निर्णय प्रधानमन्त्रीको हातमा: फोरम

संघीय समाजवादी फोरम नेपालले सरकारमा आफ्नो सहभागिता हुने वा नहुने प्रधानमन्त्रीमा निर्भर रहेको जनाएको छ।
संविधानले २५ सदस्यीय मन्त्रिपरिषद् बनाउन सकिने सीमा तोकेकोमा प्रधानमन्त्रीले केपी शर्मा ओलीले तेस्रो चोटि मन्त्रिपरिषद् विस्तार गरेर मन्त्रीको सङ्ख्या २२ पुर्याएका छन्।
उनले सहरी विकास र स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय आफूसँगै राख्नुलाई फोरमलाई सरकारमा संलग्न गराउने संकेतको रूपमा हेरिएको छ।
हतार छैन
त्यो सम्भावना प्रधानमन्त्रीको हातमा रहेको बताउँदे फोरम नेपालका अध्यक्ष यादवले भने, "हामीलाई हतार पनि छैन, त्यति खाँचो पनि छैन। अब प्रधानमन्त्रीले जे गर्नुहुन्छ त्यही हुन्छ।"
तर उनका अनुसार सरकारसँग फोरम नेपालको कुराकानी जारी छ र सहभागी हुने सम्भावना अन्त्य भइसकेको छैन।
त्यसको निम्ति आफूहरूले उठाएका राजनीतिक लगायत अन्य मुद्दा सम्बोधन गर्ने कुरामा सहमति हुन बाँकी रहेको अध्यक्ष यादवको भनाइ छ।
























