बिहान तातो पानी पिउनु स्वास्थ्यका लागि कति राम्रो हो?

तातो पानी कपमा खन्याउँदै गरेकी एक महिला

तस्बिर स्रोत, Getty Images

तस्बिरको क्याप्शन, बिहान मनतातो पानी पिउने बानी एक शताब्दी पुरानो हो, जुन अहिले भाइरल भएको छ
    • Author, केट बोई
    • Role, ग्लोबल हेल्थ, बीबीसी वर्ल्ड सर्भिस
  • पढ्ने समय: ६ मिनेट

"यो सामाजिक सञ्जालमा देखियो र म लगातार एउटा भिडिओपछि अर्को भिडिओ हेर्दै गएँ... मैले सोचेँ, किन एक पटक प्रयास नगर्ने," २१ वर्षीया मरियम खान भन्छिन्।

यो कुनै कडा व्यायाम तालिका अपनाउने वा महँगो स्किनकेअर सामग्री किन्ने कुरा होइन। उनले र अरू धेरैले अपनाइरहेको यो 'ट्रेन्ड' भनेको साधारण छ - बिहान तातो पानी पिउनु।

तातो वा मनतातो पानी पिउनुका स्वास्थ्यसम्बन्धी फाइदाहरू हजारौँ वर्षदेखि परम्परागत चिकित्सा प्रणालीहरूजस्तै चिनियाँ परम्परागत चिकित्सा र भारतबाट सुरु भएको आयुर्वेदमा प्रचारित हुँदै आएका छन्।

तर यो प्राचीन अभ्यास यस वर्षको सुरुवातमा सामाजिक सञ्जालमा भाइरल भएपछि यसले विश्वव्यापी रूपमा नयाँ प्रयोगकर्ताहरू पाएको छ।

टिकटक र इन्स्टाग्राममा लाखौँ पटक हेरिएका भिडिओहरूमा "न्यूली चाइनिज" र "चाइनाम्याक्सिङ" जस्ता शब्दहरू 'ट्याग' गरिएका छन्। यी भिडिओहरूमा प्रायः युवाहरूलाई तातो पानी पिउँदै, तातो नास्ता खाँदै र जिउ तन्काएर दिनको सुरुवात गरेको देखाइन्छ।

तर के यस्ता सरल जीवनशैलीसम्बन्धी बानीले वास्तवमै तपाईँको स्वास्थ्य सुधार गर्न सक्छन्?

'ची' संरक्षण गर्दै

चीनका लाखौँ मानिसहरूले अभ्यास गर्ने परम्परागत चिकित्साको मुख्य विश्वासमध्ये 'ची' अर्थात् शरीरभरि प्रवाहित हुने र यो प्रवाह अवरुद्ध वा असन्तुलित हुँदा रोग उत्पन्न हुने ऊर्जा पनि एक हो।

समर्थकहरू मुख नपोल्ने मनतातो पानी पिउनुले चीलाई सुदृढ र संरक्षण गर्ने र त्यसको फलस्वरूप स्वास्थ्य र दीर्घायुमा सुधार ल्याउने विश्वास गर्छन्।

"यसलाई एउटा घरजस्तै सोच्नुहोस्," परम्परागत चिनियाँ चिकित्सा अनुसन्धानकर्ता प्राध्यापक शन औ भन्छन्। उनले यसले समग्र स्वास्थ्य प्रणालीमा चिसो खाना खानु भनेको तपाईँको घरमा चिसो हावा छिर्नु जस्तै हो भनी व्याख्या गरेका छन्।

यो सिद्धान्तले परम्परागत चिनियाँ चिकित्साका अन्य सुझावहरूलाई पनि समर्थन गर्छ, जस्तै घरमा न्यानो चप्पल लगाउनु र दिनको सुरुवात तातो नास्ताबाट गर्नु।

मरियम खान

तस्बिर स्रोत, Maryam Khan

तस्बिरको क्याप्शन, मरियम खानका अनुसार परम्परागत दिनचर्या अपनाउँदा बिहान 'माइन्डफुल' क्षण बिताउनुपर्छ

मरियमका लागि यी बानीहरू परम्परागत चिनियाँ चिकित्सामा प्रवेश गर्ने बाटो बने। लन्डनमा बस्ने उनले टिकटकमा पहिलो पटक यो 'ट्रेन्ड' देखेकी थिइन्।

आफूले दिनको सुरुवात टाइ-चीबाट सुरु गर्दा फाइदा पुगेको उनी महसुस गर्छिन्। टाइ-चीमा सुस्त शरीर चलाएर व्यायाम गर्ने, गहिरो सास फेर्ने र ध्यान गर्ने कुराहरू पर्छन्। उनी बिहान कफी पिउनुको सट्टा मनतातो पानी पिउँछिन्।

"बिहानै क्याफिन लिन्थेँ, त्यसपछि मलाई कति वाकवाकी लागिरहेको थियो भन्ने मैले महसुस गरेकी थिइनँ," उनी भन्छिन्।

"त्यसपछि मैले सादा तातो पानी पिउन थालेँ, कहिलेकाहीँ पुदिना, कागती हालेर... र मैले आफूलाई अझ फूर्तिलो महसुस गरेँ," उनी भन्छिन्।

मानिसहरू किन परम्परागत उपचारमा फर्किरहेका छन्?

