमेर पुग्दै गर्दा उनले आफ्नो मार्गनिर्देशकसँग अझ नजिकको सम्बन्ध चाहे। उनी सेन्ट फ्रान्सिस समूहमा आबद्ध भए किनकि त्यहाँ समलैङ्गिकताविरुद्ध घृणा थिएन।

चर्चको आडम्बर

पादरी बन्न उनले क्यान्टर्बरी स्कूल अफ मिनिस्ट्रीमा तीन वर्ष पढे। आफू समलिङ्गी भएको लुकाएर उनले विभिन्न प्यारिसहरूमा सेवा गरे।

तस्बिर स्रोत, Stanley Underhill

तस्बिरको क्याप्शन, आफू समलिङ्गी भएको लुकाएर अन्डर्हिलले (सेतो पोसाकमा) विभिन्न प्यारिसहरूमा सेवा गरे

"चर्चका अधिकारीहरूको निरन्तरको आडम्बरका कारण मैले आफूबारे बताउन सकिनँ," उनी लेख्छन्।

उनी सधैँ खतरामा रहिरहे। एक पटक उनको सहायकमा नियुक्त एक रीडरले उनीबारे बताइदिने धम्की दिए। तर अन्डर्हिल डगेनन् किनकि उनलाई लाग्यो "ती व्यक्तिसँग प्रमाण थिएन।"

चर्चमा व्याप्त आडम्बरको त्यो समयमा उनीबारे कसैले पत्तो पाएन। तर उक्त घटनाले समलैङ्गिकता लुकाउनुका खतरा भने टड्कारो देखियो। कसैले पनि उनलाई 'ब्ल्याकमेल' गर्न सक्थ्यो।

स्वतन्त्रता

चर्चले समलैङ्गिकता नस्वीकारेको विषयमा अन्डर्हिलको पुस्तकमा निकै आलोचना गरिएको छ।

तस्बिर स्रोत, Thomas Volker

तस्बिरको क्याप्शन, आफ्नो पहिलो प्रेमको असफलतापछि कुनै अन्य पुरुषसँग गहिरो सम्बन्ध गाँस्न नसकेको अन्डर्हिलले बताएका छन्

"चर्चले क्राइस्टले जस्तै करुणा देखाउने ठूला अवसर गुमाएको छ," उनले लेखेका छन्।

हाल उनी सेवानिवृत्त जीवन लन्डनमा व्यतीत गरिरहेका छन्। साथै समलिङ्गीप्रति समाजको बदलिँदो व्यवहारबाट खुसी छन्।

"अन्त्यमा यो स्वतन्त्रता थियो," उनी भन्छन्।

तर गहिरा घाउ पूरै निको भइसकेका छैनन्।

"मेरो सामान्य यौनजीवनबाट अलग्ग्याइएकोमा मलाई दु:ख लाग्छ जसले मलाई निकै निराश बनायो।"

उनीसँग लिइएको पूरा अन्तर्वार्ता यो ल‌िङ्कमा