तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
देशको अर्थतन्त्रको ऐना बन्न नसकेको नेपाली शेअर बजार
नयाँ सरकार बनेसँगै वृद्धि भइरहेको नेपालको शेअर बजार मौद्रिक नीति आएपश्चात् अझ उकालो लागिरहेको छ।
शेअर बजारको वर्तमान अवस्थालाई विज्ञहरूले चाहिँ "अल्पकालीन वृद्धि" भनिरहेका छन्।
शेअर बजारमा सुधार आएपछि त्यसबारे विभिन्न कोणबाट चर्चा भइरहेको भए पनि त्यसले अन्य कतिपय देशमा जस्तो नेपालको अर्थतन्त्रलाई प्रतिबिम्बित गर्न नसक्ने विज्ञहरूले बताएका छन्।
कतिपय विकसित देशहरूमा शेअर बजारको अवस्था हेरेर त्यहाँको अर्थतन्त्रको अवस्था सहजै अनुमान गर्न सकिने तर नेपालमा अझै त्यस्तो परिस्थिति बन्न नसकेको उनीहरूको भनाइ छ।
त्यसका विभिन्न कारणहरू रहेको उनीहरू बताउँछन्।
अनौपचारिक अर्थतन्त्रको भूमिका
नेपाली अर्थतन्त्रको ठूलो हिस्सा अनौपचारिक हुँदा शेअर बजारले समग्र अर्थतन्त्रको "ऐना देखाउन नसकेको" कतिपय अर्थशास्त्रीको भनाइ छ।
नेपाल राष्ट्र ब्याङ्कका पूर्व कार्यकारी निर्देशक नरबहादुर थापा भन्छन्, "अनौपचारिक क्षेत्रको हिस्सा धेरै भएपछि त्यस्ता क्षेत्रहरूले कर्जा पनि पाउने भएनन्। शेअर बजारमा निष्काशन हुने कुरा त भएन नै।"
"अनौपचारिक क्षेत्र पुँजीबजारमा जोडिएको छैन त्यसले गर्दा पुँजीबजारमा हुने गतिविधिको असर राष्ट्रिय अर्थतन्त्रमा खासै पर्न सकिरहेको छैन," उनले भने।
राष्ट्रिय योजना आयोगले हालै सार्वजनिक गरेको नेपालको सोह्रौँ योजना अनुसार नेपालमा अझै पनि ५० प्रतिशत क्षेत्र अनौपचारिक छ।
उक्त योजनामा उल्लेख भए अनुसार अर्थतन्त्रसम्बन्धी चारवटा सूचकहरूले त्यस्तो देखाएका हुन्।
ती सूचकमध्ये आधिकारिक निकायमा दर्ता भएका आर्थिक प्रतिष्ठानको सङ्ख्या ४९.५० प्रतिशत मात्र रहेको छ।
त्यस्तै कारोबारको लेखा राख्ने प्रतिष्ठानको सङ्ख्या ५२ प्रतिशत र भ्याट नम्बर प्रयोगकर्ता करिब ५५ लाख रहेका छन्।
अनौपचारिक क्षेत्रमा रोजगारीमा रहेकाको सङ्ख्या ६२.२ प्रतिशत छ।
केही क्षेत्रमा सीमित
नेपालको शेअर बजार हालसम्म पूर्ण रूपमा विकसित तथा परिपक्व नभएकाले केही सीमित क्षेत्र मात्र यसमा सूचीकृत हुँदा पनि त्यसले समग्र अर्थतन्त्रको चित्र नदिने अर्थशास्त्रीहरू बताउँछन्।
एकजना अर्थशास्त्री चन्द्रमणि अधिकारी भन्छन्, "कुनै पनि देशको शेअर बजारले त्यो देशको अर्थतन्त्रको ऐना कति देखाउँछ भन्ने कुरा त्यो कति परिपक्व र विकसित भन्नेले निर्धारण गर्छ।"
"नेपालमा अझै त्यस्तो अवस्था बनिसकेको छैन। हाम्रो शेअर बजार परिपक्व भएको छैन। सीमित क्षेत्र मात्र सूचीकृत भएका छन् र सीमित व्यक्तिले लगानी गर्छन्। धेरैले लहडमा लगानी गरिरहेका छन्।"
उनी नेपालमा कुनै पनि कम्पनीको अवस्था कस्तो छ भन्ने अध्ययन वा अनुसन्धान गरेर लगानी गर्ने चलन बसिनसकेको बताउँछन्।
थापा पनि नेपालमा सीमित क्षेत्र मात्र शेअर बजारमा रहेको र नेपालको कुल गार्हस्थ्य उत्पादन (जीडीपी) मा महत्त्वपूर्ण हिस्सा ओगट्ने क्षेत्रहरू त्यसबाट बाहिरै रहेकाले यसले नेपालको स्पष्ट आर्थिक तस्बिर देखाउन नसक्ने बताउँछन्।