परम्परागत चिनियाँ जीवनशैलीसम्बन्धी सुझावहरूमा युवापुस्ताको अनलाइन रुचि बढ्नु एउटा व्यापक सामाजिक प्रवृत्तिको सङ्केत भएको विश्व स्वास्थ्य सङ्गठनको विश्वव्यापी परम्परागत चिकित्सा केन्द्रकी अन्तरिम निर्देशक डाक्टर श्यामा कुरुविल्ला बताउँछिन्।

"युरोपमै पनि जनसङ्ख्यामा आधारित अध्ययनहरू भएका छन्... जर्मनीमा गरिएको एउटा अध्ययनले ७० प्रतिशत वा त्योभन्दा बढी मानिसहरूले कुनै न कुनै रूपमा परम्परागत चिकित्सा प्रयोग गर्छन् भन्ने देखाउँछ। चीन र भारतजस्ता केही देशहरूमा यो ९० प्रतिशतभन्दा बढी हुन सक्छ," उनी भन्छिन्।

यसका केही समर्थकहरू आधुनिक चिकित्साप्रति अविश्वास गर्छन्। कोभिड महामारीपछि यस्तो सोच बढेको हुन सक्छ। अमेरिकाको एउटा अध्ययनले डाक्टर र अस्पतालप्रतिको विश्वास सन् २०२० मा ७० प्रतिशतभन्दा धेरैबाट सन् २०२४ सम्ममा झन्डै ४० प्रतिशतमा झरेको देखाएको थियो।

अरू केही मानिसहरूलाई 'बायोमेडिकल' उपचारको पहुँच नहुन सक्छ वा उनीहरूले परम्परागत चिकित्सालाई सस्तो विकल्पका रूपमा प्रयोग गरेका हुन सक्छन्।

केही मानिसहरूलाई परम्परागत चिकित्सा आकर्षक लाग्नुको कारण यसले व्यक्तिगत र समग्र दृष्टिकोण प्रदान गर्नु पनि हो। मनतातो पानी पिउनुजस्ता बानीहरू मन, शरीर र वातावरणबीच सन्तुलन कायम गर्ने स्वास्थ्य प्रणालीतर्फ लाग्ने एउटा सुरुवाती विन्दु हुन सक्छ।

यी प्रणालीहरूले धेरै मानिसहरूका लागि गहिरो सांस्कृतिक, आध्यात्मिक र ऐतिहासिक महत्त्व पनि राख्छन्।

"धेरै परम्परागत चिकित्सा अभ्यास गर्ने र आदिवासी समुदायहरू भन्छन्, 'हामीले यो हजारौँ वर्षदेखि प्रयोग गर्दै आएका छौँ... र यसले मानिसहरूलाई फाइदा पुर्‍याएको देखेका छौँ,'" कुरुविल्ला भन्छिन्।

विश्व स्वास्थ्य सङ्गठनको विश्वव्यापी परम्परागत चिकित्सा केन्द्रले प्रमाणहरूको मूल्याङ्कन गरेर नीतिनिर्माता र बिरामीहरूलाई मार्गदर्शन प्रदान गर्ने काम गर्छ।

यो एकदमै विशाल काम हो तर अहिले विश्व स्वास्थ्य अनुसन्धानको १ प्रतिशतभन्दा कम मात्रै रकम परम्परागत चिकित्सासम्बन्धी अनुसन्धानमा खर्च भएको उनी बताउँछिन्।

"प्रमाणको आधार बलियो बनाउन एकदमै आवश्यक छ," उनले भनिन्।

परम्परागत चिकित्सा अपनाउनुअघि बिरामीहरूले आफ्नो समग्र स्वास्थ्य अवस्थाको सन्दर्भमा यो सुरक्षित छ कि छैन भनेर स्वास्थ्यकर्मीसँग परामर्श गर्नुपर्ने उनी सल्लाह दिन्छिन्।

तर खास गरी तातो पानी पिउने विषयबारे कुरा के हो? विश्व स्वास्थ्य सङ्गठनले यसबारे कुनै विशेष निर्देशन दिएको छैन तर कुरुविल्ला पानी कत्तिको तातो छ, कति मात्रामा पिइन्छ र व्यक्तिको स्वास्थ्यअवस्था कस्तो छ भन्ने कुरामा निर्भर रहने बताउँछन्।

"सबै कुरा... प्रमाण र सन्तुलनमै आधारित हुन्छ," उनी जोड दिन्छिन्।

विज्ञानले के भन्छ?

