दुई महिला वैज्ञानिकद्वारा अन्तरिक्षमा सँगै हिँडेर नयाँ कीर्तिमान

तस्बिर स्रोत, Science Photo Library

तस्बिरको क्याप्शन, अन्तर्राष्ट्रिय अन्तरिक्ष केन्द्रभित्र जेसिका मिअर (बायाँ) र क्रिस्टिना कोक

नासाका अन्तरिक्षयात्री क्रिस्टिना कोक र जेसिका मिअरले सँगसँगै अन्तरिक्षयानबाहिर निस्किएर 'स्पेसवाक'को नयाँ कीर्तिमान बनाएका छन्।

अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशन (आईएसएस) को बिग्रिएको एउटा उपकरण फेर्न उनीहरूले आईएसएसबाहिर सात घण्टा बिताएका थिए।

महिला अन्तरिक्षयात्रीहरू मात्र कुनै यान वा केन्द्रबाहिर निस्किएर अन्तरिक्षमा हिँडेको यो पहिलो अवसर हो।

अमेरिकी अन्तरिक्ष निकाय नासाका अनुसार कोक यसअघि चारचोटि अन्तरिक्षयानबाहिर निस्किसकेकी थिइन् तर मिअरका लागि यो पहिलो त्यस्तो अनुभव थियो।

मिअर अन्तरिक्षमा हिँड्ने पन्ध्रौँ महिला हुन्।

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले उनीहरूलाई भिडिओ कलमार्फत् बधाई दिएका थिए। ट्रम्पले उनीहरूलाई "साहसी र प्रतिभाशाली महिला" भन्दै प्रशंसा गरे।

कोक इलेक्ट्रिकल इन्जिनीयर हुन् भने मिअरले सामुद्रिक जीवविज्ञानमा विद्यावारिधि गरेकी छन्।

तस्बिर स्रोत, NASA

तस्बिरको क्याप्शन, पोर्ट सिक्स नामक संरचना अन्तर्राष्ट्रिय अन्तरिक्ष केन्द्रको पुछारतिर छ

उनीहरू जीएमटीअनुसार शुक्रवार बिहान ७:३८ बजे अन्तरिक्षयात्रा गर्दा लगाउने विशेष पोसाक लगाएर आईएसएसबाहिर निस्किएका थिए।

उनीहरूले पोर्ट सिक्स ट्रस स्ट्रक्चर भनिने आईएसएसको एउटा भागमा गएर चार्ज डिस्चार्ज यूनिट (बीसीडीयू) फेरे। त्यसपछि उनीहरू बिग्रिएको उक्त उपकरण लिएर फर्किए।

आईएसएसलाई चाहिने सामग्री लिएर जाने अर्को स्पेसएक्स ड्र्यागनमा राखेर उक्त उपकरणलाई परीक्षणका लागि पृथ्वीमा ल्याइनेछ।

तस्बिर स्रोत, NASA

तस्बिर स्रोत, Reuters

नासाले गत मार्च महिनामा महिला मात्रै सहभागी हुने पहिलो "एक्स्ट्रा-भीहिक्युलर एक्टिभिटी" अर्थात् यानबाहिरको गतिविधिमा कोक र एन मक्क्लेन संलग्न हुने घोषणा गरेको थियो।

तर मक्क्लेनलाई मिल्ने पोसाक उपलब्ध नभएपछि उक्त योजना स्थगित भएको थियो।

रुसकी स्भित्लाना सभित्स्काया अन्तरिक्षमा हिँड्ने प्रथम महिला हुन्।

उनी जुलाई २५, १९८४ मा अन्तरिक्ष केन्द्रबाहिर तीन घण्टा ३५ मिनेट बसेकी थिइन्।

प्रथम पटक अन्तरिक्षमा हिँड्ने तत्कालीन सङ्घका एलेक्सेई लियोनोभको यही महिना ८५ वर्षको उमेरमा निधन भयो।

यो पनि हेर्नुहोस्

भिडिओ क्याप्शन सुरु हुँदैछ, यसरी गरिन्छ अन्तरिक्षमा शौच