१३‌औँ दक्षिण एशियाली खेलकुद: एथलेटिक्समा ऐतिहासिक स्वर्ण; नेपालको स्वर्ण पदकको सङ्ख्या २३

तस्बिरको क्याप्शन, करातेमा सुनिता महर्जनले ६८ तौल समूहमा स्वर्ण जितेकी हुन्
    • Author, निरञ्जन राजवंशी
    • Role, बीबीसी न्यूज नेपाली

तेक्वान्दोमा मङ्गलवार अपरान्ह थप दुई स्वर्ण जितेपछि नेपालको १३औँ दक्षिण एशियाली खेलकुद सागमा कुल स्वर्ण पदक सङ्ख्या २३ पुगेको छ।

बीरबहादुर महराले पाकिस्तानका खेलाडी मोहमद फाहिमलाई ६८ केजी ग्यारोगी विधामा हराएर स्वर्ण जितेका हुन्।

महिला ४६ केजी मुनिको तौल समूहमा काजल श्रेष्ठले फाइनलमा पाकिस्तानी खेलाडीलाई ५०-१४ अङ्कले हराएकी हुन्।

उनले सेमीफाइनलमा भारतीय खेलाडीलाई पराजित गरेकी थिइन्।

उनको पदक नेपालले मङ्गलवार जितेको सातौँ पदक हो।

करातेको कुमितेतर्फ ६८ केजी तौल समूहको फाइनलमा सुनिता महर्जनले पाकिस्तानी खेलाडीलाई पराजित गर्दै स्वर्ण जितेकी छन्।

सन्तोषीको ऐतिहासिक पदक

एथलेटिक्समा महिलाहरूको १० हजार मिटर दौडमा सन्तोषी श्रेष्ठले ३५ मिनेट ७.९४ सेकेन्डमा दौड पूरा गरेर जितेकी हुन्।

तस्बिरको क्याप्शन, एथलेटिक्सको १० हजार मिटर दौडमा सन्तोषी श्रेष्ठले ऐतिहासिक स्वर्ण दिलाएकी छन्

उनी भारतकी कविता यादवभन्दा मिलिसेकेन्डले मात्रै अगाडि रहेकी थिइन्।

नेपाली महिला एथलेटिक्समा दक्षिण एशियाली स्तरको स्वर्ण जितेको यो पहिलो पटक हो।

यसअघि नेपालको यस विधामा उत्कृष्ट प्रदर्शन कान्छीमाया कोजुले सन् २००६ को श्रीलङ्का सागमा जितेको रजत पदक थियो।

तस्बिर स्रोत, RSS

मङ्गलवार नै नेपालले उसुमा दुई, ट्रायथलन र करातेमा एक-एक स्वर्ण पदक जितिसकेको छ।

पोखरामा भएको ट्रायथलनको डुआथलन विधामा हिमाल टमाटाले स्वर्ण र लक्ष्मण मल्लले रजत पदक जितेका हुन्।

डुआथलनमा सडक दौड, साइकल दौड र फेरि सडक दौड समावेश हुन्छ।

तस्बिर स्रोत, RSS

करातेमा नवीन रसाइलीले ६७ केजी तौल समूहको फाइनलमा पाकिस्तानी खेलाडीलाई पराजित गरेका हुन्।

जितपछि रसाइलीले भने: "मैले स्वर्ण जित्दा यहाँसम्म आइपुग्न विगतमा गरेको सङ्घर्ष सम्झेँ।"

लगनखेलमा आयोजित उसुको थाउलु छान्क्वानमा पुरुषतर्फ विजय सिञ्जाली र महिलातर्फ सुस्मिता तामाङले स्वर्ण पदक जितेका हुन्।

तरबारसहित कला प्रदर्शन गरिने विधामा सिञ्जालीले ९.४८ अङ्क प्राप्त गरेर बाङ्ग्लादेशको मोहम्मद ओमार र श्रीलङ्काको सौम्य प्रभाकरलाई पछाडि पारे।

ओमारले ९.३४ र प्रभाकरले ९.१३ अङ्क प्राप्त गरेका थिए।

तामाङले भने सहजै विजय प्राप्त गरिन्।

उनले ९.४४ अङ्क प्राप्त गरिन् भने रजत पदक विजेत बाङ्ग्लादेशकी नूर बहार बेगमले ८.५५ अङ्क प्राप्त गरिन्।

श्रीलङ्काली खेलाडी थाग बाग्सालाले ७.५३ अङ्कका साथ कास्य जितिन्।

स्वर्ण पदक जितेपछि तामाङले भनिन्: "यो दिनको प्रतिक्षामा थिएँ।आफूमाथिको विश्वास र अरुले गरेको आशा पूरा गरेँ।"

यो पनि हेर्नुहोस्

भिडिओ क्याप्शन सुरु हुँदैछ, खेल छाडेका महिलालाई खेलमा फर्कन आयशाको आग्रह