‘नेपथ्य’मा स्वरसँग सङ्घर्ष गरिरहेका गायक अमृत गुरुङ

तस्बिर स्रोत, NEPALAYA
- Author, विनिता दाहाल
- Role, बीबीसी न्यूज नेपाली
सन् २०१३ मा नेपथ्य ब्यान्ड लन्डनस्थित संसारकै प्रसिद्धमध्ये एक वेम्ब्ली एरिनामा आफ्नो साङ्गीतिक प्रस्तुति दिँदै थियो। साढे १२ हजार क्षमताको हल खचाखच थियो।
नेपालबाट कुनै पनि साङ्गीतिक समूहले वेम्ब्ली एरिनामा प्रस्तुति दिन लागेको त्यो पहिलो पटक थियो। र, निकै उत्साही भिडले ‘लाइभ कन्सर्ट’ सुरु हुनु अगावैदेखि ‘नेपथ्य, नेपथ्य’ भन्दै हुटिङ गरिरहेका थिए।
स्वदेशका मात्रै नभई बीबीसीलगायत अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले वेम्बली एरिनामा नेपथ्यले साङ्गीतिक प्रस्तुति गर्न लागेको विषयबारे समाचार र अन्तर्वार्ता प्रसारण गरिरहेका थिए।
त्यस्तो तयारी र प्रचारप्रसारका माझ कन्सर्ट अगाडिको समयमा मञ्च पछाडि नेपथ्यमा रहेका ‘नेपथ्य’ ब्यान्डका 'लीड भोकलिस्ट' अमृत गुरुङ भने कसो कसो एक किसिमको उकुसमुकुसमा थिए।
“मलाई लागेको थियो सम्भवतः यो मेरो जीवनकै अन्तिम कन्सर्ट हुनेछ," १० वर्षअघिको त्यो क्षण सम्झिँदै अमृत भन्छन्, “म त्यो समयमा धेरै नै पीडामा थिएँ। म दु...खी थिएँ।”
त्यसअघि सन् २००५ मै फ्यारेन्जाइटिस भएर घाँटीमा समस्या देखिए पनि उनले ‘आवाजलाई जोगाएर’ गाउँदै आएका थिए।
सन् २०१३ मा आइपुग्दा फ्यारेन्जाइटिस त निको भयो तर आवाज ननिस्किने समस्या झन् बढ्दै थियो। बेलाबेला गला भासिन्थ्यो, स्वर नै आउँदैन थियो।
एउटा गायकका लागि अब सायद गाउन सक्दिनँ कि भन्ने त्यो अवस्था कस्तो थियो?
अमृत त्यो समय सम्झिँदै भन्छन्, “म बौलाउन मात्रै सकिनँ। एउटा गीत गाउने मान्छेलाई स्वर नहुँदा कस्तो हुन्छ? मनले सक्छ, दिमागले सक्छ तर स्वरले सक्दैन। कति पीडा भयो होला?”
त्यो पनि लोक रक गायकलाई जो धेरैजसो ‘हाइ पिच’मा मग्न मस्त हुँदै पूरै दर्शकलाई मनोरञ्जन दिएर गाउँछन्।
उनी पनि सुरुका दिनमा ‘हाइ पिच’ मा गाउँथे। उनको गायकी परख गर्नेहरू भन्छन्, "उनको गीत गायन पछिल्ला वर्षहरूमा फरक भएको छ।"
त्यो उमेर बढ्दै जाँदा आएको परिवर्तन हो वा कुनै समस्याका कारण हो?
“उमेरबाहेक मेरो बिग्रिएको आवाजका कारण पनि स्वर फेरिएको हो। बिग्रिएको त्यो आवाजलाई म बनाउँदै छु,” उनले भने।
“खाने कुराहरू धेरै थरीमा बन्देज छ। कति चिजहरू मैले खान चाहेर पनि खान सक्दिनँ। कि त मैले गीत गाउनै छोड्नुपर्यो।”
उनको अनुभवमा गीत भनेको आवाजभन्दा पनि भावना गाउने हो।
“तर नबिग्रिएको र बिग्रिएको स्वर त फरक भइहाल्छ नि। म कति एकान्तमा थिएँ, त्यति बेलाको नियति मलाई मात्रै थाहा छ,” वेम्ब्ली एरिनामा प्रस्तुति दिन थाल्नुअघि मञ्चमा रहँदाको समय सम्झिँदै उनले भने, “त्यो बेला सायद अब गाउन सक्दिनँ भन्ने मनस्थितिमा म पुगिसकेको थिएँ।”
'वान्स मोर, वान्स मोर'

तस्बिर स्रोत, NEPATHYA/FACEBOOK
