भारतीय विमानमा बम राखिएको नक्कली धम्की बढ्दै, हवाईयात्रा कसरी प्रभावित

एअर इन्डिया एक्सप्रेसको विमान

तस्बिर स्रोत, AFP

    • Author, सौतिक बिस्वास
    • Role, भारत संवाददाता
  • पढ्ने समय: ६ मिनेट

भारतीय विमानसेवामा यसअघि कहिल्यै नभएको र एकदमै नाटकीय रूपमा बम राखिएको हल्लाको सङ्ख्या एकाएक बढ्न जाँदा विमानहरूलाई गन्तव्यमा पुग्नुअघि अन्यत्र अवतरण गराउनुपर्ने क्रम बढेको छ। त्यस्ता घटनाका कारण उडानतालिका अस्तव्यस्त भएको छ भने हवाई यात्रामा व्यापक अवरोध उत्पन्न भएको छ।

गत साता सामाजिक सञ्जालमा राखिएको एउटा भिडिओमा क्यानडाको एउटा दुर्गम सहर इकालुइटमा रोकिएको एअर इन्डियाको विमानबाट कठ्याङ्ग्रिदो चिसोमा बाक्लो कपडा लगाएर यात्रुहरू ओर्लिँदै गरेको देखिएको थियो।

कुल २११ यात्रु बोकेको उक्त बोइङ ७७७ विमान मुम्बईबाट शिकागोको यात्रामा थियो। तर त्यसमा बम राखिएको भन्ने सूचना प्राप्त भएपछि विमानलाई ‘डाइभर्ट’ गरेर त्यहाँ अवतरण गरिएको थियो।

उक्त विमानका एक यात्रु हरित सचदेवले सामाजिक सञ्जालमा लेखेका थिए, “ हामी २०० जना अरू यात्रुसँगै बिहान ५ बजेदेखि विमानस्थलमा अडिएका छौँ…। के हुँदै छ भन्ने हामीलाई थाहा छैन र अब के गर्ने भन्ने पनि थाहा छैन…। हामी पूरै अलपत्र परेका छौँ।”

उनले “विमानस्थलका दयालु कर्मचारीहरूको” प्रशंसा गरेका थिए भने यात्रुहरूलाई आवश्यक जानकारीहरू दिन पर्याप्त प्रयास नगरेको आरोप एअर इन्डियालाई लगाएका थिए।

सचदेवको सन्देशले एउटा बिरानो र दुर्गम स्थानमा एकाएक मार्ग परिवर्तन गरेर विमान अवतरण गर्नुपर्दा यात्रुले बेहोर्नुपर्ने दुःख, अन्योल र निराशा देखाउँछ। अलपत्र परेको केही घण्टापछि क्यानडाको वायुसेनाको विमानले ती यात्रुहरूलाई अमेरिकाको शिकागो सहरमा पुर्‍याइदियो। एअर इन्डियाले “अनलाइन माध्यममा राखिएको सुरक्षा धम्कीका कारण” उक्त विमानलाई नियमित मार्ग परिवर्तन गरेर इकालुइटमा अवतरण गराइएको पुष्टि गरेको थियो।

त्यस्तो धम्की अन्ततः असत्य प्रमाणित भयो। यो वर्ष अरू पनि कैयौँ त्यस्ता धम्कीहरू आएका थिए जुन पछि मिथ्या ठहरिए।

भिस्तारा एअरको विमान

तस्बिर स्रोत, Getty Images

गत साता मात्रै पनि कम्तीमा ९० वटा त्यस्ता झुटा धम्कीहरू प्राप्त भएका थिए र परिणामस्वरूप विमान “डाइभर्ट" गर्नुपरेको, उडानहरू रद्द भएका र यात्रामा विलम्ब भएको थियो।

गत जुन महिनामा एकैदिन ४१ वटा विमानस्थलहरूले बम राखिएका धम्कीहरू इमेलमार्फत् प्राप्त गरेका थिए। त्यसपछि ती स्थानमा सुरक्षाव्यवस्था कडा पारिएको थियो।

सन् २०१४ र २०१७ का बीचमा अधिकारीहरूले विमानस्थलहरूमा बम राखिएको भन्ने १२० वटा धम्की वा सूचना पाएका थिए। तीमध्ये आधाजति दिल्ली र मुम्बईजस्ता भारतका ठूला विमानस्थललक्षित थिए।

यसले हालैका वर्षमा त्यस्ता झुटा धम्कीहरू कतिको दोहोरिने गरेका छन् भन्ने देखाउँछ। तर यो वर्ष आएका धम्कीहरूको सङ्ख्या अभूतपूर्व छ।

