इरान परमाणु सम्झौता: युरेनिअम प्रवर्धन गर्न तेहरानले सेन्ट्रिफ्युज विकास गर्ने

तस्बिर स्रोत, EPA

इरानले आफ्नो देशको पारमाणविक अनुसन्धान र विकासलाई सीमित बनाउन पहिला गरिएका सबै सहमति भङ्ग गर्ने घोषणा गरेको छ।

तेहरानले सन् २०१५ मा अरू शक्तिशाली राष्ट्रहरूसँग एउटा परमाणु सम्झौता गरेको थियो।

इरानका राष्ट्रपति हसन रूहानीले शुक्रवारदेखि शीघ्र युरेनिअम प्रवर्धन गर्ने उद्देश्यले सेन्ट्रिफ्युज विकास गर्न थाल्ने घोषणा गरेका छन्।

गत वर्ष अमेरिकाले इरानसँग गरिएको परमाणु सम्झौताबाट अलग्गिएको घोषणा गर्दै इरानलाई पुन: आर्थिक प्रतिबन्ध लगाएको थियो।

प्रतिक्रियास्वरूप गत जुलाई महिनामा इरानले परमाणुसम्बन्धी दुइटा महत्त्वपूर्ण प्रतिबद्धता परित्याग गर्‍यो।

इरानले के गर्‍यो?

उक्त सम्झौताअनुरूप इरानले लो-इन्‌रिच्ड अर्थात् निम्न स्तरमा प्रवर्धित युरेनिअम ३०० केजी मात्र भण्डार गर्न पाउँथ्यो।

तस्बिर स्रोत, Getty Images

उक्त प्रावधान उल्लङ्घन गर्दै इरानले युरेनिअमको शुद्धता बढाउन थाल्यो।

अन्तर्राष्ट्रिय आणविक ऊर्जा निकाय आईएईएले जुलाई १ मा त्यसको पुष्टि गर्‍यो।

एउटा आणविक भट्टीका लागि ऊर्जा उत्पादन गर्न भन्दै इरानले ४.५ प्रतिशत मात्राको युरेनिअम प्रवर्धन गर्न थालेको थियो।

तस्बिर स्रोत, EPA

तस्बिरको क्याप्शन, संसद्‌मा सम्बोधन गर्दै हसन रुहानी

यदि युरोपेली राष्ट्रले इरानलाई आर्थिक लाभ हुन दिने आफ्नो वचन पालना नगरे इरानले यो साता तेस्रो कदम चाल्ने राष्ट्रपति रूहानीले बताएका छन्।

उनले आफूहरूले दिएको सर्वाधिक महत्त्वपूर्ण कदम हुने र त्यसको प्रभाव पनि विशाल हुने उनको भनाइ छ।

इरानले क्रमश: २०% शुद्धता भएको युरेनिअम प्रशोधन गर्न सक्ने र त्यो भनेको बम बनाउने मार्गतिर अग्रसर हुनु भएको विज्ञहरूको ठम्याइ छ।

के हो 'लो-इन्‌रिच्ड' युरेनिअम?

निम्न स्तरमा प्रवर्धित युरेनिअमको शुद्धता ३-५ प्रतिशत हुन्छ।

यो पारमाणविक ऊर्जा उत्पादन गर्न प्रयोग हुन्छ।

तस्बिर स्रोत, AFP

उच्च स्तरमा प्रवर्धित युरेनिअम भने परमाणुअस्त्र बनाउन प्रयोग हुन्छ।

त्यसका लागि सो तत्त्वको मात्रा ९० प्रतिशत वा बढी हुनुपर्छ।

इरानले आफ्नो परमाणु कार्यक्रम गैरसैनिक प्रयोजनका लागि भएको दाबी गर्दै आएको छ।