अमेरिका-मेक्सिको: सर्वोच्च अदालतद्वारा सीमामा पर्खाल बनाउने खर्चको अनुमति

तस्बिर स्रोत, EPA
अमेरिकाको सर्वोच्च अदालतले दक्षिणी सीमाको एउटा खण्डमा पर्खाल ठड्याउन राष्ट्रपति डोनल्ड ट्रम्पले पेन्टागन कोषबाट २.५ अर्ब अमेरिकी डलर प्रयोग गर्न पाउने बताएको छ।
क्यालिफोर्नियाका एक न्यायाधीशले उक्त कोष प्रयोग गर्न रोक लगाउने गरी दिएको आदेशविरुद्ध सर्वोच्च अदालतमा ५ मत र पक्षमा ४ मत परेको थियो।
अमेरिका र मेक्सिकोलाई विभाजन गर्ने पर्खाल ट्रम्पको सन् २०१६ को निर्वाचनको प्रमुख चुनावी नारा थियो।
डेमक्र्याटहरूले त्यसको कडा विरोध गर्दै आएका छन्।
यो लेखमा X बाट प्राप्त सामग्री समाविष्ट छ। यहाँ केही लोड हुनुअघि हामी तपाईँसँग अनुमति माग्छौँ किनभने तिनले कुकीज र अन्य प्रविधि प्रयोग गरेका हुनसक्छन्। स्वीकृति दिनुअघि तपाईँ X cookie policy र पढ्न सक्नुहुन्छ। यो सामग्री हेर्नका लागि 'स्वीकार छ, अगाडि बढौँ' छान्नुहोस्।
X पोस्ट समाप्त
सर्वोच्च अदालतको निर्णयको अर्थ उक्त कोष क्यालिफोर्निया, एरिजोना र न्यू मेक्सिकोमा पर्खाल बनाउने योजनामा प्रयोग हुनेछ।
क्यालिफोर्नियाको अदालतले उक्त कोषलाई पर्खाल निर्माणमा लगाउनेबारे कङ्ग्रेसले विशेषाधिकार नदिएको तर्क गरेको थियो।
राष्ट्रपति ट्रम्पले ट्वीट गर्दै सर्वोच्च अदालतको आदेशलाई "ठूलो जित" भनेका छन्।

तस्बिर स्रोत, EPA
शुक्रवार अमेरिका र ग्वाटेमालाले एक सहमतिमा हस्ताक्षर गरेका छन् जसमा हुन्डुरस र एल साल्भाडोरबाट ग्वाटेमाला हुँदै जाने आप्रवासीहरूले सुरुमा ग्वाटेमालामा शरण खोज्नुपर्ने व्यवस्था गरिएको छ।
आदेशमाथिको प्रतिक्रिया
अमेरिकी संसद्की सभामुख न्यान्सी पेलोसीले भनिन्, "आज साँझ सर्वोच्च अदालतले राष्ट्रपति ट्रम्पलाई सैनिक कोषबाट चोरेर व्यर्थको, निष्प्रभावी र कङ्ग्रेसले अस्वीकार गरेको सीमा पर्खाल बनाउनमा खर्च गर्न दिएको अनुमति गम्भीर रूपमा त्रुटिपूर्ण छ। हाम्रा संस्थापकहरूले जनताद्वारा शासित प्रजातन्त्रको निर्माण गरेका हुन् न कि राजतन्त्र।"
द अमेरिकन सिभिल लिबर्टीज युनियनले ट्रम्पको सीमा पर्खालले गर्ने क्षति रोक्नका लागि नाइन्थ सर्कीट कोर्ट अफ अपील्स समूहबाट तत्काल निर्णय आउनुपर्ने आग्रह राखेको छ।
उक्त कोषको उपयोग रोकियोस् भनेर मुद्दा हालेकी वातावरणीय समूह द सीरा क्लबकी न्यायाधिवक्ता ग्लोरिया स्मिथले भनिन्, "आजको निर्णयले सैनिक कोषलाई सीमा पर्खाल बनाउनमा प्रयोग गर्न अनुमति दिएको छ जसले समुदाय, सार्वजनिक जमिन तथा क्यालिफोर्निया, न्यू मेक्सिको र एरिजोनाको पानी समाप्त पार्नेछ।"
यो वर्षको सुरुमा सङ्कटकाल घोषणा गर्दै राष्ट्रपति ट्रम्पले राष्ट्रिय सुरक्षाको महत्त्व बनेको उक्त पर्खाल बनाउन ६.७ अर्ब डलर रकम आवश्यक परेको बताएका थिए।
३,२०० किलोमिटर सीमामा पर्खाल लगाउने कुल खर्च २३ अर्ब अमेरिकी डलर लाग्ने अनुमान गरिएको छ।

तस्बिर स्रोत, EPA
डेमोक्र्याटहरूले सङ्कटकाल लगाउने राष्ट्रपतिको निर्णय संविधानमा व्यवस्था गरिएको भन्दा बाहिर रहेको दाबी गरेका छन्।
करिब २० राज्यहरू र कैयौँ समूहले कङ्ग्रेसलाई छलेर सङ्कटकाल घोषणा गरेको भन्दै राष्ट्रपतिको कदम रोक्न मुद्दा हालेका छन्।
वातावरणवादी समूहहरूले पर्खालविरुद्ध अभियान चलाउँदै त्यसले जङ्गली वन्यजन्तुमाथि नकारात्मक असर पार्ने दाबी गर्दै आएका छन्।
गत फेब्रुअरी महिनामा कङ्ग्रेसले टेक्ससमा रियो ग्र्यान्डी भ्यालीमा "पदयात्रीका लागि बार" बनाउन १.३८ अर्ब रकम अनुमोदन गरेको थियो जुन ट्रम्पले चाहेको भन्दा निकै कम रकम थियो।
तल्लो सदनले पनि पर्खाल योजनाका लागि अरू रकम पठाउनमा रोक लगाउन भन्दै कानुनी बाटो अवलम्बन गरिरहेको छ।
सीमामा अहिले के भइरहेको छ?
अमेरिकी अधिकारीहरूका अनुसार गत जुन महिनामा अनधिकृत रूपमा सीमा काट्न चाहने मानिसहरूको सङ्ख्या २८%ले घटेको छ।
ट्रम्प प्रशासनले मेक्सिकोप्रति लिइएको नयाँ नीतिका कारण त्यसरी सङ्ख्या घटेको दाबी गर्दै आएको छ।
संयुक्त राष्ट्र सङ्घीय आप्रवासी नियोगका अनुसार अमेरिका मेक्सिको सीमामा सन् २०१९ मा मात्र १३ जना बालबालिकासहित १७० जनाको मृत्यु भएको छ।




