तर जसै उनी मञ्चमा उभिए। त्यहाँको भीड देखेर उनमा अर्कै स्फूर्ति आयो। उनैले भने जस्तो उनले ‘भावना’ गाए।
विश्व प्रसिद्ध वेम्बली एरिनामा नेपाली दर्शकको भीड देखेपछि अमृतले अन्य कन्सर्टमा जस्तै आफ्नो मौलिक शैलीमा “नमस्ते छ है…” भनेर गीतसँगै उफ्री उफ्री नाचे। दर्शकलाई पनि नचाए।
उनीभित्र कस्तो मनस्थिति छ दर्शकले उनको प्रस्तुतिमा कुनै छनकसमेत पाएनन्। त्यसैले त दर्शक दीर्घाबाट कन्सर्टको समय सकिइसक्दा पनि ‘वान्स मोर, वान्स मोर’ भन्ने हुटिङ चलिरह्यो।
वर्षौँदेखि घाँटीको समस्या रहिरहे पनि देशभित्र र बाहिर रहेका उनका लाखौँ लाख दर्शक स्रोताले उनका नयाँ गीतको स्वाद पनि पाइरहेका छन्। अमृत गुरुङको मोहक प्रस्तुतिमा झुम्न पाएका छन्।
अमृत गायकका रूपमा मात्रै चर्चित छैनन्।
लामो कपाल टपक्क बाँधेर वा बाटेर मञ्चमा प्रस्तुत हुने अमृत सङ्गीत सुरु भएसँगै कन्सर्ट अवधिभर दर्शकसँग जोडिन्छन्।
त्यो जोडिने केवल गाएर मात्रै होइन, जुन अभियान बोकेर कन्सर्ट गरिएको हो त्यसबारे सन्देश पनि बेलाबेला दिइरहन्छन्।
र, सबैभन्दा बेजोड त पूरै वातावरण तताइरहेको रक सङ्गीतमा आफैँ मग्न मस्त भएर नाच्छन्।
उनको कन्सर्ट हेर्न पुगेका जो कसैले बुझ्न सक्छन् अमृत गीतसँगै नाँचेर कसरी दर्शकलाई मनोरञ्जन पनि दिन्छन्।
“नाच्न पनि यस्तरी नाच्छन्, दुई घण्टाको कन्सर्ट सकिँदा उनी पसिनाले निथ्रुक्कै भइसकेका हुन्छन्,” दुई दशकभन्दा बढी सङ्गत गरिसकेका अमृतका साथी तथा नेपथ्यको व्यवस्थापन गर्ने संस्था नेपालयका किरणकृष्ण श्रेष्ठ भन्छन्।
वेम्ब्लीमा पनि स्वरमा समस्याका बावजुद अमृतले त्यसै गरी गाए, नाचे अनि दर्शकलाई मनोरञ्जन दिए।

तस्बिर स्रोत, NEPALAYA
मञ्चमा पुग्दा गायकले के महसुस गर्छ?
तर वेम्ब्लीमा “वान्स मोर वान्स मोर” भन्ने दर्शकको मागलाई भने स्वरकै कारण उनले पूरा गर्न सकेनन्।
कार्यक्रमपछि उनको सुकेको स्वरको व्यथा सुनेर डच नागरिक विल्कोले अमृतको घाँटीको समस्याबारे अध्ययन गर्ने बताए।
कुनै बेला त्रिभुवन विश्वविद्यालयमा पढाउने विल्को अमृतका साथी र प्रशंसक दुवै हुन्।
उनले गरेको अध्ययनपछि अमृतलाई पेय पदार्थ त्याग्न सल्लाह दिइयो। त्यही बेलादेखि आफूले कडा मदिरा पिउन बन्द गरेको अमृत बताउँछन्।
त्यसबाहेक खानाका तारेका परिकार र मांसाहारी खानपिन पनि उनले त्यागे।
“त्यो नियम पालना गरेपछि र गुरु धनराज गोपालीसँग नियमित सङ्गीत अभ्यास गर्न थालेपछि मेरो स्वर बिस्तारै खुल्दै आयो,” उनी भन्छन्।
उनको स्वर बिग्रिएको र पछिल्ला वर्षमा सुध्रिँदै आएको उनका धेरै प्रशंसकले पत्तै पाएका छैनन्, त्यसमा अमृतको निरन्तरको साधना र अनुशासनको ठूलो भूमिका रहेको मानिन्छ।
अमृत आफूलाई अन्तर्मुखी स्वभावको मानिस भएको र परेदेखि हप्तौँसम्म एकान्तवासमा आफू बस्नसक्ने बताउँछन्।
तर जब उनी मञ्चमा उभिएर दर्शकसँग जोडिन्छन् उनको त्यो स्वभाव कता हराउँछ?