भारतका सङ्घीय नागरिक उड्डयनमन्त्री किन्जरापु राम मोहन नायडू भन्छन्, “आन्तरिक र अन्तर्राष्ट्रिय उडानहरू प्रभावित हुने गरी भारतीय विमानसेवाहरूलाई लक्ष्य गरेर भइरहेका यस्ता अवरोधकारी गतिविधिप्रति म निकै चिन्तित छु। त्यस्तो नकारात्मक र गैरकानुनी कार्य ठूलो चिन्ताको विषय हो। हाम्रो हवाई क्षेत्रको सुरक्षा र बलियो सञ्चालन क्षमतालाई कमजोर तुल्याउने प्रयासको म निन्दा गर्छु।”

उद्देश्य

विमानसेवाहरूलाई दिइने नक्कली बमको धम्की प्रायः दुराशययुक्त, अर्काको ध्यान तान्ने उद्देश्यले, मानसिक स्वास्थ्यसम्बन्धी समस्याका कारणले, सेवा अवरुद्ध पार्न वा ठट्टा गर्ने जस्ता उद्देश्यले पनि दिने गरिएको विज्ञहरूले बताएका छन्। सन् २०१८ मा इन्डोनेशियामा हवाईयात्रुहरूले बमबारे गरेका ठट्टाका कारण उडानहरू प्रभावित भएका थिए।

यात्रुहरूले समेत जानाजान त्यस्तो हल्ला फैलाउने गरेको पाइएको छ। गत वर्ष भारतको बिहार राज्यस्थित एउटा विमानस्थलमा समयमै चेक-इन गर्न नसकेका एक यात्रुले विमानमा बम भएको झुटो हल्ला फैलाएर स्पाइसजेटको एउटा उडान ढिलो गराउने प्रयास गरेका थिए।

त्यस्ता नक्कली दाबी तथा हल्लाहरूले संसारको सबैभन्दा तीव्र गतिमा विकास भइरहेको उड्डयन बजारलाई अस्तव्यस्त तुल्याउने गर्छन्।

भारतमा गत वर्ष मात्रै १५ करोड यात्रुहरूले आन्तरिक उडान गरेका त्यहाँको नागरिक उड्डयन मन्त्रालयले जनाएको छ। देशभरि ३३ वटा अन्तर्राष्ट्रियसहित सञ्चालनमा रहेका १५० विमानस्थलबाट दैनिक ३,००० वटा उडान हुने गर्छन्।

भिस्तारा एअरका प्रभावित यात्रुहरू

तस्बिर स्रोत, Getty Images

तस्बिरको क्याप्शन, यात्रुहरू आफ्नो विमान टर्कीमा डाइभर्ट गरिएपछि 'भिस्तारा एअर'को अर्को विमान चढेर अगाडि जानुपरेको थियो

गत अक्टोबर १४ मा भारतमा विमानसेवाहरूले एकैदिन ४,८४,२६३ यात्रुहरू बोकेर कीर्तिमान बनाएको थियो। यद्यपि गत साता नै विमानमा बम राखिएको भन्दै नक्कली धम्की दिइएको सङ्ख्या पनि उत्कर्षमा पुग्यो।

भारतमा झन्डै ७०० वटा व्यावसायिक यात्रुवाहक विमानहरू छन्। परामर्शदाता कम्पनी 'सिरिअम'का रब मोरिसका अनुसार १,७०० वटाभन्दा बढी विमानको खरिद आदेश पूरा हुन बाँकी छ।

“यो सबै तथ्याङ्कले भारतलाई व्यावसायिक विमानको क्षेत्रमा तीव्र गतिमा विकास भइरहेको बजारका रूपमा स्थापित गरेको छ।”

विमानमा बम भएको धम्की आउँदा के हुन्छ?

विमान आकाशमा नै उडिरहेको अवस्थामा बम भएको सूचना वा धम्की पाएमा त्यसलाई सबैभन्दा नजिकको विमानस्थलमा अवतरण गराउनैपर्ने हुन्छ। गत साता क्यानडामा ‘डाइभर्ट’ गर्नुपरेको एअर इन्डियाको विमान वा गत सेप्टेम्बरमा मुम्बईबाट फ्र्याङ्कफर्टतर्फको उडानमा रहेको भिस्तारा विमानसेवाको विमानलाई टर्कीमा ‘डाइभर्ट’ गरिएको जस्तै।