बिहान उठ्नेबित्तिकै मनतातो पानी पिउँदा केही फाइदा हुन सक्ने डाक्टर रोजी ब्रूक्स बताउँछिन्। उनी दीर्घायु चिकित्सा विशेषज्ञ र जेनरल फिजिशन हुन्।

"यसले पाचनमा थोरै मद्दत गर्न सक्छ र कब्जियत कम गर्न सहयोग पुर्‍याउन सक्छ," उनी थप्छिन्।

उनका अनुसार केही थोरै प्रमाणहरूले मनतातो पानीले 'इसोफगस' (घाँटी र पेट जोड्ने नली) मा हुने ऐँठन कम गर्न सहयोग गर्न सक्छ।

"तर यसबाहेक, चिसो वा तातो जुनसुकै पानी पिए पनि मुख्य रूपमा शरीरलाई पानीको मात्रा कम नगर्नका लागि फाइदाजनक हुन्छ," उनी भन्छिन्।

"चिसो पानीले स्वास्थ्यमा हानि गर्छ भन्ने कुनै प्रमाण छैन," यूकेस्थित निजी क्लिनिकमा काम गर्ने जेनरल फिजिशन र जीवनशैलीसम्बन्धी चिकित्सक डाक्टर सेलिना ग्रे भन्छिन्।

उनले सामाजिक सञ्जालमा गरिने केही दाबीहरूका विपरीत, मनतातो पानी पिउँदा बोसो जल्छ, 'मेटाबोलिजम' बढ्छ वा शरीर 'डिटक्स' हुन्छ भन्ने कुनै वैज्ञानिक प्रमाण नभएकोमा जोड पनि दिइन्।

"यदि कसैलाई मनतातो पानी मन पर्छ र त्यसले उनीहरूलाई बढी पानी पिउन प्रेरित गर्छ भने त्यो राम्रो हो, तर यसले शारीरिक प्रक्रिया छिटोछिटो हुनेचाहिँ होइन," उनी भन्छिन्।

चिनियाँ चिकित्सासम्बन्धी कुरा सुनेर सिङ्गापुरमा हुर्केकी ग्रेले "म अझै पनि मेरी आमाले 'भित्र न्यानो बनाउन तातो पानी पिउनू' भनेर भन्नुभएको सुन्छु" भनेकी छन्।

"यी परम्पराहरूले मानिसले सजिलै अपनाउन सकिने, सांस्कृतिक रूपमा अर्थपूर्ण हुने र स्वाभाविक लाग्ने दिनचर्या दिन्छन्," उनी थप्छिन्।

'हतार नगर्न अवसर'

मनतातो पानी पिउने विषयमा प्रमाणहरू सीमित भए पनि अनुसन्धानले अन्य केही परम्परागत अभ्यासहरू उपयोगी हुन सक्ने देखाउँछ।

सबै सामग्री प्रयोग गरेर बनाइएको तातो नास्ता चिसो सिरिअलभन्दा पोषणका हिसाबले बढी राम्रो हुन्छ।

चिसो खुट्टाले रोग लाग्छ भन्ने कुनै प्रमाण नभए पनि शरीर न्यानो राख्नु र आरामदायी महसुस गर्नुले तपाईँलाई आराम हुन र राम्रोसँग सुत्न मद्दत गर्न सक्छ।

अनि केही साना अध्ययनहरूले टाइ ची र चीगूङजस्ता परम्परागत चिनियाँ व्यायामहरूले शक्ति र शरीरलाई चलायमान बनाउन र तनाव कम गर्न सहयोग गर्न सक्छन् भन्ने देखाएका छन्।

प्राध्यापक शन आउ

तस्बिर स्रोत, Prof Shun Au

तस्बिरको क्याप्शन, शक्ति आर्जन गर्ने अवधारणा चिनियाँ औषधिको विश्वास हो

"हाम्रो दैनिक जीवनमा धेरैजसो समय हाम्रो दिमाग चलिरहेको हुन्छ... हाम्रो शरीर र दिमाग दुई फरक ठाउँमा हुन्छन्," चिनियाँ चिकित्सा विशेषज्ञ आउ भन्छन्।

"ध्यान, चीगूङ र टाइ चीको मुख्य उद्देश्य गति कम गर्नु हो," उनी थप्छन्।

जेनेरल फिजिशन ब्रूक्स मनतातो पानी पिउनुले ठूला शारीरिक फाइदाहरू दिन्छ भन्ने विश्वास आफूले नगरे पनि यसले मानसिक रूपमा सहयोग गर्न सक्ने कुरा स्वीकार गर्छिन्।

"यो एउटा नियमित प्रक्रियाजस्तै हो... यसले तपाईँलाई आफ्नै लागि केही समय दिन्छ, जुन हामीले व्यस्त जीवनमा प्रायः बिर्सिएका हुन्छौँ," उनी भन्छिन्।

खान आफूले मानसिक स्वास्थ्यमा सकारात्मक प्रभाव पारेको महसुस गरेको र बिहान तातो पानी पिउनु भनेको आफ्नै लागि केही समय निकाल्नु भएको बताउँछिन्।

"म यसलाई हतार नगर्न, वरिपरिका कुराहरू महसुस गर्न र आफ्नो दिनलाई उद्देश्यका साथ सुरु गर्ने अवसरका रूपमा हेर्छु," उनी भन्छिन्।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।