वेम्ब्ली एरिनाको कन्सर्टपछि दिशानिर्देश कार्यक्रममा पत्रकार विजयकुमार पाण्डेले सोधेको यो प्रश्नमा अमृत भन्छन्, “जब इलेक्ट्रिफाइङ साउन्ड झ्याम्म बज्छ त्यसपछि एक किसिमको जादु हुन्छ र शरीरमा जब त्यो चीज आउँछ त्यसले गीत गाउन मजा आउँछ। अनि त अन्तर्मुखी स्वभाव कहाँ हराउँछ हराउँछ।”
गाउने मानिसले मजा महसुस गरेपछि बल्ल दर्शक रमाउने उनी बताउँछन्।
अन्तर्वार्ता दिँदा प्राय शान्त स्वरमा जबाफ दिने अमृत यस्तो बेला भने मञ्चमा उनी कति रमाउँछन् भन्ने कुरा उस्तै मज्जाको भावभङ्गीमा सुनाउँछन्।

तस्बिर स्रोत, NEPATHYA/FACEBOOK
नेपथ्य ब्यान्ड नेपाली सङ्गीत क्षेत्रमा एउटा त्यस्तो नाम हो जो करिब ३ दशक यता निरन्तर चर्चामा छ।
एल्बम वा गीत निकालेर मात्रै नभई कहिले व्यावसायिक कन्सर्ट गरेर त कहिले सामाजिक अभियानसँग जोडिएर।
सन् १९९३ देखि सन् २०१० सम्म ९ वटा एल्बम निकालेको नेपथ्यले आफ्नो पछिल्लो एल्बम ऐना झ्यालपछि भने एल्बमलाई भन्दा एकल गीतलाई महत्त्व दिँदै आएको छ।
एक सय रुपैयाँ लिएर काठमाण्डू

तस्बिर स्रोत, NEPATHYA/FACEBOOK
देशमा राजनीतिक व्यवस्था परिवर्तन हुन थालेको २०४६ सालको समयमा अमृत आफ्ना दुई साथी दीपकजङ्ग राणा र भीम पुनसँग मिलेर रहरै रहरमा गीत गाउने लहडमा थिए।
रुचि अनुसार बुवाले गीत गाउन नदिने र बुवाको इच्छामा डोरिन नचाहने अमृतबीच पोखरास्थित घरमा दूरी बढ्न थाल्यो।
उनले आफ्ना स्कुले साथी दीपकजङ्ग राणालाई आफूभित्रको उकुसमुकुस सुनाए। त्यति बेला कुपण्डोल बस्ने दीपकले अमृतलाई ढाडस दिँदै भने, ‘काठमाण्डू गएर सँगै बसौँ, जे सकिन्छ त्यही गरौँला।”
बाबुछोराबीच एक अर्काप्रति माया र सम्मान हुँदाहुँदै पनि त्यो दूरी सकसपूर्ण बन्दै गएपछि अमृत आमा र साना भाइबहिनीलाई पोखरामै छोडेर काठमाण्डू आउने निधोमा आफू पुगेको बताउँछन्।
अमृत त्यति बेला घर छोडेर हिँड्दा आफ्ना बच्चै बेलादेखिका मिल्ने साथीहरूले एक सय रुपैयाँका लागि पनि नपत्याएको सम्झिन्छन्।
अन्ततः आमाको मनभरिको माया, आशीर्वाद र हातमा राखिदिएको एक सय रुपैयाँ लिएर दीपकसँगै डेरामा बस्न अमृत काठमाण्डू आए।
अमृत सम्झन्छन्, “बुवाले त तँ काठमाण्डू गएर तीन दिन पनि टिक्न सक्दैनस् भन्नुभएको थियो। म काठमाण्डू आएपछि तीन वर्ष पोखरा फर्केरै गइनँ।”
एल्बमको कभर कमलादी गणेशस्थानलाई देखाएर सार्वजनिक
उनका भनाइमा उनले जीवनमा थुप्रै पाठहरू तीन वर्षे काठमाण्डू बसाइमा सिके। दीपकले दिएको वचन अनुसार नै उनीहरू कुपण्डोलस्थित एउटै डेरामा बसे।
अमृत आफूलाई भाग्यमानी ठान्छन् किनभने उनले दीपकजङ्ग राणाजस्तो साथी पाए।
अहिले हेलिकोप्टर पाइलट रहेका राणाले नै ब्यान्डको नाम ‘नेपथ्य’ जुराइदिए। जसको अर्थ हुन्छ - “मञ्चमा पर्दापछाडिको छुट्टै ठाउँ।”
कालान्तरमा दीपक नेपथ्यको अर्थजस्तै पर्दापछाडि छन् जो आफू ब्यान्डमा छैनन्, मञ्चमा देखिँदैनन् तर अमृतलाई आवश्यकता पर्दा आड भरोसा दिइरहन्छन्।
सङ्गीत सुरु गरेको दशकमा जब जब अमृत ब्यान्डमा आएको विभाजनको असहज परिस्थितिका कारण सङ्गीतको ट्र्याकबाट विचलित भए, तब तब दीपकजङ्गले अमृतलाई त्यही ट्र्याकमा पुन: हालिदिए।
आवश्यकता अनुसार ढाड थपथपाउने मात्रै गरेनन्, आर्थिक गर्जो पनि निरन्तर टारिदिए।
“म निकै भाग्यमानी हुँ मैले दीपकजस्तो साथी पाएँ,” अमृत लामो सास फेरेर भन्छन्, “उ नहुँदो हो त सायद म सङ्गीतमा रहिरहन सक्दिनथेँ।”
दीपक आफैँ भने केही वर्षको सङ्गीत साधनापछि ब्यान्ड छोडेर पाइलट पढ्न गए।