नेपाल राष्ट्र ब्याङ्कका अनुसार नेपाली शेअर बजारको ६० प्रतिशतभन्दा बढी हिस्सा सूचीकृत कम्पनीहरूमध्येमा पनि वित्तीय क्षेत्रले ओगटेका छन्।
वित्तीय क्षेत्रमा वाणिज्य र विकास ब्याङ्क, फाइनान्स कम्पनी, बिमा कम्पनी र लघुवित्त कम्पनीहरू रहेका छन्।
त्यसपछि अहिले दोस्रो स्थानमा रहेको जलविद्युत् क्षेत्रले करिब १५ प्रतिशत हिस्सा ओगट्छ। त्यसपछि मात्र उत्पादन, निर्माण, होटल तथा पर्यटन क्षेत्रहरू आउँछन्।
"पहिले कृषि तथा वनमा आधारित जुट उद्योग, चिनी उद्योग, चुरोट उद्योगलगायत पनि सूचीकृत थिए। ती सबैजसो डुबेपछि अहिले त कृषिमा आधारित उद्योगहरू पनि छैनन् भन्दा हुन्छ," थापा भन्छन्।
"जीडीपीको सबैभन्दा धेरै हिस्सा ओगट्ने क्षेत्र नै निर्वाहमुखी भएका बेलामा त्यो शेअर बजारसँग जोडिने कुरा असम्भव जस्तै हो। त्यस्तो अवस्थामा शेअर बजारले व्यापक अर्थतन्त्रलाई स्पष्ट रूपमा देखाउन सक्दैन।"
अर्थशास्त्री अधिकारीका भनाइमा नेपाली शेअर बजार अन्तर्राष्ट्रिय बजारसँग नजोडिएकाले पनि त्यसको प्रभाव धेरै नदेखिएको हो।
"अन्यत्र कतिपय बजारहरू अन्तर्राष्ट्रिय बजारसँग जोडिएका छन् हाम्रोमा त्यस्तो अवस्था छैन," उनी भन्छन्।
यद्यपि नेपाली शेअर बजारलाई पनि अन्तर्राष्ट्रिय आर्थिक उतारचढावको असर नपर्ने भन्ने नभएको उनको भनाइ छ।
अहिले किन बढिरहेको छ?
शेअर कारोबार बढ्न वा घट्न केही न केही कारण चाहिने नेपाल स्टक एक्सचेन्जका प्रवक्ता मुराहरि पराजुली बताउँछन्।
"अलि अघि सरकार परिवर्तन हुँदैछ भनेपछि बढेको थियो। अहिले लचिलो खालको मौद्रिक नीति आएपछि लगानीकर्ता उत्साहित भएका छन् त्यसले बढेको हो," उनले भने।
यद्यपि शेअर बजार कहिलेसम्म बढ्छ वा अहिलेको गति कायम रहन्छ भन्ने कुरा वस्तुगत रूपमा भन्न नसकिने उनको भनाइ छ।
उनी भन्छन्, "त्यो लगानीकर्ताको मनस्थितिमा भर पर्ने कुरा हो। लगानीकर्ताको मनोबल बढ्न र घट्न सक्छ। मान्छेलाई अहिले विश्वास भएर बढ्यो तर त्यो विश्वास कहिलेसम्म रहन्छ भन्न सकिन्न।"
"आम लगानीकर्ताले के सोचिरहेका छन् भन्ने कुरा अनुमान गर्न सजिलो छैन।"
यद्यपि शेअर कारोबार बढेका बेलामा 'यसै बेला कमाउने हो' भन्ने धारणाले आम लगानीकर्ताले शेअर किन्न थाल्दा उच्च हुँदै जाने गरेका उदाहरणहरू रहेको उनले बताए।
ख्याल गर्नुपर्ने कुरा
यद्यपि आम लगानीकर्तालाई पराजुली सावधानी अपनाएर मात्र कारोबार गर्न आग्रह गर्छन्।
"अरुले कमाए भनेर आउने होइन। नोक्सान पनि हुनसक्छ। कति नोक्सान हुनसक्छ भन्ने हेरेर आउनु पर्छ," उनले भने।
उनले बजार बढेको वा घटेको हेरेर लगानी गर्ने भन्दा पनि कुन कम्पनीमा लगानी गर्ने हो त्यो विचार पुर्याउनु पर्ने बताए।
"कुन कम्पनी कस्तो हो भन्ने हेर्नुपर्छ। त्यसको विगत पनि हेर्नुपर्छ," उनले भने।
नेपाल राष्ट्र ब्याङ्कका पूर्व कार्यकारी निर्देशक नरबहादुर थापा नेपाली शेअर बजारलाई "हल्ला"ले पनि मार्गदर्शन गर्ने गरेको बताउँछन्।
"हल्लाको भरमा बजार बढ्ने र घट्ने गर्नु उचित होइन। राम्ररी अध्ययन र अनुसन्धान गरेर लगानी गर्ने अवस्था आयो भने मात्र त्यो उचित हुन्छ," उनले भने।
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।