विभिन्न जिल्लामा साँझ पनि 'जेन जी' को सरकारविरोधी प्रदर्शन

पढ्ने समय: ३ मिनेट

राजनीतिक भ्रष्टाचार र सामाजिक सञ्जालमा लगाइएको प्रतिबन्धविरुद्ध भन्दै युवापुस्ताले थालेको सडक आन्दोलनमा प्रहरीले घातक बल प्रयोग गर्दा काठमाण्डूमा १७ सहित कम्तीमा १९ जनाको मृत्यु भएको घटनाको विरोधमा देशैभर प्रदर्शनहरू भएका विवरणहरू प्राप्त भएका छन्। ।

विभिन्न जिल्लास्थित हाम्रा संवाददाताहरूले पठाएको विवरणहरू अनुसार साँझ पनि केही स्थानमा थप विरोध प्रदर्शनहरू भएका छन्।

उनीहरूले सोमवार प्रदर्शनका क्रममा मानिसहरू मारिएको घटनालाई "हत्या" भन्दै त्यसको सरकारले जिम्मेवारी लिनुपर्ने बताएका छन्।

'युवा मार्न पाइँदैन' भन्दै पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको गृहजिल्ला डडेलधुरामा युवाहरूले सोमवार बेलुकी प्रदर्शन गरेको हाम्रा संवाददाता प्रकाश पार्कीले जनाएका छन्।

उनीहरूले जिल्ला प्रशासन कार्यालय अगाडि नाराबाजी गरेका हुन्। बसपार्क रहेको बागबजारदेखि उनीहरू नाराबाजी गर्दै प्रशासन कार्यालयअगाडि पुगेका थिए।

वीरगन्जमा मङ्गलवार बिहानसम्म कर्फ्यू

पर्सास्थित वीरगन्जमा प्रदर्शनकारीहरूले सरकारको चर्को आलोचना गर्दै टायर बालेर सडक अवरुद्ध गरेका छन्।

त्यहाँ साँझ ७ बजेसम्म पनि विभिन्न स्थानमा नाराबाजी, प्रदर्शन र विरोधका कार्यक्रम भइरहेको हाम्री सम्वाददाता माधुरी महतोले जनाएकी छन्।

यसैबीच पर्सा जिल्ला प्रशासन कार्यालयले वीरगन्ज महानगरका केही क्षेत्रमा सोमवार राति ९ बजेदेखि भोलि बिहान ९ बजेसम्म लागु हुने गरी कर्फ्यू जारी गरेको छ।

दिउँसोभरि सुनसान रहेका स्थानमा समेत प्रदर्शन

नुवाकोटस्थित हाम्री संवाददाता शक्तिमाया तामाङका अनुसार आज दिनभर सुनसान रहेको नुवाकोटमा "आन्दोलनकारीहरूमाथि अन्याय" भएको भन्दै आन्दोलनको समर्थमा मैनबत्ती बालेर केही युवाहरूले सडकमा नारा लगाएका थिए।

पोखरामा प्रदर्शनकारीतर्फ पाँच जना र प्रहरीतर्फ तीन जना घाइते भएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख श्यामबाबु ओलियाले हाम्रा संवाददाता कृष्णमणि बराललाई जानकारी दिएका छन् ।

कर्णालीमा सुरक्षा व्यवस्था कडा

देशभर भइरहेकाे आन्दोलनलाई समर्थन गरेर कर्णालीका धेरै जिल्लामा शान्तिपूर्ण तरिकाले प्रर्दशन भइरहेकाे सम्बन्धित जिल्लाका प्रमख जिल्ला अधिकारीहरूले जुम्लास्थित हाम्री संवाददाता कृष्णमाया उपाध्यायलाई जानकारी दिएका छन्।

कालिकोट, जुम्ला, हुम्ला, डाेल्पा र मुगुुमा शान्तिपूर्ण रूपमा आन्दोलन भइरहेको हुनाले त्यहीअनुसारको सुरक्षा व्यवस्था बलियो बनाइएकाे उनीहरूले जानकारी दिएका छन्।

विभिन्न राजनीतिक दल तथा मानव अधिकारवादी संस्थाहरूले पनि सोमवारको घटनाको विरोध गरेका छन्।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।