ब्यान्ड स्थापनाकालकै सदस्य भीम पुन पनि पहिलो एल्बम रिलिज हुनुअगाडि जर्मनी गए।
पछि फर्किएर फेरि ब्यान्डमै जोडिए। तर त्यो लामो समय टिकेन।
ब्यान्ड हङकङमा प्रस्तुति दिन गएका बेला उनी उतै बसे। ब्यान्डका त्यतिबेलाका अन्य सदस्य पनि कोही हङकङमा छन् त कोही ब्रिटेनमा।
आफू संस्थापक सदस्य रहेको नेपथ्य ब्यान्ड तीन दशकपछि पनि निरन्तर सक्रिय भइरहेको देख्दा भीम आफूलाई निकै गर्व महसुस हुने र त्यसको श्रेय अमृतलाई नै जाने बताउँछन्।
हङकङमा पत्रकार डम्बरकृष्ण श्रेष्ठलाई दिएको एउटा अन्तर्वार्तामा उनले भनेका छन्, “अहिलेसम्म नेपथ्य ब्यान्डको संस्थापक सदस्यका रूपमा हामीले जुन इज्जत पाएका छौँ त्यसको श्रेय अमृतलाई जान्छ। अमृतले नेपथ्यलाई नजोगाएको भए ब्यान्ड नै रहँदैन थियो।”
त्यति बेला ब्यान्डमा रहेका अमृत, दीपकजङ्ग, सुरेश पुन, बुद्धि गुरुङ र नेपथ्यका पुराना भोकलिष्ट रबीन श्रेष्ठ मिलेर सन् १९९२ मा पहिलो एल्बम 'नेपथ्य' तयार पारे।
गीत रेकर्ड गर्ने तयारी गर्दा ब्यान्डका सदस्यहरूले पाँच–पाँच हजार रुपैयाँ उठाएका थिए।
ब्यान्डका साथीहरूसँग पैसा नभएपछि उनीहरूले हङकङ जान ठिक्क परेको एक जना साथीसँग १८ हजार रुपैयाँ लिएर तीन सय वटा क्यासेट निकालेका थिए।
क्यासेट निकालेपछि एल्बम सार्वजनिक गर्नुपर्यो। उनीहरूले कमलादी गणेशस्थानलाई क्यासेटको खेल देखाएर पहिलो एल्बम सार्वजनिक गरे।
बिस्तारै एल्बमले चर्चा पायो। थप पाँच सय अनि फेरि हजार वटा क्यासेट निस्कियो। त्यसरी कमाइ हुँदै गएपछि बल्ल क्यासेट निकाल्न पैसा हालिदिने साथी हङकङ उड्न पाए।
एकपछि अर्को गीतको चर्चा

तस्बिर स्रोत, NEPATHYA/FACEBOOK
अनि त्यसपछिको एल्बमले जन्मायो नेपथ्यको असाध्यै लोकप्रिय मध्येको एउटा गीत-
‘छेक्यो, छेक्यो देउराली डाँडा हुस्सु र कुहिरोले
छोडेन कहिल्यै जहाँ गए पनि मायाको धुइरोले
पोखराकै शुक गुरुङले दिएको यो गीत पहिलो एल्बम निकाल्नुअघि नै आइपुगे पनि त्यसमा कम्पोजिसन मिलाउन समय लाग्दा सन् १९९५ मा सार्वजनिक भएको दोस्रो एल्बम ‘हिमाल चुचुरे’ मा समावेश भयो। त्यसपछि लगत्तै अर्को वर्ष
जोमसोमे बजारमा १२ बजे हावा सररर…
ए हजुर घर हाम्रो पोखरा…
भन्ने सर्वाधिक रुचाइएको गीत तेस्रो एल्बम ‘मीनपचास’मा समावेश भयो। त्यही एल्बममा
चरी मर्यो सिसैको गोलीले
माया बस्यो त्यो मिठो बोलीले…
पनि समेटियो।
त्यसयता सन् १९९९ मा ‘शृङ्गार’, २००१ मा ‘रेसम’, २००३ मा ‘भेडाको ऊनजस्तो’, २००५ मा ‘घटना’, २००९ मा ‘मेरो देश’ र सन् २०१० मा ‘ऐना झ्याल’ सार्वजनिक भएका छन्।
…
यति एल्बमहरू सार्वजनिक हुँदासम्म ब्यान्डमा थुप्रै उतारचढाव आए। तीनपटक सम्म ब्यान्डमा विभाजन देखापर्यो।
सुरुका वर्षहरूमा अमृतका मिल्ने साथी दीपकजङ्ग र भीम पुन नै ब्यान्डबाट अलग्गिए।
अहिले पनि उनीहरू मिल्ने साथी छन्। तर ब्यान्डमा छैनन्। आफूलाई असाध्यै नरमाइलो लाग्ने समय सम्झिनुपर्दा अहिले पनि अमृत ब्यान्डबाट छुटेका अन्य साथीहरू सम्झिन्छन्।
अहिले पनि तँ तँ र म म गर्ने दीपकजङ्ग जब पाइलट पढ्नका लागि विदेश उडे त्यो रात अमृत सुत्नै सकेनन्।
आफूलाई साथी मात्रै नभई अभिभावकले जस्तो सल्लाह पनि दिएका साथी आफूबाट टाढा गएपछि उर्लिएको भावना उनले त्यसै रात शब्दमा उतारे-
‘अभाव अभावै भयो, तिमीबिना यो जीवन
मनको व्यथा कसलाई पोखूँ
कहाँ जाऊँ कसलाई सुनाऊँ
मेरो यो कहानी... मेरो यो कहानी’
‘मिरमिरेमै ब्युँझिएछु, तिम्रो नाम लिएर...’
