गुगल र फेसबुकलाई कर लगाउने फ्रान्सेली योजनामाथि अमेरिकी अनुसन्धान
तस्बिर स्रोत, Reuters
संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पले इन्टरनेट तथा प्रविधि कम्पनीहरूमाथि कर लगाउने फ्रान्सेली योजनाबारे अनुसन्धान गर्न आदेश दिएका छन्।
बुधवार ट्रम्पका व्यापार प्रतिनिधिले भने, "अमेरिकी कम्पनीहरूविरुद्ध अन्यायपूर्ण रूपमा लक्षित डिजिटल सेवा करप्रति अमेरिकाको निकै चासो रहेको छ।"
फ्रान्सको संसद्ले नयाँ करसम्बन्धी विधेयक बिहीवार अनुमोदन गर्ने अपेक्षा गरिएको छ।
जसअनुसार गुगल र फेसबुकजस्ता कम्पनीले फ्रान्सभित्र गर्ने मुनाफामा तीन प्रतिशत कर लगाइनेछ।
अनुसन्धान
त्यो लागु भएमा फ्रान्सले यही वर्ष करिब ४० करोड युरो सङ्कलन गर्ने अपेक्षा गरिएको छ।
पचहत्तर करोड युरोभन्दा बढी कमाउने र त्यसमध्ये साढे दुई करोड युरो फ्रान्सभित्र मुनाफा गर्ने कुनै पनि डिजिटल कम्पनीमाथि नयाँ कर लाग्नेछ।
अमेरिकी व्यापार प्रतिनिधि रोबर्ट लाइटहाइजरद्वारा जारी वक्तव्यमा भनिएको छ, "राष्ट्रपति ट्रम्पद्वारा हामीलाई निर्देशन दिइएको छ कि यो विधेयकबारे हामीले अनुसन्धान गरौँ र यो कुराको निर्धारण गरौँ कि कतै यो विभेदकारी अथवा अन्यायपूर्ण र अमेरिकी व्यापारमाथि बोझ अथवा प्रतिबन्धात्मक छ।"
तस्बिर स्रोत, Getty Images
अनुसन्धानपछि फ्रान्सेली करको बदलामा अमेरिकाले पनि उसमाथि कर लगाउने अथवा नलगाउनेबारे टुङ्गो लाग्नेछ।
पद सम्हालेयता ट्रम्पले कैयौँ मौकामा त्यस्ता करहरू लगाइसकेका छन्।
यसअघि वाशिङटनले गरेका अनुसन्धानपछि युरोपेली सङ्घ र चीनमाथि कर लगाइएको थियो।
प्रभाव
फ्रान्सबाहिर मुख्यालय हुँदैमा कुनै पनि कम्पनी कर तिर्नबाट उम्किन पाउन नहुने फ्रान्सेली सरकारको तर्क छ।
प्यारिसस्थित बीबीसी संवाददाता ह्यु स्कोफिल्डका अनुसार प्रत्यक्ष नदेखिने र आफ्नो भूमिभन्दा बाहिर पनि प्रभाव रहेका डिजिटल अर्थतन्त्रबाट मुलुकहरूले अर्बौँ कर गुमाइरहेको भन्ने बढ्दो जनचासोका बीच पछिल्लो कदम चालिएको हो।
नयाँ कानुन कार्यान्वयनमा आएपछि करिब ३० वटा खासगरी अमेरिकी कम्पनीले कर तिर्नुपर्ने हुन्छ।
चिनियाँ, जर्मन, स्पेनी र ब्रिटिश कम्पनीहरू पनि नयाँ व्यवस्थाबाट प्रभावित हुनेछन्।
ब्रिटेनले पनि सोही प्रकृतिको डिजिटल सेवा करबारे अध्ययन गरिरहेको जनाएको छ।
मुख्य समाचार
अनि यो पनि
धेरै रुचाइएको
सामग्री उपलब्ध छैन