कुनै अवस्थामा त्यस्ता विमानलाई लडाकु जेटहरूले सुरक्षा दिएर अगुवाइ गर्दै लैजाने पनि हुन्छ। ब्रिटेनको हीथ्रो विमानस्थलतर्फको यात्रामा रहेको एअर इन्डियाको विमानलाई नोर्फोकको आकाशमा र गत साता सिङ्गापुरतर्फको उडानमा रहेको एअर इन्डिया एक्सप्रेसको विमानलाई त्यसै गरिएको थियो।

विमान चढ्दै यात्रुहरू

तस्बिर स्रोत, Getty Images

तस्बिरको क्याप्शन, गत वर्ष भारतमा १५ करोडभन्दा बढी मानिसले हवाई यात्रा गरेका थिए

डाइभर्ट गरिएको विमान अवतरण गरिसकेपछि यात्रुहरूलाई ओरालिन्छ र त्यसमा रहेका सबै ब्यागेज, कार्गो र खानपिनको व्यवस्था भएको केटरिङमा पनि खानतलासी गरिन्छ।

त्यो काम गरिसक्न केही घण्टा लाग्छ। निश्चित समय मात्र काम गर्ने प्रचलन भएकाले उक्त विमानलाई फेरि पहिलेकै चालकदलले नउडाउन पनि सक्छ। अर्को वैकल्पिक चालकदलको व्यवस्था गर्नुपर्ने अवस्था आए उडानमा थप विलम्ब हुन पुग्छ।

“यी सबै कुराले गर्दा खर्च र उडान व्यवस्थामाथि ठूलो भार पर्न जान्छ। 'डाइभर्ट' भएका वा ढिलो भएका प्रत्येक उडानमा खर्चको भार उल्लेखनीय रूपमा बढ्ने गर्छ र ग्राउन्डेड गरिएको विमान ठूलो आर्थिक नोक्सानीको कारक बन्न पुग्छ। उडानमा ढिलाइ हुँदा उडान रद्द हुन्छ र त्यसले उडान तालिकमा भद्रगोल हुन्छ,” स्वतन्त्र उड्डयनविज्ञ सिद्धार्थ कपूर भन्छन्।

सामाजिक सञ्जालमा परिचय लुकाएर खोलिएका अकाउन्टहरूबाट दिइने धम्कीहरूमा देखिएको नाटकीय वृद्धिले त्यस्ता हल्ला फैलाउनेहरूलाई पत्ता लगाउन कठिन हुन्छ। त्यस्ता हल्लाहरूको पछाडिको उद्देश्य स्पष्ट हुँदैन र त्यस्ता धम्कीहरू एक व्यक्ति, समूह वा नक्कल गर्नेहरू कसबाट आएको हो भन्ने पनि स्पष्ट हुँदैन।

भारतीय अधिकारीहरूले त्यस्ता धम्कीहरू फैलाउन समाजिक सञ्जालको अकाउन्ट खोलेका एक १७ वर्षीय किशोरलाई पक्राउ गरेका थिए। उनले किन त्यसो गरे भन्ने स्पष्ट हुन सकेको छैन। तर उनले कम्तीमा पनि चारवटा उडानलाई निसाना बनाएका विश्वास गरिएको छ। तीमध्ये तीनवटा अन्तर्राष्ट्रिय उडान थिए। त्यस्तो हल्लाका कारण दुई उडानमा ढिलाइ भएको थियो, एउटा 'डाइभर्ट' गर्नुपरेको थियो भने एउटा रद्द भएको थियो। अनुसन्धानकर्ताहरूले 'आईपी अड्रेस' पछ्याउँदै जाँदा केही धम्कीपूर्ण पोस्टहरू लन्डन र जर्मनीबाट पठाइएको हुन हुन सक्ने बताएका छन्।

स्पष्ट रूपमा त्यस्ता हल्ला फैलाउनेहरूलाई पत्ता लगाउनु निकै चुनौतीपूर्ण कार्य हो। भारतीय कानुनले विमानस्थलको सुरक्षा र सेवामा अवरोध पुर्‍याउने व्यक्तिलाई आजीवन कारावासको सजायको व्यवस्था गरेको छ। तर हल्ला फैलाउनेहरूका लागि त्यस्तो सजाय निकै कडा देखिन्छ। अनि त्यस्ता अभियोगहरू कानुनी परीक्षणमा सामान्यतया सफल हुन नसक्ने सम्भावना हुन्छ।

विवरणहरूका अनुसार भारत सरकारले त्यस्ता कसुर गर्नेहरूलाई उडानमा प्रतिबन्ध गरिएको सूचीमा राख्ने र पाँच वर्ष कैदको व्यवस्था भएको नयाँ कानुनी व्यवस्था गर्नेबारे विचार गरिरहेको छ।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।