सन् १९९० को दशकमा सुरु भएको ब्यान्ड दशकको उत्तरार्द्धमा पुग्दा भने अमृत आफैँ अब गीत छोडेर गरिखानको लागि अरू केही पेसा अपनाउने सोचमा पुगे।
तर उनै दीपक थिए जसले अमृतलाई पोखराबाट फेरि काठमाण्डू ताने र सङ्गीतको लीगमा छिराइदिए।
त्यसपछि जन्मिएको अर्को सर्वाधिक चर्चित गीत हो ‘रेशम’।
जोमसोममा पढाउने शिक्षक दुर्गाबहादुर थापाको शब्द रहेको उक्त गीतमा अमृतले स्वर भरे र त्यसमा गितारवादक नरेशले गीत परिमार्जन गर्न मद्दत गरे।
म्युजिक भिडिओसमेत खुब रुचाइएको त्यो गीत युवापुस्तामाझ अत्यन्तै लोकप्रिय बन्यो।
त्यसपछि पनि सन् २००८ सम्म ब्यान्डमा नयाँ सदस्य आउने र जाने क्रम चलिरह्यो।
सन् २००८ यता भने ब्यान्ड कसैले पनि नछोडेको नेपथ्यको व्यवस्थापन गरिरहेको संस्था नेपालयले जनाएको छ।
रेशम गीतको सफलतासँगै नेपालयले 'नेपथ्य' ब्यान्डको व्यवस्थापन हेर्न थाल्यो।
साङ्गितिक यात्रा

तस्बिर स्रोत, Nepathya Facebook
नेपालयले ब्यान्डको व्यवस्थापन गरिदिन थालेपछि निकै सजिलो भएको गायक अमृत सुनाउँछन्। त्यसपछि नै नेपथ्यले सामाजिक कन्सर्टहरू गर्न थाल्यो।
देशमा द्वन्द्व चरम अवस्थामा पुगेका बेला सन् २००२ मा नेपथ्यले शान्तिका लागि शिक्षा टुर देशका विभिन्न सहरमा गर्यो। त्यसपछि सन् २००३ मा ‘सुन्दर शान्त नेपाल’, फेरि सन् २००४ मा ‘शान्तिका लागि शिक्षा’, सन् २००५ मा ‘सुन्दर शान्त नेपाल’, २००६ मा ‘नेपथ्य फर अल’, २००७, २०१२ र २०१३ मा ‘शान्तिका लागि शिक्षा’ कन्सर्ट गर्यो।
अहिले भने गत वर्षदेखि नेपथ्यले ‘मानवताका लागि सङ्गीत’ अभियान गरेर देशका विभिन्न १० भागमा पुग्यो।
नेपथ्यले देशबाहिर पनि सन् २००२ देखि नै कन्सर्ट गर्न थाल्यो।
अहिलेसम्म विदेशका करिब ६५ ठाउँमा र देशभित्रका ५० विभिन्न ठाउँहरूमा प्रस्तुति दिएको नेपथ्यले साङ्गीतिक कन्सर्टमार्फत सामाजिक कामका लागि करिब अढाई करोड नेपाली रुपैयाँ उठाइसकेको छ।
कन्सर्टलाई आफ्नो रोजीरोटी मात्रै नबनाई सामाजिक काममा समेत निरन्तर सक्रिय राख्दै आएको नेपथ्य ब्यान्डले पछिल्लो समय दसैँ अगाडि क्यानडामा कन्सर्ट गरेर फर्किएको छ।
संसारका उत्कृष्ट हलहरूमा समेत साङ्गीतिक प्रस्तुति दिइसकेका गुरुङलाई अब कुन मञ्चमा पुगेर प्रस्तुति दिन मन छ?
अमृतका भनाइमा त्यसरी खोज्ने हो भने संसारमा अझ धेरै ठाउँहरू छन्।
“मलाई त नेपालकै कुनै ठाउँमा ४०/५० हजार दर्शक जुटाएर भव्य कन्सर्ट गर्न र त्यसबाट उठेको रकम कुनै सामाजिक काममा लगाउन मन छ। त्यसले मलाई आत्मसन्तुष्टि दिन्छ।”
दर्शक/श्रोतासँगको अविष्मरणीय क्षण

तस्बिर स्रोत, AMRIT GURUNG/FACEBOOK
नेपथ्यको कन्सर्टका बेला चाहे स्वदेश होस् वा विदेश मानिसहरूको ठूलो भिड ब्यान्डका सदस्यहरूसँगै गाउने र नाच्ने पनि गर्छन्। केही दृश्यले ब्यान्डका सदस्य र आयोजकलाई नै चकित पार्छ।
सन् २००६ मा नेपथ्यले बाल मन्दिर, माइती नेपाल, युसेप, सीपीसीएस जस्ता असहाय, द्वन्द्वपीडित बालबालिकालाई आश्रय दिने विभिन्न सामाजिक सङ्घसंस्थामा ‘नेपथ्य फर अल’ भन्ने कन्सर्ट गर्यो।
एउटा कन्सर्टमा श्रवण शक्ति नभएका र दृष्टिविहीन बालबालिकाहरू सहभागी थिए।
ब्यान्डका सदस्यहरूलाई एउटा दृश्यले चकित पार्यो।
आँखा नदेख्ने बालबालिकाहरू गीत सुनेर आफू पनि गाइरहेका थिए भने कान नसुन्नेहरू मञ्चमा ब्यान्ड रमाएर गाउने नाच्ने गरेको देखेर गीत सकिएको धेरै बेर पछिसम्म पनि नाचिरहे।
जब ब्यान्डका सदस्यहरूलाई त्यो दृश्य देखेर रमाइलो लाग्यो अनि उनीहरूले ताली बजाए तब पो सुन्न नसक्ने ती बालबालिका रोकिए।
त्यस्तै इलामको फिक्कलमा कन्सर्ट भइरहेको बेला दर्शकदीर्घामा बसिरहेकी एक आमाले आफूलाई थाम्नै नसकेर काखमा बोकेको बच्चा पनि हातमा उचाल्दै नाचेको दृश्य ब्यान्डका लागि असाध्यै घतलाग्दो थियो।
त्यो दृश्य देखेर तिनै आमाले नाजेकै शैलीमा अमृत पनि स्टेजमा नाचे।
अमृत गीत सुनाउने मात्रै होइन कन्सर्टलाई यस्तै भाव भङ्गिमा र नाचेर दर्शकलाई आफूसँग साङ्गीतिक अन्तर्क्रिया गराउँछन्।
मञ्चमा प्रस्तुत हुँदा सधैँ सुखद मात्रै भइदिँदैन सम्झना।
अमेरिकाको न्यूयोर्कमा भएको एउटा कन्सर्टमा एक जना प्रशंसक अक्सिजनको सिलिन्डरसहित गीत सुन्न ह्विलचियरमा बसेकी थिइन्।
गीत गाइरहँदा त्यो दृश्यले अमृतलाई हर्षित र भावुक दुवै बनायो। पछि स्टेजबाट बाहिर आइसकेपछि उनले ती प्रशंसक प्रशा तुलाधरलाई भेटे।
उनी तन्तु, फोक्सो र मुटुमा असर गर्ने निकै जटिल खालको बिमारीबाट ग्रसित थिइन्।
तैपनि नेपथ्यको ठूलो फ्यान रहेकी उनी आफ्ना सबै पीडालाई बिर्सिएर सङ्गीतमा रमाइन्। बेलाबेला ह्विलचियरबाट उठेर नाचिन् पनि।
प्रशाको स्वास्थ्य अवस्थाबारे नेपथ्य निरन्तर सम्पर्कमा थियो। अर्कोपटकको अमेरिका भ्रमणमा प्रशासँग नेपथ्यको फेरि भेट भयो। त्यसबीच उनको फोक्सोको प्रत्यारोपण भयो तर लामो समय टिक्न सकेन।
उनको सास गुम्यो। प्रशा त्यही रोगका कारण यो संसारमा नरहेको थाहा पाएपछि अमृतले सामाजिक सञ्जालमा एउटा स्ट्याटस लेखे- “भेट्नु मिठो जोग थियो, सधैँ मायालु सम्झना भएर रहनेछौ प्रशा बहिनी।”
लोकगीत खोज्दै गाउँघर

तस्बिर स्रोत, AMRIT GURUNG/FACEBOOK
अमृत जति सङ्गीतका पारखी हुन् त्यति नै हिँडाइको परख पनि गर्छन्।
उनकै भनाइमा जब उनी पहाड उक्लिन्छन् र हिमाल देख्छन् वा खोलाको किनारमा पुग्छन् वा तराईका बाटा नाप्छन् र यात्रामा भेटिएका गाउँलेहरूका कुरा सुन्छन्, त्यो बेला उनलाई सबैभन्दा धेरै खुसी मिल्छ।
हुन पनि उनी यसै गरी देशका कुनाकाप्चा पुग्दा नसुनिएका गीत र त्यहाँका भाका रेकर्ड गरेर ल्याउँछन्।
ती गीतलाई ब्यान्डका अन्य साथीसँग बसेर सल्लाह गरी कहिले शब्द र कहिले शैलीमै परिवर्तन गरेर तयार पार्छन्।
उनले यसै गरी परिमार्जन गरेका ‘सा कर्णाली’ होस् वा ‘भेडाको ऊनजस्तो’ लगायत थुप्रै गीत उनका सर्वाधिक रुचाइएका गीत हुन्।
२०६९ सालमा पत्रकार गिरीश गिरीसँग काठमाण्डूबाट पैदलै सङ्खुवासभा जाँदा अमृतले डिल्ले दमाईँबाट हाक्पारे शैलीको गीत सुन्न पाए। त्यो भाका रेकर्ड गरेर ल्याए अनि परिमार्जन गरे। त्यो गीत थियो,
‘कोसीको पानी यो जिन्दगानी, सललल बगिजाने हाउ हजुर
आमाको कोखमा बास मात्र लिएँ, कुन देशको मरन हाउ हजुर’
सङ्गीतमा लाग्नुअघि उनी चित्रकला गर्थे। उनले रोजीरोटीका लागि कुनै बेला कुपण्डोलस्थित मिला आर्ट ग्यालरीमा बालबालिकालाई चित्रकला सिकाउँथे।
आफ्नो पहिलो कमाइको आधा पैसा खर्चेर गाउँमा रहेकी बहिनीलाई उनले नयाँ लुगा किनिदिए।

तस्बिर स्रोत, AMRIT GURUNG/FACEBOOK
सामाजिक सञ्जालका तस्बिरहरू हेर्ने हो भने उनको सोख हिमाल, खोलानाला, बन जङ्गल, बालबालिका, फूलहरूमा रहेको देख्न सकिन्छ।
विगत १३ वर्षदेखि गाउँकै घर/गोठमा बस्न थालेका अमृत देश वा विदेशमा हुने कन्सर्ट सकिने बित्तिकै कि यही गोठमा भेटिन्छन् वा कुनै गाउँघरमा डुलिहिँड्छन्।
“त्यसै गरी हिँड्दा नै लोकगीत र लोकभाका भेटिन्छ,” उनी भन्छन्।
“म गीत खोज्नका लागि हिँड्ने होइन। गाउँ डुल्दै जाँदा गीत भेटिने हो।”

तस्बिर स्रोत, PHOTO COURTESY: GIRISH GIRI
पछिल्ला वर्षहरूमा उनी गाउँ डुल्दा उनीसँगै पत्रकार गिरीश गिरी पनि सँगै देखिन्छन् जसले 'नेपथ्य' ब्यान्डको पुस्तकमा काम गरिरहेका छन्।
त्यसरी गाउँबाट ल्याएका गीतका भाकामा सोचेजस्तो सङ्गीत संयोजन र लय मिलेन भने गीत त्यतिकै थन्किएका पनि छन्।
नेपालयका उनका सहकर्मी मित्र किरणकृष्ण श्रेष्ठ भन्छन्, “अमृतलाई चित्त बुझेन भने उनी त्यसलाई बाहिर ल्याउन मान्दैनन्।”
अमृत 'गुड पर्फर्मर' हुन्

तस्बिर स्रोत, DEEP SHRESTHA/FACEBOOK
अमृतले गाउँघरबाट पुराना भाका ल्याएर आफ्नो शैलीमा ढालेर गीत गाउँदा नयाँ पुस्ताले ती गीत सुन्न पाएका छन्।
तर उनको त्यो शैली कतिपय सङ्गीतका जानकार र अनुरागीहरूले चित्त बुझाउँदैनन्।
‘म त दूरदेखि आएँ…,’ ‘कति कमजोर रहेछ भाग्य…’ जस्ता लोकप्रिय गीतका गायक दीप श्रेष्ठ अमृतले गाउँ गाउँ पुगेर भाका ल्याएको र नयाँ पुस्तामाझ पुर्याएर जीवित राखिदिएको कामको सराहना गर्छन्।
उनी भन्छन्, “लोप हुन लागेका विभिन्न जातजातिका गीतहरूलाई ठाउँ ठाउँबाट ल्याएर प्रस्तुत गरिदिनु राम्रो कुरा हो।”
“तर गीतको शब्द वा शैली वा दुवैलाई तोडमोड गरिदिनु ठिक होइन।”
नेपथ्यले कर्णाली भेगको चर्चित गीत ‘सा कर्णाली’मा गाएको छ।
‘झल्काइदेऊ झल्काइदेऊ
गलैको कम्पनी माला झल्काइदेऊ’
जबकि लोकबाट लोकरक बन्न पुगेको उक्त गीतमा प्रयोग भएको मौलिक शब्द भने झल्काइदेऊको ठाउँमा झम्काइदेऊ थियो।
नेपथ्यले गीतमा ‘झम्काइदेऊ’ को ठाउँमा ‘झम्काइदेऊ’ नै राख्नुपर्ने दीप ठान्छन्।
“मैले सुनेको झम्काइदेऊ हो तर उहाँले झल्काइदेऊ गाउनु भयो। शब्दको लेखाइ वा पङ्क्तिले अर्को अर्थ लाग्न सक्छ। स्रष्टाले गरेको जे कुरा हो त्यसैलाई जस्ताको तस्तै प्रस्तुत गर्नु चाहिँ राम्रो हो। तर अर्को अर्थ लाग्ने शब्द नै परिवर्तन गर्नुचाहिँ राम्रो होइन,” दीप भन्छन्।
“लोक गीतमा लोक सङ्गीत नभएर आधुनिक सङ्गीतको सम्मिश्रण भइसकेको हुन्छ। यस्तो कुरा लोकगीत सङ्कलकहरूले सोचिदिए हुन्थ्यो भन्ने लाग्छ।”
नेपथ्यका अमृतलाई दीप उनकै शब्दमा ‘बेस्ट सिङ्गर नभई गुड पर्फर्मर’ भन्न रुचाउँछन्।
“उहाँको गायकीको जुन ढङ्ग छ त्यो हिसाबले उहाँ गायकभन्दा पनि राम्रो पर्फर्मर हो जसले स्टेजमा गाएर रमाइलो गर्न सक्छन् भन्ने लाग्छ मलाई,” उनले भने।
खासगरी लोकगीतलाई नेपथ्यले सुरुमा पप शैलीमा र पछि रक शैलीमा ढालेर गाएको युवाहरूले धेरै मन पराउने गरेका छन्।
द्वन्द्वले दुखाएको घाउ
लोकगीतबाहेक नेपथ्यले युद्धको समयको पीडा र वेदनालाई पनि गीतमा समेट्ने गरेको छ।
त्यस्तै चर्चित एउटा गीत हो ‘घटना’ जुन २०६१ सालको वैशाख २७ गते दोलखाको सुन्दर पहाडी बाटोमा पर्ने मैनापोखरीमा घटेको घटनामा आधारित छ।
जिरीबाट काठमाडौँ आउँदै गरेको यात्रुवाहक बस एक्कासि तत्कालीन राज्य पक्ष र विद्रोही पक्षको दोहोरो गोलीवारिको सिकार बन्न पुगे। उक्त घटनामा दुवै पक्षसहित सर्वसाधारण गरेर कम्तीमा १४ जनाको ज्यान गएको थियो।
घटना पछि बाँचेकी एउटी बज्यै र २० दिनकी नातिनीको तस्बिर पत्रिकामा छापिएपछि त्यो समाचार पढेर धेरैको धैर्यको बाँध भत्कियो।
नारायणगढमा उक्त समाचार पढेका अमृत कन्सर्ट सकिए लगत्तै साथी किरणकृष्ण श्रेष्ठसँग मैना पोखरी पुगे।
घटनाको विवरण वरपरका प्रत्यक्षदर्शीले बताउन नचाहे पनि उनले बालबालिकाबाट सुने। उक्त घटनापछि आफूभित्रको उकुसमुकुस पीडालाई गाइनेहरूको भाकामा गाएर उनले ‘घटना’ गीत तयार पारे।
२४ मिनेट लामो उक्त गीतमा प्रतिक्रिया जनाउनेहरूले आफूले आँसु थाम्नै नसकेको बताएका छन्।
अमृत आफैँलाई त्यो घटनाबारे सोध्दा भन्छन्, “मलाई त्यो घटना सम्झिएपछि पीडा हुन्छ। मलाई सम्झिनै मन लाग्दैन।”
छोरीलाई लोरी सुनाउँदै रचिएको गीत
गीत लेख्ने मानिसलाई कतिबेला कुन भावनाले छुन्छ र शब्दहरू फुर्न थाल्छ पत्तै हुँदैन।
कुनै बेला साथी दीपकजङ्गसँग टाढिँदा गीत रचना गरेका अमृतले यसपटक भने छोरी निस्सीमलाई लोरी सुनाउँदै सुताउँदा यो गीत फुराए-
हो हो बाबा हो हो
नुनु गर मेरो बाबा, राम्रा मिठा सपना देखेर...
श्रीमती निर्मला गुरुङ जागिरका कारण व्यस्त भएका बेला अमृत छोरीलाई सुताउँथे। त्यही बेला उनले यो गीत रचना गरे। छोरी अहिले अध्ययनका लागि देशबाहिर बस्छिन्।
तर नेपाल आएका बेला अहिले पनि उनी बाबालाई यो गीत सुनाउन भन्छिन्।
“छोरीको जिद्दीका अगाडि बाउको के चल्छ? उसले भनेपछि म गाइदिन्छु,” अमृत भन्छन्।
उति बेला आफ्ना बुवासँग सुमधुर सम्बन्ध राख्न नसके पनि अहिले अमृत बुवा नहुँदा बुवाको साथ खड्किने बताउँछन्।
“मैले कसैलाई भन्न नसकेका कतिपय व्यवहारिक कुरा सायद बुवालाई भन्न सक्थेँ,” उनी भन्छन्।
आफ्ना पितासँग त्यो पछुतो रहे पनि पुत्रीसँग भने साथीजस्तै सम्बन्ध छ अमृतको।
अमृतको कृषक अवतार
कहिले फोटोग्राफर, कहिले चित्रकार, कहिले वृत्तचित्रकार समेत रहेका अमृत आफ्नो विम्ब बदलिरहन्छन्। अमृतको पछिल्लो अवतार किसानका रूपमा देख्न पाइन्छ।
काठमाण्डू आउँदा हातमा सय रुपैयाँ हालिदिने आमाले अमृतलाई १३ वर्षअघि जुन वचन दिइन् त्यसले अमृतलाई गाउँमै खेती गर्नुपर्छ भन्नेमा दृढ बनायो।
“तँलाई यहीँ खेती गरेर पढाएको हो। तैँले यो माटो खोस्रेर खेती गर्नुपर्छ,” आमाले भनेको यही कुरालाई अमृतले आत्मसात् गरे।
कन्सर्ट नभएको वा रिहर्सल गर्नु नपर्ने बेला ५६ वर्षीय अमृत पोखराको मुलपानीस्थित गाउँमा पुग्छन्। बाउ बाजेले जोडेको खेतमा अन्न उमार्छन्।
खेती गर्न सजिलो छैन। तर उनी आमाको बचन पूरा गर्नुपर्छ भन्ने ठान्छन्।

तस्बिर स्रोत, AMRIT GURUNG/FACEBOOK
उनी असाध्यै खुसी हुने आफ्नो गोठमा बसेर उनी कि खेती गर्छन् कि रियाज गर्छन्।
रियाज उनका लागि ध्यान जस्तै हो। जीवनको यो कालखण्डमा उनले थालेको नयाँ अभ्यास आफ्नो मन दुखाएकालाई क्षमा दिनु हो।
“मैले गरेको गल्तीका लागि माफी दिने नदिने अर्को मानिसको कुरा हो तर उनीहरूले गरेका गल्ती भने म माफी दिने अभ्यास गर्छु,” आध्यात्मिक चिन्तनमा रमाउने उनले भने।
आफ्नै विम्ब बदलिरहने अमृत अबका वर्षहरूमा के बन्लान्?
एउटा टेलिभिजन अन्तर्वार्तामा उनले भनेका छन्, “भौतिक तवरले भन्ने हो भने म व्यवस्थित भएर बसिरहेको हुन सक्छु। तर आध्यात्मिक तवरले भन्दा एकान्तवासमा हुन सक्छु। यदि म स्वस्थ भइरहेँ भने जङ्गलकै बीचमा हुन्छु होला।”

तस्बिर स्रोत, AMRIT GURUNG/FACEBOOK
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।




























